मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – १०

क्याप्टेन

तीन कक्षा सम्म म भन्दा नजान्ने एक जना मात्रै थिए । ३२/३३ जना मात्रै विद्यार्थी भर्ना गरेर पुन:संचालन गरेको फूलबारी प्रा वि स्कुल चलाउन कै लागि भए पनि क्लास चढ्दै गएका भाग्यमानी विद्यार्थी थियौं । पुरानै स्कुल भए पनि निरन्तरता नपाएको रहेछ । पुन स्थानीय शिक्षा प्रेमी हरू , रुद्रनाथ अधिकारी , विश्वनाथ बास्तोला, पिताम्बर शर्मा (स्थानीय समाज सेवी, राज नीतिज्ञ) आदिको पहलमा एउटा अफिसकोठा र एउटा एकनाले कक्षा कोठा बाट पुन संचालन भएको स्कुल हामी क्लास चढ्दै जाँदा कक्षा कोठा थपिदै गए । तर फर्निचर र झ्याल ढोकामा पलेटा थिएनन् । तीन कक्षा सम्म बोरा , मुढामा बसेर पढियो ।
तीन कक्षाको अन्तिम त्रैमासिक परीक्षा देखि मेरो चमत्कारिक प्रगति भएछ । म सबै भन्दा पछाडिको हुत्तिएर सबै भन्दा अगाडि पो पुगेछु । नेपालीमा १०मा ८.५ आएछ । नेपाली निलकण्ठ सरले पढाउनु हुन्थ्यो । खै उहाँले त्यतिका नम्बर ल्याउँदा र प्रथम स्थानमा आउँदा पनि खुशीले हो कि किन हो उल्टै मलाई चड्काउनु भयो । उहाँको चड्काई अघि पछि पनि रुखै हुन्थ्यो । त्यत्रो सबै मिलाएर एउटा प्रश्न किन बिगारेको भनेर उल्टो गाली चड्काई खाइयो । पक्कै उहाँले चमत्कारीक प्रगति भएको देखेर खुशीले नै हुनु पर्छ । उहाँ गुरु मात्रै नभएर आमाको माइती पनि हुनुहुन्थ्यो ।
अन्तिम परिक्षामा पनि राम्रै गरें तर अघिल्ला परीक्षाको पनि नम्बर जोडिने भएकाले म तेस्रो भएँ , भाइ बलराम भट्टराई प्रथम , र मेरै सानो मामा द्वितीय ।यसरी मामा भान्जा भएर कब्जा गरियो । सबै खुशी भए ।
स्कुलमा विद्यार्थी ८०/९० जना पुगि सकेका थिए । स्थानीयको पहलमा नि मा वि पनि त्यहीँ चल्ने भयो , स्कुलको नाम शिवशक्ती नि मा वि भयो भौतिक पुर्वाधार र शिक्षक थपिए । कक्षा कोठा क्रमशः थपिदै गएका थिए ।
हामी बोरासन बाट बेन्चासनमा जम्यौ । नि मा वि भए पछि खेलकुदका सामान पनि आए , डोरी , रिङ्ग , फुटबल आदि । ड्रेस पनि अनिवार्य भयो । पहिला पहेंलो सर्ट र निलो कट्टु त्यो ड्रेस अरुले जोगी ड्रेस भनेर गिज्याउन थाले पछि धेरै तगेन । अर्को बर्ष फेरियो , आकासे निलो सर्ट र निलो कट्टु/फ्रक भयो । नि मा वि भए पछि स्कुलमा अन्य क्रियाकलाप हुन थाले । चार सदन गठन भए हिमालका नाममा , म अन्नपूर्ण सदनको क्याप्टेन भएँ , अन्य सदनमा , भाइ बलराम , मामा राजु भण्डारी , नारायण आदि । मेरो अन्न पूर्ण सदन , हाजिरी जवाफ बाहेक अन्य खेलकुद क्रियाकलापमा सधैं चौथा नम्बर मै सिमित रह्यो । सायद त्यो भन्दा पछाडि ठाउँ भएको भए अझै पछि गैन्थ्यो होला । कपर्दीमा नारायण ठकुरी भएको टीम कहिल्यै सेकेन्ड भएन । होस् पनि कसरी स्कुल कै बलियो उही थियो । फुटबलमा हाम्रो टीमले २१ गोल सम्म खाएको याद छ मलाई । क्याप्टेनले त एक गोल हान्न नसक्ने अरुले के हानून् ।
अन्य क्रियाकलापमा जिरो भए पनि पढाइमा चैं हिरो हुँदै गैयो । तेस्रो दोश्रो हुँदै ६ बाट सातमा जाँदा बलराम भाइलाई पछाडि पार्दै प्रथम भएँ तर सातको जिल्ला स्तरीय परिक्षामा फेरि भाइले नै पछार्‍यो म द्वितीय भएँ । सातमा पुग्दा १८/१९ जना मात्रै थियौं । तर जिल्ला स्तरीयमा एक दुई जना मात्रै फेल भए । जिल्लामा राम्रै नाम रह्यो हाम्रो स्कुलको । केही समय पछि मात्र मा वि भयो । हामीले हाइस्कुल त्यहाँ पढ्न पाईएन । अहिले उ मा वि सहित । शिक्षा महाविद्यालय पनि सञ्चालनमा छ । आफ्नै सहपाठी दिपक बास्तोला क्या प्र छ्न् । भौतिक पुर्वाधार भने जस्तै छ । स्थानीय समाजसेवी ,शिक्षा प्रेमी लागि परेका छन् । समस्या एउटै मात्र छ सामुदायिक विद्यालयको विश्वसनीयताको मात्रै ।

पढ्नुहोस – मेरो जागरण मेरो जीवन भाग – ९
(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन मेरो जागरण पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button