थपसमाज

प्रियतम मलाई राजनीति गर्न देऊ

आजका युवाहरुले सरकार र समग्र सिस्टमकै आलोचना गरेर समाजिक संजाल हरु भरेका छन। जसले आलोचना गर्दै आएका छन ति युवाहरु देश मा छैनन। आज भौतिक र बौद्धिक रूप मा सक्षम युवायुवतीहरु बिदेश पलयान हुनेक्रम बढ्दो छ। नेता र उच्चस्तर का कर्मचारी का छोराछोरिहरु पनि प्राय: बिदेश मा छन। नेपाल युवा र वौद्धिकबिहिन हुनेक्रम बढ्दोछ। यहाँनेर  यौटा गम्भिर प्रश्न उठ्छ- देश कस्ले बनाऊने, कस्को लागि बनाउने भनेर। एकातर्फ सक्षम नेपालीहरु बिदेशिएका छन भने अर्कोतर्फ देश मा बिदेशीहरु लाई खोजी खोजी नागरिकता दिने व्यवस्था गरेका छन। यसको प्रतिफल कतै भविष्य मा नेपाल फिजिजस्तो हुने त होइन ? बिदेशिएका नेपालीहरुमध्ये अधिकांश उतै हराऊने प्रवृत्ति पनि बढ्दोरुपमा छ। युवाविहिन रिक्त स्थानमा अन्य देशका नागरिकले कब्जा जमाऊने सम्भावना प्रवल हुँदै गईरहेको छ भने अर्कोतर्फ विदेशिएकामध्येबाट पनि कतिपय सम्पन्न र शिक्षित नेपाली नागरिकहरुले कालान्तरमा सम्पन्न आफ्नो देश अवश्य खोज्दै आऊनेछन। रिक्त स्थान बिदेशि युवाले कब्जा गर्ने, नेपाली नागरिकले आफ्नो देश खोज्दै आऊँदाको त्यो समय सम्म हामिलाई कतै ढिला भैसकेको पो हुने हो कि?

ईजरायली हरु बिश्व राजनीतीबाट प्रभावित थिए। प्यालेस्टाईनीलगायत अन्य समुदायका नागरिकलाई हटाएर ईजरायल भने आफ्नो देश बनाउन सफल भयो। नेपाल र नेपालीहरुमा त्यस्तो सम्भावना भने न्यून देखिन्छ। यस्तो अवस्थामा सक्षम जनशक्तिको विदेश पलायनलाई रोक्न सरकारले ठोस कदम अविलम्व चाल्नु अपरिहार्य भैसकेको छ। देश मा जतिसक्दो छिटो भौतिक संरचना बनाऊनु ,भारतसंगको खुला सिमा लाइ व्यवस्थित गर्नु ,स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेखालको बजार व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व पर्नजान्छ। त्यस्तै, नाताबाद कृपाबाद को अन्त्यगरि दक्षता र शिप अनुसार को अवसर दिने व्यवस्था गर्नु पर्दछ। समस्याको मूल जड् को रुपमा रहेको नातावाद र कृपावादको निराकरणबिना दक्ष र शिक्षित श्रमशक्ति निराश हुँदै पुन: बिदेश पलायन हुनेक्रम बढ्नेछ।

देश बनाउन नरेन्द्र मोदीको जस्तो आत्मबिश्वास भएको, नेल्सन मन्डेलाको जस्तो परिवर्तनकारी सोंच भएको, बराक ओबामाको जस्तो चिन्तन भएको ,कृष्णप्रसाद भट्टराईको जस्तो त्याग भएको, जंगबहादुर राणाको जस्तो साहस भएको निस्वार्थ र सक्षम नेता को अति आवश्यक भैसकेको छ।

म बच्चादेखि नै नेपालको राजनैतिक संघसंगठनसंग आवद्ध छु। २०४८ सालको कुरा हो, त्यतिबेला म कक्षा ८ मा पढ्दथें। बुवाले भारतमा जागीर गर्ने भएकोले मेरी आमा पनि बुवासंगै भारत जानुभएको थियो। नेपाल र भारत आऊजाऊ गर्दा मेरो पढाइ बिग्रीन्छ भनेर म मेरो मामाघरमैं बसेर पढ्ने गर्दथें। मामाघरमा बुढी हजुरआमा मात्रै हुनुहुन्थ्यो। घरमा कोहि राम्रो अभिभावक नभएकोले म पनि आफनो मन ले जे देख्यो त्यहिं गर्न थालें। म सानैदेखि नेपाली कांग्रेसप्रति आस्थावान भएकोले होला, कांग्रेसका हरेक आमसभा, जुलुस तथा आन्दोलनमा सदैव सामेल हुन्थें र मौका पाऊनासाथ ठूला ठूला भाषण गर्नसमेत पछि पर्दैनथें। तर मलाई थाहा थिएन, राजनितिको यो उग्र नशाले मलाई के दिनेछ र मैले देशको लागि के दिनेछु भनेर। तर, बाल्यकालको त्यो लहडले बिस्तारै मलाई पनि राजनीती बुझ्न र पढ्न निकै प्रेरित गर्यो। स्कूलका पाठ्यपुस्तकका अलावा मैले राजनैतिक दर्शनका धेरै किताव पढ्न थालें, बुझ्न थालें। विशेष गरेर सिके प्रसाईंद्वारा लिखित `आजको सरल राजनिति´ को गहन अध्ययन गर्दैगर्दा मेरो राजनितीप्रतिको चाख देखेर मलाई समाजले एकदिन पक्कै पनि यो ठूलो मान्छे बन्छ भनेर भनेका थिए। स्कूलको पढाईमा पनि म अब्बल भएकै कारण मैले पछि गएर बिज्ञान बिषय लिएर पढ्न थालें। राजनैतिक बुझाई र स्कूलको ज्ञान हासिलबिच अन्तर भएता पनि मैले आफ्नो पढाईको दुबै पाटोलाई समानान्तर रुपमैं अंघि बढाऊंदै लगें। तर, जिवनमा उल्लेख्य सफलता भने हातपार्न सकिएन।

बदलिंदो समयसंगै हामीहरु धेरै असुरक्षित पनि छौं। छोराले दूईचार पैसा कमाऊन नसके बुबाआमालाई डर छ; भविष्यमा हामी कसरी पालिने भनेर। लोग्नेमान्छे भैसकेपछि कमाऊन नसकेपछि बुवाआमा मात्र होईन, सबै परिवारमा डर उत्पन्न हुन्छ- परिवार कसरी चलाऊने भन्नेबारेमा। यस्तै डरले गर्दा म राजनितिमा भने आऊन सकिन। मजस्तै लाखौं विदेशिएका होनहार युवाहरुलाई परिवारको दूईछाक गर्जो टार्नकै पिरलो छ। सोहि पिरलोकै कारणले गर्दा ती तमाम देशभक्त युवाहरु राजनितीमा आऊन सकिराखेका छैनन। आज को समयमा सबैकुरा महंगो छ,राजनीति पनि अति महंगो छ,पैसाबिना केही हुन्न। जो युवा देश को लागी केही गरौं भनेर सोंच्छन,उनिहरुसंग पैसा छैन, समस्या यहिं हो।

अर्कोतर्फ, सबैले यस्तै सोंचे भने देश कसले बनाऊने त भन्ने प्रश्न पनि छ। कसैले त देश को बारे मा सोंचौं न युवाजन ! संसार बदल्ने एक्लैले हो। बिश्व का यस्ता धेरै उदारण छन, जसले एक्लै संसार बदलेला छन। जस्तै: नेल्सन मन्डेलाले मेरो परिवार कस्ले पालिदिन्छ, मेरा बुवाआमा, परिवारजनको कसले स्याहार गरिदिन्छ भनेर सोंचेको भए उनी सामाजिक परिवर्तन को क्रान्तीमा कहिल्ल्यै होमिने थिएनन र सामाजिक परिवर्तन पनि सायद हुदैन थियो होला। सामान्य परिवार मा जन्मे का प्रवासी बाराक ओबामाले घर गृहस्थी कसरी चलाउने भन्ने कुरालाई ठूलो चुनौतीको रुपमा लिएको भए उनी अमेरिकाको राष्ट्रपति बन्दैनथे होला।

प्रियतमा तिमिले ले उच्च शिक्षा हासिल गरेकी छौ। बालबच्चाको शैक्षिक स्तर उकास्न र गृहस्थी सम्हाल्न तिमी आफै सक्षम छौ। त्यसैले एकपटक मलाई घरगृहस्थीभन्दा माथी उठेर राजनिती गर्नदेऊ। देश को लागी केही गर्नदेउ। सके देश नै बदल्छु, नसके मैले देशलाई कहिल्ल्यै दोष दिनेछैन। तैपनि म देश बदल्न तन, मन र वचनले प्रतिवद्ध रहनेछु। देश बन्यो भने सबै जनता का छोरा छोरी ले सुख पाऊलान। भावी सन्ततीले आफ्नो देशप्रति गर्व गर्लान। म बनें र देश बनेन भने मेरा छोराछोरीले सुख त पाऊलान, तर देशले कहिल्ल्यै सुख पाऊनेछैन। देशले सुख नपाऊनु भनेको हामी नागरिकले सुख नपाऊनु हो। देश नबन्नु भनेको हामी नागरिक सदैव पछि मात्र पर्नु हो। त्यसैले प्रियतम, मलाई असल राजनीति गर्न देऊ, म देश बदल्न प्रतिवद्ध रहनेछु बाँचुन्जेलसम्म।

 

सुनिल कुमार गौतम

नयाँदिल्ली, भारत।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button