विचार ब्लग

विक्रम संवत् चलाउने राजा विक्रमादित्य कहाँका राजा थिए?

मनोहर भट्टराई-
विक्रम संवत् चलाउने राजा विक्रमादित्य कहाँका राजा थिए भन्ने विषयमा इतिहास एकमत छैन । इतिहासकारहरुमा अकाट्य प्रामाणिकता कसैसँग पनि छैन । आफू ठूलो हुन वा आपनो ठूलो बनाउन अरुलाई वा अर्काकोलाई हियाउने वा आत्मप्रशंसामा रमाउनेहरु इतिहासमा पनि थिए, अहिले पनि छन् ।
भूगोलको सीमा स्थिर हुन्न, त्यसभित्र मेरो वा हाम्रो भन्ने कुनै पनि कुरा स्थाइ हुँदैन, समयसमयमा त्यो बदलिइ रहन्छ । पौराणिक कालमा हिमालदेखि समुद्रसम्म एउटै देश पनि थियो । पूरै जम्बूद्वीप (एशिया महाद्वीप ?) का एउटै शाषक पनि थिए । इतिहासमा पनि त्यस्ता अनेक उदाहरण भेछिन्छन्, अलेक्जेण्डर महान्, नेपोलियन बोनापार्ट आदिका पालामा कुन देशको सीमाना कहाँसम्म थियो भनेर अब गफ गरेर कुनै फाइदा छैन । औपनिवेशिक कालमा को कसका मातहतमा थिए, कस्ले के कति अरुको सिके र आफ्नो गुमाए भन्ने विषय भने अझै धेरैले धेरैतिर धेरै समयसम्म खोजिरहने छन् ।

देशी एवं विदेशी इतिहासहारका बीचमा विक्रमादित्यको राज्य एवं राजधानीलाई लिएर पनि मतैक्यता छैन । नेपाली वंशावलीहरुले विक्रमादित्यलाई काठमाडौंको विशालनगरका राजा र उनको कुलदेवीलाई साँखुकी बज्रजोगिनी भनी उल्लेख गरेका छन् । यद्यपि उनलाई यहाँको रैथाने होइनन् भन्ने सम्बन्धमा भने सबै इतिहासकारहरु एकमत देखिन्छन् । रैथानेका पनि व्यक्तिसापेक्ष परिभाषा हुन्छ, गरिन्छ । मैले बुझेसम्म नेपालमा अहिले बसोबास गरिरहेका अधिकांश कोही पनि रैथाने होइनन् । ९९ प्रतिशत नेपालीमा वंशानुगत शुद्धता (क्लियर एण्ड स्पेसिफिक जिन) छैन । जानीजानी वा नजानी वर्णशंकरता (क्रस बिडिंग) छाएको छ । कस्ले के मा मिसाएर के कुराको अनुसन्धान नेपाली माथि गरिरहेछ, भगवान जानून् तर अहिले नेपाली महिलाहरुको सरदर उचाई अचम्मसँग घटिरहेको छ । तथ्यांक भन्नेकुरा आफू अनुकूल बनाउन सकिन्छ तर वास्तविकता लुकाउन सकिन्न ।

अब प्रमाणका कुरा गरौं । हाम्रो प्राचीन सभ्यताको प्रमाण नपाइनुका दुई प्रमुख कारण देखिएका छन् । पहिलो कारण प्रकृतिक विपत्ति नै हो । लिच्छविकालदेखि अहिलेसम्म पनि यो देशले अत्यासलाग्दा दैवीप्रकोप भोग्दै आइरहेको छ । जनसंख्या केन्द्रीकृत भएर बस्ने र महामारीका कारण सखाप हुने गरेका उदाहरण पनि धेरै नै छन् । युद्धका कारण नै कुनै सभ्यता वा संस्कृतिको लोप भएको गतिलो प्रमाण इतिहासमा पाइन्न । तर बनाइएका संरचनाहरु र लेखिएका किताबहरु जलाइएका वा बगाइएका विवरण भने पाइन्छन् । त्रेतायुगमा लेखिएको वा बनाइएको तुलजा भवानीसँग सम्बन्धित यन्त्र र त्यसलाई चलाउने विधि लेखिएको पुस्तक काठमाडौं उपत्यकामै भएका राजाहरुको आपसी कलहका कारण हराएको वा नष्ट भएको विवरण पाइन्छ । जुम्ला सभ्यता जहाँ लहरै घर थिए, एउटा घरको झ्यालबाट छिरेको बिरालोलाई अन्तिम घरको झ्यालमा पुग्न एक महिना लाग्दथ्यो भनिएको छ । शंखमूलदेखि बूढानिलकण्ठसम्म्म ९० हजार कतै नटुटी दोहोरो घरहरु थिए, बीचमा ढुंगा र इँट्टा छापिएको बाटो थियो, माटोमै टेक्न पर्दैनथ्यो भनेर समेत लेखिएको छ । उपत्यकामा दह बन्नुभन्दा अगाडि पनि मानव सभ्यता रहेको अनेकौं पौराणिक प्रमाण पाइन्छन् । नाम बदल्दै जाँदा र व्यक्ति वा समूह विशेषले ज्ञानलाई दाइजो जस्तो बनाइ दिँदा इतिहास ओझेलमा पर्दै गयो । संस्कृत महाकवि कालिदास नेपालकै थिए, कुबेरको राजधानी तनहुँमा थियो आदिजस्ता तर्कहरु पनि विभिन्न विद्वानहरुले लेखेको लेखमा पाइन्छ । पूर्वतिर किरातहरुको पौराणिकालदेखिनै अस्तित्व रहेको आभाष पाइन्छ । उनीहरुको पनि अभिमानपूर्ण विखण्डनले गर्दा इतिहास लोप हुने अवस्थामा पुगिसकेको छ ।

यसैगरी दोश्रो कारण भनेको हामीमा सदियौंदेखि विकसित हुँदै आएको अरुलाई प्रतिस्थापन गर्ने परम्परा नै हो । पुराना सत्ताका सन्तान, तिनले बनाएका संरचना एवं प्रचलन समेतलाई उल्टाउने परम्परा धेरै पहिलेदेखि चलेको पाइन्छ । एकपटक मात्र होइन पटकपटक बैष्णव, शैव र बौद्ध संरचनाहरु यो गलत संस्कारको शिकार भएका छन् । तर पनि यही निउँमा शारीरिकरुमा हानीनोक्सानी हुने गरी कुनै युद्ध वा झगडा भएको उल्लेखनीय घटना पाइन्न । भएभरको रिस लगेर खेतमा उब्जाइएका अनाजमा वा तिनले बनाएका संरचनामा पोखिएका अनगिन्ति वृत्तान्त भेटिन्छन् । अहिले पनि यो क्रम निरन्तररुपमा चलिरहेको छ ।

जसरी विश्वमै लोप भइसकेका अनगिन्ती संस्कृति उपत्यकाका नेवारहरुले र अन्य संस्कृति विभिन्न आदिवासीहरुले जेनतेन जोगाइरहेका छन् त्यसैगरी यो वि.सं.लाई पनि नेपालले आजका मितिसम्म जोगाइरहेको छ । तर अहिले हामीहरु नै यसका विरुद्ध जानी नजानी चौतर्फी आक्रमणमा संलग्न भइरहेका छौं ।

जब संस्कृति सकिन्छ, त्यसपछि पहिचान सकिन्छ, जब पहिचान सकिन्छ त्यसपछि अस्तित्व सकिन्छ । हजारौं वर्ष लाएर पुराण पढियोस् वा विश्वभरको इतिहास यो कुरा ध्रुवसत्य देखिन्छ । अब आगे हजूरहरुको मर्जी । अन्तमा एउटा कुरा थप्न चाहन्छु-संस्कृतिलाई बोझ बनाउनु वा विकृत बनाउनु पाप गर्नु हो, हाम्रा शास्त्रले र हाम्रा पुर्खाले यसो गर्न कहीँ कतै अनुमती दिएका छैनन् । संस्कृतिलाई विकृत बनाउँदा र धर्म एवं संस्कारलाई बोझ बनाउँदा हाम्रो मात्र होइन कसैको पनि धर्म र संस्कृति जोगिन्न । नेपालीहरुले आआफ्ना नयाँ वर्ष मनाइरहँदा यो कुरा मनमा लिइरहनु होला ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button