विचार ब्लग
ट्रेन्डिङ

किन भ्रष्ट हुँदैछन कम्यूनिष्टहरु?

बिजय ज्ञवाली –

भ्रष्टाचारको बारेमा शून्य सहनशिलतासंगै आक्रामक रणनिति अंगालेको छिमेकी राष्ट्र चीनमा कम्यूनिष्ट पार्टिको पकड चट्टान झैं रहेको छ। केन्द्रिय सत्तादेखि लिएर देशका सवै प्रान्तहरुमा एकछत्र कम्यूनिष्ट पार्टिको राज छ। एक हिसावले समग्र चीन नै कम्यूनिष्ट र सवै कम्यूनिष्ट नै चीन भन्दा फरक पर्दैन। तर पछिल्लो ६ दशकको स्थिति नियाल्ने हो भने चीनमा जरा गाड्दै गएको भ्रष्टाचार संस्कृतिले कतै चिनियाँ कम्यूनिष्ट पार्टि नै पतनउन्मुख हुने त हैन भन्ने चेतावनी गत शुक्रवार ग्रेट हल अफ पिपलमा आयोजित विभिन्न प्रान्तका प्रतिनिधिसंगको भेटमा चिनियाँ महासचिव हु जिन्ताओ ले दिएका छन। भ्रष्टाचारलाई नियन्त्रण गर्न नसके कम्यूनिष्ट पार्टिको बदनामी मात्रै होईन, विश्वकै पहिलो शक्ति बन्ने होडमा रहेको चीनको यात्रामा अवरोध आऊनसक्ने चेतावनी जिन्ताओले दिएका हुन। चीनमा करिव १.३ मिलियन जनता कम्यूनिष्ट पार्टिको सदस्य छन। भ्रष्टाचारको मामलामा चिनियाँ कम्यूनिष्ट पार्टिको बढ्दो रैकिङ्गप्रति उच्च तहका नेताको यसप्रकारको चासो र चिन्ताले भ्रष्टाचार उन्मुलनमा केही कठोर कदमहरु चालिने हो कि होईन त्यो त आगामी दिनहरुमा देखिंदै जानेछ। तर, भ्रष्टाचारकै कारण पश्चिमा देशहरुले चिनमाथी निरन्तर आरोप लगाऊन भने छोडेका छैनन। भ्रष्टाचारको विषयलाई लिएर जिन्ताओको यो पहिलो चेतावनी भने होईन, यसअंघि पनि चिनियाँ प्रधानमन्त्री वेन जियावाओले भ्रष्टाचारको विषयलाई लिएर कडा चेतावनी दिएका थिए। भ्रष्टाचारले गर्दा नै आम जनताको नजरमा पार्टिको वैधतामाथी प्रश्न तेर्सिनेमात्र होईन, तिव्रतर रुपमा अंघाढि बढ्दै गरेको चीनलाई अवरुद्ध हुनुपर्ने स्थिति पनि आऊन सक्तछ।

कम्यूनिष्टहरुको एकछत्र राज रहेको चीनमा चिनियाँ कम्यूनिष्ट पार्टिद्वारा हुनेगरेका सत्ताको दुरुपयोगलाइ लुकाऊन लगभग असम्भजस्तै छ। पछिल्लो १० बर्षमा चीनले ईन्टरनेट क्षेत्रमा गरेको उल्लेख्य प्रगतिसंगै यसका प्रयोगकर्ताहरु पनि ह्वात्तै बढेर गएका छन। हाल ५०० मिलियनभन्दा बढि चिनियाँ नागरिकले इन्टरनेटको प्रयोग गर्दछन। इन्टरनेट प्रयोगको स्वतन्त्रतासंगै नागरिकले सरकार र पार्टिका गतिविधिमाथी पनि तिव्र निगरानी बढाऊंदै गएका छन।

चिनियाँ कम्यूनिष्ट पार्टिभित्र मौलाऊंदो परिवारवाद अर्को विकराल समस्या रहिआएको छ। सत्ताको दुरुपयोग गरि आफन्तीको नाममा रकम जम्मा गर्नु सामान्यजस्तै बनेको छ चीनमा। राष्ट्रपति सि जिङ्ग पिङ्ग का एक नातेदार जसले आगामी महाधिवेशनद्वारा पार्टिको नेतृत्व सम्हाल्दै छन, उनले ३७० मिलियन डलर बराबरको सम्पत्ति जम्मा गरिसकेको खबर ब्लूमबर्ग न्यूजले सार्वजनिक गरिसकेको छ। त्यस्तै, भ्रष्टाचारका बारेमा चिन्ता र चेतावनी दिंदै आएका वेन जियावाओकै परिवारसंग २.५ बिलियन डलर बराबरको सम्पत्ति रहेको खुलासा न्यूयोर्क टाइम्सले गरेको थियो। यद्यपि वेन जियावाओले उक्त समाचारको खण्डन गरेता पनि शिर्ष तहबाटै हुनेगरेको भ्रष्टाचार चीनमा भुसको आगोजस्तै बन्दै गईरहेको कुराको पुष्टि यी दुई घटनाक्रमले नैं देखाऊँछ।

भनिन्छ, कम्युनिष्टहरुको ईतिहास रक्तरन्जित हुन्छ। क्रान्ति, वर्गिय मुक्ति, समाजवाद हुँदै साम्यवादसम्मको चर्का चर्का नारा उछाल्ने कम्यूनिष्टहरु जब सत्ताको रस्वादान गर्न पुग्दछन, तब बिस्तारै नयाँ नयाँ एलिट वर्गमा रुपान्तर हुन जान्छन। नवसामन्तवाद, साम्राज्यवाद र विस्तारवादको चर्का नारा सत्ताको ढोका खुल्नासाथ नरमपन्थी र दक्षिणपन्थी धारमा रुपान्तर भएका उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन, नेपालकै कम्यूनिष्ट आन्दोलनको विगत र वर्तमानको अध्ययन गरे पुग्दछ। नवसामन्तवाद र नव धनड्य वर्गमा रुपान्तरित नेपालका कम्यूनिष्टहरुको आन्दोलन पनि त्यतिबेला तुहिन पुग्दछ, जतिवेला उनीहरुलाई सत्ताको बन्द ढोका खुल्न पुग्दछ। चिनियाँ कम्यूनिष्ट पार्टिभित्र भित्र भित्रै मौलाएको भ्रष्टाचार होस या नेपालका कम्यूनिष्ट पार्टिभित्र हाका हाकी देखिएको भ्रष्टाचार नै किन नहोस, आखिर विभिन्न वाद र पन्थको आधारमा समाजमा आमूल परिवर्तनको मुद्धासहित रक्तरन्जित आन्दोलन गर्दै आएका कम्यूनिष्टहरुको असली चरित्र पनि नवसामन्तवादमा नै रुपान्तर भएको छ। पहिलो कम्यूनिष्ट क्रान्तिपश्चात सोभियत संघको पहिलो शाषक बनेका लेनिन र स्टालिन लोकप्रिय नेता हुन। तर क्रान्तिको नाममा लेनिन र स्टालिनले जुन रक्तपात मच्चाएका थिए त्यो मानव सभ्यताको लागि कलंक थियो। सोभियत क्रान्तिको नाममा लाखौं मान्छेको नरसंहार भएझैं नेपालको तथाकथित जनयुद्ध पनि मानव सभ्यताको नाममा कलंक नै थियो। विभिन्न जातिय र क्षेत्रीयताको नारा उछालेर जनतालाई एक आपसमा भिडाई सामजिक सद्भावमा खलल पारेका तत्कालिन माओवादीको गलत हर्कतको मूल्य अझै पनि मुलुकले चुकाऊनुपरेको छ। समाज जातिय र क्षेत्रीय विभेदको सिकार भएको छ। मधेसी र पहाडीमा रुपान्तरण भएको छ, जात जातिबिच वैमन्ष्यको अवस्था जिवितै छ। तत्कालिन माओवादीले समाजमा विजारोपण गरेको यो विषको मूल्य मुलुकले कयौं वर्षसम्म चुकाईरहनुपर्नेछ, विभिन्न आवरणमा।

चीनको रक्तिम क्रान्तिले चीनलाई मूलधारमा त ल्याऊन सफल भयो, साथमा चिनियाँ कम्यूनिष्ट पार्टिभित्र विकराल बन्दै गईरहेको भ्रष्टाचार र कम्यूनिष्टको आवरणमा नवधनाड्य वर्गको उदयले यहिं संकेत गर्दछ कि सर्वहारा वर्गको नेतृत्व गर्ने कम्यूनिष्ट आन्दोलनका हिमायति सर्वहारा नेता पनि आखिर भ्रष्टाचारबाट अछूतो रहन सक्तारहेनछन।

१७ हजार नेपाली नागरिकको रगतले लतपतिएको नेपालको कथित जनयुद्ध ठिक थियो या थिएन त? यसको औचित्य पुष्टि तत्कालिन माओवादी हाल नेकपामा आवद्ध अध्यक्ष पुष्पकमल दाहालले अझैसम्म गर्न सकेका छैनन भने माओवादीवाट अलग धार र स्वरुप अंगालेका तत्कालिन जनयुद्धका अन्य सारथीहरुले पनि यसवारेमा मुख खोल्न सकिराखेका छैनन या चाहेका छैनन। जनयुद्धको जगमा ६२/६३ को जनआन्दोलनपश्चात् नेपालमा गणतन्त्र स्थापना त भयो, तर मूल चरित्र सुधारिएन। पात्र र प्रवृति उनै थिए जो निरन्तर जनतामाझ आजित पनि थिए। जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका नाममा कयौंले ज्यानको बाजि लगाए, तर परिणाम शून्यजस्तै छ। सत्ताको इर्दगिर्दमा केही नयाँ अनुहार थपिए, तर आमूल परिवर्तन भने भएन जुन जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको मर्म थियो। एक राजाको ठाऊंमा सयौं राजा जन्मिए, भ्रष्टाचार, अराजकता, बेथिति र बर्बादिको लागि स्थानिय तहदेखि केन्द्रसम्म यौटै मत रह्यो- जसरि हुन्छ राज्यकोषको दोहन गरि नयाँ सामन्तमा रुपान्तरण हुनु।

कुनैबेला भारतिय विस्तारवादसंग सुरुङ्गयुद्धको चर्का नारा घन्काएका नेपालका कम्यूनिष्ट भनाऊँदा नेतालाई भारतिय सदाशयतामा सत्ताको नेतृत्व गर्ने अवसर जुट्यो। भारतको सूक्ष्म व्यवस्थापनको जालोमा फसिसकेका तत्कालिन माओवादीका शिर्ष नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई भारतिय चाहना मैं प्रधानमन्त्री हुन बाध्यता आईलाग्यो या योजनावद्ध चरण के थियो, उनैले जानुन। तर, भारतविरुद्ध चर्का नारा घन्काएर नेपालको सत्ताप्राप्ति लगभग कठिन नै रहेछ भनेर जनयुद्धकाल मैं बुझिसकेका पुष्पकमल दाहाललगायतका नेताले अन्तत: त्यहिं मार्ग अवलम्वन गर्न बाध्य भए जुन संसदिय फोहोरी अभ्यासमा कांग्रेस र तत्कालिन एमाले तल्लिन थियो।

यता अमेरिकी साम्राज्यवादको नाममा राजनैतिक खपत गरिरहेका तिनै कम्यूनिष्ट नेता त्यहिं साम्राज्यवादको न्यानो आथित्यको व्यग्र प्रतिक्षामा थिए, जुन साइत अहिले आएर जुरेको छ। पत्नीको उपचारको वाहाना नै किन नहोस, एकपटक त्यहिं साम्राज्यवादी देशको भूमी टेक्न लालायित दाहाललाई अब लाग्दो हो, मैले विश्वविजय नै गरिसकें भनेर। तर, यो पनि ज्ञात होस दाहाललाई कि तत्कालिन चर्का नारासहित राजनैतिक खपतका लागि गरिएका बिस्तारवादी र साम्राज्यवादीविरुद्धका चर्का नारासंगैं छोपिएको कम्यूनिष्ट आवरणको पनि अवसान भएको छ।

कम्यूनिष्ट नेताले विस्तारवादी र साम्राज्यवादी देशसंग सहकार्य गर्नु नै हुँदैन भन्ने पनि होईन। अहिलेको वैश्विक परिवेशमा यौटा देशको सम्बन्ध सवै देशहरुसंग समान हुनुपर्दछ। सत्तामा पुग्नासाथ यौटा चरित्र र सत्ताबाट बाहिर आईसकेपछि अर्को चरित्र देखाऊनु हुँदैन। राजनैतिक आस्थामा निडर र अडिग रहन सक्नुपर्दछ। नेपालका कम्यूनिष्ट नेतामा त्यस्तो आस्था र चरित्र पटक्कै मेल खाँदैन। हिंजो सत्ताबाट हट्नुपरेको तितो दाहालले खुलामन्चमा भारतलाई श्रापेर पोखेका थिए भने त्यहिं भारतको सदासयतामा पुनश्च: प्रधानमन्त्री बनेका दाहालका लागि त्यहिं भारत भारत मातामा रुपान्तरण हुनपुग्यो। कम्यूनिष्ट आचरणभित्र यस्तो द्वेध चरित्रलाई स्विकार्य हुनैसक्तैन।

भारत र चीन कार्ड नेपालका कम्युनिष्टहरुको लागि सामान्यजस्तै बनेको छ। भारत प्रतिकूल हुँदा चीन कार्डको प्रयोग गरि भारतलाई ध्वाँसो देखाऊन कत्ति पनि नहिचकिचाऊने कम्यूनिष्ट नेताले यो कुरा कहिल्ल्यै बुझेनन कि आफू आफैमा सक्षम हुनसके कसैको प्रयोगको गोटि बन्नै पर्दैन। घरेलु समस्यालाई आफ्नै सामर्थ्यमा सल्झाऊन सके न कसैको गोटि बन्नुपर्दछ, न नै कसैलाई ध्वाँसो देखाऊन तुरुपको रुपमा प्रयोग गर्नुपर्दछ। नेपालका कम्यूनिष्टहरुले भारतविरुद्ध देखाऊने चीन तुरुपले अन्तत: मूल्य देशले चुकाऊनुपरेको हुन्छ। यौटा नेता भैसकेपछि उसमा यौटा राजनैतिक इगोसहितको लक्ष्यप्राप्तिको सपना हुनुलर्दछ। विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा अझ सशक्त र मजवुत उँभिनसक्ने गरि आफ्नो धरातलको निर्माण गर्न सक्नुलर्दछ। भनिन्छ नि: ईख नभएको मान्छे र विष नभएको सर्पको कुनै काम नै हुँदैन।

नेपालका कम्युनिष्टहरु अलोकप्रीय बन्नुको मूल कारण उनीहरुको अलोकतान्त्रिक चरित्र नै हो। भ्रष्टाचार, नातावाद, कृपावाद स्खलनको अर्को कारण हो। कम्यूनिष्टहरुमा देखिंदै गईरहेको नवसामन्तपन अर्को उदाहरण हो भने कम्यूनिष्ट निष्ठा,आदर्श र चरित्र त्याग सवैभन्दा मूल कारण हो। नेपालमा कम्यूनिष्ट आन्दोलनलाई साथ दिने र बामपन्थ विचारधारालाई अवलम्वन गर्ने जनताको संख्या धेरै नै रहेको छ। कम्यूनिष्टहरुलाई अझै पनि साथ र सहयोग आम नेपाली जनताबाट रहनेछ, तर त्यसको लागि कम्यूनिष्टहरु सुध्रिएर आऊनुपर्ने हुन्छ। जनता र देशलाई नै धोखा दिएको नेपालको कम्यूनिष्ट आन्दोलन अझै पनि सम्भव छ, तर अहिंस्रक रुपमा। भ्रष्ट र विलासी बन्दै गईरहेको कम्यूनिष्ट चरित्र सुधार्नु नै पर्ने हुन्छ भने कम्यूनिष्ट आन्दोलनको मर्मअनुरुप देशलाई मार्गदर्शन गर्न सकेमा आगामी दिनहरुमा पनि नेपालमा कम्यूनिष्ट शासन स्थापित गर्न सकिन्छ। तर, यहिं चाल र शैलीमा कम्यूनिष्ट पार्टि भनाऊंदाहरुको यात्रा रहिरहे आगामी वर्षहरुमा यसै भन्न सकिन्न। किनकी भ्रष्ट शैली र नैतिक पतनउन्मुख नेपालका कम्यूनिष्ट पार्टिहरुको यात्राबाट अब त जनता पनि आजित भैसकेका छन।

[email protected]

र, यो पनि पढ्नुहोस- बाँच्न बरु गाह्रो हुन्न, मर्न त्यति गाह्रो रैछ

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button