मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग-१७ (भाईको मलामी)

जीवनमा आइपर्ने कतिपय घटना हरू यति कठोर हुन्छ्न् कि जसै सामना नगरी धरै पाइन्न । अन्ततः भगवानको लीला वा खटन यस्तै रहेछ भनेर
चित्त बुझाउनु बाहेक अरु कुनै विकल्प नै हुन्न । मानिस जति सुकै सम्पन्न
होस् , बल बुद्धिले संसार जितोस् तर काल वा प्रकृतिलाई कहिल्यै जित्न सक्दैन । सक्ने पनि छैन । जस्तो चर्को घाममा शितल चस्मा लगाएर वा छाता ओढेर केही शितलताको अनुभूति गरे तापनि घाम न त मधुरा भएका हुन्छ्न् न शितल नै भएको हुन्छ । घाम वा गर्मी बाट पर्ने प्रभाव उत्तिकै परिरहेकै हुन्छ । त्यसैले पनि “हुने हार दैव नटार” भनिएको होला ।

हाम्रो हजुर बुबा कति सन्तानमा बँचेको एक्लो हुनुहुन्थ्यो त्यो सम्म पनि हामीले थाहा पाउन सकेनौं । त्यसैले पनि होला हजुर बुबाले सन्तान वृद्धि
कै लागि सात सात ओटी हजुर आमा ल्याउनु भएको होला। सात ओटी मध्य बाट दुई फुपू र तीन बुबा हरू रहनु भएको रहेछ । हजुर बुबाको पनि अल्पायूमा निधन भएकोले , परिवारको मियो नै ढले पछि कति अप्ठेरा हरू भोग्न पर्छ , भोग्नेलाई मात्रै थाहा हुन्छ । अरुले केही दिन सहानुभूति देलान् , केही सक्ने सहयोग पनि गर्लान् तर त्यो भनेको केही क्षणलाई मात्र हो ।

हजुर ! हजुर हरूलाई न अल्मल्याई म सोझै कथा वस्तु तिर लैजान चाहन्छु । बुबा हरूको तीन भाइ हरुमा , माइलो बुबाका तीन ओटा बिहे भए पनि दुई आमा हरु बाट तीन दिदी र पाँच दाजु भाइ भए पनि एक दाजु सानैमा बितेकोले मैले देखिन थाहा नै भएन भनौं अरू ती दाजु र म भन्दा एक डेड बर्ष सानो भाइ थियो तीन दाजु भगवानका कृपाले हुनुहुन्छ सबै भन्दा सानो भाइ गुमाउँदाको पीडा यहाँ राख्न चाहेको हूँ ।

हजुर हाम्रो परिवार कै कान्छो भाइ विश्वनाथ आचार्य अति तेज बुद्धि
मिलन सार अति सुन्दर । म भन्दा कान्छो भए पनि पढाईमा म भन्दा एक बर्ष सिनियर । त्यो बेला धनी गरिब सबै सरकारी स्कुल मै पढ्ने भए ता पनि माइलो बुबाको आर्थिक स्थिति मजबुत थियो । उहाँलाई महाजन भनेर पनि चिन्थे । आर्थिक स्थिति राम्रो भएकोले उहाँको परिवार बजार मै स्थापित भै सकेको थियो भने हामी गाउँ मै थियौं । मेरो बुबा पछि साहित्यमा उस्को राम्रो पकड थियो ।सानै देखि गीत, कथा , कवितामा पोख्त थियो । नेपथ्य ब्याण्डमा पनि सम्लग्न भयो शुरुवाती समयमा । उस्ले हाम्रो जस्तो दुख भोग्न पनि परेन । परिवार कै कान्छो भएकोले बढी माया अवश्य नै पायो होला । मेरो खुट्टाले चप्पल पाउँदा उस्ले मोटर साइकल चलाइ सकेको थियो । उसलाई नपुग्दो केही थिएन तर एउटै कुराको मात्रै कमी थियो ।
त्यो हो उस्को साहित्य प्रतिको झुकाव वा भावना बुझ्ने उस्को परिवारमा कोही भै दिएनन् । सबैमा धन प्रति मात्र मोह , उ ठूलो अफिसर वा ठूलो व्यापरी होस् भन्ने परिवारको दवाव , व्यापारीक मात्रै माहोल तर उ एक- दम भिन्न । त्यतिका अवरोधका बाबजुद पनि SLC दिए पछि एउटा उपन्यास लेखी छाड्यो । पछि पाउने भागमा कटाउने गरि खर्च माग्यो र
छपायो पनि उपन्यास । पहिलो कृति ” त्याग”उपन्यास छपाउँदा उ जम्मा सोह्र बर्ष मात्रै थियो । म नौ कक्षामा थिएँ त्यो बेला । किताब त देखें तर पढ्ने मेरो औकात नै भएको थिएन भन्दा हुन्छ । अहिले जस्तो भए घुँडो
मुन्टो गरेर भए पनि साथ दिन्थे मेरो साहित्यकार भाइलाई ।

हो ! कागको बथानमा बकुल्लो जस्तो थियो त्यो परिवारमा भाइ । उस्को
आवस्यकता त पूरा हुन्थे तर भावना बुझिदिने कोही भएन । अन्ततः कुन बेला कहिले देखि कुलतमा फँसेछ भाइ पत्तै भएन । चुरोट , गाँजा, रक्सी उस्का अभिन्न मित्र भए । यसै त कुरा गर्न सिपालु त्यैं माथी कुलतमा फँसे पछि झनै सिपालु भएर निस्क्यो । उस्का सँगी साथी पनि धनी मानी कै छोरा
थिए त्यसैले खर्चको गर्जो टरि रहन्थ्यो । उपाए नलागे घरमा विद्रोह गरेर भए पनि लिइ छाड्थ्यो ।

मैले भर्खर भर्खर जागिर गरेको थिएँ । मेरो अफिस र उस्को घर आम्ने
साम्ने जस्तै थियो । बेला बेलामा मलाई भेट्न आउँथ्यो २०/५०/१०० जति
हुन्छ पगाली छाड्थ्यो । मैले सके सम्म कम दिएर अम्कने कोसिस गर्थें ।
ऊ जति वचनवद्द भए पनि फिर्ता आउन्न भन्ने मलाई थाहा थियो , जति दिन्थें माया मारेर दिन्थें । उस्ले टिपेर पनि राख्यो ।मलाई पनि टिप्न भन्थ्यो
एक एक पाइ चुकाउँछु मैले अंश पाए पछि भनेर आश्वस्थ पनि पार्थ्यो ।
तर लेखन निरन्तर थियो । ओशो साहित्यमा बढी झुकाव थियो भने
धर्म दर्शनमा पनि उत्तिकै राम्रो । पद्य कविता भन्दा गद्यमा बढी उस्को रुचि देखिन्थ्यो । लाग्छ हाम्रो परिवारमा उस्को पाठक मै मात्र भएँ होला ।
नत्र भट्टीमा जति सुनायो देखायो साथी हरूलाई त्यति नै हो । उपन्यास भने बजारमा कति नै कट्यो होला र ? किताबका गड्डी दुई चार बर्ष सम्म त घर मै धमिरा लाई सकेका थिए । पछि चटपटेले लगे होलान् । ऊ लेखी रहन्थ्यो थुपारी रहन्थ्यो छुट्टीभिन्न भए पछि छपाइ छाड्छु भन्न कैल्यै चुक्दैन्थ्यो ।

एक दिन अफिस छुटेर निस्क्नै लागेको थिएँ । दमौलीमा मोटर साइकल
दुर्घटना भएर गण्डकी हस्पिटलमा ल्याइ सकेको छ भनेर अफिसमै खबर
आयो । कृष्ण दाजु (माइलो बुबाकै छोरा , विश्व भन्दा जेठो)को मो सा थियो उहाँ पुगि सक्नु भएको रहेछ । ध्रुब दाजु (माइलो बुबाकै माइलो छोरा)) र
म रानी पौवा बाट हिंडेरै हस्पिटल गयौं । हामी जाँदा अर्धचेत अवस्थाम थियो । मनपरि चिच्याइ रहेको थियो । हामी गए पछि निदाउने औषधि चढाएछ्न् कि केही बेर शान्त भयो । अनि सोध खोज गर्ने वातावरण पनि बल्ल भयो । अन्त गम्भीर चोट नलागेको तर दाहिने खुट्टाको नलीहाड भने टुक्राटुक्रा भएको जानकारी डाक्टरले दिए । उपचार शुरू भयो । भित्र फुटेका हड्डीले कोपेर असैह्य पीडा हुने रहेछ । निदाउने औषधिले पनि उस्लाई १५ मि. भन्दा काम गर्दैनथ्यो । सुनिई सकेकोले तत्काल अपरेसन पनि हुन सकेन । दुई तीन दिन रोएर चिच्याएर बितायो । हामी पनि फिटिक्कै सुत्न पाइएन । दिन त जसोतसो कट्थ्यो राती साह्रै सकस भयो । अपरेसन भए पछि भने नर्मल अवस्थामा आयो । नर्मल अवस्थामा पनि फेरि अर्को समस्या घरी चुरोटको माग घरी के घरी के हस्पिटलमा त्यो सम्भव हुने कुरै भएन । प्लास्टर गरेर घर ल्याईयो । उस्ले क्रमशः नशा पनि भुल्दै गयो ।डेड महिनामा उभिन सक्ने भयो । मान्छे नै फेरियो एकदम राम्रो । ऊ स्वस्थ हुँदै गए पछि हाम्रो आवत जावत पनि कम हुँदै गयो ।खासै काम पनि भएन ।
“जो करे भगवान भला करे” सामान्य दुर्घटनाले मान्छे नै सप्र्यो । उस्को
लागि पीडा दायक भए पनि हाम्रो लागि राम्रै भयो भनेर खुशी नै लाग्यो ।
चार पाँच महिना भए पछि ऊ हिँडडुल गर्न सक्ने भयो । परिवारमा सबै खुशी थिए पुनर्जन्म भएकोमा । त्यो खुशी दैवलाई सैह्य भएन । ऊ फेरि त्यही भूमरीमा फँसेछ । कहिल्यै नउम्किने गरि । स्वास्थ क्रमशः बिग्रदैं गयो
उपचार त चलिरहेकै थियो तर उस्ले कुन झमटमा आफ्नो डोज पूरा गरि हाल्थ्यो । उपचार प्रभावकारी भएन । भौतिक रूपमा गरेको उपचारको कुनै अर्थ थिएन भावनात्मक उपचार हुन सकेन । हुने वातावरण नै भएन ।
अन्ततः हार खायो भाइले भौतिक संसार त्याग्यो । एउटा “त्याग ” अर्को गर्‍यो भौतिक संसारको ।

आफू भन्दा सानो भाइको लास जलेर सकियो । तर त्यो भाइको सम्झनाले अहिले पनि हृदय जलिरहेकै छ । उस्का पाण्डुलिपि कतिले चट्पट सित चाटे होलान् कतिले कुल्चे होलान् । कतिले त्यही पाना च्यातेर चुरोट सल्काए होलान् । प्रिय भाइ तिमीलाई सम्झी रहेछु । सम्झी रहेछु । बर्षमा दुई पटक एक एक अञ्जुली पानी तिमीलाई दिएको छु तर तिमीले पाए नपाएको सम्म पनि थाहा पाउन सक्दिन । मेरो भाइ । बस् आजलाई यति तिम्रा नाममा दुई शब्द ।

यो पनि पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग-१६ ( पागल प्रेमी)

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button