प्रदेश ५

एचआईभी संक्रमितको पिलो अप्रेसन गर्न मानेनन डाक्टरले

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका लागि आएका एचआइभी संक्रमित बिरामीको अप्रेसन गर्न चिकित्सहरूले अस्वीकार गरेको आरोप बिरामीका आफन्तले लगाएका छन् ।

अर्घाखाँची पाणिनी गाउँपालिका–२ विकास थापा (परिवर्तित नाम) पिलो चिर्न मंगलबार अस्पताल आएका थिए । उनको रगत परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिएपछि सर्जन डाक्टर भुवन पौडेल र सरद पोखरेलले पिलो चिरफार गर्न अस्वीकार गरेको बिरामीका आफन्तको आरोप छ।

बिरामीका दाजु घनबहादुरले एचआइभी संक्रमित भएको थापा पाएपछि भाइको मलद्धार नजिकै आएको पिलो अप्रेसन गर्न डाक्टरले आनाकानी गरेको बताए । ‘हामीले पाल्पाको मिसन हस्पिटलमा चेकजाँच गर्दा टिभी देखियो,’ उनले भने, ‘त्यसपछि मिसनले बुटवलको प्रादेशिक अस्पतालमा रिफर गर्यो । यहाँ चेकजाँच गर्दा भाइलाई एचआइभी संक्रमण देखियो । त्यो देखेपछि सर्जन डाक्टरहरू अपरेसन गर्न मान्नुभएन, काठमाडौं लैजानुस् भन्नुभयो । बरु हाम्रो जागिर जाओस् तर, उहाँको अपरेसन गर्न सकिँदैन भन्नुभयो ।’

घनबहादुरले थपे, ‘एचआइभी देखिएपछि भर्ना पनि लिन मानेनन् । मैले पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमलाई फोन गरपछि बल्ल भर्ना लिन माने । यहाँ गरीबलाई र पीडितलाई उपचार गर्न नपाइने कस्तो अस्पताल हो ?’

२३ वर्षीय विकास थापा विगत ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए । उनी बिरामी भएपछि घर आएर चेक गर्दा टिभी देखियो, त्यसपछि बुटवल गएर चेक गर्दा एचआइभी पोजेटिभ देखिएको थियो ।

बुधबार बिहान उनको पिलोको अपरेसन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले गरिदिएका छन् । अरू डाक्टरले सिनियर डाक्टरले अप्रेसन गर्नुपर्छ भनेर आफूलाई जानकारी गराएको खनालले बताए ।

‘अपरेसन गनुपर्ने केस रहेछ । उहाँहरु (डाक्टरहरुले) मलाई सिनियरले गनुपर्ने अप्रेसन रहेछ भनेर मलाई भन्नुभएको थियो । तर अपरेशन गर्न नमानेको चाहिं होइन,’ खनालले भने ।

अप्रेसन नगर्ने डाक्टरहरुलाई के गर्ने भन्ने अस्पतालले कुनै निर्णय लिएको छैन । साविक लुम्बिनी अञ्चल अस्पतालमा एचआइभी पीडितहरू पनि उपचारमा आउने गर्छन्- लोकान्तर अनलाईनबाट

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button