मेरो जागरण

मेरो जागरण मेरो जिवन भाग-३

फेरि घर तिरकै प्रसङ्ग पूरा तेह्र हाते बंगाला बनी सकेको थियो । धुरी छाए पनि पिँढीको छानो ठेक्का भित्र नपरेको रहेछ । वर्षा नलागिन्जेल त ठिकै थियो बर्षामा बाछिटो पानी भित्रै पस्न थाल्यो ।जसो तसो त्यो साल गुजारा भयो । पिढीको छानो नभै भएन । अगाडिको झ्याल र ढोका पनि पानीले बिगार्ने निश्चित थियो । हुन त झ्याल ढोकामा अलकत्रा पगालेर पालिस दलेका थियौं । तर पनि पानी भित्रै पस्थ्यो । अर्को समस्या फेरि घरको मध्यभागमा आगो फुके पछि घर भरि हुन्थ्यो । आटीमा झन धूवाँले आँखा पोलेर बसि सक्नु हुन्थेन । म तीन कक्षामा पुगेको थिएँ भने दाइको पढाइ नियमित थिएन ।दाइ स्कुल नगए पनि मलाई पढाउने आफू पढ्ने गर्नु हुन्थ्यो । घाम छँदा पढ्ने सम्भव नै हुन्थेन । पढ्ने भनेको साँझमा टुकी बालेर मात्रै हो । म पनि हप्तामा ३/४ दिन मात्रै जान्थे स्कुल ।
घर साँघुरो र पूरा पानी नओत्ने भयो । झ्याल तिर परेका कपडा किताब खाद्यान्न भिज्थे । पानी पर्ने बेला हामी तीन वटै आमा छोरा गुजुल्टिएर बस्थ्यौं । म चट्याङ सित असाध्यै डराउँथे । दाइ भने अलि जब्बर हुनुहुन्थ्यो । त्यति डराउनु हुन्थेन । पिढीको छानो नबनाई भा थेन । आमा प्राय मेला पात जानू हुन्थ्यो । पिढीमा छानो हाल्न पाए त्यहीं एउटा कुनामा बाख्राको खोर बनाउने सोच थियो । हारगुहार गरेर मेला पर्ममा तिर्ने गरि छिमेकीले एकदुई दिन सहयोग गरि दिने बताए । तर सर सामान जुटाउन आफै नलागि भएन । खरबारी आफ्नै थियो । पर्म खेताला हालेर आमाले खर काटी सक्नु भएको थियो । तीन जना आमा छोरा मिलेर डाँडा भाटा पनि जम्मा गरियो । चोया बाता हाम्रो बसमा थिएन । भिनाजु (चुडामणी अधिकारी , जो नमिता सुनिता काण्डको भूमरीमा पारेर मारियो , यो काण्डको मैले देखे बुझे भोगे सम्मको पछि लेख्ने छु ।) ले नै व्यवस्था मिलाउनु भो । यस्ता कुरामा एकदम सिपालु हुनु हुन्थ्यो । छाउने जिम्मा पनि उहाकै थियो । घर छाउने सिजनमा उहाँलाई निकै धपेडी हुन्थ्यो । बुबाले नै उहाँलाई वन कार्यालयमा जागिर लगाइ दिनु भएको थियो । उहाँकै मुख बाट सुनेको हुँ मैले । छिमेकी अभिभावक जे भने पनि उहाँ नै हुनु हुन्थ्यो ।

सामान जुटाउने क्रममा बाख्राको खोरलाई केही ढुङ्गा समेल्न पर्ने भयो । घर नजिकै गह्रा कान्ला बाट ढुङ्गा समेलेम् दाजु भाइले । बाख्राको बर्क्यौला निकाल्न टाँड मुनि मान्छे छिर्न सक्ने (मेन होल) स्यानो ढोका जस्तो बनाउन अलि लामा छपनी चाहिने भयो । त्यही ढुङ्गा गुल्ट्याउने क्रममा दाइको पैतालामा कसरी पर्न गएछ पैताला माथी पट्टि खिप्लिक्कै काट्यो । निकै गहिरो घाउ परेछ । ज्वरै आयो । घाउ भयानक नै थ्यो कति पीडा भयो होला । हस्पिटल हिडेर जान सक्ने अवस्था थिएन । बोकेर कस्ले लैजाने आर्मी ब्यारेक सम्म जान पाएको भए पनि उपचार गरि दिन्थे गैएन । बरु ढुङ्गामा पलाउने झ्याउ (सेतो प्रकारको ढुंगामै पलाउने वनस्पति ) पिंधेर लाए सञ्चो हुन्छ भनेर कसैले सुझाइ दिए त्यसै गरेम् त्यही औषधीले घाउ सञ्चो भयो ! अहिले पनि २/३ उमलको खत छ ।दाइको खुट्टामा ।
क्रमश :

स्रस्टा : भरत आचार्य को मेरो जागरण मेरो जिवन भाग २ पढ्न यहाँ क्लिक गर्नुहोस।

(मेरो जागरण, मेरो जिवनअन्तर्गत हामी आदरणिय स्रष्टा भरत आचार्य जि को आफ्नै कथा भाग – १ बाट प्रारम्भ गरेका छौं। स्रस्टा आचार्यको आफ्नै कथा पढ्नको लागि निरन्तर जागरणपोस्ट डट कम को विशेष प्रयोजन ` मेरो जागरण ´ पढ्न नछुटाऊनुहोला।

साथै, तपाईंसंग पनि यस्तै अनुभूति या लेख्दै गरेका रचना छन भने कृपयाँ [email protected]
या [email protected] मा पठाऊनुहुन हार्दिक अनुरोध छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button