राजनीतिसमाज

प्रधानमन्त्रीज्यू, बिष्णु पौडेललाई कारवाही होला त?

नारायण गाऊले :

प्रधानमन्त्रीज्यू,
भूमाफियाहरू बर्सौंदेखि देशभर सक्रिय छन् र विष्णु पौडेल ती सबैको एकमात्र डाइरेक्टर होइनन् । देशभर यति धेरै जग्गा हडपिएको छ कि क्षेत्रफलको हिसाबले आठ आना रौँबराबर पनि होइन । पौडेललाई कारबाही गर्नेबित्तिकै माफियातन्त्र निर्मूल हुने पनि होइन ।

तर प्रश्न सार्वजनिक पदमा बस्नेको नैतिकताको हो । इमान्दारिता र जिम्मेवारीको हो । विष्णु पौडेल त्यसमा चुकेका छन् ।

पौडेलले सोझै सरकारी जग्गा आफ्नो छोराको नाममा दर्ता गरेका होइनन् तर यो सामान्य व्यक्तिसँग किनिएको पनि होइन । जुन स्रोतबाट उनले जग्गा हासिल गरे, त्यसलाई सरकारी छानबिन समितिले नै भूमाफिया भनेर किटान गरेको छ । माफियासँग एउटा राजनैतिक नेताको सम्बन्धको अर्थ के हुन्छ, त्यो तपाईंलाई थाहै छ । एउटा व्यक्तिसँगको सम्बन्ध संयोगमात्रै हुनसक्छ तर पौडेलको आठ आना दुई जना व्यक्तिबाट किनिएको छ र बेच्ने दुबैलाई तपाईंकै सरकारी समितिले भूमाफिया भनेर कारबाहीको सिफारिश गरेको छ । मुख्य दुई माफियासँग कसरी विष्णु पौडेलको सोझो सम्बन्ध भयो ?

नारायण गाऊले

सम्बन्धमात्रै होइन, पौडेललाई जग्गा बेच्ने मुख्य ‘माफिया’ शोभाकान्त ढकालसँग पौडेलको गहिरो दोस्तीसमेत देखिन्छ । तत्कालीन माओवादीले भूमाफिया भनेर ढकाललाई अपहरणसमेत गरेको रहेछ । कति रकम प्रचण्डसम्म पुगेपछि उनी छुटे, त्यो भगवान् जानून् । नेकपा नेता ढकाल एमालेमा स्वास्थ्यविभाग सदस्य थिए । पौडेलले उनलाई सांसद नै बनाएर पुरस्कृत गर्न चाहेको र घनश्याम भूसालको विरोधका कारण सम्भव नभएको समाचार आएका छन् ।

ढकालको आग्रह र विष्णु पौडेलकै लबिङमा माधव नेपाल प्रम हुँदा मन्त्रीपरिषदले ‘सोझै मालपोत कार्यालयले जग्गाको श्रेस्ता खारिज या दर्ता गर्न सक्ने’ निर्णय गरेको रहेछ । यसरी सरकारी जग्गाबाट कानुनी रूपमैं सरकारी श्रेस्ता खारिज गरेर व्यक्तिका नाममा दर्ता भएको देखिन्छ । यही निर्णयले गर्दा मालपोतको षड्यन्त्रले वैधता पाएको र माफियागिरी बढेको तपाईंकै छानबिन समितिले बताएको छ । यसबाट धेरैले दृश्य-अदृश्य लाभ लिएका छन् र पौडेल यसका प्रत्यक्ष लाभग्राही देखिएकै छन् ।

प्रधानमन्त्रीज्यू, यी आरोप विपक्षीका होइनन्, पार्टीभित्रै विष्णु पौडेलविरोधीका पनि होइनन् । यो छानबिन समितिकै प्रतिवेदन र स्वयं विष्णु पौडेलकै वक्तव्यबाट प्रमाणित तथ्य हुन् । यति धेरै ‘क्लू’हरू पौडेललाई दोषी साबित गर्न पर्याप्त नहोलान् तर नैतिक पतनको उदाहरण भने पक्कै हुन् ।

यति काफी छैन भने उनले खुरुखुरु छोराको नाममा जग्गा किन्ने र आफूलाई सुकुम्बासी भनेर बुटवलमा सरकारी जग्गा आफ्नो नाममा पास गरेका प्रमाण पनि बाहिर आएका छन् । नवलपरासीमा जग्गा हुँदाहुँदै बुटवलमा सुकुम्बासी बनेर पहुँचका भरमा जग्गा हासिल गर्नु नैतिक पतन होइन ? यति गम्भीर आरोप आफूमाथि लागिसकेपछि पनि पार्टीको महत्त्वपूर्ण पदमा टाँसिरहनुले उहाँमा नैतिकताको मात्रा ज्यादै न्यून छ भन्ने पुष्टि गर्छ ।

अब प्राविधिक पक्षको क़ुरा गर्ने हो भने पनि २०६१ मा बालुवाटारमा आनाको पचास हजारमा जग्गा आउँदैन भन्ने सबैलाई थाहा छ । म कपन सरस्वतीनगर डेरामा बस्थेँ, घरअगाडिको जग्गा पाँच लाख आनामा ‘सस्तो’ पाउँदा पनि किन्न हैसियत नपुगेकाले १० वर्ष जागीरे जीवन बिताएर पनि काठमाडौंमा जग्गा जोड्न सकिएन । आजसम्म छैन । पौडेलजी त झन सुकुमबासी र बेरोजगार हुनुहुन्थ्यो । कर छल्नकै लागि आनाको पचास हजार देखाइएको स्पष्ट छ । के यो आफैमा अपराध होइन ?

संलग्नलाई कारबाही हुन्छ, गरिन्छ भन्ने अनि त्यसमा आफ्नो अनुहार भेटियो भने आफै न्यायाधीश बनेर चोख्याउने काम सही हो र ? के पौडेललाई सँगैको बेन्चमा राखेर, छानबिन अघि नै उहाँ निर्दोष हुनुहुन्छ भनेर निष्पक्ष छानबिन हुन सक्छ ? यो त सामान्य न्यायसिद्धान्त र अन्तर्राष्ट्रिय मान्यताको विरुद्धमा भएन र ?

गोकुल बाँस्कोटाले गरेको क्षतिपूर्तिको कुरोलाई धेरैले मजाकका रूपमा बुझेका थिए तर त्यो तपाईंकै भर्सन थियो भन्ने थाहा पाउँदा धेरै निराश छन् । यस प्रकरणमा धेरैतिरबाट ठोक्किन आउने नाम भाटभटेनिका मालिक मीन बहादुर गुरूङको पनि हो । उनीमाथि पनि छानबिन हुँदैन भन्ने सङ्केत उनलाई भर्खरै राष्ट्रपतिबाट सम्मानका निम्ति सिफारिश गरेर तपाईंले दिइसक्नुभएको छ । छानबिन समितिले माफिया भनेर तोकेका व्यक्ति त झन नेकपाका कार्यकर्ता नै हुन् ।

पौडेलविरुद्ध लेख्ने र बोल्नेहरूले होइन, तपाईंले अनैतिक रूपमा काखी च्यापेकाले हो पार्टी कमजोर हुने ! पौडेल आफैमा केही होइनन् । उनीविरुद्ध बोल्नेहरू प्रवृत्तिविरुद्ध बोलेका हुन्, पार्टीविरुद्ध होइन ।

देश भ्रष्टाचारले यसरी गाँजिएको छ कि जसले जहाँबाट छानबिन सुरु गरे पनि आफ्नाहरूकै अनुहार बाहिर आउँछ । यो महाभारत युद्ध जस्तै हो । न्यायका लागि लड्नुपर्ने शत्रुसँग होइन, आफ्नैसँग हो । प्रश्न ‘प्रोटेक्टीभ’ बनेर भ्रष्टाचारलाई वैधता दिने कि निर्मम बनेर कठालो समात्ने भन्ने हो । तपाईंले कुन बाटो लिनुहुन्छ भन्ने क़ुराले देशको त भविष्य निर्धारण गर्छ नै, तपाईं र पार्टीको लोकप्रियतालाई समेत असर गर्छ !

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button