पत्रपत्रिकाबाट

प्रहरीले साथीलाई पास गर्ने, प्रश्नपत्र बिक्रीबाट मनग्ये आम्दानी !

राजविराज – माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रको सुरक्षाका लागि खटिएका प्रहरी नै प्रश्नपत्र चोरीमा संलग्न रहेको खुलासा भएको छ । प्रहरी साथीलाई पास गराउने तथा प्रश्नपत्र बिक्री गरेर आम्दानी पनि मनग्गे गर्ने उदेश्यले प्रश्नपत्र चोरी गर्ने काम भएको अनुसन्धानको क्रममा खुलेको हो ।

यसरी प्रश्नपत्र चोरी गर्ने कार्यमा संलग्न मुख्य नाइके राजविराज नगरपालिका १० घर भई हाल सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत, उनका दाजु विष्णुदेव सुनरैत, कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, राजविराज–१६ निवासी शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी राजेश यादव र उमेश यादवलाई बिहीवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआइ)को टोलीले आइटी विशेषज्ञको सहयोगमा सुक्ष्म अनुसन्धान र छानविन गरेपछि अपराधी पक्राउ गर्न सफलता हात मिलेको सिबीआई नायव प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले बताए ।

अनुसन्धानको क्रममा प्रहरी चौकी कल्याणपुरमा प्रश्नपत्र सुरक्षाका लागि खटिएका प्रहरी जवान सुनरैतले चौकीका प्रमुख खाना खान गएको मौकाछुपी उनको ब्यागबाट प्रश्नपत्र राखिएको कोठाको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेको खुलेको उनले जानकारी दिए । सुनरैतका प्रहरी साथी दिपेन्द्र मण्डल पनि यस पटकको एसईई परीक्षामा सहभागी छन् ।

सुनरैतले प्रहरी साथीलाई प्रश्नपत्र चोरेर सहयोग गर्ने तथा प्रश्नपत्र बिक्री गरेर लाखौं कमाउने नियतले त्यसो गरेको पाइएको नायव प्रहरी महानिरीक्षक शाहीले बताए । यति मात्र होइन । उनले प्रश्नपत्र हात पारेपछि आफ्ना प्रहरी मित्र मण्डललाई सजिलै पास गराउन विज्ञान विषयको परीक्षाका दिन प्र्रवेशपत्रको फोटो उप्काएर दाजु विष्णुदेवको फोटो टास गरी उनैलाई मण्डलको सट्टामा परीक्षामा परीक्षार्थीको रुपमा सहभागी समेत गराएका थिए ।

यसरी प्रश्नपत्रको फोटो खिचेर तथा दाजुलाई नै नक्कली परीक्षार्थी बनाएर प्रहरी साथीलाई सहयोग गर्नुका साथै पैसा कमाउने उद्देश्यले उनले शिक्षक मनोज यादव र हनुमाननगर कंकालिनी नगरपालिकाका राजेश यादव र उमेश यादवलाई पनि आफ्नो योजनामा जोडेका थिए ।

सो समूहले विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक हजारदेखि १२ सयसम्म रुपैयाँ लिएर फोटोकापी समेत बिक्री वितरण गरेको अनुसन्धानको क्रममा खुलेको छ । प्रश्नपत्रको सजिलै पहुँचमा रहेका सुनरैतले सिल खोलेर प्रश्नपत्रको फोटो खिच्ने र अर्का परीक्षार्थी प्रहरी साथी मार्फत ‘कुरा’ मिलेकाहरुलाई समाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाउने गरेको खुलेको छ ।

प्रश्नपत्रको फोटो खिचेर प्रहरी साथीलाई दिने र उनको स्थानमा दाजु विष्णुदेवलाई नक्कली परीक्षार्थी बनाएर परीक्षामा सहभागी गराएको स्वीकार गरिसकेका ब्रह्मदेव र दिपेन्द्रलाई प्रहरी ऐन अनुसार विभागीय कार्वाहीका अतिरिक्त अन्य कार्वाही गरिने उनले जानकारी दिए । यस्तै शिक्षक यादवसहित अन्य चारजनालाई प्रचलित कानून बमोजिम कार्वाही गरिने पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए – राजधानीबाट ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button