राजनीति

चौकीदार चोर

भारतमा गएको वर्ष २०१८ मा ५ वटा प्रदेशमा विधानसभाको चुनाव भएको थियो जसमा केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टीले एउटा पनि चुनाव जितेन । यीनै चुनावमा छत्तीसगढमा भएको एउटा चुनावीसभामा राहुल गान्धीले राफाल घोटालाको चर्चा गरेका थिए त्यहींंका उपस्थित जनताहरूले एउटा नारा घन्काए चौकीदार चोर है । जनस्तरबाट आएका यो नाराले देशव्यापी रूप लियो । सबै भाजपा विरोधी पार्टीहरूले यो नारा लाउन थाले । सन २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदीले आफू चौकीदार भएको बताएका थिए र अहिले चौकीदार चोर है नारा मोदी प्रति प्रत्यक्ष रूपमा लक्षित छ । फसादमा परेका मोदीलाई बचाउन भारतीय जनता पार्टीले सबै मन्त्री र भारतीय जनता पार्टीका कार्यकर्ताले मै भी चौकीदार भन्न उर्दी जारी गर्यो । भारतमा भाजपाको राजनीतिक सहयोगी संगठन आरएसएस सत्तारुढ पार्टीको शक्तिको आधार हो । यसको सन १९९० मा भारतमा २९,००० शाखा थिए भने सन २०१८ मा ५८,९७६ शाखाहरू विस्तार भए । झण्डै ८ लाख कार्यकर्ता दैनिक यी शाखाहरूमा उपस्थिति हुन्छन् र सबैले आफ्नो नामको अगाडि चौकीदार लेख्नु पर्ने उर्दी भएको छ ।

भरत पोख्रेल

चौकीदार चोर है नारा भारतमा किन लाग्यो त ? भारतीय जनता पार्टी सन २०१४ मा सत्तामा आएपछि सबका साथ सबका विकास, अच्छे दिनको नारा साथै भ्रष्टाचार नियन्त्रण गर्ने वाचा गरेको थियो । तर भारतीय पुँजीपति विजय माल्या भारतका बैंकहरूबाट रकम कुमल्याएर ३७ वटा सुटकेशमा रकम बोकी वेलायत भागेका थिए, नीरव मोदीले भारतीय बैंकहरूबाट ३,६०० करोड रुपियाँ अपचलन गरी वेलायततिर वेपत्ता भए । माल्या केही समय पहिला र मोदी हालै दस लाखको ज्याकेट लाएर वेलायतमा वरालिरहँदा गिरफ्तारीमा परेका छन् । त्यस्तै मेहुल चोक्सी, ललित मोदी आदि पनि भारतमा सरकारी आडमा भ्रष्टाचार गर्ने आरोपित व्यक्तिहरू हुन् तर सबैभन्दा ठूलो भ्रष्टाचारको आरोप भारतीय जनता पार्टीको सरकारलाई फ्रान्सको युद्धक विमान राफाल खरिदमा लागेको छ र यही भ्रष्टाचारको आडमा चौकीदार चोर है नारा चलेको छ ।

भारतीय जनता पार्टीका कार्यकर्ताले चौकीदार लेख्न थाले पछि १९ जना महिलाहरूसँगको यौन हिंसामा आरोपित #मीटू अभियानमा मन्त्रीपदबाट वर्खास्त भएका एम. जे. अकबरले पनि चौकीदार लेखेर ट्वीट गरे जवाफमा बलिउड अभिनेत्री रेणुका सहाणेले अब भारतमा कुनै महिला सुरक्षित नरहने भए भनेर रिट्वीट गरेपछि भारतभरि खैलावैला मच्चिएको छ । भारतीय जनता पार्टीले गएको चुनावमा राममन्दिरको नारा उठाएको थियो भने यसपाला पुलवामा हमला पछि पाकिस्तान र आतंकवादको नारा उरालेको छ । भारतीय जनता पार्टीका सांसद साक्षी महाराजले यो चुनावबाट नरेन्द्र मोदी दोस्रो पल्ट प्रधानमन्त्री बने भारतमा अर्को चुनाव नहुने अभिव्यक्ति सार्वजनिक गरे । भारतका सुपरिचित बुद्धिजीवी योगेन्द्र यादवको भनाइमा अहिले सम्म राजनीतिक पार्टीहरूले चुनावमा केही बुथहरू कब्जा गर्थे तर यसपाला भाजपा चुनाव नै अपहरण अथवा कब्जा गर्ने षडयन्त्रमा लागेको छ । आउने चुनाव जित्नका लागि जनताका मूल मुद्दा गरिबी, वेरोजगारी, शिक्षा, स्वास्थ्य छाडेर पक्ष–प्रतिपक्ष आरोप–प्रत्यारोपमा ओर्लिएका छन् । संसदीय परिपाटीमा नागनाथ गए साँपनाथ आउने हुन जनतालाई सधैं सास्ती ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button