प्रदेश ५मुख्य समाचारसमाज

गुल्मीको लिम्घा र लुम्पेकमा पहिरोमा परि बिस्थापित हुने संख्या ५४० पुग्यो

गुल्मी : पानी नथामिएपछि सत्यवती गाउँपालिकाका पहिरोपीडित थप त्रासमा छन् । उनीहरू घर छाडेर हिँड्दै छन् । बिहीबारसम्म ५ सय ४० जना विस्थापित भइसकेका छन् ।

पहिरोमा बेपत्ता सबैको शव फेला परेपछि मृतक संख्या १३ पुगेको छ । बिहीबार बिहान सत्यवती ४ लिम्घा, भीरकुनाको पहिरोमा बेपत्ता ८ वर्षीया तारा विकको शव भेटिएको हो ।

बेपत्ताको खोजी सकिएपछि सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनीतिक दल विस्थापितको व्यवस्थापनमा जुटेका छन् । लुम्पेकसम्म पुग्ने एक मात्र सडक अस्लेवादेखि ५० भन्दा बढी पहिरो गएकाले ठप्प छ । विस्थापित भएर सामूहिक रूपमा लुम्पेककै धर्मपुर माविमा बस्दै आएका ७० घरका झन्डै ३ सय परिवारलाई खाद्यान्न संकट भएको छ ।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पहिरो पन्छाउने र विस्थापितको व्यवस्थापन गर्ने काममा जुटेको प्रजिअ यदुनाथ पौडेलले बताए । ‘मनोवैज्ञानिक त्रासले विस्थापित अझै बढ्दै छन्,’ उनले भने, ‘अहिले विस्थापितको संख्या लिम्घामा १ सय ४० र लुम्पेकमा करिब ४ सय पुगेको छ ।’

लिम्घामा विस्थापितका लागि खाद्यान्नको ठूलो समस्या नभए पनि लुम्पेकमा संकट बढ्दो रहेको पौडेलको भनाइ छ । स्थानीय व्यवस्थापन समिति गठन गरेर बिहीबारदेखि क्षतिको विवरण संकलन पनि सुरु भएको छ ।

पानी परिरहेकाले सडक सुचारु गर्न नसकिएको गाउँपालिका अध्यक्ष पारीश्वर ढकालले बताए । ‘दुई डोजर निरन्तर लगाएका छौं,’ उनले भने, ‘पानी रोकिएको खण्डमा २ दिनमा बाटो खुलाउने प्रयास भइरहेको छ ।’

प्रदेश सरकारले विस्थापितका लागिपठाएको खाद्यान्न, लत्ताकपडा, कम्बललगायत सामग्री सडक अभावले अस्लेवामै तीन दिनदेखि थन्किएका छन् । सदरमुकाम तम्घास, बुटवल र काठमाडौंमा समेत राहत संकलन सुरु भएको छ । ‘अहिले मुख्य समस्या सडक भएको छ,’ प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने, ‘सबै संयन्त्र प्रयोग गरेर भए पनि सरकार सडक सञ्चालन गर्ने प्रयासमा लागेको जानकारी दिए ।
Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button