प्रदेश ५मुख्य समाचारविशेषसमाज

पाल्पामा मात्र मनाइने भगवती जात्राको गाथा (भिडियोसहित)

तस्विर ः मोहन सापकोटा

सन्दीप थापा

पाल्पा

वि.सं. १८७६ देखि प्रत्यक वर्ष निरन्तर रुपमा पाल्पामा मनाइदै आएको रण उज्वेश्वरी भगवती जात्रा यस वर्ष पनि पाल्पालीहरूले भब्यतापुर्वक मनाएका छन् ।
अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीमा मनाइदै आईएको रणउजिरेश्वरी भगवतीको रथयात्रा यस वर्ष पनि भब्यतापुर्वक सम्पन्न भएको हो ।
दुइ सय एकौँ रणउजिरेश्वरी भगवती विजयउत्सव नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र थापाको उपस्थितीमा सम्पन्न भएको थियो ।
जात्राका क्रममा भगवतीको रथलाई ४२ भन्दा बढी कुमालेहरूको सहयोगमा बोकेर तानसेन बजार परिक्रमा गराइएको थियोजात्राको अघिल्लो शुक्रबार आतिसबाजी, लाखेनाचसँगै भगवतीको रथ उचालेर बली दिइएको थियो । रातभर जाग्राम बसेर भगवतीको महिमा गाइएको र शनिबार बिहानैदेखि पूजा पाठ गरी रथलाई बजार परिक्रमा गराइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो । पौने एक बजेको शुभसाइतमा सेनाको कर्णेलको पूजा र प्रमुख जिल्ला अधिकारीको सरकारी पूजा पछि पन्चे‍बाजासहितको र्‍यालीले भगवतीको रथलाई पाल्पा दरबार परिसर हुँदै बजार परिक्रमा गरेको थियो ।
पाल्पाका बिभिन्न संघसंस्था, कार्यालय, विद्यालय बाट झाँकी सहित विशेष आकर्षक प्रस्तुतीका साथमा जात्रा सम्पन्न भएको थियो । धुमधामपुर्वक मनाइएको जात्रा हेर्न पाल्पाका दस वटै स्थानीय तहका अलावा छिमेकी जिल्ला गुल्मी, पर्वत स्याङ्जा अर्घाखाँची रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रहरूबाट दर्शनार्थीहरूको बाक्लो उपस्थिती रहेको थियो ।
अनुमानित सात हजार को सङ्ख्यामा आएका दर्शकहरूको व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालय पाल्पाको नेतृत्वमा १२६ जनाको प्रहरी टोली खटिएको थियो ।
वि.सं १८७१ मा अंग्रेजहरुले नेपालबिरुद्द युद्द गर्ने घोषणा गरे। विश्वलाई आफ्नो अधिनमा राख्दै भारतसम्म आफ्नो अस्तित्व फिजाइसकेको अङ्ग्रेज साम्राज्यबादले नेपालको भुभाग कब्जा गरी यहाँको मनोरम प्राकृतिक पक्षेहरूको चरम उपयोग गर्ने तथा नेपाल हुँदै उत्तर चीन र मङ्गोलिया सम्म व्यापार व्यवसाय बृद्दि गर्ने रणनीति बनाएको थियो । सोहीअनुरुप नेपाललाई आफ्नो अधिनस्थ बनाउन पाँच तिरबाट आक्रमण गर्ने रणनीति बनाएको इतिहाँसमा उल्लेख रहेको पाइन्छ । मुख्य विवादास्पद क्षेत्र बुटवल स्यूराजमा आक्रमण गरी पाल्पामा कब्जा जमाउनका लागि मेजर जनरल जोन सुलिवान उडको नेतृत्वमा चारहजार जवानको फौज गोरखपुरमा तैनाथ थियो । अंग्रेजहरुले नेपालमा आक्रमण गर्न त्यस किसिमको विशेष योजना बनाएको थाहा पाएपछि नेपालमा पनि बिभिन्न मोर्चामा अंग्रेजसँग लड्नका लागि तयारी गरिएको थियो । पाल्पा र बुटवलको सुरक्षा गर्न कर्णेल उजिरसिंह थापा लगभग तीनहजार जवान सैनिक सहित नुवाकोटगढीमा खटिएका थिए । अंग्रेजहरुले नेपाललाई बुटवल, स्यूराज रौतहटका २२ गाउँ खाली गर्नु भन्ने धम्की पठाएपछि त्यसको म्याद सिद्धिनासाथ युद्धको घोषणा नगरिकनै बुटवल स्यूराज कब्जा गरे । यस्तो आकस्मिक आक्रमणमा नेपाली पक्षको कुनै तयारी नभएकाले ती क्षेत्र जित्न अंग्रेजहरु सफल भए । तर औलोको कारण उनीहरु त्यहाँ टिक्न सकेनन् र गोरखपुरतिर फर्के ।
-जनरल अमरसिंह थापाले पाल्पाबाट फौज पठाएर बुटवल कब्जा गर्न खोज्दा अंग्रेजका १८ जना मारिए र ६ जना घाईते भए । त्यो खबर पाएपछि गर्भनर जनरल लर्ड हेस्टिङ् रिसले चुर भए । त्यसपछि उनले नेपालका बिरुद्ध युद्धको घोषणा गरे । (१ नोभेम्बर १८१४) मा बुटवल हुँदै पाल्पा कब्जा गर्ने जिम्मा लिई मेजर जनरल जोन सुलिवान उड चारहजार फौज लिई गोरखपुरमा बसेको कुरा नेपालका तत्कालिन मुख्तियार एवं प्रथम प्रधानमन्त्री भीमसेन थापालाई थाहा भयो । भीमसेन अङ्ग्रेज बिरोधी नेता मात्र थिएनन् उनीहरूलाई एसियाबाट नै लखेट्नुपर्छ भन्ने मान्यताका मानिस थिए । त्यसपछि उनले आफ्ना भतिजा कर्णेल उजिरसिंह थापालाई आफ्ना बाबु अमरसिंह थापालाई सहयोग गरि पाल्पा बुटवलको सुरक्षा गर्न नुवाकोट गढीमा पठाए । उनको साथमा गवुज गुल्म र गुरुवक्स गुल्मका दुईसय फौजलाई पनि पाल्पा बुटवलको सुरक्षा गर्न खटाईएको थियो । अंग्रेजका तर्फबाट विशाल फौजले आधुनिक हातहतियार सहित आक्रमण गर्ने योजना बनाएको छ भन्ने कुरा पाल्पामा जानकारी आईसकेको थियो । त्यहीबेला पाल्पाका तैनाथ सानाकाजी अमरसिंह थापाको मृत्यु भयो । त्यसपछि उजिरसिंह थापाको कांधमा बुटवलको सुरक्षा मात्रै नभई पाल्पाको प्रशासन चलाउने जिम्मेवारी थपियो । थापाले अङ्ग्रेजी साम्राज्यबादसंग भिड्न विशेष तयारी गरे । त्यतिबेला तानसेनमा महिषासुरमर्दिनी भगवतीको शक्तिको खुब चर्चा थियो । उनीसंग मागेको हरेक इच्छा र बरहरू पुरा हुन्छन् भन्ने असीम जनविश्वाँस थियो । तिनै भगवतीको पाउ छोएर थापाले नेपाल अंग्रेज युद्धमा विजयी भएमा ठूलो मन्दिर निर्माण गराउनुका साथै भगवतीको महिमा फैलाउने भाकल गरे । यस प्रकारको तयारीले पाल्पा क्षेत्रमा खटिएका सैनिकहरुमा जोश, जाँगर पलायो र सजिलै अंग्रेज फौजलाई हराउन सफल भए । अन्य चार ठाउँको युद्दमा नेपालले पराजय बेहोर्नुपरेता पनि शिउराज जितगढीको युद्दमा उज्वीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेजमाथी विजयी हाँसील गर्यो ।
वि.सं १८७१ मा अंग्रेजहरुले नेपालसँग युद्धपाल्पाका तात्कालीन तैनाथवाला कर्णेल उजिरसिंहले भाकल पूरा भई विजय प्राप्त गरेको भन्दै विसं १८७२ मा तीनतले भगवती मन्दिर निर्माण गरेका थिए । वि.सं १८७१÷७२ सालमा नेपाल अंग्रेजहरुबीच जीतगढीको युद्धमा जीत हुन नसके पनि पश्चिममा नालापानी, मलाउँ, जैठक आदि क्षेत्रमा जित भएपछि अंग्रेजहरुले आफ्नो अनुकुल नेपाललाई सुगौली सन्धीमा हस्ताक्षर गर्न बाध्य बनाएका थिए । इच्छाबिपरित नै त्यतिखेर नेपालले सुघौली सन्धिमा हस्ताक्षर गर्नुपरेको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरि विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित भगवतिको रथ निकाल्ने गरिएको हो ।
नेपाली पुर्खाहरूको बिरताको गाथा, ऐतिहाँसिक गौरवपुर्ण पृष्ठभूमि , राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको रणउजिरेश्वरी भगवतीको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने पाल्पाबासी स्थानीयहरुले माग गर्दै आएका छन् ।

#भिडियो


लेखक, जागरण पोस्टका पाल्पा प्रतिनिधी हुन्

Facebook Comments
Tags
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button