कला साहित्य

प्रिय श्यामशरण – लकडाउन भन्दैनौ, नाकाबन्दी भन्दैनौ, कुदेर आइहाल्छौ !

लकडाउन भन्दैनौ
नाकाबन्दी भन्दैनौ
कुदेर आइहाल्छौ।

कोरोनाको के कुरा
सीमाको के कुरा
बाँड्न मनकै कुरा
कुदेर आइहाल्छौ।

जहाज चाहिन्न
सडकबाटै पनि आउँछौ
हाम्रा छातीमा
मुटु भट्याकभट्याक गर्दा
औषधिको ट्याब्लेट बनेर
कुदेर आइहाल्छौ।

संसदभन्दा ठूलो
सरकारभन्दा फराकिलो
राष्ट्रियताभन्दा गहिरो
कुराको पोको फुकाउन
कुदेर आइहाल्छौ

जेठको धुप भन्दैनौ
न भन्छौ साउनको भेल
पुषको ठिहीमा पनि
बोलाउनै पर्दैन
आफै बुझ्झकी
कुदेर आइहाल्छौ

के भनौँ नाम छ असंख्य
केशव भनौँ? कि माधव?
गोविन्द, कृष्ण जे भने पनि
तिमी हौ सबैका श्याम।
सन्देश दिने
उनै हुन् इन्द्र नरका
ज्ञान देऊ विधाता
पर्छौँ हामी तिम्रै शरण!

 

 

रचना : राम लोहनी

प्राध्यापक : त्रिभुवन बिश्वविद्यालय

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button