खेलकुद

आठौं राष्ट्रिय खेलकुदका लागि ९० प्रतिशत काम सम्पन्न

काठमाण्डौ – वैशाख ५ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा आइतबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले मुख्य पूर्वाधार निर्माणको काम फिनिसिंगका क्रममा रहेकोे बताउँदै अन्तिम चरणमा पुगेको बताए । “धेरै ठाउँमा संरचना निर्माण अन्तिम अवस्थामा छन्,” उनले भने, “खेल्ने मैदानमा रंगरोगन, सरसफाइलगायत सानातिना काम बाँकी छन्, जसले खेलकुदमा कुनै असर गर्दैन ।”प्रतियोगिताका लागि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी गठन गरेको आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट एकिन समितिले ४३ करोड ८५ लाख ५१ हजार खर्च लाग्ने सिफारिस गरेको छ । जसमध्ये चालू आवमा विनियोजित १७ करोड ८४ लाख ५९ हजार र अर्थ मन्त्रालयले थप निकासा गरेको १५ करोडसमेत ३२ करोड ८४ लाख ५९ हजार खेलुक परिषद्का नाममा निकासा भइसकेको सदस्यसचिव विष्टले जानकारी दिए । बाँकी ११ करोड ९२ हजार बजेट अभाव भएको बताउँदै उनले सो बजेट निकासाका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गर्न चैथ १५ गतेको बोर्ड बैठकले निर्णय गरेको बताए ।प्रतियोगितामा भाग लिने खेलाडी छनोटका लागि ३ करोड ५ लाख ४० हजार खर्च गरेर ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनोट गरिसकेको परिषद्ले जनाएको छ । त्यस्तै प्रदेश प्रतियोगिता तथा छनोट, बन्द प्रशिक्षण, यातायातसमेतका लागि ७ वटा प्रदेशलाई १९ करोड ९० लाख निकासा गरेको विष्टको भनाइ छ । प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट ९ देशका २४ जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा विभागीय टीमबाहेक खेलाडी तथा अफिसियलको खाना र बसोबासका लागि करिब ४ करोड ६८ लाख र रेफ्रिहरूको यातायात र निर्णयकको भत्तामा करिब ५६ लाख ३३ हजार रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यसैगरी विभिन्न उपसमितिका लागि २ करोड ७२ लाख र स्वर्णपदक विजेताका लागि व्यक्तिगत प्रतिस्पर्धातर्फ ५२ लाख ८० हजार र सामूहिक प्रतिस्पर्धाका लागि ७९ लाख ६३ हजार गरी जम्मा १ करोड ३२ लाख ३३ हजार खर्च लाग्ने बताइएको छ । प्रतियोगितामा ३ सय ७२ स्वर्ण र रजत र ५ सय ६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ भने ७ सय ९३ वडा स्वर्ण, ७ सय ९३ रजत र १ हजार १ सय २ वटा काँस्यसमेत गरी २ हजार ६ सय ८८ वटा मेडलको व्यवस्था हुने परिषद्ले जनाएको छ ।प्रतियोगिताअन्तर्गत २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला गरी ५ हजार २ सय ११ जना खेलाडीले भाग लिने राखेपले जनाएको छ । त्यस्तै ९ सय २२ जना राष्ट्रिय अन्तर्राष्ट्रिय निर्णायक र ४ सय ७१ जना स्थानीय निर्णायक रहने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि खेलाडी, अफिसियल, रेफ्रि, जज, जुरी र उपसमितिमा रहने पदाधिकारीसहित १० हजार जनाको सहभागिता रहने छ । त्यस्तै प्रतियोगितामा राष्ट्रिय रेर्कड ब्रेक गर्ने खेलाडी पुरस्कारका लागि जनही २५ हजारका दरले व्यवस्था गरिएको छ । प्रतियोगिता सहज रूपमा सञ्चालन गर्न राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७५, आर्थिक कार्यविधि तथा खर्चका नम्ससहित मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयबाट गत पुस २६ गते स्वीकृत भई सञ्चालनमा आइसकेको बताइएको छ । पत्रकार सम्मेलनमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले खेल हुने जिल्लाका भौतिक पूर्वाधार निर्माण करिब करिब सक्ने अवस्थामा रहेको बताए । “नेपालगन्ज र बेलभुण्डी रंगशालाबाहेक अन्य स्थानमा करिब करिब सकिएको छ,” उनले भने ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button