विचार ब्लग

अपत्यारिलो यौटा सत्य

नोट: नगेन्द्रराज रेग्मीद्वारा लिखित यो लेखलाई हामीले आजको अन्नपूर्ण पोस्ट बाट साभार गरेका छौं – सम्पादक

कसैले पत्याओस् वा नपत्याओस्, सत्य कुरा सत्य नै हुन्छ। अनेकौं महापुरुष, योगी र महामानवका जीवनगाथा यस्तै दैवीशक्तिका रहस्यले भरिपूर्ण पाइन्छ। हुन पनि ईश्वरीय कृपा नभईकन पञ्चतत्त्वले बनेको देह पिँजडामा शुद्ध, बुद्ध र मुक्त आत्माको निवास हुन सक्दैन। त्यस्तो आत्मा नबसीकन मान्छे शक्तिशाली बन्दैन। भारत वर्षकै कुरा गर्नुपर्दा कहिले राम, कहिले कृष्ण, कहिले बुद्ध, कहिले विवेकानन्द त कहिले गान्धीका रूपमा अनेकौं शुद्ध र मुक्त आत्माले मानव जातिलाई सत्य र कल्याण मार्ग देखाउँदै आएको उज्यालो इतिहास हामीसामु छ।

राम, कृष्ण र बुद्ध त शास्त्रमा वर्णन गरिएका ईश्वरीय अवतार नै भइहाले, विवेकानन्द र महात्मा गान्धीजस्ता सामान्य मानवले पनि इतिहासको एउटा कालखण्डलाई प्रभावित तुल्याएकै थिए। महात्मा गान्धीले स्वामी विवेकानन्दका बारेमा भनेका थिए, ‘स्वामीजीलाई भेट्ने रहर त पूरा हुन सकेन, तर उहाँका विचार पढेर मभित्रको देशभक्ति र मानवीय भावना हजारौं गुना वृद्धि भयो।’

विवेकानन्द एउटा प्रतीक हुन्, ज्ञानी र बुद्ध व्यक्तिहरूका। हाम्रा शास्त्रमा बाल्यकालदेखि सहज ज्ञानसम्पन्न यस्ता सयौं बुद्ध व्यक्तित्वका उदाहरण फेला पर्छन्। ब्रह्माजीका चार मानसपुत्रहरू सनक, सनन्दन, सनातन र सनतकुमार सधैं पाँच वर्षका बालक थिए र अद्यापि छन् भन्ने हाम्रो विश्वास छ। उनीहरू जन्मजात ब्रह्मज्ञानी थिए। व्यासपुत्र शुकदेव जन्मिँदादेखि नै वीतराग ब्रह्मवेत्ता थिए। अष्टचिरञ्जीवीमध्येका एक बलशाली हनुमानमा पनि सानैदेखि ईश्वरीय शक्ति थियो। स्वायम्भुव मनुका नाति र राजा उत्तानपादका छोरा बालक ध्रुव, बालगोपाल भगवान् श्रीकृष्ण र दैत्यकूलमै पनि हिरण्यकशिपुका छोरा प्रह्लाद आदि ज्ञानी बालकका चम्किला दृष्टान्त हुन्। यसको अर्थ के हो भने ज्ञान र दैवीशक्ति उमेरमा आधारित हुँदैन। त्यसैले भगवान् वेदव्यासले आफ्ना छोरा शुकदेवलाई व्यासासनमा राखी आफू तल बसेर भगवान्का कथाहरू सुनेका थिए। हाम्रो सनातन धर्मपरम्पराका यिनै ज्ञानी बालनक्षत्रहरूको उज्यालो शृंखलामा नेपालका चर्चित बालज्ञानी गुरु आदित्यको नाम जोडिन आइपुगेको छ।

बालज्ञानी गुरु आदित्य २०६७ साउन ७ गते झापा जिल्लाको तोपगाछीमा पिता शेषराज दाहाल र माता ईश्वरा गुरागाईको कोखबाट जन्मिनुभएको हो। उहाँले ८ वर्षको उमेर पार गर्नुभएको छ। सामान्य बालकको कुरा गर्ने हो भने यो हाँसखेल, खानपिन, निद्राआराम र रामरमितामै बित्ने अबोध समय हो। तर यति सानो उमेरमा ब्रह्मज्ञानी गुरुवर आदित्यले देखाएको शक्ति र सामथ्र्य हेर्दा उहाँमा विवेकानन्द र बालक ध्रुवको झझल्को आउँछ। उहाँमा विद्यमान सहज ज्ञान र दिव्य शक्ति देख्दा अष्टावक्र, अभिमन्यु, रामकृष्ण परमहंस, लाहिडी, युक्तेश्वर, योगानन्द र जे. कृष्णमूर्तिजस्ता अनेकौं अलौकिक, शक्तिशाली सिद्धयोगी महापुरुषहरूको एकसाथ सम्झना हुन्छ। उहाँबाट प्रकटित ज्ञान, विचार, दर्शन र आध्यात्मिक चेत हजारौंं वर्ष तपस्या गर्ने ऋषिमहर्षि र ज्ञानी महापुरुषहरूको भन्दा कत्ति कम छैन।

स्वर्गद्वारी महाप्रभु र सन्त शशिधरजस्ता नेपाली बालसन्तहरूको समृद्ध परम्पराका उज्ज्वल उत्तराधिकारी हुनुहुन्छ– बालगुरु आदित्य। ज्ञान, विज्ञान, राजनीति, दर्शन, देशभक्ति तथा जीवनजगत्का यावत् गूढ रहस्यहरू कहिल्यै विद्यालयको अनुहार नदेखेको मात्रै होइन, अक्षरारम्भसमेत नगरेका बालकको मुखबाट अनायास अभिव्यक्त हुनु चानचुने विषय होइन।

यी सबै विषयलाई शब्दमा व्यक्त गर्न सकिँदैन। गुरुआ श्रममा आउने जोकोहीको मन पढ्न सक्ने अद्भुत सामथ्र्य र शक्ति उहाँमा विद्यमान छ। कसैको कपटपूर्ण मन भए पनि त्यसलाई समेत सकारात्मक सन्देश दिएर आश्वस्त पार्ने क्षमता पनि गुरुमा देखिन्छ। बालगुरु आदित्य मुखले बोल्नु हुन्न। उहाँ हरेक कुरा लेखेरै सम्प्रेषण गर्नुहुन्छ। सूत्रबद्ध र संक्षिप्त उहाँका हरेक सन्देश आफैंमा मन्त्रजस्ता छन्। ‘मननात् त्रायते इति मन्त्रः’ जुन वाक्यबाट मननकर्ताको रक्षा हुन्छ, तिनलाई मन्त्र भनिन्छ। बालज्ञानी गुरुदेवले अपत्यारिला तर शाश्वत सत्यले भरिपूर्ण मन्त्रमय विचार र दार्शनिक भाव हामीमाझ नित्य निरन्तर प्रवाहित गरिरहनुभएको छ। पराभौतिक रहस्यको सत्य ज्ञान र समाधान हामीजस्ता सर्वसाधारण मानिससँग हुँदै हुँदैन। बालगुरु आदित्यजस्ता अलौकिक चेतनाका धनी व्यक्तित्वसँग मात्रै यस्तो रहस्यको समाधान पाइन्छ।

आध्यात्मिक र सांस्कृतिक क्षेत्रबाट हाम्रो देशलाई विश्वसामु चिनाउने बालगुरुको प्रबल सदिच्छा उहाँका लेख्य उद्गारबाट प्रकट हुन्छ। उहाँको दृढ धारणा छ– ब्रह्माण्डको हरेक ऊर्जा चिन्ने र प्राप्त गर्ने स्रोत भनेकै ध्यान, साधना, योग र आध्यात्मिक पथ हो। यसका लागि पहिले आफैंबाट एउटा महत्त्वपूर्ण कार्यको थालनी गर्नुपर्छ भन्ने अनुभूति गर्दै उहाँले अद्भुत त्रिगजुर शिवालयको स्थापना गराउनुभएको छ। यस मन्दिरको विशेषता भनौं या अलौकिकता– यो गूढ, सूक्ष्म र गहन लाग्छ हामीलाई।

सनातन धर्मपरम्पराका ज्ञानी बालनक्षत्र ब्रह्माजीका मानसपुत्रहरू सनक, सनन्दन, सनातन र सनतकुमार, व्यासपुत्र शुकदेव, उत्तानपादका पुत्र ध्रुव, वासुदेवपुत्र श्रीकृष्ण, हिरण्यकशिपुपुत्र प्रह्लादहरूको उज्यालो शृंखलामा नेपालका चर्चित बालज्ञानी गुरु आदित्यको नाम जोडिन आइपुगेको छ।

गुरुकै सत्संकल्पबाट विश्वभर कहींकतै नभएको अद्वितीय मन्दिर निर्माण काठमाडौंको गौरीनगर ‘ॐ आदि कुञ्ज’ मा बालगुरु आदित्यकै डिजाइन तथा आदेशअनुसार सम्पन्न भएको छ। त्रिगजुरयुक्त यो भव्य शिवालय र साधना हलको खाका बनाई त्यसको प्रारूप, डिजाइन, पूर्वाधार व्यवस्थापन, रङरोगनलगायत सम्पूर्ण इन्जिनियरिङ कार्य एवम् निर्देशन उहाँबाट हुने गरेको थियो। अज्ञानवश एक इन्च तलमाथि कतै भइगए पनि उहाँ तत्कालै सुधार्न लगाउनु हुन्थ्यो।

अघिल्लो भागमा गौमाताको तथा बीच र पछाडि नन्दीको स्वरूपमा यो शिवालयको संरचना उहाँले परिकल्पना गर्नुभएको थियो। शिवालयभित्र प्रतिष्ठित शिवलिंगको सबैभन्दा तल्लो भागमा ब्रह्मा, त्यसपछि विष्णु र माथिल्लो भागमा महेश्वरको आकृति आफैंमा विलक्षण छ। मन्दिरको प्रवेश द्वार दक्षिणमुखी छ भने पूर्वतर्फ ब्रह्मा, विष्णु र महेश्वरका तीन भागमा विभाजित त्रिगजुर र ४१ फिट लामो माथिबाट तल झारिएको विशाल नागाकृति छ। आश्चर्यको कुरा त के पनि छ भने शिवालयको अग्रभागमा रहेको गौमाताका आँखाले पशुपतिनाथ मन्दिरको गजुर हेरिरहेका छन्। शिवालयमा अवस्थित गाईको दृष्टि पशुपतिनाथ एवं किराँतेश्वर मन्दिरको समदूरीमा रहनु अर्काे आश्चर्य हो। यस्ता अनुत्तरित रहस्य हामीसँग अनगिन्ती छन्। यसरी निर्मित शिवालयको २०७५ चैत २४ देखि ३० सम्म प्राणप्रतिष्ठासहित विधिवत् उद्घाटन र यज्ञायज्ञादि कर्महरूको भव्य आयोजना हुनु निश्चय नै सुखद कार्य हुन्।

हामी कतिपय व्यक्तिहरू ईश्वर, भगवान् वा आध्यात्मिक तथ्य स्विकार्न हिच्किचाउँछांै। यो आआफ्नो सोच, धारणा र विश्वास पनि होला। तर गुरु आदित्यभित्रको एउटा अपत्यारिलो सत्य हेर्ने, देख्ने जोकोही अवाक् बन्छन्, छक्क पर्छन् र जिब्रो टोक्दै महाश्चर्यमा पर्छन्। गुरुसँग साक्षात्कार भएपछि सबैलाई लाग्छ, कतै जीवित देवता नै पृथ्वीलोकमा पदार्पण गर्नुभएको त होइन ? तर स्वयं गुरु आदित्य भने यस्तो अहंकारदेखि पर हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘मलाई ज्योतिषी नबनाऊ, मलाई चमत्कारी जादुगर नबनाऊ।’’

गुरुलाई अरूको सहायताविना हिँडडुल गर्नु त परै जाओस्, बस्नसमेत दुवैतिर सिरानी राखेपछि मात्र सम्भव हुन्छ। उहाँका हात अप्ठ्यारो गरी चल्छन्। लेख्नका लागि कलम समाउनसमेत गाह्रो हुन्छ। समग्रमा भन्नुपर्दा उहाँका नित्यकर्म अरूद्वारा नै सम्पन्न गराउनुपर्छ। संसारका नाम चलेका अस्पतालले उहाँको जाँच गर्दा पनि कुनै समस्या देखेनन्। यो झनै रहस्यको विषय हो।

गुरु आदित्यको यस्तो शारीरिक अवस्था, तर अन्तरमा लुकेको अथाह ज्ञानराशि आफैंमा खोजको विषय हो। सांसारिक आँखाले हेर्दा कमजोर र अशक्त देखिने शरीरभित्रको यो दिव्यज्ञान र चमत्कारको रहस्य के हो ? सायद त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १३ गते मेडिसिटी अस्पतालको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै बिगब्याङ तथा ब्ल्याक होल सिद्धान्तको उदाहरण दिएर त्यस्ता विभिन्न काल्पनिक सिद्धान्तहरू पत्ता लगाउन बरु सजिलो होला, तर गुरु आदित्यको ज्ञानको स्रोत पत्ता लगाउन गाह्रो छ भन्नुभएको थियो। उहाँले ‘म वैज्ञानिकहरूलाई यो तथ्य पत्ता लगाउन आग्रह गर्छु’ भन्नुभएको आफैंमा चुनौतीपूर्ण पनि छ।

यस्ता सयांै सन्दर्भ बालज्ञानी गुरुवरसँग जोडिएका छन्, जसको सम्पूर्ण उल्लेख यो सानो लेखमा सम्भव छैन। यी कुरा नदेख्ने, नभोग्ने र नितान्त भौतिक दृष्टि मात्र भएकाहरूका लागि अपत्यारिला मात्र होइन, वाहियात ठहरिन सक्छन्। अस्तित्वमा रहेका सम्पूर्ण शास्त्रहरूको ज्ञान र कुनै पनि भाषाको जानकारी हुनु के कुनै सामान्य मानिसमा सम्भव छ ? भूत, भविष्य र वर्तमान बताउने बालगुरु आदित्य ७२/७२ घन्टासम्म अन्न, जलमात्र होइन, श्वास–प्रश्वाससमेत नियन्त्रण गरेर बस्न सक्ने अद्भुत क्षमता राख्नुहुन्छ।

बालगुरुका यस्ता अपौरुषेय कर्महरू स्वयं देखेपछि भ्रमको जालो स्वतः हट्न पुगेका थुप्रै व्यक्ति र समूह पाइन्छन्। यस्ता दिव्य पुरुषको पदार्पणले हामी मात्र होइन, हाम्रो राष्ट्र गौरवान्वित भएको छ। उहाँको अलौकिकताको प्रचारप्रसारभन्दा पनि उहाँको विचारको अनुसरण गर्नु ठूलो हो। गुरु सधैं भन्नुहुन्छ, ‘मिडियामा मेरो प्रचार गर्नु पर्दैन। मलाई होइन, मेरो विचार मनन गर।’

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button