राजनीतिविशेष
ट्रेन्डिङ

उड्ने र गुड्ने घर !

अन्नपूर्ण फुर्सत मा हरिबहादुर थापा को यौटा रोचक लेख छ। विकृत राजनिति, पन्चायत अनि भ्रष्टाचारलाई नजिकैबाट नियालेका प्रधानसम्पादक थापाको यो लेखलाई अझ विस्तृत बनाऊन जागरणपोस्ट डट कम ले पनि साभार गरेको छ।

तीसको दशकभरि बहुचर्चामा आए, ‘उड्ने घर’ र ‘गुड्ने घर’। सहरका कुलीन घरानियाँबीच यी घरका विषयमा टीकाटिप्पणी हुन्थ्यो। चिया पसलमा आमनागरिकका गफका मसला बन्थे यी। पञ्चबीच एकले अर्कालाई ‘भ्रष्ट’ देखाउनु पर्‍यो भने तिनै घर आकर्षक ढंगले प्रस्तुत गर्थे। अनि उपल्ला तहका पात्रहरूका बिलासी जीवन चिनाउन यिनै दुई उदाहरण दिन्थे।

ती घरका विषयमा साप्ताहिक अखबारमा कार्टुन बन्थे। चोेटिला टिप्पणी आउँथे। कार्टुन कोर्ने र लेख्ने सम्पादकहरू जेल पर्थे।

ती घरका मालिकद्वय शक्तिशाली पात्र थिए। खासमा, ती घर बीसकै दशकमा बनेका थिए; जसको चर्चाचाहिँ तीसको दशकमा बढी मात्रामा भयो। त्यसरी चर्चामा आउनुमा एकचोटि ती घरका मालिक प्रधानमन्त्री र प्रभावशाली मन्त्री बन्नु थियो।

त्यो कालखण्डमा उड्ने र गुड्ने घर, नौलो र आधुनिक किसिमका इन्जिनियरिङ संरचना भएपछि टिप्पणी त हुने नै भए। नयाँ संरचनानिम्ति अथाह खर्चका कथाहरू पनि जोडिन्थे।

उड्ने घरका मालिक डा. तुलसी गिरी थिए भने गुड्ने घरका खड्गबहादुर सिंह। संशोधित अनुदारवादी पञ्चायती संविधानसँगै २०३२ मंसिर १५ को मन्त्रिपरिषद् फेरबदलमा डा. गिरी प्रधानमन्त्री र सिंह मन्त्री बनेका थिए। हुन पनि उनी २०३२ मंसिरमा निर्मित डा. गिरी मन्त्रिपरिषद्मा वरीयतामा दोस्रो नम्बरका मन्त्री थिए। डा. गिरी पञ्चायती व्यवस्थाकै धरोहर थिए। यद्यपि महेन्द्रसँग राजनीतिक मतभेदका कारण २०२२ पछि सत्ताबाहिर थिए। वीरेन्द्रले अनुदारवादी व्यवस्थाका निम्ति त्यही प्रकृति खोज्दै १० वर्षपछि डा. गिरीलाई सत्तामा भिœयाएका थिए। गिरीको कार्यकाल दुई वर्ष मात्रै रह्यो।

तर सिंहको चाहिँ राजनीति अझ चढ्दै गयो। २०३४ भदौमा कीर्तिनिधि विष्ट प्रधानमन्त्री बनेपछि सिंह गृहमन्त्रीको कुर्सीमा मात्र विराजमान भएनन्, शिरमा शक्तिशाली निकाय गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्ष पद पनि मिल्यो। उतिखेर कमैलाई मात्र मिल्थ्यो, दुई शक्तिशाली पद। पदसँगै सिंहको कांग्रेस-कम्युनिस्टविरोधी राजनीतिक गर्जनले मुलुककै ध्यान खिचेको थियो। तिनको शक्तिशाली पदसँगै अनौठो घरले पनि उचाइ पायो। सिंह पञ्चायतको उदयपछि अनगन्ती पटक मन्त्री भएका थिए। पञ्चायतमा मन्त्रिपरिषद् अध्यक्ष तथा प्रधानमन्त्री फेरिन्थे, उनको मन्त्री कायम रहन्थ्यो।

कुपन्डोल हाइटमा थियो, उड्ने घर। पखेटासहितको त्यो घर ठ्याक्कै हवाईजहाज जसरी उड्ला-उड्ला जस्तै आकारमा थियो। शहरवासी जिब्रो टोक्थे, त्यो घर पार गर्दाका बखत। अर्को ‘गुड्ने घर’ चाहिँ पुल्चोक इन्जियिनरिङ कलेजनजिकै चाकुपाटमा निर्मित थियो। उतिबेला सहरमा बाक्ला घर थिएनन्। टाढैबाट ती घर देख्न सकिन्थ्यो। अझ इन्जिनियरिङ कलेजका विद्यार्थीबीच ती घरका मोडेलबारे बहस हुन्थ्यो। सँगै तिनीहरू अवलोलकन गर्न धाइरहन्थे।

पञ्चायती व्यवस्थाको उत्तराद्र्धसम्म शासकहरूका भ्रष्टाचारसँगै बिलासी जीवनशैलीका किंवदन्ती आउँदा स्वाभाविक रूपमा ती घर जोडिन्थे। अनि पञ्चायतविरोधी भन्थे, ‘एउटा बिलासी शासकका महलका निम्ति गरिबका अनगन्ती झुप्राहरू उजाडिनुपर्छ।’ धन एक ठाउँमा थुप्रिएपछि विकासको मूल फुटाउने अनगन्ती आशामा तुषारापात जमायो नै।

खासमा त्यो समयको भ्रष्टाचार र शासकीय विलासी जीवन चित्रित गर्न ‘घर’ संज्ञामा आएका शब्दावली हुन्। पछिल्ला कालखण्डमा शासकीय वृत्तका पात्रहरूका अझ बिलासी बन्दै गएपछि गुड्ने र गुड्ने इतिहास बन्दै गयो। उतिखेर ‘उड्ने-गुड्ने’ घरका विरोधी भनिएकाहरू स्वयं महँगा निवासमा सर्दै गए। अर्कातिर त्यस्ता घरका मालिक पनि पदविहीन हुँदै गए। सँगै मानिसको स्मरणबाट स्वाभाविक रूपमै त्यस्ता घर पनि टाढिए।

‘हो, ती घर शासनसँगै आर्जित सम्पत्तिका प्रतीक थिए’, उतिखेरका बहुचर्चित साप्ताहिक अखबार नयाँ सन्देशका प्रशासक तथा सम्पादक रमेशनाथ पाण्डे भन्छन्, ‘त्यतिखेर भ्रष्टाचार निकै बढ्दै गएको थियो, पञ्चायतमा धनी बन्दै गएका मन्त्री-प्रधानमन्त्री विलासी जीवन देखाउने ‘सिम्बोल’मा यी शब्द प्रयोग हुन्।’

चालीसको दशक नछुँदासम्म पाण्डे सम्पादक-प्रकाशकमा सीमित थिए। चालीसको दशकमा त उनै पाण्डे राष्ट्रिय पञ्चायतमा मात्र पुगेनन्, मन्त्रीकै कुर्सीमा आसीन भए। राजाबाट राष्ट्रिय सदस्य मनोनीत मात्र भएनन् कि पर्यटन तथा श्रम मन्त्रीको रूपमा पञ्चायती शासनमा उदाए। उनको रजगज संसदीय कालखण्डभरि पनि चलिरह्यो।

पाण्डेले उड्ने घर बाहिरबाट मात्र देखे। सिंहको गुड्ने घरमा चाहिँ भित्रै पसेका थिए। पाण्डेको स्मरणमा, नयाँ सन्देशमा उड्ने-गुड्ने घरबारे लेख्दा होस् या कार्टुन आउँदा अञ्चलाधीश कार्यालयमा बयानमा बोलाइन्थ्यो। तर ‘विषय’चाहिँ त्यो नभएर अर्कै हुन्थ्यो। तिनको उद्देश्य तर्साउनु थियो।

गुड्ने घरका डिजाइनर थिए, इन्जिनियर शंकरनाथ रिमाल। आफ्नो सिर्जनशील उपज विवादित बनिरहेको दृश्यले उनको मन पोल्थ्यो। उनको टिप्पणी रह्यो, ‘पञ्चायतका हस्तीहरूले यस्ता घर बनाए भनी आलोचना गर्नुको साटो आधुनिक आर्किटेक्ट भनी आत्मसात् गर्न खोजेको भनिएको भए, त्यसको सकारात्मक परिणाम निस्किन्थ्यो होला। नेपालमा अझ आधुनिक प्रविधि भित्रिन्थ्यो होला। तर नकारात्मक कोणबाट त्यसको आलोचना हुँदा परिणाम पनि नकारात्मक नै निस्कियो।’ नेपाल साप्ताहिक, २०६७ पुस १८।

घर, गाडी, घडी, क्यामेरा र श्रीमती फेर्नमा ‘प्रख्याति’ कमाएका डा. गिरी त्यो घरमा लामो समय बास बसेनन्। हुन सक्छ, सबैको तारो बनेको घरमा रहनु उनले ठीक ठानेनन्। पछि त्यो घर रञ्जना सिनेमा हलका मालिकले खरिद गरे। मालिक फेरिएसँगै बिर्सिइयो, ‘उड्ने घर’।

पञ्चायतभित्र अनुदारवादी धारमा बहुचर्चित पात्र थिए, खड्गबहादुर सिंह। डा. तुलसी गिरीपछि यिनको नाम आउँथ्यो। सिंह, डा. गिरीभन्दा शक्तिशाली पात्र मानिन्थे। यिनलाई २०३४ मा गृहमन्त्रीका अतिरिक्त गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्षको पद मिल्यो।

पञ्चायती संविधानको पहिलो संशोधनपछि २०२४ पुसमा गाउँ फर्क राष्ट्रिय अभियान देखा परेको थियो। तर त्यतिखेर संवैधानिक थिएन। पञ्चायती व्यवस्थामा तलसम्म कार्यकर्ता परिचालन गर्ने र तिनलाई विकासमा अल्झाउन गाउँ फर्क अभियान लागू भएको थियो। २०३२ पञ्चायती संशोधनमा संशोधनसँगै यसलाई संवैधानिक हैसियतमा उकालियो। त्यसपछि पञ्चायती पदहरूमा चुनाव लड्न टिकट वितरण संस्थामा रूपान्तरित भयो। उसले अनुमोदन नगरेसम्म चुनावसमेत लड्न पाइँदैन थियो। खासमा गाउँ फर्क कम्युनिस्टकै पोलिटब्युरो शैलीकै नमुना थियो।

सरकारी सञ्चार माध्यममा मन्त्री र प्रधानमन्त्रीको नाम त्यति सुनिँदैनथ्यो, जति गाउँ फर्कका अध्यक्ष केन्द्रीय पदाधिकारीहरूको नाम आउँथ्यो। साप्ताहिक अखबारमा नियमित विश्लेषण र टिप्पणीको विषय बन्थ्यो, गाउँ फर्कका पदाधिकारीको राजनीतिक क्रियाकलाप। यहाँसम्म कि स्वयं पञ्चहरूसमेत गाउँ फर्कबाट आजित थिए। पञ्चहरूबाटै गाउँ फर्कले टिकट नदिएर आफूलाई भित्तामा पुर्‍याएको टिप्पणी नियमित आउँथ्यो।

पुराना पञ्चहरूको स्मरणमा ‘गाउँ फर्क’को चर्तिकला गढेको छ। यो संस्थाका पदाधिकारीहरूले इतर शक्ति सिध्याउन कुनै कसर बाँकी राखेनन्। पञ्चायत इतर शक्तिको तारो बनेको थियो— गाउँ फर्क राष्ट्रिय अभियान। २०३५-२०३६ आन्दोलनकारीको मागमा गाउँ फर्क खारेजी पनि परेको थियो। २०३६ मा जनमतसंग्रह घोषणासँगै खारेज हुन पुग्यो।

उनको भाषण गर्ने कला आकर्षक थियो। उनी विरोधीका निम्ति कडा शैलीमा प्रस्तुत हुन्थे। चर्काे जगजगीका कारण सबैतिर आक्रमणको घेराबन्दीमा थिए सिंह। पञ्चायती व्यवस्थाको प्रारम्भिककालमा उदाएका सिंह धाक, रवाफसहित फूर्तिला र जल्दाबल्दा पात्र थिए। पञ्चायतभित्र अनुदारवादी पात्रका सूचीभित्र प्रभावशाली सदस्यकै रूपमा उनी एक थिए।

पञ्चायतविरोधीहरू कांग्रेस-कम्युनिस्टका चर्का आलोचक थिए, राजतन्त्रको चर्का हिमायती। उनी भन्थे, ‘जहाँसम्म श्रीपेच जिउँदो रहन्छ, तबसम्म पञ्चायती व्यवस्था डगमगाउनेवाला छैन।’ उनी २०३६ पछि पञ्चायती शासनका उपल्ला पदहरूमा देखिएनन्, सामान्य प्रकृतिकका आयोगमै सीमित रहे। यद्यपि उनी असंवैधानिक शक्ति केन्द्र ‘भूमिगत गिरोह’का एक सदस्य रहिरहे।

गुड्ने घरका सवालमा राष्ट्रपुकार साप्ताहिकमा २०३५-२०३६ कार्टुन बनेका थिए। त्यसका सम्पादक तथा प्रशासक होमनाथ दाहालका शब्दमा, ‘डोटीका सामान्य परिवारबाट राजनीतिमा प्रवेश गरेका सिंहको मन्त्री पदसँगै सम्पत्ति बढ्यो। एकाएक भव्य महलका मालिक कसरी भए ? तिनको सम्पत्ति कसरी ह्वात्तै बढ्यो ? कुनै व्यापार-व्यवसाय थिएन, मन्त्री पदबाटै कसरी त्यति धेरै सम्पत्ति कमाए ? त्यसैलाई संकेत गर्न टिप्पणीदेखि कार्टुन बन्थे।’

धेरैतिरबाट गुड्ने घरको विरोध बढ्दै गएपछि सिंहले राख्नु उचित ठानेनन्। उनले मन्त्री पदमै रहँदा २०३४ मा गुड्ने घर बेचे। उनको चाहिँ घर बेच्दा पनि ‘प्रकरण’को रूप धारण गर्‍यो। उनको घर इन्जिनियरिङ कलेजले खरिद गरेको थियो। बहालवाला प्रभावशाली गृहमन्त्रीले त्यो घरलाई बढी मूल्य तिराएको आशंकाले सहर रंगियो। साप्ताहिक अखबारहरूले त्यो विषयलाई निकै उठाए। इन्जिनियरिङ कलेजले महँगो मूल्य नतिरेको जिकिर लियो। खासमा कलजेको साँध-सीमाभन्दा परको घर खरिद गर्नुको कारणचाहिँ आएन।

खुट्टे घर

खासमा त्यही कालखण्डमा ‘खुट्टे घर’ बनेका थिए। खुट्टे घरचाहिँ कमलादीमा निर्मित थियो। घरका मालिक हुन्, महेन्द्रका छोरी अधिराजकुमारी शारदा र खड्गविक्रम शाह। शाही परिवारको ‘खुट्टे घर’ नकारात्मक टिप्पणीमा पार्न सकिने विषय थिएन, पञ्चायतकालभरि। त्यसमा राज्यसत्ता कब्जामा शाही परिवार संविधान, कानुनभन्दा माथि थिए। सम्भ्रान्त घरानाकी छोरी अंगुरबाबा जोशीले सबैभन्दा पहिले खुट्टे घर प्रयोगमा ल्याएकी थिइन्।

कमलादीमै अर्को अनौठो घर निर्मित थियो, काजी ईश्वरमान श्रेष्ठको। राजा त्रिभुवनका सहायक सचिव, महेन्द्रका प्रमुख सचिव, वीरेन्द्रको स्वकीय सचिव थिए, श्रेष्ठ। चालीस वर्षे जागिरे जीवनमा ३२ वर्ष दरबारको पर्खालभित्र जमेका थिए। महेन्द्रको मृत्युपछि उनी जर्मनीका निम्ति राजदूत भए। त्यतिखेर स्विट्जरल्यान्डमा भएको राजा महेन्द्रको सम्पत्ति व्यवस्थापन गर्न जर्मनीको राजदूत बनाएको टिप्पणीले सहर रंगिएको थियो। त्यहाँ राजदूतको सातवर्षे कार्यकालपछि काठमाडौं फर्केर फेरि वीरेन्द्रको स्वकीय सचिव बनेका थिए।

राजा महेन्द्रले आफ्ना तीन छोरीको निवास नजिकै कमलादीमा श्रेष्ठलाई दुई रोपनी आठ आना जग्गा ‘बक्सिस’ दिएका थिए। उनकै अनुसार घर निर्माणनिम्ति पैसा पनि दरबारबाट प्राप्त थियो। त्यसअतिरिक्त उनलाई गोदावरीमा ८० रोपनी, विराटनगरमा सिंगो ब्यारेक, सिमरामा १५ बिघा र पोखरामा पनि उनलाई राजाबाट जग्गा ‘बक्स’ भएको थियो। दुनियाँदारका निम्ति जग्गाको हदबन्दी भए पनि दरबारिया सचिवका निम्ति कानुन लागू भएको देखिन्न।

राणाकालमा तिनका खलकबाहेक दुनियाँदार आकर्षक घर बनाउन पाउँदैन थिए। पञ्चायतकालमा दरबारबाहेक त्यस किसिमको आधुनिक निवास नेपालमा थिएन। शासकीय वृत्त र तिनीहरूसँग जोडिएका पात्रहरूले महल निर्माण गर्ने क्रम जारी छ, उड्ने र गुड्ने घरलाई ‘माथ’ गर्दै थिए। त्यति हो, उतिबेला संख्या सानो थियो। यतिखेर पजेरो-प्राडो सजिएका अनगिन्ती महल निर्माण भइरहेका छन्। फरक यत्ति हो, त्यतिबेला टीकाटिप्पणी हुन्थ्यो, यतिखेर मौनता साँधिन्छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button