विशेष

महिलाको राष्ट्रियतामाथी नै शंका !

नारायण गाऊंले –

झट्ट हेर्दा नेपाली पुरुषभन्दा महिलाको राष्ट्रियताप्रति हामीलाई धेरै शङ्का रहेछ । पुरुषले विवाह गरेर ल्याउनेबित्तिकै ‘बुहारी’ले नागरिकता पाउँदिरहिछन् । तर महिलाले विदेशी पुरुषसँग विवाह गर्दा उसले नागरिकता पाउन ढिलो या गाह्रो हुने बुझियो । अझ महिलाले बाबुको नाम वतन खुलाउन नसक्ने हो भने सन्तानले नागरिकता पाउन नसक्नुपर्ने केहीको तर्क सुनियो ।

सबै क़ुरा हामीले सोचेजस्तो गलत पनि छैन र आफैमा समतामूलक पनि छैन । हाम्रो परम्परित सामाजिक र सांस्कृतिक स्वरूप अनुरूप अहिलेको व्यवस्था रहेछ । बुहारी ‘घर भित्रिने’ र छोरी ‘घरबाट बाहिरिने’ हाम्रो सामाजिक व्यवस्था छ । नागरिकतामात्र होइन, पैतृक सम्पत्तिमा पनि यही व्यवस्थालाई मूलमा राखिएको देखिन्छ । छोरी जसको घर भित्रिन्छिन्, त्यहीँको सम्पत्ति र नागरिकतामा उनको हक लाग्ने सोच हुनुपर्छ । यो पूर्णतः गलत सोच होइन । हाम्रो समाज नै यसरी चल्दै आएको थियो र छ ।

तर समाज परिवर्तन हुँदै गएको छ । परिवार, समाज र लिङ्गशास्त्रका मान्यता फेरिएका छन् । नागरिकता ऐनले त्यो आत्मसात् गर्नु जरूरी छ :

१-विवाह गर्नेबित्तिकै नागरिकता दिनु जरूरी छैन । धेरै देशले पाँच वर्षको ‘भिसा’ या बसोबासको अनुमतिपत्र दिन्छन् । बुहारी या ज्वाइँले नेपालमैं बस्ने इच्छा देखाएमा तीन या पाँच वर्षको ‘रेसिडेन्सियल’ भिसा दिन सकिन्छ । ताकि बुहारीले बिहेलगत्तै आफ्नो देशको नागरिकता त्यागेर भिसा लिनु नपरोस् र ज्वाइँ यहाँ आउँदा भिसाको झन्झट नहोस् ।
पाँच वर्ष वैवाहिक सम्बन्धको निरन्तरता र स्थायी बसोबास गरेको प्रमाण पेश गरेपछि बुहारी या ज्वाइँ दुबैलाई बराबर व्यवहार गर्नु जरूरी छ र दुबैलाई नागरिकता दिन सकिन्छ ।

२-आमा या बाबुमध्ये कुनै एक नेपाली नागरिक हो र बच्चालाई नेपाली नागरिक नै बनाउने अभिभावकको इच्छा छ भने त्यो बच्चा नेपाली नागरिक नै हो । उदाहरणका लागि वैदेशिक रोजगारमा गएकी महिलाले बच्चा जन्माइन् र नेपाल फर्किइन् भने बाबुको वतन नखुले पनि उक्त बच्चा नेपाली नै हो । दया गरेर नागरिकता ‘दिने’ होइन, एउटा नागरिक आमाको हकले बच्चालाई नागरिकता ‘दिनुपर्ने’ हो । केही वर्ष निरन्तर बसोबासको शर्त राख्न सकिन्छ तर निषेध गर्न सकिन्न ।

आमा नेपाली हुन्, ऊ नेपालमैं हुर्के बढेको छ । यहीँको शिक्षा हासिल गरेको छ भने उसले नेपाली नागरिकता लिएर भोलि विदेशीलाई भोट हाल्छ भन्ने डर ‘अनुचित’ हो ।

यत्ति गरे असमानता सकिन्छ । शायद खोजेको पनि यत्ति नै होला । नमिलेको कुरो के हो कुन्नि ?

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button