विश्व

मि-लाइ आम-नरसंहारः (भियतनाम-युद्धको यथार्थ घटना)

होमर श्रेष्ठ

भियतनामको ‘राष्ट्रिय मुक्ति मोर्चा’ र अमेरिकी सेनाबीच भीषण लडाइँ भएको क्षेत्र ‘क्वाङ–न्गाइ’ प्रान्तको ‘सोङ–मी’ भन्ने गाउँ हो । अमेरिकी सेनाको निम्ति त्यो गाउँ दुश्मनको क्षेत्र मानिन्थ्यो भने त्यहीं नजिकैको ‘मी–लाइ’ बस्ती राष्ट्रिय मुक्ति मोर्चाको बलियो गढ ठानिन्थ्यो । १६ मार्च १९६८को बिहानीपख ११ औं ब्रिगेडका अमेरिकी सेनालाई सूचित गरियो— ‘उनीहरू अब राष्ट्रिय मुक्ति मोर्चाका छापामार लुकेको क्षेत्रमा हमला गर्न जाँदैछन् । त्यो क्षेत्रमा भेटिने सबैलाई मार्नु अमेरिकी सेनाको एउटै मात्र कर्तव्य हुनेछ ।’ तर लेफ्टीनेन्ट विलियम केल्ली आफ्नो पल्टन लिएर त्योे क्षेत्रमा पुग्दा त्यहाँ केवल आइमाई, केटाकेटी र बूढाबूढी मात्र भेटिए, सबै अशक्त, निशस्त्र र निमुखा थिए । ती सबैलाई भेडाबाख्राझैं धपाउँदै लगियो र धमाधम गोली हानेर मारियो ! केही घण्टाभित्रै मी–लाइ बस्तीका ३५७ जना र त्यहीं नजिकै अर्को बस्तीका १५० जनाजति निरिह र निहत्था गरिब जनताहरू अत्याधुनिक अमेरिकी मेशिनगनद्वारा भुटिए । स्मरण रहोस्— एम–१६–राइफलको मोेहोरीदेखि ५फिट पर लहरै उभ्याएर अमेरिकाका ती निशस्त्र दुश्मनहरूलाई आफूले गोली हानेको र गोली हान्ने आदेश दिएको तथ्य ल्याफ्टिनेन्ट केल्लीले सैनिक अदालतमा बयान दिएको थियो, दिनुपरेको थियो । उसले त्यहाँ दुई वर्षे दुधेवालकलाई समेत रगतको फाल्सामा फ्याँकेको र त्यो वालक घस्रँदै गर्दा उसमाथि गोलीले हानेको आरोप पनि थियो ! उता, त्यो घटनामा मारिएकाहरूजति सबै विशेष आदेशअनुसार अमेरिकाको दुश्मनको रुपमा मारिएका थिए भन्ने ल्याप्mटीनेन्ट केल्लीले बयान दिएको थियो । त्यो घटनामा कैयौं महिलाहरू अमेरिकी सेनाद्वारा बलात्कार गरिएका थिए भने कैयौं गाउँलेहरूलाई संगीनले घोचीघोची क्षतबिक्षेत पारिएका थिए ।

आश्चर्य लाग्दो कुरो के छ भने, उक्त कार्बाहीमा निहत्था नागरिकमाथिको अत्याचार रोक्ने कुरा त परै जाओस् अलिकता व्यभिचार कम गर्ने कोसिससम्म गरेको पनि देखिँदैन । बृद्ध होस् या वालक त्यहाँ जति पनि गाउँलेहरू भेटिए ती सबै रामुमोका समर्थक ठानिए र ती सबै अमेरिकी बन्दुकका तारो बने । त्यो दानवीय नरसंहार यस्तो गम्भीर प्रकारको थियो कि आप्mनै घर–आँगनमा आएर आफूमाथि विदेशी सेनाले गरेका अन्यायपूर्ण जघन्य आक्रमणबिरूद्ध त्यहाँका निशस्त्र गाउँलेहरूले कुनै किसिमको प्रतिरोध गर्नु त परै जाओस्, ‘चुँ’ सम्म पनि बोल्ने मौका पाएनन् अथवा बोल्न सकेनन् भनौं ! अनि यस्तो गम्भीर युद्धअपराधलाई समेत ढाकछोप गरेर आफ्नो जिम्मेवारिबाट उम्कन सम्बन्धित अमेरिकी सैनिक कमाण्डरहरू भरमगदुर कोसिस गरिरहेका थिए । सुरूमा त्यो घटनालाई अमेरिकी सेनाले पूरै ढाकछोप गरे । पछिपछि हल्ला चर्कन थालेपछि उक्त घटनालाई मुठभेठको संज्ञा दिइयो र ‘राष्ट्रिय मुक्ति मोर्चा’का छापामारबिरूद्धको ठूलो विजय थियो भनी हल्ला फिँजाइयो ! करिब एक वर्षसम्म त यथार्थ घटना गुपचुपमा राखियो, बाहिर ल्याइएन । २९ मार्च १९६९ मा अर्कै एकाईको यौटा अमेरिकी सैनिक रोनाल्ड रिडेनआवरले त्यो हृदयविदारक बर्बर अपराधबारे सुराक पाएपछि त्यो कुरोे उनले रक्षा सचिवलाई सुनाए । पत्रकार शेमाउर हेर्शले त्यो घटनालाई लस एन्जलस टाइम्सको मुखपृष्ठ बनाएर प्रकाशित गरे । भोलिपल्ट एकाबिहानै सचेत अमेरिकी जनताले आँखा ठूलो पार्दै त्यो दर्दनाक, दारुण र दुराशयपूर्ण अमानवीय घटनाबारे खबर पढे ।

अनुवादकर्ता होमर श्रेष्ठ

अन्ततः उक्त युद्धअपराधको सिलसिलामा अमेरिकी सैनिक अदालतको अनुसन्धानले तल्लो तहका १२ जना सेनाको नाम सूचीकृत ग¥यो । तीमध्ये पाँच जनालाई कोर्ट मार्शल गरियो । र, केवल लेफ्टिनेन्ट केल्लीलाई जिम्मेवार दोषी ठह¥याइयो र उनलाई आजीवन कारावासको सजायँ सुनाइयो । त्यसको दुई महिनाभित्र राष्ट्रपति निक्सनले उक्त जघन्य युद्धअपराधको बिरोधमा लेखिएका पन्ध्र हजार चिठीपत्रको सामना गर्नुप¥यो । उता विदेशी भूमिमा युद्ध लडेका अनुभवी अमेरिकी भू.पू. सैनिकहरूले ‘ल्याफ्टीनेन्ट केल्लीलाई रिहा गर !’ भन्ने आवाज उठाइरहेका थिए ! उनीहरूले सैनिक अदालतको निर्णयलाई हास्यास्पद भनी टिप्पणी गर्दै आफ्नो तर्क पेस गरेका थिए— ‘केल्लीलाई बलिको बोको‘ बनाइएको छ, उसलाई युद्ध–अपराधी ठह¥याइएको छ, तर ‘भियतनाम–युद्ध’ स्वयम् अपराध हो ।’
एकसय जना भूतपूर्व अमेरिकी सैनिकहरूले टेलिभिजनमा यस्तो बयान दिएका थिए— ‘हो, युद्धको दौरानमा निहत्था नागरिकमाथि यस्तो किसिमको नृशंस र जघन्य अपराधहरू यदाकदा हुनसक्लान्, तर मी–लाइ बस्तीमा जस्तो ठूलो परिमाणमा आमहत्या हुनु सामान्य कुरो होइन ।’ तिनले किटेरै भने— ‘हवाइ बमआक्रणबाट मिनेटभरिमै सिङ्गो गाउँ र बस्तीहरू ध्वस्त हुनसक्छन् भन्ने कुरो युद्ध पिपासुहरूले चिन्तन मनन गर्नुपर्छ ! साँच्चै युद्धअपराधबाट जोगिने हो भने त्यस्ता खाले सबै युद्ध रोकिनुपर्छ । के त्यसो गर्न युद्ध पिपासुहरू तयार छन् ?’
यी भनाइबारे बहालवाला सैनिक अधिकृतहरूले चेतावनी दिंदै प्रमाण जुटाउन आग्रह गर्दा एक जना भू.पू. सैनिकले त्यस्तै प्रकारका अन्य घटनाहरूको पनि वर्णन गरेका थिए । अन्ततः धेरै अमेरिकी जनताहरू के निष्कर्षमा पुगे भने या त उक्त सैनिक कार्बाही गरेकोमा केल्लीलाई सजायँ दिइनुहुँदैन, अथवा उच्च अधिकृतहरूको दोष लुकाउन लेफ्टिनेन्ट केल्लीलाई बलिको बोको बनाइएको हो भन्ने कुरो सैनिक अदालतले स्वीकार गर्नुपर्छ ।

केल्लीभन्दा माथिका क्याप्टेन अर्नेष्ट मेडिनाले यस्तो बयान दिएका थिए—“मैले केल्लीलाई निशस्त्र र निहत्था नागरिकको हत्या गर्ने आदेश दिएको थिइनँ र त्यो घटना मैले देखिनँ पनि ।” उनी दोषमुक्त भए ! कप्तानभन्दा माथिल्ला तहका अधिकृतहरूलाई उक्त नरसंहारको घटना गुपचुप राखेको अभियोग लगाइयो । लेफ्टीनेन्ट कर्नेल युद्धमा मारिएका थिए । उनका कमान्डर कर्नेललाई सोधपुछपछि सफाइ दिइयो । यद्यपि अपराधको दोष कमान्डिङ जनरलहरूमाथि लागेको थियो, प्रशासनले भने अमेरिकाल्स डिभिजन मेजर जेनेरललाई दोषी ठह¥यायो— उनलाई घटुवा गर्नुको साथसाथै सेवा निवृत्त हुन बाध्य गराइयो ।

मी–लाइ आमहत्याकाण्डको भयावह परिणामबाट पाठ सिकेर अमेरिकी सेनाहरूलाई आजकाल नियमितरुपमा तालिम दिइन्छ— निशस्त्र नागरिकहरूमाथि गोली चलाउने आदेशलाई अवज्ञा गर्न सकिन्छ अथवा अवज्ञा गर्नुपर्छ ।

सन्दर्भ स्रोतः Dr. Paul Atwood
Research Associate, the William Joiner Center for the Study of War and Social Consequences, University of Massachusetts at Boston USA. Editor of Agent Orange : Medical, Scientific, Legel, Political and Psychological Issues.

(पुनश्चः यस दर्दनाक घटनाबारे नेपालीमा अनुवाद गरी २०६१ असार ३० गतेको ‘चितवन-पोष्ट’मा पनि प्रकाशित भएको थियो।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button