मेरो जागरण

मेरो जागरण मेरो जीवन भाग – ५

३१/३२ सालमा तिर नापी आयो । म ११/१२ दाइ १४/१५ बर्षको मात्रै । माना बीजनको आधारमा क्षेत्रफल छुट्याएर पुर्जा दिने , कार्यक्रम रहेछ । जग्गाको उत्पादनको आधारमा जग्गाको वर्गीकरण गरेर पुर्जा बन्ने रहेछ । रुख भएको जग्गा बुट्यान भनेर छोड्ने ,बाँझो प्रति भनेर छोडिदिने चर्चेको जग्गा मात्रैको पुर्जा दिने सर्कारको नीति रहेछ । जाबो नीतिलाई छारकाप्रो हाल्न कर्मचारीले नै अलि चल्तापुर्जा हरुलाई चोर बाटो सिकाइ दिन्थे । कर्मचारी भलाद्मीले कुरा गरेको सुने पनि हामी कुराको चुरो बुझैन्थेम् । दिन दिनै कचहरी हुन्थे । खसी काट्ने खाने गर्थे कुखुरा भने लुकिछिपी काट ्थे । वास्नाको स्वाद त अघाइन्जेल लिन पाइन्थ्यो तर अघाउन्जी खान भने एक दुई दिन बाहेक पाइएन ।
बाँझा जग्गा धमाधम जोत्न थाले आमा पनि महिनौ फाँड्फुड गर्न जानु भयो हजुरबुबाले चर्चेको प्रसस्तै थियो अहिलेको मोटामोटी अनुमानमा १००० /१५००रोपनी भन्दा बढी हुँदो हो । हजुर बुबाको तीन भाइ छोरा । बुबा बितेको नि १०/११बर्ष भै सकेको थियो ठूलो बुबा र माइलो बुबा हुनुहुन्थ्यो । जम्मा सात ओटी हजुर आमा बाट ३ भाइ छोरा । अरु गाउँका जल्दा बल्दा नि थिए कल्ले कति राख्ने भन्ने कचहरी चले पनि आमालाई सहभागी गराएको थाहा पाइन । जम्दारका खलक भने पछि अरु एक कदम पछि नै बस्थे । मुखिया प्रथाको अन्तिम अवस्था थियो ।
हजुर ! जग्गा दुई तीन महिनामा कायापलट भए कतै कोदो कतै फापर कतै काउनो झुल्न थाल्यो । बाँझा जग्गा एकाएक आवादी भए । त्यो बेला लगाएका बदम (मुमफली ) त चार पाँच बर्ष सम्म खाइयो । आफै उम्रन्थे ।
पछि पुरै छाडा भए पछि मासिए । घरबारी बाहेक अरु दोयम चार वर्गमा दर्ता हुन लाएक भए । छ्लफल चलिरहेको थियो । मैले भने यो भाग अलि कठोर छ भनेर । एक थरीले हुन्छ भन्नु है ! भनेर सिकाउँथै अर्का थरिले हुन्न भन्नु है भनेर सिकाउँथे । तर दुबै थरिले टुहुरा मार्न हुन्न भन्थे । त्यस्को अर्थ आमाले सम्म बुझ्नु भयो कि हामीले त के बुझ्नु । मर्न पर्दैन मरिन्न भन्नेमा ढुक्क थियौं ।
बुबा पहिले नै बितेको भनी हालें , ठूलो बुबा लेख पढ गर्न जान्ने पुलिसमा जम्दार पड्काई सकेका थिए । साह्रै विलासी पाराका । माइलो बुबा लेख पढ गर्न नजान्ने तर अत्यन्तै चतुर लाग्थ्यो उहाँले प्रत्यक कागजातका फोटो कपि मेमेरीमा स्टोर गर्न सक्नु हुन्थ्यो । लाखौंको हिसाब एउटै हातका औंला चुस्त दुरुस्त गर्न सक्नु हुन्थ्यो । दुबैले बहुबिबाह गरेका थिए । दाजु हरू हुर्केका भए पनि , लगभग शरणार्थी जस्तै थिए । दाजु हरूलाई सायद मलाई जति थाहा छैन । म जति बेला पनि आमाको पछि लाग्ने भएकोले सबै दाइ भाइलाई भन्दा कुरा नबुझे पनि प्रायः सम्वाद अझै मेरो रेकर्डमा मेटिएका छैनन् । प्रत्येक कचहरीमा टुहुराको बचाउ बहस चलेकै हुन्थ्यो । हामी विश्वस्थ थियौं । भनी हालें , एक पाथी बीजन हो कि एक मुरी बीजनले भेट्ने १०००/१५००० रोपनी जग्गामा क्यै नभए नि ४/५ सय रोपनी हाम्रो भागमा पर्न पर्ने । तर त्यत्रो दर्ता हुने सम्भावना थिएन हदबन्दीको नियम थियो । केही अरुको नाममा पास गर्न पर्ने वा बेच्न पर्ने भयो भने । भित्र भित्रै कता कता कुरा मिलाउँथे हामीलाई थाहा हुने कुरै भएन । उही हुन्छ हुन्न को पाठ सिकाउँथे हामी त्यसै गर्थौ । दुईचार ठाउँको जग्गा बेच्न पर्ने भयो भने सहस्र स्वीकार गरियो ! त्यस बापत एक डेड सय कति हो भागमा पर्‍यो भनेर आमालाई दिए पनि । अन्ततः सबै प्रक्रिया सकियो । टुहुरा मार्न हुन्न भन्ने हरु सफल भए पनि । त्यतिका जग्गा मध्य नरम करम मिलाएर आमाको हातमा १६ रोपनीको पुर्जा थमाई दिए । ४ रोपनी बुट्यान दर्ता गर्न बाँकी सहीत । पछि वन विभागले धन्न छुट दियो र त्यो चार रोपनी दर्ता भयो । अन्तत हामी सयौं रोपनीका मालिक २० रोपनीमा थन्कियौं । यो उदाहरण मात्र भए पनि त्यो बेला हामी जस्ता बोल्न नसक्ने कैयन टुहुराको बिल्लीबाँठ भएको थियो ।

स्रस्टा भरत आचार्यको मेरो जागरण मेरो जीवन भाग – ४ पनि पढ्नुहोस।

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button