विचार ब्लगस्वास्थ्य
ट्रेन्डिङ

होटल तथा रेष्टुरेन्टका खाना कति गुणस्तरीय ?

बिजय ज्ञवाली

आजकल धेरैको जिवनशैली बदलिंदो अवस्थामा छ। गाऊँ छोडेर शहर झर्नेको लहर नै चलेको छ। पहाडका उर्वर भूमीहरु उजाड बन्दैछन भने मनमोहक डाँडापाखाहरुका रमणिय बस्तीहरु खण्डहर बन्दैछन। लहड, लहर अथवा बाध्यता कारण जेसुकै होऊन, पहाडका गाऊँबस्ती रित्तिंदै गैराखेका छन भने शहरमा मानव कोलाज अनियन्त्रितजस्तै हुनथालेका छन।

तिव्र शहरीकरणसंगै मान्छेका दिनचर्याहरु पनि अति व्यस्त हुँदै गईराखेका छन। बिहानदेखि बेलुकीसम्म कामकै दौरान मानिशहरु तनावग्रस्त पनि छन। घरमा समय दिन भ्याईराखेका छैनन भने घरमा पाके/पकाएको खाना खाने फुर्सतसम्म मान्छेलाई छैन। यद्यपि कतिपय मानिसलाई घरमा खाना पकाऊनेसम्म फुर्सत छैन।

जिन्दगी जति नै भागदौडपूर्ण किन नहोस, आखिर मानिसलाई उर्जा त अवश्य चाहिन्छ। उर्जा प्राप्त गर्नको लागि मानिसलाई भोजनको आवश्यकता पर्दछ। ब्यस्त समय, घरमा पकाऊन फुर्सत नहुने, घरमा पाकेको खान समय नमिल्ने मानिसले अन्तत: आहाराको लागि होटल तथा रेष्टुरेन्ट त धाऊनै पर्दछ।

तर, तपाईंहामी नियमित धाऊने होटल तथा रेष्टुरेन्टका खाना कत्तिको गुणस्तरीय छन त? यसबारेमा हामीले कहिल्ल्यै ख्याल गरेका छैनौं। होटल तथा रेष्टुरेन्टमा उपलव्ध हुने बिभिन्नथरि खानाका परिकाररहरु, तिनै परिकार पकाऊने किचन, भाँडाकुँडा, खाना बनाऊने मान्छे, होटलको सरसफाई आदिका बारेमा हामीले कहिल्ल्यै पनि ख्याल गर्दैनौं। यतिमात्र होईन, बिबाह, भोजभतेर, सेमिनार, गोष्ठी तथा ठूला पार्टिहरुको आयोजना हुँदा ठूलो परिणाममा पाक्ने/पकाईने खानाहरुको गुणस्तर र सरसफाईको अवस्था कस्तो छ, त्यसबारेमा पनि हामीहरुले कहिल्ल्यै ध्यान दिने गरेका छैनौं।

देख्दा आकर्षक, रंगीचंगी, वासनादार र स्वादिष्ट परिकार हुँदैमा ती सवै स्वस्थवर्द्वक परिकार हुन्छन नै भन्न सकिन्न। नेपालका अधिकांश होटल तथा रेष्टूरेन्टका भान्छाघरहरु प्राय: सफा देखिंदैनन। भान्छाघरभित्र पस्नासाथै एक किसिमको दूर्घन्ध महसुस हुनथाल्दछ। नजिकै फोहोर फाल्ने भाँडो, रछ्यानका कारणले प्रायश: अधिकांश किचनहरु दुर्घन्धित छन। अझ काठमाडौजस्तो पानीको हाहाकार भएको शहरमा त किचन पनि राम्रोसंग सफा गरि धोईएको हुँदैन, फलस्वरुप किचनमा पोखिने खाना तथा सागपातहरु महिनौंदेखि किचनका कुनाकाप्चाहरुमा कुहिएर बसेका हुन्छन, किचन डङ्गडङ्गती गन्हाऊने मूल कारण त्यहिं हो भने किचन पनि प्रायश: कालो न कालो देखिन्छ। यतिमात्र नभएर राम्रोसंग भाँडा माझ्न पानीको अभाव छ। फलस्वरुप एकपटक मस्काएका जुठा भाँडा एकैपटक यौटा ठूलो भाडामा जम्मा गरिएको पानीमा डुवाऊँदै पुछपाछ गरेर काम चलाईन्छ। पकाऊने भाँडा राम्रोसंग माझिएको त हुँदैनन नै ती भाँडाहरु बाहिरबाट प्रायश: काला मैला र छुनै घिनलाग्ने खालका हुन्छन। यस्तै भाँडामा पकाएका खानेकुरा हामी पुछपाछ गरिएका प्लेट, चम्मच या कचौरामा राखेर खाने गर्दछौं।

अर्कोतर्फ अधिकांश होटल/रेष्टुरेन्टमा प्रयोग हुने सागसव्जी तथा माछामासुहरु पनि राम्रोसंग धोईएको हुँदैन। बजारबाट उठाईएर ल्याईएका माछामासु तथा सागसव्जी एकपटक एकमुष्ठ चोवलेर काट्न शुरु गरिन्छ र त्यसरि चोवलिएको पानी पुन: अन्य सागसव्जी, माछामासु धुन प्रयोग गरिन्छ या त्यहिं पानीले जुठा भाँडा चोवलेर निकाल्ने गरिएका दृष्य हामी अनेकौंपटक देख्न सकिन्छ। त्यस्तै सागसव्जी तथा माछामासु काट्ने हतियार तथा काठ तथा प्लाष्टिकले बनेका कटिङ्ग बोर्डहरु हेर्दा झनै घिनलाग्दा पनि देखिन्छन। एकपटक काटिसकेपछि त्यसलाई धोईपखाली सुक्खा गराएर राख्ने प्रचलन अधिकांश होटल रेष्टुरेन्टमा देख्न सकिन्छ। ती कटिङ्गबोर्ड त कतिसम्म घिनलाग्दा देखिन्छन भने नजिकै पर्दा मात्र ड्वाङ्ग गन्हाएर वमिट होलाजस्ता लाग्दछन। यस्ता दृष्य धेरै ठाऊँ देख्न मिल्दछ।

होटल तथा रेष्टुरेन्टको मूख्य आकर्षक कर्मचारी हुन। सफा र चिटिक्क परेका कपडा (ड्रेस), हातखुट्टाका नङ्ग काटिएका, छोंटो कपाल, हातमा पन्जा, खुट्टामा जुत्ता मोजा, मुहारमा मुस्कानसहित काम गरिरहेका कर्मचारी कुनै होटल रेष्टुरेन्टमा देख्नुभो भने निश्चयपनि उक्त होटल रेष्टुरेन्टमा सरसफाई संगै गुणस्तरियतामा पनि धेरै हदसम्म विश्वास गर्न सकिन्छ। तर, विडम्वना नै भन्नुपर्दछ, नेपालका अधिकांश होटल तथा रेष्टुरेन्टमा यस्ता दृष्य विरलै मात्रामा देख्न पाईन्छ। कतिपय ठूला भनिएका होटल रेष्टुरेन्ट देखि लिएर साना होटल रेष्टुरेन्टसम्म आईपुग्दा यस्ता दृष्य त परै जाओस, उस्तै परे ती कर्मचारी नजिकै नआईदिए नै हुन्थ्यो भन्नेसम्म पुगिन्छ। भित्र किचनमा चिहाऊने हो भने कोहि सूर्ती मोल्दै गरेका भेटिन्छन, कोहि चुरोट तान्दै, कसैले जुल्फी मिलाऊँदै गरेका देखिन्छन त कसैले केही न केही नाङ्गो हातले फोहोर हुने कार्य गरिरहेका पाईन्छन। सूर्ती मोलेर मुखमा च्याँपीसकेपछि हात सफा नगरिकन त्यहिं हातले खाद्य परिकार बनाऊने गरेको पनि भेटिएका छन भने शौचालयपश्चात सावुनपानीले राम्रोसंग हात नधोईकन सिधै भान्छाकोठामा खाना तयार पार्ने गरेको पनि कतिपय होटल रेष्टुरेन्टमा देख्न सकिन्छ।

यौटा निकै चलेको गीत छ नि; ” गर्नु गर्यौ सुन्तली साऊनी बनेर, दुनियाँलाई ठगेर बासी भातलाई साजी भनेर।” हो, वास्तवमा नेपालका अधिकांश होटल तथा रेष्टुरेन्टमा ताजा र सफा खाना पाऊनै मुश्कील हुन्छ। बासी भातलाई स्टिमरमा हालेर तताएर या अलिकति ताजा भातसंग मिलाएर तातो तातो पारेर खुवाऊने गरिन्छ। तरकारी, मासु, दाललगायत अन्य परिकारहरु पनि प्राय: बासी नै हुन्छन। ताजा भेटिएछ भने संयोगमात्र हुनेछ। सवैभन्दा बासी, गुणस्तरहिन, फोहोर र चर्को मूल्यको खाना त अझ नेपालका राजमार्गहरुमा खान अभिशप्त छौं। त्यस्तै तेलमा तारेका परिकार त झनै घातक छन स्वास्थ्यको लागी। अधिकांश ठूला तथा साना होटल रेष्टुरेन्टहरुमा हप्तौंदेखि यौटै तेलमा विभिन्न परिकारहरु तारिराखेका हुन्छन। तारेका परिकारहरु खानमा स्वादिष्ट भए पनि दुई वा सोभन्दा बढिपटक तारेको तेलमा पुन: तारेर खानु स्वास्थ्यको लागि बहुतै हानीकारक छ। तर, धेरै ठाऊँमा एकपटक तारेको तेलले हप्तौंसम्म पुर्याईन्छ। यसरी तारेको तेल डढेर कालो, लेदो हुँदासम्म पनि तार्न भने छोडिन्न। अब कल्पना गर्नुहोस त यस्तो तेलमा तारेको परिकार कति स्वस्थकर होला?
Voice 001

धार्मिक, सांस्कृतिक, सामाजिक तथा जातियताको विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा हामी भिन्न भिन्न आस्था र रहनसहनका मानिस हौं। हामीमध्ये कतिपय शाकाहारी मात्र छौं भने अधिकांश मांशाहारी छौं। मांशाहारीमध्ये पनि कसैले के खान्छौं त कसैले के। सवैले सवै प्राणी खाँदैनौं। साकाहारी मानिस होटेलमा छिरेर शुद्ध साकाहारी खाना पाऊनै मुश्कील छ। अधिकांश होटल रेष्टुरेन्टमा माछामासु तारेको तेलले साकाहारी भोजन पनि तयार पारिन्छ भने त्यहिं तेलले अन्य परिकार पनि। पानी, झोल मिसमास पारिन्छ। यस्तोमा शाकाहारी मानिस माछामासु बेच्ने होटल रेष्टुरेन्टमा नछिरेकै बेश हुन्छ भने मांशाहारीमध्ये पनि जसले माछा,खसीबोका र कुखुरा मात्र सेवन गर्नुहुन्छ, उहाँहरु अन्य मासुका परिकार पनि बेच्ने स्थानमा सकभर नपस्नु नै वेस हुनेछ।

प्रायश: थोरै मात्रामा पढेलेखेका मान्छेको पहिलो रोजगारीको गन्तव्य होटल तथा रेष्टुरेन्ट पनि हो। यो क्षेत्रमा प्रवेश गर्नको हर कसैलाई सहज पनि छ। सानोतिनो लगानीको लागि पनि होटल रेष्टुरेन्ट पहिलो रोजाईंमा पर्दछ भने बेरोजगार तथा अध्ययन गर्न नसक्नेका लागि पनि सहज र सर्वसूलव रोजगारीको माध्यम होटल रेष्टुरेन्ट नै हो। तसर्थ यो क्षेत्रमा जम्नको लागि हर कसैलाई कुनै विज्ञता हासिल गर्नुपर्दैन। यद्यपि कतिपय ठूला होटल रेष्टुरेन्ट संचालनहेतु जुन अध्ययन, सीप, सोंच, लगाव, लगानी, अनुभव र नीति चाहिन्छ, स-साना होटल रेष्टुरेन्ट संचालन र जागिरको लागि त्यति ठूलो धनराशी, अध्ययन, सीप, अनुभवलगायत बौद्धिक परिश्रमको जरुरत नपर्ने हुँदा यस्ता होटल रेष्टुरेन्टमा गुणस्तरको अवस्था पनि निकै खस्किएको हुन्छ। यिनै साना ब्यवसायमध्ये पनि कतिपय होटल रेष्टुरेन्टमा गुणस्तरीय खाना पनि खान पाईन्छ भने कतिपय ठूला होटल रेष्टुरेन्टको गुणस्तरको अवस्था कमसल पनि छ। म:म मा बोंसो र छालामात्र पिसेर रसिलो म:म साना होटल रेष्टूरेण्टमा मात्र बनाईन्न, ठूला होटल रेष्टूरेण्टमा पनि बनाईन्छ। बासी भात सानामा मात्र होईन, ठूलामा पनि बेचिन्छ। बासी भातलाई अझ पुलाऊ, जिरा राईस, बिरियानी राईस बनाएर कतिपय ठूला होटलहरुमा बुफेमा समेत राखिने गरिएको देखिएको छ।

होटल रेष्टुरेन्टमात्र होईन, नेपालका अधिकांश मिठाई पसलको हालत पनि उस्तै छ। बाहिर देख्दा झर्लक र मनमोहक देखिएता पनि तिनै मिठाई पसलहरुको किचन अवलोकन गर्नुभयो भने नाक छोपेर बाहिरिनुहुनेछ। अखाद्य पदार्थको अत्याधिक प्रयोग, हानिकारक तेल, फोहोर, लथालिंग ब्यवस्थापन, फोहोर भाँडा, फोहोर कपडासहितका कामदार देखेर ती मनमोहक परिकार खाऊँ कि नखाऊँको स्थितिमा पुग्नुहुनेछ।

नेपालका होटल, रेष्टुरेन्ट, मासु पसल, मिठाई पसललगायतका खाद्यपदार्थ उत्पादन तथा किनवेच गर्ने स्थानहरुमा सरकारको कुनै अनुगमन छैन। जसले जसरि पनि ब्यवसाय गरिराखेका छन, बलमिच्याईं गरिराखेका छन। होटल रेष्टुरेन्ट तथा मिठाई पसलहरुमा उत्पादन हुने खाद्यान्न परिकारहरु ताजा, सफा, गुणस्तरिय तथा शुद्ध हुनुपर्ने हो, साथै यी क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि सफाचट र आकर्षकरुपमा प्रस्तुत हुनुपर्दछ। तर, नेपालका अधिकांश होटल रेष्टुरेन्टमा यी सवै नियमहरुको पालना गरिएको पाईंदैन। सरकारले नितिगत रुपमैं यी क्षेत्रका ब्यवसाय र कर्मचारीलाई व्यवहारिक र कानूनी मापदण्डभित्र ल्याऊनुपर्ने आवश्यकता छ। हरेक कर्मचारीलाई सुकिला ड्रेस, सफा र साजसज्जा किचन, भाँडाकुडा तथा औजारहरु, ताजा र गुणस्तरिय खानाका परिकारहरु छ/छैन सो को अनुगमन निरन्तर गरिनुपर्दछ र कुनै कैफियत भेटिए एकपटकको लागि सुधारको मौका पनि दिनुपर्दछ। यदि सुधार भेटिएन भने त्यस्ता ब्यवसाय शिल पनि गर्नुपर्दछ। किनकि स्वस्थ तथा गुणस्तरिय भोजन हरेक नागरिकको अधिकार हो भने स्वच्छता तथा गुणस्तरियता हरेक व्यवसायिसंगै सरकारको पनि दायित्व हो। यसले गर्दा हरेक नागरिकको होटल रेष्टुरेन्टमा विश्वासको वातावरण वृद्धि हुँदै जान्छ र ब्यवसायमा पनि सफलता हासिल हुन्छ।

ख्याल राख्नुहोस है- कुनै पनि होटल रेष्टुरेन्टमा छिर्दा सकेसम्म सवैभन्दा पहिला किचनको अवलोकन गर्नुहोस, कर्मचारीको अवलोकन गर्नुहोस। आवश्यक सवै कुरा सोध्नुहोस। विश्वस्त भएर मात्र खाना अर्डर गर्नुहोला। आफू पनि सचेत बनौं र अरुलाई पनि सचेत बनाऔं।

र, यो पनि पढ्नुहोस – किन भ्रष्ट हुंदैछन कम्यूनिष्टहरु?

[email protected]

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button