पत्रपत्रिकाबाट

भारतियलाई नागरिकता प्रकरण: अदालतले आदेश दिए पनि प्रहरीले पक्राऊ गर्न मानेन

झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ । घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको छैन ।

नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले १० वैशाखमा जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले भूपाललाई भारतीय मतदाता परिचयपत्रसहित पक्राउ गरेका थिए । भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भूपालको औँलामा मसी लागेको देखेपछि उनीमाथि सोधपुछ गरिएको थियो । बरामद भएको मतदाता परिचयपत्रमा भूपालको बाबुको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ ।

भूपाल आफ्नो जेठो छोरो भएको बताउँदै नागरिकता दिलाउन प्रशासन कार्यालय पुगेका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ पनि समातिएका थिए । उनीहरू पक्राउ परेको आठ दिन बितिसक्दा पनि जन्मदर्ता बनाइदिने, नागरिकता सिफारिसमा सहयोग गर्ने र सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयमाथि अनुसन्धान भएको छैन ।

जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित नौजनालाई पक्राउ गर्न सोमबार जिल्ला प्रहरी कार्यालय झापालाई पक्राउ पुर्जी दिएको थियो । तर, प्रहरीले उनीहरूलाई पक्रन आनाकानी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार एकजना वडाध्यक्ष, एकजना वडासदस्य, दुईजना कर्मचारी र पाँचजना स्थानीयको नाममा पक्राउ पुर्जी जारी भएको छ ।

अदालतले कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासदस्य धनबहादुर गुरुङ, वडासचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा यसमा मुछिएका छन् । त्यस्तै, स्थानीयहरू कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाममा पनि पक्राउ पुर्जी जारी भएको छ ।

झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले भने अदालतले पक्राउ पुर्जी जारी नगरेको, तर पक्रिने अनुमतिचाहिँ दिएको बताउँदै आएका छन् । ‘हामी घटनामा मुछिएकाको खोजी गरिरहेका छौँ,’ उनले भने, ‘उनीहरू छिट्टै पक्राउ पर्छन् ।’ अदालतले पठाएको नामसहितको उक्त कागजात मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बनियानीलाई पठाएको छ । इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक उदयशमशेर राणाले पक्राउ पुर्जी आफ्नो हात परिसके पनि कसैलाई पक्राउ गर्न नसकिएको बताए । ‘पक्राउ पुर्जी हात लागेपछि हामी खोजतलासमा लाग्यौँ, सबैको घर–घरमा पुग्यौँ, तर वडाध्यक्षलगायत सबैजना फरार छन्,’ उनले भने ।

प्रहरीले नै दियो भाग्ने मौका

१० वैशाखमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ परेका दुवैजनालाई झापा प्रहरीले भोलिपल्टै जिल्ला अदालतमा नागरिकतासम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएको सात दिनपछि अदालतले यस घटनामा संलग्न अन्यलाई पनि समात्न पुर्जी जारी गरेको हो ।जिल्ला प्रशासनबाट दुईजना समातिएकै दिन यो काण्डमा संलग्न सबैको नाम खुलिसकेको थियो । तर, एक सातासम्म पनि प्रहरीले उनीहरूमाथि निगरानी नगरी उम्किने मौका दिएको हो ।

जिल्ला प्रशासन स्रोतका अनुसार कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराईले भूपालको नागरिकताका लागि सिफारिस बनाइदिएका थिए । वडासचिव हरि गौतमले जन्मदर्ता र सर्जमिन मुचुल्का गरेका थिए, जसमा पाँचजना स्थानीयले हस्ताक्षर गरेका थिए । मुचुल्कामा वडासदस्य धनबहादुर गुरुङ र वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले पनि हस्ताक्षर गरेका छन् । (लक्ष्मी काफ्लेद्वारा तयार पारिएको यो समाचार हामीले नयाँपत्रीका दैनिकबाट लिएका हौं।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button