समाज

हाईब्रीड संस्कृति !

हाम्रो ज्ञानको दायरा कतिसम्म संकुचित भैसकेको रहेछ त भन्ने कुरा बेलाबखत सामाजिक संजालमा वेग्रेल्ती पोखिने विभिन्न शव्दतस्विरहरुले छर्लङ्ग पार्दछ। हामी हिन्दु धर्मावलम्बीहरुले अवलम्वन गर्ने विभिन्न मेलापर्व, संस्कार, रितिरिवाज र सामाजिक परम्पराहरु अब बिस्तारै हाईब्रीडतर्फ उन्मुख हुँदैछन। हामी जानेर या नजानेर या देखासिकी या अझै भनौं बुझ पचाएर या विवेकमा विर्को लागेर जेसुकै भनौं हाम्रा आफ्ना मौलिक परम्परा, रितिथिती, रहनसहन, भेषभूषा, मेलापर्व, संस्कार संस्कृति र परम्पराहरु अब बिदेशी ब्राण्डमा उक्लिएका छन। हाईब्रीडमा रुपान्तरण भैसकेका छन।

बाबुको मुख हेर्ने दिन Happy fathers day मा रुपान्तरण छ भने मातातिर्थ औंशी Happy mothers day मा रुपान्तरण भएको छ। गुरुपूर्णिमा Teachers Day मा रुपान्तरण भएको छ दोस्रो ठूलो चाड तिहार दिवाली Diwali मा रुपान्तरण भएको छ। दिदीबहिनी र दाजुभाईबिचको पवित्र सम्बन्धको प्रतिकस्वरुपको रक्षाबन्धनको डोरो राखीमा रुपान्तरण भएको छ। यद्यपि राखी बाँध्ने चलन हाम्रो तराई क्षेत्रमा भएता पनि पहाडी भेगमा भने रक्षावन्धनको दिन डोरो नै बाँधिन्छ। तर, आजभोली भारतिय संस्कार र संस्कृतिको प्रभाव पहाडका कुनाकन्दरासम्मै पुगेका छन। पहाडमा आजभोली रक्षावन्धनका दिन मन्दिरमा लगि पुजेको डोरो होईन कि बनिबनाऊ राखी बानिदिने चलन ह्वात्तै बढेर गएको छ।

भाऊजु होईन भावी भएकी छिन, आमा बुवा होईन मम ड्याड भएका छन, दाजुभाई होईन ब्रदर, ब्रो भएका छन, दाइ, अंकल, हजुरबाऊ, बा होईन सुड्डो भएका छन, स्त्रीलिङ्गी सुड्डी भएकी छिन।

जन्मदिनमा पवित्र भई मन्दिरमा गएर पुजाअर्चना गरि घरमा सवैजना संगै बसेर विभिन्न परिकार बनाई जन्मदिन मनाऊनुको साटो बर्थडे केकसंगै आफ्नो भाग्य पनि काटिदैछ। तीजहरु पार्टी प्यालेसमा जाँड पार्टीमा रुपान्तरण भएका छन, श्राद्ध सकिएको साँझ जाँड पार्टि चलेको छ। हामीले सानोमा जान्दाखेरी श्राद्ध सकिएको साँझ भगवनको नाममा भजन कृतन गरेको सम्झन्थ्यौं। आजभोली श्राद्ध सकिएको साँझ घरमैं डिस्को शुरु हुन्छ। मान्छे मर्न पाएको छैन, सेल्फी खिचेर संजालमा पोष्टिन बेर हुन्छ।

जनैपुर्णिमामा करोडौंका जनै चीनबाट आयात हुनथाले, रक्षावन्धनको पवित्र डोरो राखीमा रुपान्तरण भई भारतिय कम्पनीले उत्पादन गर्ने प्लाष्टिकका डोरोमा रमाऊन थाल्यौं। तिहारमा लगाईने शप्तरंगी टीका केमिकलयुक्त टिकामा अभ्यस्त हुन थाल्यौं भने हजारी र मखमली फूलको मालाको साटो चीन र भारतबाट आयात गरिएका प्लाष्टिकका रंगीचंगी मालामा रमाऊँदै गयौं। दियो कलस सबै भारत र चाईनाबाट आयातित प्लाष्टिककै झिलिमिली लाग्न थाले, दशैंमा चचहुईँ गरेर मस्किने पिङ्गको डोरी भारतबाट आयात गरेर मच्किन थाल्यौं। दशैं तिहारजस्ता पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व भन्दापनि त्यस्ता पर्वलाई जुवातास र रक्सी खाने बाहानामा रुपान्तरण गर्यौं।

होलीको पवित्र रंगमा सामाजिक असहिष्णुता घोलेर छ्याप्न थाल्यौं। फलस्वरुप आजकलका होली अण्डा वियर, ह्विस्कीको घोलले छ्यापाछ्याप गर्दैछौं। यतिले मात्र नपुगेर होलीको रंगमा हामीले एसिड मिसाएर पनि छ्याप्न शुरु गर्यौं। कयैन रंगहरुमा रंगिने होलीलाई आजभोली कामूकता प्रदर्शन गर्ने पर्वमा रुपान्तरण गर्यौं।

मानिसले यस लोकमा जन्म लिएपछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यताअनुसार मनाईंदै आएको धार्मिक एवं सांस्कृतिक विरासत बोकेको पर्व कुशे औंशी अर्थात बाबुको मुख हेर्ने दिनलाई पनि हामीले Happy fathers day मा रुपान्तरण गर्दै सामाजिक- सांस्कृतिक विरासतलाई भने खुवै उंचाईमा पुर्याको गर्व गर्दा हौं। हाम्रो आफ्नो परम्परा, संस्कार र धर्मसंस्कृतिमाथी यतिविघ्न आक्रमण हुँदासम्म पनि हामीले चेत्न नसक्नु अर्को हाम्रो मानशिक विक्षिप्तता हो। हाम्रो आफ्नो मौलिकता कसरि बिस्तारै विदेशी संस्कारीको कब्जामा पुगेको छ, यसतर्फ भने हामी कसैलाई चिन्ता र बोध छैन, बरु हामी भ्यालेन्टाईन, क्रीसमसलगायतलाई औधी महत्व दिन्छौं र बुझ्छौं तर हाम्रो आफ्नैलाई महत्वहिन बनाऊँदछौं, बुझ्न खोज्दैनौं चाहंदैनौं।

बुझेर पनि बुझ पचाऊनु अपराध हो, नजानेर गर्नु गल्ती हो। जानेर पनि दायित्ववोध नगर्नु अविवेकि हो। दूध कसले दिन्छ बाबू भनेर सोध्ने हो भने `डेरीले´ भनेर जवाफ फर्काऊने बच्चालाई पढाऊने शिक्षालय र समग्र पद्धती नै दोषी हो। हामीले व्यवहारिक शिक्षा भन्दा पनि कोरा कितावी रटाईको शिक्षालाई अवलम्वन गर्दाको परिणती हो आजको हाईब्रीड मौलिकता। बालबालिका, किशोर र युवा त ल आधुनिक समाजमा हुर्किए भनौं, तर तपाईंहामीले पनि यसरि बुझेर पनि बुझ पचाएको पटक्कै सुहाएन भो !

– बिजय ज्ञवाली

यो पनि पढ्नुहोस – आफ्नै देशमा अस्पताल बनाऊ, आफ्नै देशमा उपचार गर महोदय

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button