प्रदेश १राजनीतिविशेषव्यक्ति बिशेषसमाज

के हो छिन्ताङ्ग काण्ड? कसले गर्यो भोका जनताको वर्वर हत्या?

धनकुटा जिल्लाका अनिकालग्रस्त जनताले सरकारसंग गरेको मागको उपेक्षा गरी सरकारी दमन गरिएको घटनालाई नेपालको इतिहासमा छिन्ताङ्ग काण्डको रुपमा चिनिन्छ । वि.सं.२०३६ सालमा घटेको यस घटनामा १५ जना भन्दा बढीको हत्या भएको थियो। छिन्ताङ्ग काण्ड बाठाहरुले लाटाहरुलाई किसान आन्दोलनको नाममा प्रयोग गरेर आफु चड्ने भर्याङ्ग बनाएको एउटा ज्वलन्त उदाहरण थियो। त्यहिं छिन्ताङ्गको रगतको गीत नेपाल भर गाएर आफ्नो संगठन बढाउने काम गरेका कम्युनिस्ट भनाउदाहरुलाई पनि देखि नै राखिएको छ। तेही माथि छिन्ताङ्ग काण्डका खलनायक, पूर्व पन्च एवं पूर्व प्रधानमन्त्री सूर्यबहादूर थापा जसको निधन पनि भैसकेको छ। तिनै थापालाई छिन्ताङ्गबासीले कहिल्ल्यै बिर्सिनेछैनन। तिनैको ठाडो आदेशमा छिन्ताङ्ग काण्ड घटेको थियो। किसान आन्दोलनको नाऊँमा सोझा साझा जनताहरुलाई उक्साएर मारिन बाध्य पार्ने यी नेपालका कम्युनिस्ट भनाऊँदाहरुको पनि लेखाजोखा हुनुपर्दछ, सूर्यवहादूर थापाको मात्रै होईन।

प्रस्तुत छ: तिनै छिन्ताङ्ग काण्डमा परि ज्यान गुमाएका एक सहिद परिवारको वकपत्र

“मेरो नाम झलकमान राई हो । म छिन्ताङको शहिद परिवारको सदस्य हुँ । मेरी आमालाई गाऊँमा हाङखिमा साहिँली भनेर बोलाउँथे । तर, उहाँको खास नाम श्रीमाया राई हो । ०२६ साल कात्तिक २९ गते पञ्चेहरुले मेरी आमाको हत्या गरे । म त्योबेला सात वर्षको थिएँ । मेरी बहिनी भर्खर दुई दिन कि थिईन् । तर दुई दिन कि सुत्केरी मेरी आमालाई सुर्यबहादुर थापाका धुपौरेहरुले बाँकि राखेनन् ।

त्यो बेला प्रधानमन्त्री सुर्यबहादुर थापा थिए । उनकै निर्देशनमा हाम्रो गाऊँ छिन्ताङ र छिमेकी गाउँ खोकु र आँखिसल्लाका १६ जना निर्दोष गाउँलेहरुको निर्ममतापुर्वक हत्या गरिएको थियो । त्यो बेला जम्मा सात वर्षको म फुच्चेलाई त्यतिबेलाको घटना अझै चलचित्रको रिल घुमे झै फनफनि घुमिरहेको छ । यसै त विर्सने नसकिने त्यो घटना त्यसमाथि त्यसका खलनायक सुर्यबहादुर थापाको निधनले घटनालाई झनै ताजा बनाएको छ । मन विक्षिप्त भएको छ ।

गाऊँका सामन्तहरुका विरुद्ध कम्युनिष्टहरुले किसान आन्दोलन चलाएका रहेछन् । तर, हामी सोझा जनतालाई त्यसबारे केहि थाहा थिएन । त्यो आन्दोलन दवाउन सुर्यबहादुरको प्रशासनले सोझा गाऊँलेको हत्या गरेको थियो । राजनीतिक कार्यकर्ता कता भागे, लुके उनीहरु बाँचे तर १६ जना निहत्था र निर्दोष गाउँले मारे ।
त्यो दिन अहिले पनि म झलझलि सम्झन्छु– दुई दिन अगाडी अर्थात कात्तिक २७ गतेबाट नै गाऊँका मण्डले र प्रहरीले गाउँलेलाई कुट्ने, पिट्ने र मार्ने गर्न थालिसकेका थिए । दुई दिन पछि उनीहरु हाम्रो घरमा आए । दुई दिन कि बहिनी च्यापेर हामी भाग्यौ तर सुत्केरी आमा भाग्न सक्नु भएन । उनीहरुले पक्रेर लगे । बारीमा लडाएर मरणासन्न हुने गरि पिटे । उनीहरु गएपछि हामीले आमालाई घरमा ल्यायौ तर उहाँको प्राण गईसकेको थियो ।

त्यसको ४५ दिन पछि बिहिनी पनि वितिन् । मैले परिबारका दुई सदस्यलाई एकैचोटी गुमाएँ । त्यो बेलाको पिडा सम्झदा आज पनि सुर्यबहादुरसँग रिस मरेको छैन । उसको पोहोर साल नै निधन भए पनि। उ मर्दा हामीले खसी, राँगा काटेर खाएको भए पनि हुन्थ्यो । उ वितेपछि खुशियाली मनाउने कि भन्नेबारे छलफल गर्न हामी छिन्ताङेहरु भेला भएका थियौं । तर, कुकुरले टोक्यो भन्दैमा हामीले पनि कुकुरको खुट्टा टोक्नु हुँदैन भन्ने कुरा भएपछि त्यो कार्यक्रम नगर्ने निर्णयमा पुग्यौं ।

उ मरेपछि शहर बजारमा उसको जयजयकार गरिएको कुरा हामी छिन्ताङबासीहरुले सुनिरहेका थियौं। कसैले व्यक्तिगत रुपमा प्रशंसा गर्छ भने हाम्रो पनि भन्नु केहि छैन तर हामी उ मेरेकोमा हामी दुखी छैनौं । एमाओवादीले त विज्ञप्ती नै निकालेर जयजयकार गरेको थियो। हुन त उसले हिजो राजा वीरेन्द्र मर्दा पनि त्यसरी नै जयजयकार गरेकै हो, उसको त के कुरा गर्नु ?

हिजो उसले हाम्रा बुबा–आमालाई मार्दा हामीलाई जसरी दुखेको थियो आज उसको छोरालाई दुखेको होला । तर त्यो दुखको पिडामा आकाश–जमीनको अन्तर छ । उसले अकालमा निर्ममतापुर्वक हाम्रा परिवारलाई मारेको थियो तर उसको प्राकृतिक मृत्यु भएको छ । त्यसैले पनि उसको मृत्युमा हामीले आशु खसाल्नु पर्ने म देख्दिन ।

त्यसो त उ ज्यूँदो छँदा पनि हामीले छिन्ताङमा उसको पार्टीका कार्यक्रम ल्याउन नदिएकै हो । सुर्यबहादुरलाई फासी दे भनेर नारा लगाएकै हो । विन लादेनलाई दिएको फाँसी सुर्यबहादुरलाई दिनुपर्छ पनि भनेकै हो । तर, नेपालको कानुन त्यस्तो नभएकाले उसले छुट पाए । यत्रो राजनीतिक जीवनको दौरानमा ०२६ साल पछि उसले एक चोटी पनि छिन्ताङ आउने हिम्मत गरेन । आफ्नो पुन्यभूमी टेक्न नपाउनु पनि उसको राजनीतिक पराजय नै हो ।

सुर्यबहादुर थापा पटक–पटक प्रधानमन्त्री हुँदा पनि हामी कहिल्यै खुसी थिएनौं, मरिसकेपछि पनि दुख मनाएनौं। खोकु–छिन्ताङका मात्र होईनन्, सुखानी र पिस्करका जनता पनि दुखी भएनन होला भन्ने लागेको छ । अरु ज–जसले जयजयकार गरे पनि हामी जयजयकार गर्दैनौं । उसको मृत्युमा छिन्ताङको कुनै समवेदना रहेन।”

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button