राजनीतिविचार ब्लगविशेषसमाज

शिष्टता हैन अभद्रता, सदाचार हैन भ्रष्टाचारले चिनिएको देश नेपाल

बिजय ज्ञवाली : हिजो बेलुकी सामाजिक संजालमा यौटा भिडियो भाईरल बनेर आयो। एभिन्यूज टेलिभिजनको यौटा कार्यक्रम जसको संचालन सुशील पाण्डे भन्ने पत्रकारले गर्दारहेछन। कार्यक्रम मा संवादको लागी आमन्त्रण चाहिँ सरकारका उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा हालै एकिकृत भएर बनेका संघिय समाजवादी पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आमन्त्रित गरिएको रहेछ। भिडियोलाई शुरुदेखि नै हेरियो तर मध्यान्तरमा पुग्दा नपुग्दै विडम्वनापूर्ण अन्त्य हुन पुगेछ उक्त कार्यक्रम।

देशको विशिष्ट पदमा रहेको ब्याक्तिलाई सम्मान गर्ने दायित्व हरेक क्षेत्रका नागरिकको हुन्छ, चाहे त्यो पत्रकार, वकिल, डाक्टर, इन्जिनियर, ब्यवसायी या जोसुकै होस, हरेकले हरेकलाई सम्मानपूर्ण व्यवहार गर्न जान्नुपर्दछ। देशको मूल राजनितिमा नेतृत्वदायी भूमिकासंगै सरकारको उपप्रधानमन्त्रीजस्तो पदमा आसिन ब्याक्ति माननीय पनि हुन, राज्यले भिआईपीको दर्जामा राखेको हुन्छ। त्यस्ता ब्याक्तिहरुसंगको प्रस्तुती नम्र, शालिन, सभ्य र भद्र रुपमा हुनुपर्दछ र राज्यले भिआईपीको दर्जामा राखेका माननियज्यूहरुको पनि प्रस्तुती झनै नम्र, शालिन, शिष्ट र सभ्य हुनुपर्दछ। भिआइपी भन्दैमा अहंमता प्रदर्शन पटक्कै सुहाऊने बिषय होईन भने राज्यका चौंथो अंग भनिने संचारमाध्यममा कार्यरत पत्रकारहरुले पनि आफैलाई सर्वेसर्वा ठान्नु कदापी हुँदैन, आफैले आफैलाई अति बुझ्ने प्राणीको श्रेणीमा पत्रकार उँभिन थाले भने नतिजा त्यहिं हुन्छ, जुन हिजो भयो।

हो, जनतालाई सूसूचित गराऊने दायित्व पत्रकारको हो संगै राज्यको पनि उत्तिकै दायित्व रहन्छ। राज्यका हरेक कृयाकलापको बारेमा जानकार रहन पाऊनु नागरिकको अधिकार पनि हो। राज्य र जनताबिचको सेतु बनेर संचारमाध्यममा आवद्ध पत्रकारले बिना आग्रह, पूर्वाग्रहरुपमा सन्तुलित, निष्पक्ष र पारदर्शी तरिकाले आम नागरिकसमक्ष सूचना पुर्याऊने सामर्थ्य राख्न सक्नुपर्दछ। पत्रकारिताको मर्म र उद्देश्यअनुरुप नेपालका अधिकांश पत्रकारहरु हिंड्न नसक्नुको बिडम्वनास्वरुप यस्ता घटना घटी नै रहनेछन।

पत्रकार सुशील पाण्डेको शैली ठिक भएन। सरकारको उपप्रधान एवं स्वास्थ्यमन्त्रीजस्तो ब्याक्तिलाई लाखौं नागरिकका सामुन्ने अपमान गरिएको छ। पटक पटक तपाईं जान सक्नुहुनेछ भनेपछि यौटा सामान्य साक्षर मान्छे त त्यहाँ बस्नुको औचित्य देख्दैन भने राज्यको उपल्लो ओहोदामा रहेको ब्याक्तिलाई त्यसरि जानसक्नुहुन्छ भनेर बारम्वार भन्दा कुनैपनि हालतमा त्यतिविघ्न अपमान सहेर त्यहाँ बसिरहने कुरै भएन। उपेन्द्र यादव उठेर गइदिए, सुशील पाण्डे भने अझै पनि आऊन सक्नुहुन्छ भनेर आग्रह गर्दैथिए। लाखौं जनतामाझ अपमानित भैसकेर उठिसकेको मान्छे कहिल्ल्यै पनि त्यस्तो काईते आग्रहले फर्किएर आऊंदैन भन्ने कुरा सुशील पाण्डे भन्ने पत्रकारलाई कसैले सिकाईदिए पनि हुने।

हो, देशमा भ्रष्टाचार, बेथीती, लूट, अपराधलगायत तमाम विसंगती चरमचूलीमा छन, जुनसुकै सरकार आए पनि यी कर्तुतहरु घट्नुको साटो झनै चुलिंदै गएका छन, झनपछि झन नयाँ नयाँ रेकर्ड बनाऊदै गएका छन। संक्रमणकालिन राजनितिको अत्यासलाग्दो दूईदशक छिचोलियो, स्थायित्वको सूचक मानिएको वर्तमान सरकारप्रति आम नागरिकका मात्रै होईन, हरेक पेसा ब्यवसायीदेखि देशबिदेशबाट पनि नेपालप्रति चासो राख्ने नागरिक, संघसंस्थाहरुको पनि सु-शाषनको खातिर निकै अपेक्षा थियो, तर त्यस्तो अपेक्षामा तुषारापात भएको पक्कै हो। दूईतिहाई मत प्राप्त वर्तमान ओली नेतृत्वको सरकार देशमा सु-शासन कायम गर्नबाट गम्भिररुपमा चुकेकै हो। विगतका सरकार र वर्तमान सरकार हुनु र नहुनुमा तात्विक फरक देखिएको छैन। न भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्न सकेको छ, न नै आफैले प्रचार गर्दै आएका निति तथा कार्यक्रमहरुको प्रभावकारि रुपमा कार्वान्ययन गर्नसकेको छ। एक हिसावले भन्ने हो भने २ बर्षको समयावधी पूर्णरुपमा ब्यर्थै खेरा फालेको छ वर्तमान सरकारले। बिस्तारै बिस्तारै असफलताको बिल्ला भिर्न थालेको छ सरकारले।

यता आम नागरिकमा भने उकुसमुकुस छ, चरम निराशा र घृणा छ बर्तमान सरकारप्रति। प्रश्नै प्रश्नको भारी बोकेर दिनचर्या बिताऊंदैछन। समस्यै समस्याले ग्रस्त छन। अभाव, महंगी, कालोबजारी, विचौलिया, दलाल, ठेकेदारदेखि नेता हुँदै राज्यसम्मको लूटको भारी जनताले बोक्नुपरेको छ। आशाको किरण कतै संचार भएको छैन। जहिंतहिं भ्रष्टाचार, ब्रह्मलूट, कमिशन, ठगीको सिकार जनता भईरहंदा भने शाषकहरुले बांसुरी चाहिँ बजाऊन छोडेका छैनन, यो तितो यथार्थ हो। न भ्रष्टाचार, घोटाला, कालोबजारिया, ठगी मुद्धाको छानविन भैरहेको छ, न नै त्यस्ता अपराधीलाई कानुनी दायरमा ल्याईएको छ। ठूला ठूला घोटाला, भ्रष्टाचार, अपराधमा संलग्नलाई राज्यवाटै संरक्षित भएको छ। सत्य तथ्य छानविन गरेर, दोषीलाई हदैसम्म कारवाहीको भागिदार बनाएका कुराहरु जनतासमक्ष ल्याई जनतालाई सूसूचित एवं न्यायको प्रत्याभूती गर्नबाट राज्य गम्भिर रुपमा चुकेको छ।

यसमा अर्को दृष्टिकोण पनि छ। जब राज्य जड्, किंकर्तव्यविमूढ, अनुत्तरदायी एवं वेपरवाह बन्छ, तब हरेक जनताको मुखबाट आगो ओकलिन शुरु हुन्छ। त्यस्तो आगो जुनसुकै तह र तप्काका ब्याक्तिबाट निस्किन पनि सक्तछ। पत्रकारको मुखबाट निस्किए पनि त्यो जनआक्रोश नै हो। पत्रकारले जनआक्रोशको जवाफ सम्बन्धितको मुखवाट सुन्न अनि सुनाऊन चाहन्छ। जब जनताका प्रश्नको सामना गर्नबाट शाषक वर्ग डराऊन थाल्दछन, हिम्मत राख्दैनन तब पनि यस्तै घटनाहरु घट्ने गर्दछन। छानविन नै हुने हो भने उपेन्द्र यादव पनि भ्रष्टाचारमा दोषी नठरिएलान भन्न सकिन्न। उपेन्द्र यादव मात्रै किन, अहिलेसम्म सत्ताको रस्वादान गरेकामध्ये अलिकति अपवादबाहेक बाकी सवै भ्रष्टाचारी नै ठहरिनेछन ।

प्रेम सन्जेललाई ३५ दिनको भत्ता खाएर भ्रष्टाचार गरेको आरोप लगाई बहादूरीपूर्वक अख्तियारले बयानका लागी बोलाऊने गौरवशाली बहादूर अख्तियार भएको देश हो यो मेरो जहाँ यत्रा काण्डै काण्डले देश थिलो थिलो पर्दासम्म अख्तियार तमासा हेरेर बसेको छ। मुतको आनन्दमा रमाएको छ। त्यस्तो देशको एक पत्रकारले त्यस्तै शैलीमा शाषकलाई प्रश्न सोध्नु त्यति नाजायज पनि होईन। तर, शैली नमिल्दा आलोचित हुनुपरेको छ। पत्रकार पाण्डे भोलीका दिनमा कारवाहिको भागिदार होलान नहोलान, त्यो आफ्नै ठाऊँमा छ, तर उनले आफ्नो शैली भने सुधार्नैपर्दछ। सार्वजनिक रुपमैं राज्यका उपल्लो तहका ब्याक्ति त के एक साधारण नागरिकको समेत अपमान भने गर्न मिल्दैन। अर्कोतर्फ शाषकवर्गले के पनि बुझ्नु जरुरी छ भने अहं र आडम्वरताले कहिल्ल्यै पनि असल नेता बनिंदैन। नेता त बन्नुहोला, तर असल नेता या राजनेताको दर्जा भने पाऊनुहुँदैन। देशमा विकराल विकृतिप्रति आँखा चिम्लिन पटक्कै पाईंदैन र यो देशलाई क्रीडास्थल बनाऊन पनि पाईंदैन। जिम्मेवार नेताले सुधारका लागि संघर्ष गर्नुपर्दछ, राज्य लूट्नका लागि होईन। लुट्दा लुट्दै यो राज्य खोक्रो बनिसक्यो, असफल बनिसक्यो, अझै पनि राज्यका हाडछाला लुछ्न पनि नछोड्ने र केही पनि नभएजस्तो स्वांङ्ग पारेर बस्ने हो भने तपाइंहरुजत्तिको खलनायक र खलपात्र अरु कोहि हुनेछैन। किनकी यो देशमा भ्रष्टाचारको शुरुवात नै सिंहदरवाट भएको छ।

यो पनि पढ्नुहोस : मोदिको पुनरागमन: कति सम्भव कति असम्भव?

उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button