पत्रपत्रिकाबाट

पशुपतिको जग्गामा ब्रह्मलूट: १७ हजार रोपनीको भाडा जम्मा ७४ लाख !

काठमाण्डौ : पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बाैं हुन सक्छ । तर, पशुपतिले १७ हजार रोपनीबाट भाडा उठाउँछ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषाध्यक्ष डा.मीलनकुमार थापाले जानकारी दिए । संस्कृति मन्त्रालयले थापाको संयोजकत्वमा एक वर्षअघि गठन गरेको श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले यो विवरण पाएको हो ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सञ्चालक परिषद्को बैठकमा प्रस्तुत गरिने जानकारी दिए । परिषद्को अध्यक्ष संस्कृति मन्त्री हुने व्यवस्था छ । ‘प्रतिवेदनमाथि व्यापक छलफल हुनेछ, बैठकले निकालेको निचोड र निर्देशनअनुसार काम अगाडि बढाउने छौं’, उनले भने ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पनि आगामी आर्थिक वर्षभित्रै कुतबाली वापत आउने आम्दानीको पुनरावलोकन गरिने बताए । उनले भने, ‘उपभोग र प्रयोगका आधारमा भाडा र भूबहाल सच्याइने छ । व्यावसायिक हो वा अन्य प्रयोजनका लागि, सोहीअनुसार मापदण्ड बनाई नयाँ ढंगबाट असुलउपर गरिने छ ।’ पशुपति क्षेत्र विकास कोष ऐन २०६८ ले कोषको अधिनमा रहेका जग्गा, सम्पत्ति लगायत जायजेथामा आवश्यक परिमार्जन गर्न पाउने साथै कर निर्धारण गर्न पाउने अधिकार दिएको छ ।

पशुपतिको आम्दानी समय सापेक्ष समायोजन नभएको दसकौं भइसकेको छ । जग्गा जमिन अथाह भए पनि त्यसबाट आउने भाडा÷भूबहाल अत्यन्त न्यून छ । जग्गा बहुमुल्य भएको अवस्थामा अन्नबाली नै कुत लिने र त्यो पनि एकदमै न्यून गर्ने चलन विद्यमान छ ।

ठूला–ठूला व्यावसायिक संस्थाले कौडीको भाउमा पशुपतिको जग्गा उपयोग गरिरहेका छन् । त्यसलाई समयानुकूल गरिएको छैन । हायात रिजेन्सी होटलले १७ रोपनी जग्गा ओगटेको छ । मासिक करोड हाराहारी कमाउने उसले कोषलाई भने वार्षिक केवल ३४ हजार भाडा तिर्छ । तिलगंगा आँखा अस्पतालले विगत ३ वर्षयता ५ रोपनी वापत वार्षिक २ लाख रुपैयाँ कोषलाई दिँदै आएको छ । त्यसभन्दा पहिले उसले निशुल्क रुपमा पशुपतिको जग्गा प्रयोग गर्दै आएको थियो ।

पशुपतिनाथको २३१ रोपनी जग्गा कसले खायो?

वनकाली धर्मशालाले १० रोपनी र प्राणनाथ क्याफे करिब ४ रोपनी जग्गा उपयोग गरिरहेछन् । उनीहरुले पनि कोषलाई न्यून भाडा तिर्दै आएका छन् । पुशपति भण्डार तहविल, पशुपति आमकोट कचहरी, जयबागेश्वरी भण्डार मातहतमा ४ हजार ४ सय १३ रोपनी जग्गा छ । जसमा २ सय ३१ रोपनी १० आना जग्गा गायब छ, जसको कुनै लगत नै पशुपतिसँग छैन । तीनै कार्यालय अन्र्तगतको ४ हजार २८१ रोपनी १३ आनाको लगत छ । लगत भएको जग्गा वापत न्यून कुत उठ्ने गरेको छ ।

पशुपतिले धान, सरुवा चामल, मार्सी फलुवा चामल, तेल लगायतको भूवहाल÷भाडा लिने गरिएको छ ।पशुपति भण्डार तहविलले १ हजार ८ सय ६३ मुरी ८ पाथी ५ माना ३ मुठी धान कुत वापत पाउँछ । यसका अलावा १२ हजार ७ सय ९३ रुपैयाँ नगद बुझ्छ । दुवै गरेर वार्षिक ३७ लाख ३९ हजार ६ सय ६२ रुपैयाँ धान वापतको आम्दानी हुने गरेको छ ।

पुशपतिले सरुवा चामल ५ मुरी १६ पाथी ६ माना ५ मुठी र नगद ५० गरी २७ हजार ५ सय ७१ रुपैयाँ कुत वर्षेनी पाउँछ । उसले मार्सी फलुवा चामल ६४ मुरी ७ पाथी ६ माना ८ मुठी र नगद ३ सय ३३ गरी ५ लाख ३६ हजार २ सय ५० कुत बुझ्छ । यसैगरी तेल वापत २ मुरी १६ पाथी ७ माना ८ मुठी र ७५ रुपैयाँ कुत आउँछ । आधा धान ३० मुरी २ माना ४ मुठी गरी ३० हजार ३ रुपैयाँ, ठेकको १ लाख ३ हजार ८ सय ६४ रुपैयाँ आम्दानी पनि आम्दानी देखिन्छ ।

पशुपति अमाल तहविलले ६ सय ५९ मुरी ६ पाथी २ माना ७ मुठी गरी १३ लाख १८ हजार ६ सय ४२ धान कुत पाउँछ भने ४ लाख ९१ हजार ७४ नगद पाउने गरेको तथ्यांक छ । जयबागेश्वरी भण्डारले भूवहाल÷ भाडाको ११ लाख ७० हजार ८ सय १२ रुपैयाँ कुत वापत प्राप्त गर्दै आएको छ । कुत वापत ५ सय ८५ मुरी ८ पाथी १ माना पाउँदै आएको छ । जयवागेश्वरीले ३ हजार ७ सय ७१ रुपैयाँमा चित्त बुझाउनु परेको खबर आजको अन्नपूर्ण पोस्ट् मा छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button