मुख्य समाचारराजनीतिविचार ब्लगविशेषसमाज
ट्रेन्डिङ

भ्रष्टाचार मौलायो मौलाएन गणतन्त्र

बिजय ज्ञवाली :

देशमा आज गणतन्त्र दिवस मनाईंदै छ। म एकतमासले सोँचिरहेको छु र मेरो मन एवं अनुहारमा कत्ति पनि गणतन्त्र दिवसको खुशी र रौनक छाउन सकिरहेको छैन। हिंजोआज संचारमाध्यम, पत्रपत्रिका तथा सामाजिक संजालमा दिनहुँजसो पोखिने आक्रोशका शिर्षकविन्दु मात्र दूईवटा हुन्छन; भ्रष्टाचार र कु-शासन। दुई तिहाईको बलशाली बाम सरकार भएर आखिर के नै फरक पर्यो र जब भ्रष्टाचार दिनानुदिन चरमचूलीमा छ, कुशासन र झुठा भाषण दिनमा प्रधानमन्त्री नै एक नं. मा छन, न्यायको पित्को आश छैन, बेरोजगार दर झनै बढ्दै गएको छ, महंगी कालाबजारीले जनताको ढाड सेकिरहेको छ, यौटि बलत्कृत किशोरीका परिवारले न्याय पाऊन सकेका छैनन, लोकतन्त्तका नाममा लूटतन्त्र हावी छ, चारैतर्फ चरम बेथिती भद्रगोल र अराजकता छ भने गणतन्त्र आऊनु र नआऊनुमा के फरक रह्यो र? स्थिर सरकार हुनुको के नै अनूभूती भयो र? आखिर देशमा यस्तै हर्कत त हुँदै आएको छ कि साधुलाई शूली र चोरलाई चौतारोको ब्यवस्था गरिएको छ गणतान्त्रिक नेपालमा।

बिकासको नाममा चरम भ्रष्टाचार र बेथिती मौलाएको यस कालखण्डमा बिकाश निर्माणपनि अति न्यून गतिमा हुँदैछन भने ती मध्ये कतिपय पूर्वाधारहरु बिचैमा अलपत्र पारी राज्यको ढुकुटिबाट करोडौं स्वाहा पार्ने प्रपन्च हावी छ सिंहदरवारभित्रबाटै। फलस्वरुप राज्य आर्थिक रुपमा जर्जर बन्दै गएको छ। विभिन्न राजनैतिक दल र तिनका कथित भातृसंगठनको हालीमुहालीमाझ अलिकति स्थापित उद्योगकलकारखानालाई पनि धरासायी बनाउँदै लगियो भने अराजक, जड्ता एवं अमर्यादित गतिविधिले निकै पस्रय पाउनु र मुलुकलाई सधै अनिर्णयको बन्दी बनाउंदै जनतालाई गुमराहमा पारिराखेको कुरा यथार्थ हो। देशमा शु-शासन छैन। युवाहरुमा विदेश पलायन बढ्दोक्रममा छ। महंगी अचाक्ली छ। राष्ट्रिय स्वाभिमान, स्वाधिनता एवं आत्मसम्मानमा दिनानुदिन आंच आउंदै गैरहेको छ। आर्थिक वृद्धिदर दयनिय अवस्थावाट गुज्रिएको छ। मुलुकमा यौटा गतिलो उद्योग छैन। भएका टाट पल्टिसके, कतिपय बेचेर खाइयो र जेनतेन घाँटी ठड्याएका उद्योगलाई पनि विभिन्न युनियनवाजीका नाममा धराशायी पार्ने पर्यत्न गरिंदै छ। परनिर्भरताको आंकडा चरमचूलीमा छ।

संसद्मा गणपुरक संख्या नपुगेर महत्वपूर्ण निर्णयहरु बारम्वार ओझेलमा पर्दै गएका छन। सांसदहरुलाई विभिन्न एनजिओ/आईएनजिओको कार्यक्रम मा सामेल हुन भ्याई नभ्याई छ भने सरकारलाई औंलामा दिन गन्दै ठिक्क छ। कमसेकम महंगी र भ्रष्टाचार नियन्त्रण गरि प्रतिब्यक्ति आयमा उल्लेख्य सुधार गर्ने योजनाहरु अघि सारेको भए हाल सांसदहरुको वृद्धि भएको तलवभत्ताप्रति यती असन्तुष्ट हुनु पर्दैनथ्यो। जनताको दैनिक जनजिविकाको अवस्था भने दयनिय हुँदै गैरहेको सवालमा तिनै जनप्रतिनिधिलाई जनताको करवाट भारी मात्रामा सेवासुविधा वृद्धि गर्नु भनेको सरासर राज्यकोषको चरम दुरुपयोग र निमुखा जनतामाथीको भद्दा मजाक बाहेक अर्थोक केही होईन।

देश र जनताको हितको लागि भन्दै जनता भजाउने र भाँड्न खोज्ने नेतृत्व साह्रै खतरनाक हो जसले आफ्नो स्वार्थको खातिर स्वाभिमान बन्धकी राख्छ, मर्यादाको कत्ति पनि ख्याल राख्दैन, दायित्ववाट सदैव पन्छिने गर्दछ र सवैभन्दा ठूलो कुरा देशलाई नै अस्थिरताको भूमरीतिर धकेल्न उद्धत रहन्छ, यस्ता आचरण भएका नेतृत्व आफू पनि डुब्दछन र देशलाई पनि डुवाउँछन। हामी यस्ता पात्र र प्रवृत्तिप्रत्ति बेलैमा सचेत बन्न सकिएन भने भोलीका दिनमा हामीले आफुलाई धिक्कार्नुको सिवाय अर्थोक चारा पनि रहनेछैन।

ब्याक्ति आक्रान्त छ, बस्ती आक्रान्त छ, समाज आक्रान्त छ सवैभन्दा आक्रान्त आज देश छ। राजनैतिक स्थायित्वको नाममा आज कति समय खेर फालियो, कति अमूल्य जीवन सत्यनाश भए र कतिको बहुमुल्य जीवन बोझ बनेर जिईरहेको छ, तर राज्यकोषवाट कति रकम त खरानीझैं उडाईयो यसको यकिन नै छैन। स्थायित्व र शु-शाषनको नाममा राज्यलाई कयौंपटक प्रयोगशाला बनाईयो र जनताका अनेकन चाहनालाई यसै प्रयोगशालामार्फत बध गर्दै गईयो। समय फेरियो तर साध्य फेरिएन। पात्र र प्रवृत्ति उहीँ पुरानैको पुरनावृती हुँदा जनताले परिवर्तनको रत्ति पनि आभाष पाउन सकिराखेका छैनन।

नामले मात्र जनताको चुल्हो बल्दोरहेनछ। यदि बल्दो हो त सोह्र सृंगारझैं नालीबेली वर्णन गरिएको गणतन्त्रले जनताको चुल्हो बाल्दो हो, दूईछाक आफ्नै पिंढिमा आफ्नै परिवारसंगै बसेर रमाउँदै खाँदाहुन, मेहनतको कदर हुँदोहो,आफ्नै राज्यमा बिरानोको महसुस नगर्दो हो, सवैभन्दा ठूलो कुरा त शु-शाषनको लागि भन्दै सत्याग्रह गर्नेले जीवन समाप्त नगर्दो हो अनि बारम्बार तड्पिनु नपर्दो हो। अनि यता उपचार खर्च नभएर जिवनदेखी हार मानेर झ्यालवाट हामफाली आत्महत्या नगर्दो हो।

अलिकति पनि लाज त मान्नुपर्छ कि हामी मानव हौं। निर्लज्जताको पनि त हद हुन्छ। सडकमा जामले सास्ती नै सास्ती छ। जनताका दैनिक जनजिविकाहरु अस्तब्यस्त छन। समयमै गन्तव्यसम्म पुग्न निकै घम्साघम्सी छ। जनताले जुन सडकमा चरम सास्ती बेहोरिरहेका छन त्यहिं सडकमा साम्राज्य जमाउँदै हाम्रो नेतृत्वगण हुईंकिन्छन। ब्यवस्था आफ्नै अनुकुल बनाएका छन ताकी त्यहिं सडकमा सास्ती खेपिरहेका जनताई खुच्चिङ मार्दै आफूले आफ्नो साम्राज्य कायम राखिरख्न सकियोस।

हाम्रो नेतृत्व कसवाट असुरक्षित छ र जनताले तिरेको करवाट तिनको लागि यत्रोविधी खर्च गर्नुपर्ने? एकजना नेतालाई खर्च गर्ने रकम र जनशक्ती कतौती गरेर देश विकाशमा लगाए हिसाब गरौं त कति जनशक्ति र रकमको सदुपयोग हुँदोरहेछ? तँ पनि काले म पनि काले, काले काले मिलेर खाउँ भाले भनेझैं होईन वर्तमान राजनैतिक ववण्डर? अन्तर्राष्ट्रिय जगतको त कुरै छाडौं, देशभित्रै पनि के पो हैशियत र प्रतिष्ठा छ र वर्तमान नेतृत्वको यिनको लागी यतिविधी सुरक्षा वन्दोवस्त गर्नुपर्ने? कुन उंचाईका नेतृत्व हुन् र यिनको सुरक्षामा संवेदना अपनाउनुपर्ने? आफै मपाईत्व गर्दै राज्यकोषवाट ब्रम्हलूट गर्न पल्किएका नेतृत्व हैनन र यिनिहरु?

असल नेतृत्व त त्यो हो, जसले आफ्नो विवेक देशहितमा लगाएको हुन्छ। देश र जनताको खातिर आफ्नो सम्पूर्ण जीवन व्यतित गरेको हुन्छ। देश र जनताको भलाईमा आफ्नो भलाई देख्तछ। देशको उन्नतीमा आफ्नो उन्नती ठान्दछ। शु-शासन, समृद्धि, मानवअधिकारको प्रत्याभूती, जनजिविकाका सवालमा संवेदनशिल, एवं गतिशिल विचारधाराको प्रवाह गरिरहन्छ। स्थायित्व अनि कानुनी शाषनको प्रत्याभूती, सरल एवं सन्तुलित कुटनिती, भ्रष्टाचारमुक्त देशको परिकल्पना अनि जनता र नेतृत्वविचको सहज एवं सरल सामिप्यताको परिकल्पना गरिराखेको हुन्छ। तर हाम्रोमा भने….!? अर्वौं, खर्वौंका भ्रष्टाचारभन्दा तलका त समाचार नै बन्न छोडे भने अख्तियार, अदालत, प्रहरी प्रशासनलाई यिनिहरुले आफ्नै मुठ्ठिको झिंगा बनाएर छोडेका छन, ताकी कहिं कतैबाट पनि यिनिहरुका विरुद्ध कसैले पनि औंलो ठड्याऊने हिम्मत नगरोस- गणतन्त्रका उपलव्धी भन्नू नै यत्ति हो।

नेपालमा भ्रष्टाचारको आंकडा विकराल छ। चरम् चूलीमा चुलिएर रहेका भ्रष्टाचारले गर्दा देशले उल्लेख्य विकाश गर्न पनि सकिराखेको छैन भने अन्तरास्ट्रिय स्तरमा नेपाल, नेपाली र तिनलाई नेतृत्व गर्ने नेताहरुको साख निरन्तर खस्कंदो छ। भ्रष्टाचारले गर्दा अधिकांश सरकारी स्वामित्वका संस्थान बन्द भैसके भने बाँकी रहेका अत्यन्तै न्यूनमात्राका संस्थानहरु धराशाहीको नशिहतवाट गुज्रीरहेका छन। हलोदेखी हाईड्रोसम्म भ्रष्टाचार नै भ्रष्टाचार छ। तैपनि नेतृत्व तहमा बसेका कोहि स्विकार्नै तयार छैनन कि नेपालमा भ्रष्टाचार भएको छ भनेर। देशमा यस्तो दुरुह अवस्था आउनु भनेको नैतिक र राजनैतिक बेईमानी र अराजकता बाहेक अर्थोक के हुनसक्छ?

अर्थतन्त्रलाई देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचारले देशको राष्ट्रिय अर्थतन्त्रलाई नराम्ररी पछाडि धकालिरहेको पाइन्छ। देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ। विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन। नेपालको वर्तमान अवस्था पनि यस्तै छ त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन।

भ्रष्टाचार र नेपाल एकअर्कामा परिपुरक बनिसके। भ्रष्टाचारले गर्दा आज देश भित्रभित्रै कंगाल बन्दै आएको छ भने विधी र विधानलाई नै चुनौती दिंदै आज राज्यका हरेक अंग एवं संरचना ध्वस्तप्राय: छन। भ्रष्टाचारको मामिलामा दक्षिण एसियामा नेपाल अव्वल मात्र नभई तस्करी, अपराध, घुसपैठ एवं अराजकतामा पनि उत्तिकै बद्नाम छ। यसले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको शान दिनानुदिन गिर्दो अवस्थामा छ भने नागरिकलाई पनि अत्यन्तै तल्लो दर्जाको व्यवहार गरिंदै आएको छ। यसतर्फ नेतृत्वले सोंच्ने कि नसोंच्ने आखिर किन र कसरी यस्तो अवस्था आईपुग्यो? कहिंकतै खराव नेतृत्व र गलत आचरणले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको साख दिनानुदिन खस्कंदै गएको त होईन? यसमा दोषी को त? नेतृत्वले गम्भिर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ। एकातर्फ यो देशका लागी केहि गरौं भन्नेको लागी सरकार वैरी बनिदिन्छ र यो देशलाई दोहन गरेरै बलमिच्याईँपूर्वक शक्तिको आडमा अनेकन हतकण्डा अपनाउनेलाई सरकार वसन्तको वहार बनिदिन्छ।

जनआन्दोलन २०६२/६३ यताका कुनैपनि सरकार, प्रशासन,न्यायसम्पादन र कर्मचारीप्रति कहिल्यै सन्तुष्ट हुन सकिएन। आशाको किरण हामीले कहिल्यै कतैबाट देख्न पाईएन। बरु यसवखत राष्ट्रियता यति धेरै कमजोर बन्यो कि र अझै कति कमजोर बन्दै जाने हो, यसै भन्न नसकिने अवस्थामा छ। हाम्रै आँखाले प्रदर्शनीमार्गमा गोली लागेर बिरगती प्राप्त गरेको त्यो महान मनुवाको रगतको टाटोमाथीबाट माननियहरु कतिपटक धूलो उडाउंदै, आततायी साइरन बजाउँदै ओहोरदोहोर गरेका देखेका छौं, तर त्यो टाटो पखाल्ने काम अहं ऐलेसम्म कसैबाट भएको छैन र हुने आश पनि म देख्दिन।

परराष्ट्रमा राहदानी बनाउनेको भिड यिन्ले देखेनन, दिनानुदिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बाकसभित्र प्याकिङ गरेर ल्याइएका गरिव मजुदरका लाश यिन्ले देखेनन, गाउं का गाउं रित्तिएर औषधिमूलो गर्ननपाएका,अन्तिम अबस्थामा पानी खान नपाएका र लाश उठाउन मान्छे नपाएका कारुणिक खबर यिन्ले सुनेनन।

मुलुक भाषणलेमात्र बन्दोरहेनछ, यदि भाषणले मात्र बन्ने भाको भा आज मेरो मुलुक दूनिंयामा अग्रस्थानमा रहनेथियो। जनताका जनजिबिकाका प्रश्नमाथी यिन्ले कहिल्यै सिधा जबाफ दिएनन। जालझेल र खोक्रा आदर्शमा मात्र यिनिहरु आहाल खेले।धेरै सुनियो र पढियो यिनिहरुका अन्तरबार्ता,भाषण र खोक्रा आदर्शका कुराहरु,तर यि कुराहरु सुन्दा कोहि पनि गलत छैनन,सबै आदर्श छन। फेरी गलत को छ त? अनि मुलुक किन बनेन। फेरी हामिले यिनिहरुलाई पञ्चायकालदेखि नै देख्दै, भोग्दै र अनुभव गर्दै आएका छौं, ऐलेसम्म यिनि सबैले केवल खोक्रा आदर्शका कुरामात्र गर्दैआएका छन, तर खै त मुलुक बनेको? सधै प्रगतिमात्र देखाउने यिन्ले खै त संगै बिमान सेबा सुचारु गरेका देशहरु नेपाल र थाइल्यान्डसंग तुलनात्मक रुपमा नेपाललको प्रगती बिबरण जनतालाई अवगत गराएको? उल्टै वाईडवडिमा ४ अर्व घोटालाले सवैको कन्पारो कम्पित छ। आज थाईल्याण्डले हबाई क्षेत्रमा कति प्रगति गर्यो,तर हाम्रो हबाईक्षेत्र? यो प्रश्नको जबाफ छ हाम्रा नेतृत्वकर्ताहरुसंग? त्यस्तै सन् १९५० को दशकमा विश्वयुद्धले थलिएको दक्षिणकोरियामा चरम मानविय एवं खाद्यान्न संकट पर्दा नेपालले दक्षिण कोरियामा पिठो र चामल सहयोगस्वरुप उपलव्ध गराउंथ्यो, तर नेपालजस्ता देशवाट सहयोगस्वरुप उपलव्ध गराईएको चामल र पिठो खाएर तंग्रीएको दक्षिण कोरिया आज विश्व रंगमंचमा कुन स्थानमा छ र हामी कुन स्थानमा छौं, नेतृत्वले यसतर्फ सोंच्ने कि नसोंच्ने त? त्यस्तै गरेर फर्पिङ्ग जलविद्युत आयोजनाको शुरुवात हुँदा जापानले पनि पहिलोपटक बिद्धुत उत्पादन शुरु गर्दैथियो। आज जापानको आर्थिक र भौतिक प्रगतिबाट नेपालमा शाषन गरेका शाषकले केहि सिक्ने कि नसिक्ने त? निजि क्षेत्रहरुले पनि नेपालमा उल्लेख्य प्रगती गरेका छन तर, सरकारी स्वामित्वका हरेक क्षेत्रहरुको दूर्दर्शाको बारेमा बोल्छन कि बोल्दैनन यिनिहरु? गल्तीमाथी गल्ती भैराछ तर गल्ती कहिल्यै स्विकारेनन यिनिहरुले।

पछिल्लो परिवर्तनको लहरसंगैं हामिहरुले केही हदसम्म संयम, सक्षम एवं सभ्य जिवनशैली जिउन सिक्यौं, पुरातन चिन्तनदेखी धेरै माथी उठ्दै हामीले नयाँ नयाँ संस्करणरुपी संस्कारको आरम्भ पनि गरिसकेका छौं। तर, कतिपय सवालहरुमा जस्तै आत्मस्वावलम्वन, शु-शासन,सुरक्षा,भ्रष्टाचारमुक्त समाज, बिधिको शाषन, सन्तुलित कुटनिति एवं स्वाभिमानलगायतका बिषयमा हामी हाम्रो निर्णय हामी आफै गर्न सक्तछौं भनि विश्व समुदायलाई हामीले सन्देश त दिएका छौं, तर हामी आफू आफूमाझ अझैपनि विश्वस्त हुन भने सकेका छैनौं। गाउँ,समाज हुँदै राष्ट्र निर्माणको अभिभारा बोकेका हामी नागरिकहरुले हरेक आमूल परिवर्तनहरुलाई आत्मसात गर्दै यसको स्थायित्वको लागि अझ पनि धेरै भन्दा धेरै संघर्ष गर्न बाँकी नै छ। शु-शाषनको सपना विश्व रंगमंचमा प्रचार गरेतापनि हामी आफै आफैमाथी शासन गर्नबाट भने हरेकपटक चुक्दै आएका छौं, हरेक समस्याहरुको थालनी हाम्रो आफ्नै घरभित्रबाट शुरुवात भएको छ। कथित बहुदल ,प्रजातन्त्र अनि गणतन्त्रको को नाममा अनेकनपटक कुनै न कुनै गलत तत्वको सिकार हामी बन्दै आएको कुरा कसैवाट लुक्न सकेको छैन। आदर्शको कुरा त हामी हरेक पटक गर्ने गर्दछौं, तर व्यवहारिक रुपमा भने हामी अत्यन्त दयनिय अवस्थितीवाट नै गुज्रीराखेका छौं। घर, समाज हुँदै राष्ट्रनिर्माणको जिम्मेवारीसम्म आईपुग्दा हामी अनेकौंपटक समृद्ध नेपालका नाराहरु ओकल्ने त गर्दछौं तर फगत सस्तो लोकप्रियताको लागि मात्र हामीहरु यी र यस्ता आकर्षक नाराहरुको पुलिन्दा मात्र बनिराखेका हुन्छौं।

[email protected]

लेखकको अंघिल्लो लेख पढ्नुहोस : निम्छरो र छुद्र राजनितिको परिणति

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button