विचार ब्लग

बिकासको अवसर निरन्तर गुमाएको मुलुक नेपाल

भिम उपाध्याय

राजनीतिक क्रान्तिमा विज्ञानप्रविधि कारक नभएको मुलुकमा यथार्थमा कुनै क्रान्ति सम्पन्न भएको हुदैन, सत्ताको कुर्सीमा बस्ने दल वा व्यक्ति मात्र परिवर्तन भएको हुन्छ । साढे पाच शताव्दी अघि बैज्ञानिक गुटेनबर्गले अक्षर छापाखानाको आविष्कार गरेदेखि ज्ञानको विस्तारमा क्रान्ति आयो । त्यसपछिको तीन शताव्दीभित्रै पुस्तक र पत्रपत्रिताको प्रकाशनमा पनि क्रान्ति आएर विश्वमा विचारको तीब्र विस्तार हुन पुग्यो । यही कारणले विगतका सबै राजनीतिक सामाजिक संरचनाहरु ध्वस्त हुदै नयाँ निर्माण हुदै आजको युगमा मानव सभ्यता आइपुगेको छ । गुटेनबर्ग इतिहासकै एक महानक्रान्ति नायक मानिन्छन् ।

अर्बौ वर्ष उमेर पुगेको पृथ्वीमा आधुनिक वर्तमान मानववंशकोे विकास भएको जम्मा २ लाख वर्षमात्र भएको छ । करिब ५० हजार बर्षअघि देखि मात्र मानवजाति आप्रवास हुन सुरु गरेको हो । १० हजार वर्ष अघिदेखि मात्र मानव सभ्यताको विकास भयो जुनबेला मानिसले खेतिपातीको आविष्कार गर्यो । ३ सय वर्षअघि यूरोपमा विज्ञान र प्रविधिमा भएको क्रान्तिमार्फत औद्योगिक क्रान्ति आरम्भ भयोे । विसौ सताव्दीमै कृषिक्रान्ति, दुग्धक्रान्ति, अन्तरिक्ष क्रान्ति, सूचनाप्रविधि क्रान्ति र मिडिया क्रान्ति भए । विगत ५० वर्षदेखि सूचना तथा संचार क्रान्ति तीब्र रुपमा जारी छ । एक्काइसौ सताव्दी ज्ञानक्रान्तिको चरणबाट गुज्रिदै छ । आजको विश्व इतिहासकै सवैभन्दा धनी कालखण्ड हो । ज्ञान वा बुद्धि नै विश्व अर्थतन्त्रको शक्तिशाली इन्जिन बनेको छ । ज्ञान अर्थतन्त्र सबैभन्दा समृद्ध, तीब्र मूल्यवर्धक एव उत्पादकत्व भएको अत्याधुनिक अर्थतन्त्र हो ।

औद्योगिक क्रान्ति, हरित क्रान्ति, सूचना–प्रविधि क्रान्ति, ज्ञान क्रान्ति विज्ञान, प्रविधि एवं इन्जिनियरिंग संस्कृति एवं संस्कारको योगदानले सम्पन्न भएको हो । वुद्धिमान राजनेताहरुवाट यी क्षेत्रलाई स्वतन्त्रतापूर्वक कार्यसम्पादन गर्न आवश्यक निरन्तर, पेशागत स्वायत्त कार्यवातावरण एवं स्रोत निर्माण गर्दै सशक्तिकरण गर्दै लैजानुका कारणले भएको हो ।

भारतका हरितक्रान्तिका पिता डा एम स्वामीनाथन एवं दुग्ध क्रान्तिका पिता डा भर्गिस कुरियन, विश्वका गरिव देशमा गरिएको हरित क्रान्तिका पिता कृषि बैज्ञानिक डा नर्मन बोर्लग जस्ता बैज्ञानिक एवं विज्ञान व्यवस्थापकहरु जहिले पनि सर्वसाधारण किसानहरु माझ घुलमिल भएका जनप्रिय बैज्ञानिक हुन् । अर्वौ जनतालाई भूखमरिले मर्न नदिन हरित क्रान्तिद्धारा विश्वमा शान्ति कायम गर्ने महान योगदाता क्रान्तिनायक डा बोर्लगलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । राजनेता, बैज्ञानिक वा प्राविधिज्ञ एवं जनताको सक्रिय सहभागिता भएमात्र यथार्थमा समाजमा क्रान्ति सम्पन्न भएका छन् । क्रान्ति वास्तवमा आर्थिक क्रान्ति हो, यसविनाको राजनीतिक परिवर्तन भ्रान्ति मात्र हो ।

वैज्ञानिक, प्राविधिज्ञ वा इन्जिनियरको उपयोग गर्न नजान्ने राजनितिज्ञको हातमा फसेकोे मुलुक गरिव हुन्छ । विज्ञान एवं प्रविधिको खोजमा लाग्ने तपस्वीवाट मात्र समृद्धिलाई उर्जा प्राप्त हुन्छ । विवेकपूर्ण राजनीतिले वैज्ञानिक, प्राविधिक क्रियाकलापका निमित्त उपयुक्त वातावरणसम्म निर्माण गर्छ । समुन्नतिको मार्ग पट्यारलाग्दो, लामो, परिश्रमी, धैर्यआग्रहित, जीवयपर्यन्तको तपस्या हो । यसमै द्रूत विकासको चाहना गर्ने मुलुकका राजनीतिकर्मी एवं जनतालार्ई सिकाउनु पर्ने, पढाउनुपर्ने, सचेत पार्नुपर्ने हो । महान अमेरिकी अग्रणी उद्योगपति हेनरी फोर्डले भनेका छन्, ‘तिमीले नियोजन गर्न खोजेको कुराका लागि कुनै सम्मानको अपेक्षा नगर ।’ कागजी घोषणाबाट होइन, सफल कार्यसम्पन्न पश्चात् मात्र सम्मानको अपेक्षा गर्नुपर्छ ।

मुलुक धनी हुनु राष्ट्रिय धन सृष्टि गर्न जान्नु हो । अर्थव्यवस्था प्रतिष्पर्धायोग्य सावित भएमात्र उन्नति दिगो र सुनिश्चित हुन्छ । मलेशिया, ताइवान, चीन, सिंगापुर, हंगकंग, थाइल्याण्डले अंगिकार गरेको ज्ञान अर्थतन्त्रको विकास मोडेलले छोटो अवधिमा त्यहा चामत्कारिक विकास संभव भयो । पश्चिमा मुलुकको विकास सयकडौ वर्षदेखिको प्रतिफल हो, नेपालसंग त्यति समय छैन । छोटो अवधिमा मुनाफायुक्त निर्यात व्यापारमा पोक्त हुन सकिएमात्र छिटो धनी बन्न संभव छ । गुणस्तरीयता, लागत प्रभावकारिता एवं मागभएको बखत तत्काल आपूर्ति गर्नसक्ने क्षमता राख्ने वस्तु–सेवा उत्पादनबाट मात्र भुमण्डलीकृत वर्तमान कडा प्रतिस्पर्धी विश्वअर्थतन्त्रमा टिक्न सकिन्छ । एकाधिकारवादी दलाल सिन्डिकेटेड अर्थ प्रणाली भएको मुलुकमा लागत प्रभावकारीता, गुणस्तरीयता र माग भएको बखत वस्तु आपूर्ति हुदैन । नेपालको आर्थिक विपत्तीको कारण यही हो ।

आर्थिक ताकतले नै विकासलाई शक्ति प्रदान गर्छ । प्रतिष्पर्धात्मक उत्पादन क्षमता एवं वितरण प्रणालीवाट मात्र आर्थिक ताकत प्रमाणित हुन्छ । प्रतिस्पर्धात्मक क्षमता ज्ञानशक्तिको उपयोगवाट स्थापित हुन्छ । ज्ञानशक्तिले प्रतिष्पर्धात्मक सेवा–वस्तुको उत्पादनलाई जन्म दिन्छ । आधुनिक प्रविधिको प्रयोगले मात्र ज्ञान–ताकतलाई उर्जा उपलव्ध गराउछ ।

राष्ट्रिय पुंजि लगानी गर्दामात्र प्रविधि विकासले शक्ति पाउछ । राष्ट्रिय अनुसंधान वा आयातवाट आधुनिक प्रविधिको विकास हुन्छ । राजश्व अभिवृद्धिका लागि निरन्तर लगानी बृद्धि गरिरहन सक्नु पर्छ । पूर्ववर्ति लगानीको प्रतिफलबाट पुनर्लगानी गर्न स्रोत सिर्जना हुन्छ । प्रतिफलविनाको लगानीले भविष्यको लगानीको मूल नै सुकाउछ । राजश्व वृद्धिका लागि उत्पादनको आयतन र विक्रयमा निरन्तर परिमाणात्मक एवं गुणात्मक फड्को मारिरहेको हुनुपर्छ ।
विक्रिको परिमाण बढाउन क्रेताको सन्तुिष्टमार्फत विश्वास जितिन्छ । वस्तु–सेवाको गुणस्तरीयता र सुलभ मोलले ग्राहकको सन्तुष्टि निर्धारण गर्छ । मजदूर–कर्मचारीहरुको उत्पादकत्व वढेमात्र उत्पादनको गुणस्तर र भ्यालू अभिवृद्धि हुन्छ । संगठनप्रति वफादार भएमात्र उत्पादकत्व वढ्छ । कार्यसन्तुष्टि भएमात्र वफादारीको विकास हुन्छ । कार्यअनुकूल सांगठनिक वातावरण सिर्जनावाट कार्यसन्तुष्टि प्रत्याभूत हुन्छ । व्यवस्थापन–पक्षको अभिभावकत्व, संरक्षकत्व, स्नेह र हेरविचारले मात्र सांगठनिक कार्यवातावरण निर्माण हुन्छ । द्रूत विकासका लागि तदनुकूल उपयुक्त संगठनहरु स्थापित एवं विकसित गरिनुपर्छ । सक्षम व्यवस्थापन विकासका लागि रचनात्मक एवं सिर्जनशिल नेतृत्व दरकार पर्छ ।

रचनात्मक नेतृत्वले प्रशिक्षणमा विश्वास राख्छ, आदेशमा हैन । गुरु बनेर व्यवहार गर्छ, व्यवस्थापक भएर हैन । प्रत्यायोजन गरेर कार्य सम्पादन गर्छ, निर्देशन दिएर हैन । सहयोगीहरुको आत्मसम्मान हासिल गर्ने सहजकर्ता वनेर अगुवाई गर्छ, आफ्नो सम्मानको आग्रह गरेर हैन । सिर्जनात्मक नेतृत्वमा पारम्परिक शैलीवाट सिर्जनात्मक शैलीमा परिवर्तन हुने साहस, सिप र संस्कार हुन्छ ।

विज्ञान र प्रविधि विकासका निम्ति असीमित अभूतपूर्व शक्तिशाली औजार हुन् । विसौ सताव्दीका अमिरिकी महान आविष्कारक इन्जिनियर बकमिनिस्टर फुलर भन्छन्, ‘उत्कृष्ट प्रविधिको प्रयोग गरेमा वर्तमान र भविष्यका मावनपुस्तालाई राजा–महाराजाको जीवनशैलीमा जीवनयापन गर्न सकिने पर्याप्त श्रोत पृथ्वीसंग छ ।’ श्रोतको कमिले हैन, विज्ञानप्रविधिको सूचना र उपयोग गर्ने अनभिज्ञताले मुलुक गरिव हुन्छ ।

राजनीतिले समुन्नति वा अवन्नतिको वातावरण निर्माण गरेको हुन्छ । मूल्यनिहीत नेतृत्वको चयनमा मुलुकको महान लक्ष्य प्रँप्ति एवं समुन्नतिको दिशा तय हुन्छ । भौतिक मेहनतबाट केही बढी आम्दानी गर्न सकिन्छ तर वौद्धिक मेहेनतबाट असिमित आय हुन्छ । बौद्धिक क्षमतामा टेकेर द्रुत अर्थार्जन गर्ने अहिलेको युग हो । अन्य श्रोतको कमी भएको देशले बुद्धिश्रोतलाई झन बढी महत्व दिनुपर्छ । बुद्धिले सवैखाले श्रोतको चाजो मिलाउछ । तर लगानीविना बुद्धिको जगेर्ना हुदैन । विगतको शताव्दीजस्तो कच्चा पदार्थ, पशुबल वा बाहुबलमा आधारित होइन एक्काइसौ शताव्दी बुद्धि अर्थतन्त्रको हो । यसलाई जुन मुलुक बुझ्दैन, त्यो दरिद्र र पीडित हुनेमा शंका छैन ।

बुद्धि अर्थतन्त्रको युगमा बुद्धिमानहरुलाई साथलिएर मुलुक हाक्ने ठूलो इच्छाशक्ति र परिवर्तन गरिछाड्छु भन्ने प्रतिवद्धता, साहस र योजनाको खाँचो छ । सोह्रौ सताव्दीका पश्चिमका मेकियावेलीले पनि भनेका थिए, ‘तुच्छ योजना नबनाउ, त्यसमा आत्मालाई झक्झकाउने ताकत हुन्न ।’ विकासको इतिहासमा विसौ शताव्दीमा भएको बैज्ञानिक एवं प्राविधिक विकास विगतको उन्नाइसवटा शताव्दीभरि भएको कूल विकास बराबर हो । एक्काइसौ शताव्दीभरि हुने विकास एकसय बर्षको मात्रै हुन गइरहेको छैन, वर्तमान विकासदरमा आगामी १० हजार वर्ष बरावर हुनेछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button