विशेषसमाज

लासको मूल्य : यौटा मानवीय वहस

कपिलमणी ज्ञवाली :

रोग लागे अस्पताल लगिन्छ । डाक्टरले उपचार गर्छन् । गम्भीर प्रकृतिको रोग लागेको छ, लामो उपचार चाहिन्छ, शल्यक्रिया गर्नु पर्नेछ भने अस्पतालमै भर्ना गरी उपचार गरिन्छ । रिण-धन, सरसापटी जे गरेर पनि उपचारको खर्च जुटाइन्छ । उपचार र औषधीमा कत्ति मोलमोलाई हुँदैन । देउताको बोली जस्तो जति भन्यो त्यति दिइन्छ ।

उपचारको क्रममा कोही छिटै निको भएर घर फर्किन्छन्, ख़र्च पनि खासै लाग्दैन । तर गम्भीर प्रकृतिका कोही बिरामी दिनौँ, महिनौँ अस्पताल बस्नुपर्ने हुन्छ, जति उपचार गर्दा पनि निको हुँदैनन्, अथाह धनराशि खर्च हुन्छ । उपचार जति लम्बिन्छ अस्पतालको बसाइ र खर्च पनि बढ्दै जान्छ ।

मानव जीवन न हो । जन्मेपछि एकपटक त जानैपर्छ । यो साश्वत सत्य हो । जाने बाटो सबैको एकै हुँदैन, फरक फरक हुन्छ । गम्भीर किसिमका दूर्घटना तथा मस्तिष्कघात, हृदयघात आदि कारणबाट तत्काल, केही समय वा केही दिनमै मृत्यु भयो भने खर्च अवश्य पनि कम हुने नै भयो । यसो भन्नु मानवीय दृष्टिकोणले सर्वथा गलत भए पनि यथार्थ त यही नै हो । फेरि उमेर ढल्केपछि सामान्यतः क्रियाशील जीवनपछिको यस्तो मरणलाई सहज मृत्यु वा भगवान्को प्रिय भएको पनि मानिन्छ । यद्यपि आफन्तीको मृत्युको पीडा असह्य र अकल्पनीय हुन्छ ।

बिरामी निको हुनलाई अस्पताल जान्छन्, जति समय लागे पनि र जति खर्च लागे पनि खर्च गर्छन् । अन्तिम अवस्थासम्म पनि बिरामी निको हुन्छ भन्ने सबैको कामना हुन्छ । सामान्यतः मृत्युको कल्पना नै हुँदैन । त्यसैले त रिण-सापटी गरेर, पाटोबारी वा सम्पत्ति बेचेर पनि उपचार गरिन्छ । यदि कुनै पनि हालतमा निको हुँदैन भन्ने विश्वास भए वा हुने हो भने सम्भवत: धेरै धनराशि खर्च गरी गम्भीर रोग लागेका कमै बिरामीको उपचार गरिन्थ्यो । यो पनि यथार्थ हो ।

तर आफन्ती बिरामी हुँदैमा उपचार गर्नु, जे-जसरी भए नि खर्च जोहो गर्नु आफन्तीको कर्तव्य हो, हाम्रो धर्म, संस्कार र पद्धति हो । गर्नैपर्छ, यसमा कुनै प्रश्न, विवाद र द्विविधा नै छैन । डाक्टरले धर्म संझी इमान्दारिता, निष्ठा र कर्तव्यबोधका साथ उपचार गर्छ, आफूले सकेसम्म निको पार्ने र बचाउने कोसिस गर्छ । यसो गर्नु डाक्टरले खाएको सपथ र धर्म पनि हो, गर्नैपर्छ । उसले आफूले सेवा दिएवापत सुविधा त लिने नै भयो । त्यति ठूलो लगानी गरी विज्ञता हाँसिल गरेको डाक्टरले अलिकति बढी सुविधा लिनु त्यति नाजायज पनि होइन ।

कुरा रह्यो अस्पतालको । अस्पताल सेवा र नाफा दुवै उद्देश्यले संचालन गरिएको हुनाले सेवा पनि दिइने र शुल्क पनि लिइने गरिन्छ । हो, अस्पताल सरकारी, निजी, अति महँगा, मध्यम र सस्ता पनि छन् । बिरामीहरू आफ्नो गच्छे अनुसार जहाँ उपचार गराउन सकिन्छ त्यही जाने हो । यसलाई जहाँ गए पनि डाक्टरको उपचारमा सामान्यतः फरक नपर्ला तर अस्पतालले उपलब्ध गराउने सुविधा, स्तर र गुणस्तरमा भने अवश्य फरक पर्छ र सोही अनुसार शुल्क पनि फरक पर्छ । यसलाई पनि अन्यथा मान्नु सायद पर्दैन होला ? आफ्नो घाँटी हेरी हाड निल्नुपर्छ।

उपचार गर्दा अस्पतालमा बिल त उठ्छ नै । महँगोमा धेरै उठ्ला, सस्तोमा थोरै उठ्ला । उठेको बिल अनुसारको रकम तिर्नैपर्छ, तिर्छु भनेरै अस्पताल गइएको हो । यसमा सायद त्यति धेरै वहस नहोला ?

तर अस्पतालमा उपचार गराई निको भएर घर फर्किन्छु भनी अस्पताल गएको बिरामी लामो समयसम्म उपचार गर्दा पनि र धेरै धनराशि खर्च गर्दा पनि निको भएन । निष्ठा र धर्मका नाममा गरिएको डाक्टरको अनगिन्ती प्रयासका बावजूद पनि बिरामी निको भएन । उसको मृत्यु भयो । मर्नु साश्वत सत्य हो, ढिलोचाँडो हो तर अवश्यंभावी हो । यसमा समवेदना र श्रद्धांजली बाहेक अरु के नै गर्न सकिन्छ र ? यस सत्यलाई पनि आँसु पिई सहनै पर्छ ।

यहाँसम्म त चित्त बुझाउनै पर्छ, अर्को कुनै विकल्प छैन । तर आफन्तीले आफन्ती गुमाएका छन्, रुवावासी र कोलाहल मच्चिएको छ । आफन्ती मिलेर सत्गतिका लागि जब लास निकाल्न खोज्छन् तब लाखौँको बिल थमाइन्छ । बिलको रकम भुक्तान नगरी लास दिइँदैन । निको होला भनी अस्पताल राखियो, जायजेथा सबै खर्च गरी उपचार गरियो, अवश्य निको हुन्छ भनी आशा गरियो । न आफन्ती रह्यो, न धनसम्पत्ति, जायजेथा केही रह्यो । उल्टै बिरामीको मृत्यु भयो । जुन उद्देश्यले त्यति धेरै खर्च गरियो त्यो सबै स्वाहा भयो । अब न बिरामी रह्यो, न धन-सम्पत्ति रह्यो । धर्म, संस्कृति, परम्परा र आफन्तीको कर्तव्य अनुसार पनि सत्गति गर्नैपर्छ तर अस्पतालको बिल नतिरी लास निकाल्न सकिन्न। जसको निरोगिता र स्वस्थताको निमित्त त्यतिका खर्च भयो, बिल उठ्यो, अब त्यह नै नरहेपछि बिलको जिम्मेवारी कसले लिने ? कसले रकम तिर्ने ? बिरामी बाँचुंजेल निको होला कि भन्ने आशामा सकेको जति तिरियो ।तर त्यही बिरामी नरहेपछि कसको बिल तिर्ने ? के उपचारको क्रममा मरेका बिरामीको बिल तिर्नु बाध्यता हो ? यो त मरेको आफन्तीको लास किनेको जस्तो भएन र ? सरकारको लागि यो ठूलो र प्राथमिकताको वहस नहुन सक्छ तर यस्तो पीडा जसले भोगेको छ त्यसका लागि योभन्दा ठूलो विषय अर्को हुनै सक्दैन । त्यसैले सरकार ! यस विषयमा पनि छलफल चलाउनु कि ?

कानुनले के भन्छ ? मलाई थाहा छैन तर सामाजिक, व्यावहारिक र मानवीय दृष्टकोणले यो सर्वथा अनुचित देखिन्छ । यसतर्फ अस्पताल, सरकार, नीतिनिर्माता, सम्बन्धित निकाय र बौद्धिक व्यक्तित्वले वहस चलाउनु सान्दर्भिक र उचित हुने देखिन्छ ।
[email protected]

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button