सम्पादकिय

सम्पादकिय- बिकाश र निकासको सम्वाहक बनोस नयाँबर्ष

फेरि यौटा उमंग धेरै आशा अनि सम्भावना बोकेर हामीसम्मुख उपस्थित छ- नयाँ वर्ष २०७५। यो यौटा यस्तो उमंग, उत्साह र सम्भावना हो, जसलाई हामीले मुट्ठिमा छोप्नुछ। यौटा त्यस्तो उमंग जसले हामिलाई अवका यात्राहरुमा अनवरत उर्जा प्रदान गरिरहनेछ र त्यो यौटा त्यस्तो उर्जा हामिलाई प्राप्त हुनेछ जुन उर्जाले हामिलाई विगत भुलाउनेछ, विगतको नमिठो अनुभवलाई अवका यात्राहरुमा सुसेलीको सयलमा झुलाउनेछ र नयाँ आशा र विश्वासको गोरेटो तय गर्नेछ।

हामीले अब प्रण गर्नैपर्दछ किनकी हामी फेरि उठ्नुछ, दुखेका घाउहरुमा मल्हम लगाउनै छ र फाटेका मनहरु सम्हालिनु छ। हामीले हाम्रो विवेकलाई घर, समाज हुँदै राष्ट्र निर्माणको लागि प्रयोग गर्नुछ भने राजनैतिक कचिंगल, भ्रष्टाचार र बेथितिबिरुद्ध सिधै औंला ठ्ड्याउनु छ। माल नभएर हामी पछाडी परेका होईनौं, माल भएर पनि चाल नपाएर हामी पछाडी परेका हौं। राजनैतिक दल र नेताप्रति हामी सवैको आ-आफ्ना आस्था र बुझाइ होला तर हामी कहिल्ल्यै पनि कुशल नेतृत्वको खोजिमा लागेनौं र हामीले दुख पाएका हौं। सहिलाई सहि र गलतलाई गलत भन्ने संस्कारको हामीमा अझैपनि बिकास हुन नसक्ता हामीले दुख पाएका हौं, पछाडी परेका हौं र अन्यौलमा परेका हौं। हामीमा अझैपनि त्यो चिन्तनको बिकास हुन सकिराखेको छैन जुन चिन्तनले देश समृद्धिको मार्गमा लम्किनुपर्ने हो। हामीमा अझैपनि जिन्दावाद र मूर्दावाद भन्दा माथी उठेर देशको लागि आवाज उठाउने संस्कारको बिकाश भैसकेको छैन।

हामीले सधै सडकमा टायर बाल्यौं आत्मरति लियौं अनि पुन: जिन्दावाद र मूर्दावाद भन्दै चिच्याईरह्यौं। अनि ढुंगा मुढा भाला र तरवारसंगै सडकमा नांगो नाच नाच्यौं तर राष्ट्रियता संकटमा पर्दा भने कोहि बोलेनौं, नाकावन्दी र कालोबजारीले देश गम्भीर समस्यामा पर्दा तैं चुप मैं चुप रह्यौं के यत्ति नै थियो त हाम्रो राष्ट्रिय धर्म? सोंचौं त एकैक्षण !

हामीले त्यो हिरा फोरेनौ जसमा चमक थियो अपितु त्यस्तो धातुमाथी जुंगाको दाउ लगायौं जसले कहिल्ल्यै कसैलाई पनि फाईदा गरेन, बरु सदैव नोक्सान र बद्नामीको पर्याय बनिरह्यौं मात्र बनिरह्यौं। हामी अनावश्यकतामा अलिक बढि नै लागीपर्यौं र आवश्यकताहरुलाई कुल्चिदियौं। ब्याक्तिगत लाभहानीको हिसावमा सत्ताको दूरुपयोग गर्यौं र मुलुकलाई सधै बन्धकी बनाईराख्यौं। राष्ट्रिय साझा स्वार्थ भनेर पृथ्वीनारायण शाहले औंलो ठड्याईरहंदा हामी भने तिनै पृथ्वीनारायणको सालिक तोड्नमा बढ्ता आत्मरती लिने गर्यौं।

ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांक भन्छ, नेपालमा ०४७ सालबाट यताको भ्रष्टाचारको आंकडा हेर्ने हो भने त्यस समययताबाट आजसम्म भएको जम्माजम्मी भ्रष्टाचारको रकमले यौटा सिंगो देश नै बिकाशोन्मुख देशवाट उक्लिएर बिकाशशिल देशको दर्जामा उपस्तिथि जनाउने सामर्थ्य राख्तथ्यो। भने अब हामी आफै कल्पना गरौं त यो देशमा भ्रष्टाचार कति भएको रहेछ? तर विडम्बना त यो छ नेतादेखि लिएर मन्त्री हुँदै हरेक सरकारी कार्यालय र कर्मचारीहरुमा दिनका दिन मिलिभगत भ्रष्टाचार भैराखेको छ, तर कोहि पनि जिम्मेवार ब्याक्ती यो देशमा भ्रष्टाचार भएको स्विकार्नै तयार छैनन। आखिर कसले गरिराखेको छ त फेरि भ्रष्टाचार? कुरो फेरि पनि त्यतै सोझिन्छ जहाँ नीतिनिर्माण तह र सरकारी जिम्मेवारी लिएर पनि आर्थिक पारदर्शिता र सामाजिक अनुशासन कायम छैन त्यहिं नै सवैखाले भ्रष्टाचार मौलाईरहेको छ,र यति कुरा थाहा हुँदाहुंदै पनि अझै किन हामी यस्तै भ्रष्ट अनुहारका पछि लागीरहने?

भ्रष्टाचारले नेपालको आर्थिक, सामाजिक, स्वास्थ्य, शैक्षिक, न्यायिक, सुरक्षानिकाय लगायत वैदेशिक सम्बन्धमा पनि नकारात्मक असर परिराखेको छ। राज्य आफै यससम्बन्धी उदासिन भैदिंदा भ्रष्टाचारको जालो तोड्नै नसकिने गरि फैलिएको छ, जुन अति चिन्ताको बिषय हो। गाउँ समाज हुँदै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरसम्म मै भ्रष्टाचारको जालो बिकराल हुँदै गएको छ भने अब पनि हामी किन नजाग्ने भ्रष्टाचार उन्मुलन गर्नको लागि? एकपटक सोंचौं त, हामी जागरुक नहुंदाको गलत फाईदा कसले उठाईरहेको छ र देशलाई बर्बादीको दिशातर्फ धकेल्न को बढी जिम्मेवार छौं? तपाईं हामी नै हैनौं र?

विगतमा हामिले पहाडे टोपि राष्ट्रवाद र तराईको धोती राष्ट्रवादलाई यस अवसरमा खुवै सेक्न खोज्यौं। अझ भनौं पहाडे खस- आर्य बाहुल्यतामाविरुद्ध जातिय विद्वेषको बिष र मधेस भूमी र जनतामाथी द्वेराष्ट्रवादको अतिवादी विष वारम्वार वमन गर्दै आयौं। जसको फलस्वरुप जातिय र क्षेत्रीय अतिवादले नेपालमा पस्रय पाउंदै गयो। परिणाम निस्कियो- सामाजिक विचलन। हामीले यो सोंच्न सकेनौ कि नेपालजस्तो बहुभाषिक, बहुधार्मिक, बहुजातिय तथा बहुसांस्कृतिक मुलुकले कुनैपनि प्रकारको अतिवादलाई सहन सक्तैन। बरु निर्देशित राजनितिले बारम्बार आफ्नै घरलाई कमजोर बनाउंदै लग्यौं, देशभित्र विद्वेशका बिषहरुले सर्वत्र आततायी मच्चाईरहंदा हामीभने सत्ताको जोडघटाऊको निकृष्ठ अभ्यासमा निरन्तर लागिरह्यौं। परिणामत: आज राज्यविप्लवको मूद्दा लिएर पृथकतावादी आन्दोलनलाई समेत नियन्त्रणमा लिनसक्ने हैशियत गुमाईसकेका छौं। आखिर यति निरिह अवस्थासम्म आईपुग्नुको कारण हामी आफै पनि खोज्न सकेनौ न नै सोध्न नै सक्यौं।

अझ भनौं लोकतन्त्रलाई कहिल्ल्यै पनि दिगो, स्थायित्व एवं सबल बनाउन सकिएन। लोकतन्त्रको प्रयोगको बाहानामा अनेकन वाद एवं तन्त्रको गलत प्रयोगले लोकतन्त्रलाई नै शिथिल पारिएको तितो यथार्थ हो। जनतालाई गुमराहमा पार्दै लोकतन्त्रको पर्दापछाडी अनेकन चलखेलहरु नगरिएका पनि होईनन।

सत्तासमिकरणको बाहानामा कुनै पनि सरकारलाई स्थिर हुन दिइएन भने सत्ताको परिधिभित्र अनेकन बितण्डाहरु यस अवसरमा खुवै मच्चाईएको छ। सांसदहरु खरिदबिक्रीको खुल्ला बजार संसद भवनलाई बनाईयो भने सरकारमा प्रवेशको खातिर साम, दाम र भेद सवैलाई तिलश्मी दिंदै परनिर्भर राजनितिको साहारा यसबखत खुवै लिइएको छ।

बिकासको नाममा चरम भ्रष्टाचार र बेथिती मौलाएको त्यस कालखण्डमा बिकाश निर्माणपनि अति न्यून गतिमा गरियो ती मध्ये कतिपय पूर्वाधारहरु बिचैमा अलपत्र पारी राज्यको ढुकुटिबाट करोडौं स्वाहा पार्ने प्रपन्च रचियो। फलस्वरुप राज्य आर्थिक रुपमा जर्जर बन्दै गयो भने अन्तर्राष्ट्रिय समूदायबाट पनि बिश्वास गुमाउँदै गयो।

विभिन्न राजनैतिक दल र तिनका कथित भातृसंगठनको हालीमुहालीमाझ अलिकती स्थापित उद्योगकलकारखानालाई पनि धरासायी बनाउँदै लगियो भने अराजक, जड्ता एवं अमर्यादित गतिविधिले निकै प्रसय पाउनु र मुलुकलाई सधै अनिर्णयको बन्दी बनाउंदै जनतालाई गुमराहमा पारिराखेको कुरा यथार्थ हो। अब समयले १८० डिग्रीको फन्को मारिसकेको छ।

ब्याक्तिगत स्वार्थमा देशलाई नै वर्वादीको दिशातिर उन्मुख गराउने पात्रहरु धेरै छन यहाँ। पैसा र शक्तिको आडमा देशलाई कंगाल बनाउन कत्ति पछि नहट्नेहरु बारम्बार सत्ताको ईर्दगिर्दमा घुमिराखेका हुन्छन भने पैसामा बिक्नेहरुले नै राजनितिलाई फोहरी बनाएका हुन्छन र अन्तत: मुलुकलाई नै अप्ठ्यारोमा पारेका हुन्छन। यस्ता तत्वहरुको बेलैमा पहिचान गरिराख्नु अति आवश्यक छ। कुटनैतिक क्षेत्रमा पनि उस्तै अपरिपक्वता देखिंदै आएको छ हाम्रो नेतृत्ववर्गमा। जसले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असहजता उत्पन्न गराएको छ भने कार्यसम्पादन र कार्वान्यन तह पनि फितलो रहँदै आएको छ। जसले गर्दा समग्र राष्ट्रको प्रतिष्ठामा निरन्तर आंच आईराखेको छ भने नेतृत्वमा देखिएको कुटनैतिक विचलनल एंव निर्णय क्षमतामा कमजोर भैदिंदा कतिपय सवालमा अपमान पनि सहनुपरेको छ भने कतिपय महत्त्वपूर्ण उपलव्धी पनि गुम्दै गएका छन। अझ कतिपय नेतृत्वको अति लाचारीपनाले गर्दा समग्र राष्ट्र नै लज्जित हुनुपरेको तितो विगत पनि छ। यसतर्फ हाम्रा राजनैतिक नेतृत्व, सरकार र सम्बन्धितहरुको ध्यान कैले पुग्ने खोइ?

राष्ट्रिय साझा स्वार्थ हरेक नेतृत्वको लागि अपरिहार्य मूलमन्त्र बन्नुपर्दछ। नेतृत्वको चरित्रिक अग्नीपरिक्षा तब शुरु हुन्छ जब उसलाई अवसर र जिम्मेवारीमा चुनिएर पठाईएको हुन्छ। यौटा कुशल नेतृत्वले उक्त अवसर र जिम्मेवारीको सफल कार्यसम्पादन गरेको हुन्छ भने गलत आचरणको नेतृत्ववाट यी सवै कार्यहरु धरासायी बनाईएका हुन्छन। सत्ता र पैसाको चंगुलमा डुव्ने नेतृत्व साह्रै खतरनाक हुन्छन। यस्ता `बिकाउ´ नेतृत्वले देशलाई डुवाईराखेका हुन्छन। बिगतमा कतिपय मूलधारका राजनैतिक दलका यस्ता `बिकाउ´ अनुहारले गर्दा मूलुक जर्जर बन्दै गएका प्रशस्त दृष्टान्तहरु छन भने यिनै गलत प्रवृतिका अनुहारहरु वारम्बार सत्तावृत्तमा दोहोरिरहनु मुलुकलाई झनै बर्वादीतिर धकेल्नु हो।

कसैले पनि अन्याय महशुष नगरुन, राष्ट्रलाई नोक्सान नपुगोस

जव मान्छे अन्यायमा पर्दछ, उसले न्यायको आश गर्ने अन्तिम विन्दु भनेको अदालत नै हो, भने जव राज्यसंचालक नेतृत्वकर्ता, प्रशाषक कर्मचारी, ब्यवसायी, संघसंस्था तथा शक्तिकेन्द्रहरुले नाजायज तरिकाले राज्यलाई नोक्सान पारी आफ्नो ब्याक्तिगत अस्तित्वलाई अवैध तरिकाले प्रभावशाली बनाऊँछन त्यस्तो अवस्थामा अन्तिम हस्तक्षेप गरि राज्य र जनतालाई समूचित न्यायको अनूभूती गराऊने अन्तिम संस्था पनि न्यायपालिका अर्थात अदालत नै हो। तर, त्यसरी न्यायको समतामूलक प्रत्याभूती गराऊनको लागी भनेर स्थापित अदालत नै भ्रष्ट र नैतिक आचरणविहिनहरुको अखडा बनिदियो भने के हुन्छ? प्रष्ट जवाफ छ- देश असफलताउन्मुख हुन्छ, देश विघटनउन्मुख हुन्छ। किनकि भ्रष्टाचार, अराजकता, अस्थिरता, अन्याय भनेका लोकतन्त्रका लागी साह्रै खतरनाक तत्व हुन। यसै अन्यायले गर्दा नै मान्छेमा बदलाको भावले काम गरिराखेको हुन्छ। त्यस्ता साना साना झिल्काहरुले संगठित रुप लिन्छन अनि सामाजिक, क्षेत्रीय हुंदै राष्ट्रिय मुद्धा बन्न जान्छन। अधिकांश त्यस्ता मुद्धाहरु प्रतिशोधले प्रेरित हुन्छन, जसको परिणाम हिंस्रक र खतरनाक हुन्छ। त्यसैले यस्ता संवेदनशील बिषयहरुमा न्यायपालिका सदैव सचेत हुनुपर्नेमा उल्टै आम नागरिकलाई गुमराह अर्थात अन्यायमा पारी शक्तिकेन्द्रहरु रिझाऊने थलोका रुपमा न्यायपालिका बद्नाम छ।

जव अदालत नै भ्रष्ट तथा माफियाहरुको चंगुलमा फस्न पुग्दछ र प्रधानन्यायाधीश देखी लिएर न्यायपालिकाका अन्य सदस्यहरु तिनकै मतियार बन्दै अदालतलाई यौटा अखडाको रुपमा बिस्तार गरिन्छ, तव राज्यका सवै अंगहरु न्यायपालिकादेखी लिएर, कार्यपालिका, ब्यवस्थापिका संसद, भ्रष्टाचार नियन्त्रणका लागी स्थापित संस्थासंगै संवैधानिक निकायहरु सवै धराशायी हुन जान्छन। यसको ज्वलन्त उदाहरण हो- अख्तियार दुरुपयोग अनुसन्धान आयोग। कतिपय कमिकमजोरी र लापरवाहीका वावजुद अख्तियारले भ्रष्टाचार र अनियमितताको आरोपमा सम्बन्धित आरोपितलाई सर्वोच्चसम्म त पुर्याऊँछ, तर सर्वोच्चको अधिकांश फैसलामा अख्तियार पराजित हुन पुग्दछ भने आरोपितको शानदार जित हुनपुग्दछ। यसैकारण पनि अख्तियार दिनानुदिन कमजोर र शक्तिकेन्द्रहरुको क्रिडास्थलको रुपमा रुपान्तरित हुंदै गएको छ। यसरी भ्रष्टाचार नियन्त्रणमा यौटा अभिन्न अंगको रुपमा स्थापित संस्थालाई नै बिभिन्न शक्तिकेन्द्रको आडमा पंगु बनाईएपछि कसरी नेपालमा भ्रष्टाचार निवारण हुन पुग्दछ? भ्रष्टाचार, कालोबजार, माफियागीरी, तस्करी ब्यापक मात्रामा मौलाऊनाको कारण नै फितलो कानुन, कमजोर संयन्त्र नै मूख्य कारण हुन। यसमा पनि बिभिन्न शक्तिस्वार्थ समुहका लागी यि अंगमा आसिन पदाधिकारीहरुले काम गर्न थालेपछि एकदिन यस्तो दिन नआऊला भन्न सकिन्न, जुन दिन नेपाल यौटा असफल राष्ट्रको रुपमा घोषित हुनेछ र बिभिन्न बाहानामा बिभिन्न स्वार्थकेन्दृत शक्तिद्वारा सिधै हस्तक्षेपको बाटो खुल्नेछ। त्यस्तो अवस्थामा शु-शाषनको शव्द त के नेपाल नै रहन्छ या रहन्न भनेर अहिल्ल्यै नै मुटु कांप्न थालिसकेको छ। देश असफल या विघटनउन्मुख हुनुको मूख्य कारण राजनैतिक अस्थिरता र भ्रष्टाचार नै हो भने भ्रष्टाचार निवारण गरि देशमा शु-शाषन कायम गर्ने निकाय नै आफै कुनै शक्ति र स्वार्थ समुहका मतियार यसैगरि बन्दै जाने हो भने भोलिका दिनमा यसै भन्न सकिने अवस्था छैन। किनकी गहिरिएर हेर्ने, सोंच्ने र बुझ्ने हो भने मूलूकको तस्विर विकराल देखिन्छ। सवै अंगमा भ्रष्टाचार र सवैजना भ्रष्टाचारी भएपछि उहिं सौरभद्वारा प्रकाशित पुस्तक `असंगति´ मा भनिएझैं वास्तवमा जनता नै लुटेरा, लुटेरा नै जनता भन्न कत्ति पनि हिच्किचाऊनुपर्दैन। किनकि हामी जनता पनि पाएसम्म लुट्नै खोज्दछौं, त्यो पनि नपाए लूट्नकै लागी अहिलेसम्म लुटेरालाई नै चुनेर पठाएका छौं।

अवका १२ दिनपछि फेरिपनि प्रलयकारी महाभूकम्पले तहसनहस पारेको ठ्याक्कै ५ वर्ष पुग्नेछ र फेरिपनि नितिनिर्माण तहमा बसेकाहरुको एकपटक पालैपालो गरेर संचारमाध्यम र सामाजिक संजालहरुमा गोहिका आँसु बग्नेछ्न, हामी भने तिनै गोहिका आँशुका पछाडी खुवै संवेदनशिल बन्नेछौ तर वास्तकिक पिडितका आँसु अझैसम्म किन पुछिएनन, त्यसतर्फ बिल्कुल सोंच्नेछैनौ। हामीले आफ्नो मूल दायित्व के हो त्यसवारे हामी हमेसा बेखवर रहिरहेका छौं तर कसैका झुठा आस्वासनका पछाडी भने सदैव रस्वादान गरिराखेका हुन्छौं। विनाशकारी भूकम्प गएको चारवर्ष भैसक्यो, तर हामी कसैले पनि भूकम्पपिडितका लागी भनेर के कस्तो प्रगती भयो भनेर न सरकारलाई सोध्यौं न त माननीय ज्यूहरुलाई नै सोध्ने जाँगर गर्यौं।

मरेको लासमाथी पनि रंजाई भनेझैं राष्ट्रिय विपतको कहरले क्षतविक्षत नागरिकको उद्धार र सहयोगको नाममा पनि जिम्मेवार ब्याक्तिवाटै गिद्दे दृष्टि लगाईयो, तर यसमा हामी जिम्मेवार नागरिक भनाउंदाले किन भनेर प्रश्न सम्म गर्ने जाँगर चलाएनौं। बल्लतल्ल पुनर्निर्माण प्राधिकरण गठन त भयो तर भूकम्पपिडितका लागि भनेर स्पष्ट आगामी कार्ययोजना यसमा देखिंदैन। राहत तथा पुनर्निर्माण कार्य युद्धस्तरमा गर्नुपर्नेमा साह्रै नै अल्छिलाग्दोगरी यस प्राधिकरणको कार्य देखिन्छ। रोग, भोक र शोक संगै घरवार उजाडिएकाहरुले चार चार थान वर्षात र जाडोयाम खुल्ला आकासमुनि बिताईरहंदा सरकारमा आसिनहरुको कहिल्ल्यै पनि मन चसक्क भएन, बरु उल्टै फोस्रा भाषणहरुको वर्सात पिडितका छेवैंमा वर्षाईयो।

राष्ट्र दुख्यो तर मन दुखेन। कत्ती नै विपत्ती आईलाग्दा पनि सत्ताको दाऊपेचले भने कहिल्ल्यै छाडेन। राष्ट्रिय विपतको समयमा पनि नेतृत्वलाई कहिल्ल्यै यसको संवेदना दिमागमा घुसेन र हामी नागरिकलाई यसवारेमा झकझक्याउने जाँगर चलेन। राष्ट्रियता संकटमा पर्यो तर नैतिकता परेन। यदि नैतिकता संकटमा पर्दो हो त हामीमा देशको माया लाग्नेथियो, जुन हुन सकेन। घरका भित्ता, सार्वजनिक पर्खालहरु र खुला चौरहरुमा राष्ट्रियताका ठूला ठूला अहं बर्षायौं तर त्यहिं राष्ट्रियतालाई साँझ ढल्केपछी बिदेशी ब्राण्डका रक्सीसंगै मात दियौं।

जस्तो थियो त्यो हाम्रो विगत थियो, नियत थियो अनि नियती थियो। हाम्रो विवेकिय कमजोरी थियो। अब यसमा हामिले गम्भीर भएर सोंच्नै पर्दछ कि यी नै हाम्रा महाभूल थिए, बाधक थिए राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि। आऔं अब एक भएर सोंचौ यो देश हाम्रो हो, हामी यसै देशका सन्तती हौं र हामीलाई यैं देशमा गरिखानु छ, सिंगार्नु छ र एक न एक दिन मरिजानु छ। त्यसैले अब हामी पनि उठौं अनि निदाएकालाई पनि उठाऔं। हिंडेकालाई दौडाउँ र दौडिएकालाई उडाऔं। यो देश हामी सवैको साझा फूललवारी हो त्यसैले हामी सवै यस फूलवारीका फूलहरु हौं। हामी नै सिंगार्नु छ फूलवारीलाई र टिपेर फ्याँक्नुछ बिसंगती र बिकृतिलाई।

आऔं हामी सवैले प्रण गरौ। नयाँ वर्षमा नयाँ जोश र जांगर लिएर। मनाऔं उत्सव एक नयाँ उंचाई चुम्न। जागरणपोस्टको तर्फदेखि नयाँवर्षको सवैमा शुभकामना ।।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button