राजनीतिविशेष

क. मदन भण्डारीको आदर्शबाट भड्किएका कम्यूनिष्टहरु

“मदन भण्डारीको प्रष्ट विचार, मिठो बोली र विपक्षीका विचारलाई सुन्ने र सम्मान गर्ने स्वभावका कारण नेपाली काङ्ग्रेसका ‘शिर्ष पुरुष’ गणेशमान सिँह र सम्बैधानिक बनेपछिका राजा वीरेन्द्रसँग पनि राम्रो सम्बन्ध रहन पुग्यो । मदन भण्डारीको हत्यापछिको समवेदना सन्देशमा तत्कालीन राजा वीरेन्द्रले उनलाई ‘सिद्धान्तनिष्ठ’ व्यक्तिको रुपमा सम्मान गरेका थिए भने नेपाली काङ्ग्रेसका ‘लौहपुरुष’ गणेशमान सिँहले रुँदै ‘प्रजातन्त्र पुनःस्थापनामा सम्पूर्ण शक्ति खन्याउने आफ्नो एउटा असल मित्रको हत्या भएको’ भनी श्रद्धान्जली दिएका थिए ।
राजा र गणेशमान सिँहले समेत  मदन भण्डारीलाई सिद्धान्तनिष्ठ व्यक्ति भन्नुको विशेष कारण छ । मदन भण्डारी अघिको नेपाल कम्युनिस्ट पार्टी टाउकाले टेकेर उभिएको थियो । व्यक्ति भन्दा सिद्धान्त ठूलो, ब्यक्ति भन्दा पार्टी ठूलो, स्वतन्त्रता भन्दा समानता ठूलो, सर्वहारा वर्गको अधिनायकत्व, कम्युनिस्ट पार्टीको नेतृत्वमा साम्यवादी समाजको स्थापना जस्ता गलत र अवास्तविक सोचबाट ग्रस्त थियो । यथार्थमा व्यक्तिले सिद्धान्त बनाउछ, व्यक्तिले पार्टी बनाउछ, त्यसैले सिद्धान्त र पार्टी व्यक्ति भन्दा माथि हुँदैनन् । स्वतन्त्रता माथि केही हुँदैन, एउटा स्वतन्त्र समाजले नै समानता प्रत्याभूत गर्छ । साम्यवादी समाज भनेको पार्टी, राज्य, शासक, शासित, वर्ग केही नभएको विश्व समाजको परिकल्पना हो यो सत्य चिन्न र बुझ्न नेपालको कम्युनिस्ट आन्दोलनलाई झण्डै साढे चार दशक लाग्यो । र नेपाली समाजलाई कम्युनिस्ट पार्टीको वास्तविक चिनारी दिने काममा मदन भण्डारीको अगुवाई रह्यो । 
कम्युनिस्ट पार्टीलाई आफ्नो खुट्टामा उभ्याउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने काममा सबैको अगुवाइ गरेको हुनाले मदन भण्डारीलाई नविन विचारक, नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार भनिएको हो” प्रदिप नेपाल, नेता तत्कालिन एमाले।

राजनितिको आदर्श, सिद्धान्त र धाराप्रबाहबमोजिम ऐलेको राजनिती चलेको देखिंदैन। बिचारको छलाङ भन्दा पनि मुढेबलको छलाङको भरमा ऐलेको राजिनितिका रथहरु गुडिरहेका छन । वास्तवमा भन्नुपर्दा नेपालको बर्तमान राजनिती अति प्रदूषित छ। न्याय, समानता, बिधिको शासन र ब्यबहारिक बस्तुवादी चिन्तनभन्दा अब्यबहारिक, अराजक एवं अप्राकृतिक चिन्तनशैली हावी देखिन्छ। सत्ता एवं शक्तिको दूरुपयोग चरमचूलीमा छ। भ्रष्टाचारको आँकडा दिनप्रतिदिन उकालो लाग्दैछ भने महंगी, कालोबजारी एवं घूषपैठमा राजनैतिक तहमा आसिन उच्चबर्गको प्रतक्ष्य संलग्न देखिन आएको छ। अख्तियर एवं न्यायालयबाट दोषी ठहर भएकाहरु कानूनको कठघरामा उंभिनुपर्नेमा शक्ति एवं पैसाको बलमा हाकिदाउ साम्राज्य जमाउंदैछन।

` सानालाई ऐन, ठूलालाई चैन´ यो यौटा नेपालको प्रताडित बर्गवाट उब्जिएको आक्रोशको ठूलो ब्यंग हो। रुप र सारमा जहिंतहिं निमूखा मात्र अन्यायमा परेका छन। हुनेखाने र हुंदाखानेबिचको कहालीलाग्दो दूरिबिच आमजनता ठूलाबर्गहरुको ऐयासी जीवन एवं अब्यबहारिक कृयाकलाप एवं चरम चलखेलबाट आजित छन।

जनताको लागि भनेर राजनिती गर्नेहरु धेरै छन हाम्रो देशमा, तर वास्तवमा जनताको जिवनस्तर, दैनिकी एवं राज्य ब्यबस्थापन प्रणालीमा जनतालाई जतिखेरपनि ओझेलमा नै पारिएको छ। शु-शासन, समन्वय र एकताका त कुरै छाडौं, जनताको लागि भनेर राजनिती गर्नेहरुले नै आखिरकार सदियौंदेखी एक आपसमा मिलि बसेका तिनै जनतालाई रंग, बर्ग एवं भूगोलको आधारमा विभेद गराई बितृष्णाको राजनैतिक आगोमा अझ घ्यू थप्न उद्धत छन राजनैतिक नेतृत्वतहहरु।

कुनैबेला मदन भण्डारीले भन्ने गर्दथे : “घरमा हात्ती पाल्नुभयो भने त्यसलाई धेरै घाँस, भुस, फिडिङ्ग चाहिन्छ। बोका पाल्नुभयो भने त्यसलाई थोरै घाँसले पुग्छ। यसअर्थमा हात्तीरुपी राजा फालेर यौटा जननिर्वाचित राष्ट्रपति हुने हो भने उसलाई प्रधानमन्त्रीसरहको तलवमा काम चल्थ्यो होला, तर यो सामन्ति अभिजात्य शैलीमा बँचेको दरवारलाई त्यति खर्चले पुग्नेवाला छैन।”

आज स्व. मदन भण्डारीपत्नी बिधा पाण्डे भन्डारी ऐले यो देशको गरिमामय राष्ट्रपति पदमा आसिन छिन। सरल र आदर्शका धनी जननेता स्व.मदन भण्डारीको विरासत थाम्दै राजनितीमा उदाएकी तिनै मदनपत्नी विद्या भण्डारी यो देशको दुई कार्यकाल राष्ट्रपतिको कार्यभाल सम्हाल्दैछिन। तर, आदर्श, त्यागी, निष्ठा र चिन्तकका साधक मदनपत्नी बिधा भण्डारीको राष्ट्रपति पद, ठाँटबाँट, हाऊभाऊ, शैली देख्दा उनै चिन्तक मदन भण्डारीकै पत्नी हुन र भनेर जिब्रो टोक्नुपर्ने अवस्था छ ऐले। उनै पतिको सादगी जिवनबाट प्रेरित भएकी हुन र भनेर सोध्नुपर्ने अवस्था छ।

स्व. मदन भण्डारी भन्ने गर्दथे: “एकजना राजा रहने कुराले त्यत्रो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजिवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहेपनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन।” आज के सांच्चै मदनपत्नी बाट आफ्नै स्व.
पतिले बोल्ने र अवलम्वन गर्ने सादगी जिवनको अवलम्वन भएको छ त? के उनको आदर्शमयी राजनितिले प्रेरित छिन त? अहँ त्यस्तो सादगीको अपेक्षा कदापी गर्न पाईएन। मदन भण्डारीको आदर्शको ठिक उल्टो राजाको भन्दा बढि खर्च यो देशले राष्ट्रपतिको लागि गर्नुपरेको छ। राजाको भन्दा बढि सुरक्षा खर्च राष्ट्रपतिको लागि गर्नुपरेको छ भने उनको सवार हुँदा सडक र आकाशमा ताण्डव प्रदर्शन गर्नुपरिराखेको छ।

राष्ट्रपतिमात्र किन? उनै आदर्श ब्याक्तिका चेला केपी शर्मा ओली यो देशको प्रधानमन्त्रीमा विराजमान छन। उनकै आदर्श राजनितिको छत्रछाँयामा हुर्किएर राजनितिको धरातल बलियो बनाएका स्व. मदन भण्डारीका चेलाहरुको चुरीफुरी देख्दा लाग्छ: यो देशमा जेनतेन यौटा राजा त फालियो तर, सयौं हजारौं नयाँ नयाँ राजाको उदय भएर आयो। गणतन्त्रसम्म आईपुग्दा राजसी ठाँटका कम्युनिस्टहरु बेग्रेल्ती बेहिर्नुपरेपछि पनि गणतन्त्र आऊनु र नआऊनुमा के नै तात्विक अर्थ रह्यो र?

ऐतिहासिक दूर्लव तस्विर: साईकिलमा सवार जननेता कमरेड मदन भण्डारी

अस्ति कम्बोडियाबाट फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बालुवाटारसम्म पुर्याऊनकै लागि ठाऊँठाऊँमा सडक खाली गराईएको रहेछ। आकाश त पहिल्ल्यै कब्जामा लिईएको थियो, सडकमा पनि ताण्डव देखाईएछ। सडकमा कुनैपनि सवारीलाई हिंड्न दिईएको रहेनछ। जनताद्वारा जनताले नै राज गर्ने भनेर ल्याएको गणतन्त्रमा के राष्ट्रपति, प्रधानमन्त्री राजाभन्दा माथीका हुन र तिनिहरुको सवारी होईबक्सिंदा जनताले बिच सडकमैं थुनिनुपर्ने? जनताको करले नै निर्माण भएका भौतिक पूर्वाधारमाथी जनता नै निर्धक्क भएर हिंडडुल गर्न पाऊँदैनन भने जनताले के खुशीमा गणतन्त्रको स्तुतीगान गाऊने? के अर्थमा गणतन्त्र नेपालका नागरिक हौं भनेर गर्व गर्ने?

उता जनयुद्धबाटै सर्वहारावर्गको उत्थान गरि देशमा आमूल परिवर्तन ल्याऊने, शोषक, सामन्त, दलाल र पूँजीपतिवर्ग ध्वस्त पार्ने भन्दै जनयुद्धमा होमिएर आएका पूर्व लडाकू कमाण्डर उपराष्ट्रपतिको पदमा विराजमान छन। उनको स्वागत र चाकरीकै लागि ४० डिग्री सेल्सियस तापक्रममा बालबालिकालाई घण्टौ उँभ्याईन्छ। बालबालिकाको दुरुपयोग गरिन्छ। गणतन्त्र नेपालको उपराष्ट्रपतिको स्वागतार्थ बालबालिकालाई यसरि दुरुपयोग गर्ने अधिकार कसले दियो?

जनयुद्ध नै लडेर आएका प्रचण्ड एण्ड कम्पनीका त कुरै नगरौं। कहाँबाट कहाँ पुगे भनेर पनि नसोंधौं। अझ कहाँ पुगेर मात्र विश्राम लिनेहुन भन्ने कल्पना मात्रै गरौं। यता झापा आन्दोलनबाट उदाएका तत्कालिन एमालेका नेताहरुको जिवनशैलीको बारेमा पनि नसोधौं। कुन स्तर र हैशियतमा छ यिमिहरुको जिवनशैली भनेर पनि नसोधौं। बरु यिनै नवधनाड्य, पूँजिपति कम्यूनिष्टबाट छुटकारा पाऊने उपाएको कल्पनामात्र गरौं, के थाहा समयमोडमा कल्पनाले पनि साकार रुप पो लिन्छ कि?

आज जेठ ३ गते ठ्याक्कै २६ वर्षअगाडि यही दिन नेकपा एमालेका महासचिव मदन भण्डारीको रहस्यमय ढङ्गबाट मृत्यु भएको थियो। त्यो बेला पार्टीको तर्फबाट जाँचबुझ गर्ने गठित समितिको अध्यक्ष केपी ओली थिए। ओली अहिले प्रधानमन्त्री छन्। भण्डारी पत्‍नी विद्या पाण्डे अहिले राष्ट्रपति। कुरा यत्तिमै मात्र सिमित त होला फूलमाला लगाएर स्मरण गरि उनले देखाएको बाटो भनी खुवै आदर्शक भाषण छाँटिने। अन्तत भोलीवाट उहीँ पुरानै ढर्‍आ ! हेरौं हामी पनि किनकी बल यिनकै हातमा छ, गोल गर्ने जाँगर चलाउछ्न कि चलाउंदैनन।

बिचार, आदर्श एवं उच्च नैतिक राजनितिका प्रणेता स्व. क. मदन भण्डारीको जिवनीवाट ऐलेका नेतृत्वबर्गले पाठ सिक्नु आवश्यक छ। सत्चरित्र एवं उच्च नैतिक मूल्य एवं मान्यताको राजनिती गर्ने प्रेरणा मिलोस, सुवेच्छा

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button