प्रदेश ५समाज

जिऊँदी नर्मतालाई जवर्जस्ती मार्न खोजेको दर्दनाक कथा

गाउँमा झाड़ापखालाले कैयौं दिन सिकिस्त पारेपछि बल्ल एउटी ३६ वर्षीय महिलालाई अस्पताल लगिन्छ । पाल्पाको मिशन अस्पतालमा उनले १० दिन बिताउँछिन् र पनि स्वास्थ्यमा उल्लेख्य सुधार देखिन्न । उनको मिर्गौलामा गम्भीर समस्या छ । महँगो अस्पताल त होइन यो तैपनि गरिबका निम्ति दश दिन शहर र अस्पताल बसाइ धेरै बोझिलो हुन्छ नै ।

अस्पतालसँग डिस्चार्ज माग्छ परिवारले । सिकिस्त र निरन्तर अक्सिजन दिनुपर्ने अवस्थाकी उनलाई अस्पतालले डिस्चार्ज गर्ने कुरो भएन । परिवारले उनलाई अर्कै राम्रो अस्पतालमा उपचार गराउने नाममा डिस्चार्ज माग्छ । एम्बुलेन्स र अक्सिजनको व्यवस्था भएपछि उनी डिस्चार्ज हुन्छिन् । परिवारलाई अक्सिजनले बचाइराखेको र अक्सिजन झिक्यो भने बिरामी मर्छ भन्ने थाहा हुन्छ ।

एम्बुलेन्स चालकलाई घर जाने भनिन्छ तर बाटामा पुगेपछि घर नभई घाटतिर लैजाने कुरो उठ्छ । आफन्तले बाटैमा अक्सिजन झिक्न गरेको प्रयास चालकका कारण रोकिन्छ । एम्बुलेन्समैं रहेका मध्ये एकले गाउँमा फोन गरेर अब एक डेढ़ घण्टामा बिरामी मर्ने जानकारी दिँदै दाउरा बोकेर घाटमा आउन सबैलाई आग्रह गर्दछ । मान्छे नमर्दै दाउरा बोकेर घाट जान गाउँलेलाई असजिलो लाग्छ र कुरो पनि गर्छन् तर पनि ती घाटमा जम्मा हुन्छन् । बिरामी घाट लगिए पनि पति बजारमैं ओर्लिन्छन् ।

अक्सिजन मास्क निकालिन्छ, आधा घण्टा कुरिन्छ । जब बिरामीको छटपटाहट सकिन्छ र शान्त हुन्छिन्, उनको मृत्यु भएको विश्वास गरेर अन्तिम संस्कारका निम्ति नदीमा खुट्टा डुबाइन्छ । खुला नदी वरपर अक्सिजन लेवल त्यसै पनि उच्च हुने हुनाले मास्क हटे पनि बिरामीले पर्याप्त अक्सिजन पाएर होला, बिरामी फेरि चलमलाउँछिन् र आँखा खोल्छिन् । मलामी बन्न आएकाहरू दङ्ग पर्छन् र उनलाई एउटा तन्नामा पोको पारेर नजिकैको स्वास्थ्यचौकी लगिन्छ, जसले तुरुन्तै अस्पताल लैजान सुझाब दिन्छ र उनी तन्नामा बेरिएरै ।लुम्बिनी मेडिकल कलेज पुग्छिन् । प्रेसर र स्वासप्रश्वास एकदम कम भएकी उनको भेन्टिलेटरमा राखेर उपचार सुरु हुन्छ । उनको अवस्था अहिले सुधारोन्मुख छ ।

देश यस्तो छ । यो घटना धेरैलाई एउटा कथाजस्तो लाग्छ, तर यो वास्तविकता हो पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ की नर्मदा ज्ञवाली । स्थानीय प्राविमा पियनको काम गरेर परिवार चलाउने उनी राष्ट्रिय महत्त्वको पात्र बन्ने कुरो भएन । देशको प्रशासनलाई यस्तो खबरले छोएन । राजनीति गर्नेले अमेरिका र भेनेजुएलाको कुरो गर्ने हो, यस्तो विषयमा के बोल्नु र ! मिडियामा यो विषय आयो तर लौ मरेको बिरामी ब्यूँतियो भन्ने खालको मेसेज बोकेर आयो । त्यसले कसरी गरिबीले मानवताको घाँटी थिचिरहेछ भनेर विश्लेषण गरेन । जिउँदै घाट लैजाने प्रपञ्चमा परिबन्द नै सही, अपराधको गन्ध छ कि भन्ने कसैले सोचेन । स्कुल विभाग कसले पाउने भन्ने विषय राष्ट्रिय विषय बन्यो तर एउटा झाड़ापखालाको उपचारसम्म नपाएर कसरी एउटा नागरिकको मिर्गौला नै बिग्रिनेदेखि मृत्यु नै हुनेसम्मको घटना घट्न पुग्छ भन्ने विषय बनेन । कसरी एउटा गरिब परिवारले गरीबीकै कारण जिउँदै अस्पतालबाट बिरामी झिकेर घाट लैजान्छ भन्ने कसैले बहस गरेन । ती महिलाले यसबीच झाड़ापखालाकै कारण कति शारीरिक र मानसिक पीड़ा बेहोरिन् होला भन्ने कसैले सोचेन ।

देश जताततै यस्तै छ । देशलाई देशजस्तै देख्ने, बोल्ने र योजना बनाउने व्यक्ति चाहिएको छ । नर्मदाको शीघ्र स्वास्थ्यलाभको कामना !

(नारायण गाऊँलेको फेसबुक वालबाट साभार)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button