मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – १५ (२)

जमदारको नाति भाग -२

मैले उहाँलाई बाउन बा भनेर सम्बोधन गर्थें । मलाई स्याना भन्नु हुन्थ्यो ।
मैले हजुर बुबाको काखको जस्तै न्यानो अनुभूति गरेको थिएँ । ठूलो बुबाको धन्सारमा पनि उहाँलाई के असहज भएछ , उहाँले फेरि म यहाँ बस्दिन मलाई छुट्टै पातीले बारेर भए पनि नजिकै छाप्रो बनाई देओ भन्नु भयो । धेरै टाढा पनि नबनाऊ मैले बोलाउँदा सुनियोस् । भन्ने माग राख्नु भो । हिँउदको समय थियो । घर भन्दा दुई कान्ला माथी सानो गोठ जस्तो बनायौं , पातीले बारियो छानो खरकै बनाईयो । पन्ध्र हात जति लामो कटेरो
दुई तीन ओटा गाई पनि त्यहीँ सँगै राख्ने भन्नु भो । त्यहाँ सुते पनि खाना सँगै खान्थ्यौं । कहिले हाम्रो घर कहिले ठूलो बाको घर । फेरि केही दिन पछि अर्को माग राख्नु भयो । म तिमीहरू सित खाना खान्न तिमी हरुलाई पनि अप्ठेरो मेरो अनुकुलमा पनि भएन । म आफ्नै सुरमा पकाएर खान्छु एक जोर भाँडा बन्दोबस्त गरि देओ भन्नु भयो । प्रतिवाद नगरी उहाँले भने बमोजिम नै गर्‍यौं । त्यस बीचमा उहाँलाई सम्झाई बुझाई घर फर्काउन उहाँका छोरा बुहारी र छिमेकी पनि धेरै पटक आए । तर ज्यान गए फर्कनु भएन । खाना आफैं बनाएर खानु हुन्थ्यो , पानी ल्याईदिने भाँडा माझ्ने हामीले नै गर्थ्यौं । दिन बित्दै गए । बेलुका भने मलाई छोड्नु हुँदैन्थ्यो म सँगै सुत्थें । फेरि तीन महिना पछि अर्को माग राख्नु भयो । म कथम कदाचित मरि हालें भनें तिमी हरूलाई पनि गाह्रो हुन्छ । मेरो काजकिरिया
गर्नु पर्दैन । मरे पश्चात गर्ने कर्म मिल्ने जति म आफैं गर्छु र मुडिन्छु (जोगीको दीक्षा) चाहिने खर्च म सँगै छ तिमी हरूले व्यवस्था मिलाई देओ भनेर निर्देशन दिनु भयो । सबै व्यवस्था मिलायौं । अन्तत उहाँ मुडिनु (जोगीको दीक्षा) भयो । तर कहिल्यै भिक्षा लिन हिँड्नु भएन । उहाँले पढेको देखिन तर लामा लामा श्लोक सुनाउनु हुन्थ्यो , पाठक भने पनि श्रोता भने पनि म सहित , २/३ ओटा गाई र गोठका भित्ता हुन्थे । बुझाउनलाई पछि अर्थ्याउनु पनि हुन्थ्यो । अर्थ त के बुझ्नु थियो र तर पनि उहाँको सच्चा पाठक श्रोता थिएँ ।

मुडिई (जोगीको दीक्षा) सकेको केही महिना पछि मेरो एउटा अन्तिम इच्छा छ भन्नु भयो , त्यस पछि तिमी हरूलाई केही दुख दिन्न , तिमी हरूलाई आर्थिक भार पनि पार्दिन , भण्डारा ( जोगी हरू बोलाएर ख्वाउने ) लाई देऊ एक डेड सय जतिलाई भर पेट ख्वाउने इच्छा छ, यति सम्म त गर्‍यौ अब यति धोको पुर्‍याई देऊ भन्नु भयो उहाँको इच्छा बमोजिम एक महिना पछि सबै व्यवस्था त मिलाइयो तर एक डेड सय जोगी कहाँ बाट ल्याउने हाम्रो बसमा थिएन । हामीले समस्या बतायौं । न उहाँले नै जोगीको त्यस्तो सर-संगत गरेको देखेका थियौं । त्यस्को चिन्ता नगर बरु केही बढी होस् कोहीको आधा पेट नहोस् आउँछ्न् जोगी हरू भनेर ढुक्कका साथ भन्नु भो
बरु धेरै टाढा बाट आउने हरूलाई बासको पनि व्यवस्था गर्नु पर्छ ओत भएको ठाउँमा ओभाने परालको पनि जोहो गर भन्नु भयो । सोही अनुसार
यथासक्य ब्यवस्था मिलायौं छिमेकीको सहयोग लिई दुई तीन दिन अघि देखि नै चामल भिजाएर पिठो कुट्न महिला हरू खटिए , पुरूष हरू अरु सामानको व्यवस्था पनमा खटिए ।

शैव विधि अनुसारको पूजापाठ पनि भयो । भण्डारामा अड्कल गरे जति नै जोगी आए । कहाँ कस्ले खबर गरेर आए त्यतिका धेरै जोगी ऐले सम्झदा नि अचम्म लाग्छ । दस आठ जना जति अघिल्लै दिनमा आएर अखडा जमाई सकेका थिए । अरु सबै त्यसै दिन बिहानै ह्वार हुर्र आए । उहाँले भने जस्तै भण्डारा सम्पन्न भयो । सबै जोगीलाई यथासक्य दान पनि गर्नु भयो । सबैले हामीलाई सहित आशिर्वाद दिएर फर्के ।

त्यस्को एक हप्ता पछि , एउटा कमण्डलु , झोली र उहाँले नै टेक्ने गरेको लठ्ठी मात्रै लिएर कसैलाई केही नभनी एकाएक हराउनु भयो । उहाँ हराउने दिन म सँगै सुतेको थिएँ । त्यो बेलुका धेरै बेर गन्थन गर्नु भो मामा सम्झेर पटक पटक रुनु भो पनि । अबेला सुतियो त्यो दिन । म भुसुक्कै निदाएछु कुन बेला उठेर जानु भएछ थाहै पाइन । मेरो सिरानीमा एक मुठ्ठी खुजुरा पैसा राखी दिनु भएको रहेछ । अरु उहाँका लत्ताकपडा जसका तस थिए । एक दुई दिन कतै जानु भयो होला भनेर त्यसै बसियो । कतै कसैलाई केही भनेनौं पनि । दुई तीन दिन पछि पनि नआए पछि तै पनि आफ्नै घर जानु भएछ कि भनेर खबर गर्‍यो , जानु भएको रहेनछ । चिने जानेका दुईचार जोगी थिए रानी पौवा तिर बस्ने उनी हरुलाई पनि सोध्यौं भण्डारा पछि नभेटेको जनाए उनी हरूले पनि । उहाँका घर तिरकाले पनि खोजी गरि रहे हामीले पनि सकेको खोज्यौं । अँ हँ कसैले पनि देखेम् भनेनन् । बेपत्तै हराउनु भयो बाहुन बा । हजुर बुबाको जस्तै न्यानो पनि सदाका लागि हरायो ।

पढ्नुहोस- जमदारको नाति भाग १

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ jagaranpost@gmail.com
या gyawaligulmi22@gmail.com मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button