मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – १४

रसियन इन्जिनियर

रसियन युवती र रसियन भोड्काको किस्सा कतिले सुन्नु भएको होला । कति त भुक्त भोगी नै हुनु होला । म ठूलो जहाज नचढेको बबुरोले सुनेर मजा लिनु बाहेक अरु यो पुर्पुरो नलेखेको बल गरेर नि क्यै हुने वाला थिएन । तर रसियन इन्जिनियर बाट भने कल्पना गरे भन्दा साह्रै तीतो अनुभूति छ। सबैमा लागू नहोला । रसियामा नै पढेका उदाहरणीय व्यक्तित्व पनि प्रसस्तै छ्न ।

मैले जागीर खाँदा एक उच्च घरानिया तर आफ्नै सगोत्रीया इन्जिनियर मेरा हाकिम थिए । (नाम थर उल्लेख गर्न चाहिन ) हुन त मलाई ज्यालादारीमा जागिर लाइदिएको पनि उनैले हो । उनको अधिकार क्षेत्र नै त्यत्ति थियो । स्थायीको लागि बाटो पनि उनैले खोलिदिए भनम् । ज्यालादारी खाइरहँदा विज्ञापन खुल्यो आन्तरिक बाटै आयोगमा पनि छनौट भैयो । मेरो दाजु (माइलो बुबाको छोरा बिष्णु प्र आचार्य ) उहाँ सँग नजिक भएको कारणले नै मैले सहजै जागिरमा प्रवेश पाएको हुँ । जागीरमा प्रवेश पाए पश्चात दाजु सँग झिना मसिना कुरामा कैल्यै गुनासा राखिन । आफू भन्दा माथीकाले जति पेले पनि । दैनिक १४ घण्टा सम्म काम पनि गरियो । अरुले २ घन्टा बढी काम गर्दा नि ओभर टाइम पाउँथे , आफू भने चिल्लाराम । यसरी बडो कष्ट सित करिब नौ महिना कटाएँ ।पछि दरवन्दीमा नियुक्त भए पछि भने नियमानुसार सबै सेवा सुबिधा बल्ल पाइयो ।

हत्तेरी ! यी बेकारका गन्थन कति गर्नु , म हजुरलाई सोझै बिषयमा प्रवेश गराउँछु । हजुर ! उहाँ (हाकिम साहेब)का उनानसय गुन थिए बैगुन थियो त उही रसियामा लागेको बानी । ठूलो खानदानको भएकोले उहाँलाई आर्थिक भार हुने कुरै भएन । श्रीमती पनि अधिवक्ता । हाकिमको जागीरले उहाँलाई पुग्दैन्थ्यो । पाहुना पनि प्रायः क्वाटरमा टुट्दैन्थे । काठमाडौ कै स्थानीय भएकोले , नातेदार साथी पोखरा घुम्न आउँदा उहाँकै क्वाटरमा अखडा जमाउँथे । खर्चपर्च घरबाट पनि ल्याउनु हुन्थ्यो त्यस्तै प्रसंग चल्दा उहाँ र म्याडम कै मुख बाट सुनेको हुँ । उहाँ पोखरा बसुन्जेल कुनै दिन पनि कत्ति नखाएको बेला भेट्न मुस्किलै थियो । अफिस टाइम मै पनि बेला बेलामा क्वाटरमा गएर क्वाटर लडाइ हाल्नु हुन्थ्यो । सँगै रक्सी खाने भाग्यमानी साथीहरू सँग त उहाँको राम्रै सम्बन्ध थियो । तर म बबुरोलाई बर्षमा एक दुई दिन बाहेक त्यस्तो अवसर जुर्दैन्थ्यो । त्यो बेला घरको सबै जिम्मेवारी मेरै थाप्लोमा थियो । संयोग पनि कस्तो पर्‍यो भने मेरो सहोदर दाजु त्यही बेला रसियमा नै इन्जिनियरिङ्ग गर्दै हुनु हुन्थ्यो । त्यो कुरा उहाँ हाकिम साहेबलाई जानकारी थियो । दाइले चिट्ठी पठाए पिच्छे फोटो हरु पठाउनु हुन्थ्यो । चिट्ठी अफिस मै आउने भएको हुँदा कति पटक खै तिम्रो दाइको चिट्ठी फोटो हेरौं भनेर उत्सुकता पुर्वक हेर्नु हुन्थ्यो अनि बृफिङ्ग गर्नु हुन्थ्यो पनि । मस्को , तास्कान्त , एरेभान यस्तै यस्तै ठाउँ हरुको बारेमा र अनि त्यहाँ गरेका मोज मस्तीका बारेमा पनि । मलाई कता कता चिसो पस्थ्यो कता मेरो दाइ पनि यस्तै इन्जिनियर हुने त हैन । तर ती हाकिम र मेरो दाइको परिवेश आकाश जमिन फरक थियो ।

पञ्चायतकालको अवस्था सि डि यो /अञ्चलाधीश कार्यालय बाट निगरानी भै रहन्थ्यो । जब माथी बाट दवाब आउँथ्यो त्यस्को रीस निर्ममता पुर्वक हामी माथी फेर्थे । अनावश्यक रुपमा स्पष्टीकरण लिने, गयल गर्ने गर्नु विधि गरे । सानो तिनो मानवीय गल्ती हुँदा पनि एक्सन लिइ हाल्ने । एक दिन कपिल रञ्जित दाजु र म नाइट ड्युटीमा थियौं । पुरानो एक्सचेन्ज भएकोले बराबर प्राविधिक समस्या आइरहन्थ्यो । जो हामी जानकार थियौं आफैं समाधान गर्थ्यौं पनि । त्यो बेला सामान्य कर्मचारीको घर सर्भिस फोनलाईन पनि थिएन । त्यो दिन करिब साढे आठ बजेको हुँदो हो एक्कसी एक्सचेन्जको पछाडि बाट आगो लाग्यो । पावर सर्किट सर्ट भयो कि ओभर लोड भयो । हाकिमलाई खबर गरें र थप क्षति नहोस् भनी पुरै एक्सचेन्ज सट डाउन गरिदिएँ । सिडियो र अञ्चलाधीशले अति गोप्य सूचना रातीमा मात्र माथी जाहेर गर्थे । एक्कासी टेलिफोन बन्द भए पछि । जिल्ला प्रहरी प्रमुख , सहायक अञ्चलाधीश सहित , सिडियो कार्यालय कर्मचारी हाकिम नआउँदै एक्सचेन्जमा आइपुगे र यथार्थ जानकारी दियौं । हाकिमलाई बोलाई सकेको जानकारी पनि दिएँ । एक छिन पछि सहयोगी सहित हाकिम पनि आइपुगे तर उनको अवस्था ठिक थिएन । फिटान थिए । अरु अधिकारी नचिने पनि सहायक अञ्चलाधीश सित मेरो चिनजान थियो । हाकिमको डरले हो कि धपेडी गरेर आएकोले हो चिटचिट पसिना निधारमा स्पष्टै देखिन्थ्यो । हाकिम नआउँदै मैले स. अञ्चलाधीशलाई एक्सचेन्जको जिर्ण अवस्था बारे अवगत गराइ सकेको थिएँ । त्यसैले मलाई त्यस्तो खारखेर पारेनन् । तर हाकिम आइ सके पछि भने उनको सातो खाए । कुनै हालतमा भए पनि अहिल्यै चलाउनू भनेर । बिचरा हाकिमलाई हामीलाई जति पनि आइडिया पनि थिएन । एक छिन पछि अधिकारी हरू फर्कीसकेका थिए । हाकिमको पनि नसा आधाआधी उत्रिसकेको थियो । केही बेर पछि पावर टेक्निसियन पनि आए । पावर टेक्निसियन आए पछि जेनतेन गरेर साढे दस बजे तिर एक्सचेन्ज चलाइयो पनि । त्यो दिन देखि भने मलाई निकै माया गर्न थाले त्यसरी सानो तिनो निहुँमा खप्की खान परेन । केही दिन पछि सरुवा पनि भए । क्षेत्रीय निर्देशक सम्म त्यसै गरि पड्काए पनि । बीच बीचमा पोखरा आउँदा राम्रै सौहार्दता रहि रह्यो । अन्तिम पटक भेट्दा हात खुट्टा मुरली जत्रा भै सकेका थिए । अरु शालीनता भने साबिकै थियो । अन्तिम भेट्मा मेरो कार्यकक्ष मै धेरै बेर बसे पनि । उनैले चिया ख्वाए । बिगत सम्झेर अब भेट होला नहोला । जानअन्जानमा तिमी हरुको चित्त दुखाएको भए सबै भूल है मेरो भाइ । भनी बिदा भएको केही महिनामा मै दु:खद खबर सुनियो ।

पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग १३

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button