समाज

होली पर्व: धार्मिक एवं सांस्कृतिक महत्व

इन्दिरा ज्ञवाली –

वसन्त ऋतुको आगमनसंगै फाल्गुण शुक्ल पुर्णिमाको अवसर पारेर नेपाल र भारत लगायत बिश्वका सम्पूर्ण हिन्दु समुदायमाझ बढो हर्सोल्लासपूर्ण रुपमा मनाईने एउटा महत्त्वपूर्ण धार्मिक पर्व हो होलि। रंगको पर्व भनेर पनि चिनिने यो पर्वमा मानिसहरूले एक आपसमा विभिन्न थरी रङहरुले एक अर्कालाई रंग्याउंदै आपसी स्नेह, सद्भाव एवं भाईचाराको सम्बन्धलाई अझ मजवुत बनाउँदछ्न। नेपालमा विशेष गरि होलिलाई दूई दिन गरेर मनाईने गरिन्छ। नेपालको तराई क्षेत्रमा यस पर्वलाई धूमधामका साथ मनाएकै भोलिपल्ट पहाडी क्षेत्रमा पनि उसैगरी यस पर्वलाई मनाईने गरिन्छ। मनोरंजनका रुपमा पनि लिईने यस पर्वलाई पछिल्लो समयमा आएर अझ बिराट एवं परिष्कृत रुपमा मनाईंदै आएको छ भने कतिपय क्षेत्रमा अन्य धर्मावलम्विहरुले यस पर्वलाई साथ साथ मनाउँदै आएको पाईन्छ।

होली खेल्नुभन्दा ठिक अंघिल्लो दिन होलिकालाई दहन गर्ने प्रचलन रहिआएको छ। होलीकालाई दहन गरिसके पछि अर्कोदिन बिहान पानीमा विभिन्न प्रकारका रङ्गहरु घोलेर एक अर्कामाथि छ्याप्ने प्रचलन रहिआएको छ। हात हातमा विभिन्न रंगमिश्रीत रंगेली लिएर परम्परागत फागु गीत गाउँदै, नाच्दै बालबालिका, युवायुवती देखि लिएर वृद्ध-वृद्धा सम्म सबैले एकसाथ होलिलाई अत्यन्तै उत्साहका मनाउने गर्दछन। पुरानो तिक्तता बिर्सेर एक-आपसमा आपसी भाईचारा , सहयोग एवं सद्भाव स्थापित गर्दै यसपर्वलाई अझ हर्षोल्लासपूर्ण बनाईएको हुन्छ। फाल्गुणको महिनामा मनाईने हुनाले यस पर्वलाई `फगुवा´ पनि भनिन्छ । यसैगरी फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारक्षेत्रमा चीर (विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको संकेतका रुपमा मानिंदै आएको छ भने फागुपूर्णिमाको राति उक्त चीरलाई ढालेर जलाएपछि फागुपुर्णिमा बिधिवतरुपमा अन्त हुने परम्परागत धार्मिक प्रचलन रहिआएको छ।

धार्मिक एवं ऐतिहासिक महत्व

पौराणिक भनाइ अनुसार सत्ययुगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवान विष्णुले नरसिंहाको रुप धारण गरि मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुको भक्त बनेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट त भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी बहिनि पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएको सम्झनास्वरुप अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा रहिआएको बताइन्छ।

पौराणिक महत्त्व;

विशेष गरेर होलि पर्वका बारेमा आ-आफ्ना पौराणिक मान्यताहरु रहिआएका छन। होलिलाई मूख्य गरेर भविष्य पुराण र नारदपुराण गरि दुई भागमा बिभाजन गरिएको छ। नारद पुराण स्वयं महर्षि नारदले आफ्नो मुखद्वारा भनिएको एकवैष्णव पुराण हो।महर्षि व्यास द्वारा लिपिबद्ध गरिएको १८ पुराणहरूमध्येको एक हो-नारद पुराण। प्रारंभमा यो २५,०००श्लोकहरूको संग्रह थियो तर वर्तमानमा उपलब्ध संस्करणमा केवल २२,००० श्लोकहरू मात्र उपलब्ध छन्। यस पुराणको को श्रवण गर्नाले जस्तोसुकै पापी व्यक्ति पनि पाप बाट मुक्त हुने पौराणिक मान्यता रहिआएको छ। पापीहरूको बारेमा उल्लेख गर्दै यस पुराणमा भनिएको छ,-जो व्यक्ति ब्रह्महत्याको दोषी हुन्छ, मदिरापानगर्दछ, मासु भक्षण गर्दछ, वेश्यागमन गर्दछ, तामसिक भोजन खान्छ तथा चोरी गर्दछ; त्यो पापी हो। यस पुराणको प्रतिपाद्य विषय हो विष्णु भक्ति। सम्पूर्ण नारद पुराण दुई प्रमुख भागहरूमा विभाजित छ। पहिलो भागमा चार अध्याय छन् जसमा सुत र शौनकको संवाद छ, ब्रह्माडको उत्पत्ति, विलय, शुकदेवको जन्म, मन्त्रोच्चारको शिक्षा, पूजाको कर्मकाण्ड, विभिन्न मासहरूमा पर्ने विभिन्न व्रतहरूको अनुष्ठानहरूको विधि र फलको बारेमा दिईएको छ। दोस्रो भागमा भगवान विष्णु को अनेक अवतारहरूको कथा छ। यो पुराण यस दृष्टिले पनि महत्त्वपूर्ण छ कि यसमा अठारह पुराणहरूको अनुक्रमणिका दिइएको छ। भने भविष्य पुराणअन्तर्गत भविष्य पुराण विषयवस्तु एवं वर्णनशैलीको दृष्टिले अत्यन्त उच्च कोटिको छ। यसमा धर्म, सदाचार, नीति, उपदेश, धेरै आख्यान, व्रत, तीर्थ, दान, ज्योतिष एवं आयुर्वेद शास्त्रका विषयहरूको अद्भुत संग्रह गरिएको छ। वेताल-विक्रम-संवादका रूपमा कथा तथा प्रबन्धलाई यसमा बढो रोचकताका साथ उल्लेख गरिएको छ। यसका अतिरिक्त यसमा नित्यकर्म, संस्कार, सामुद्रिक लक्षण, शान्ति तथा पौष्टिक कर्म आराधना र अनेक व्रतहरूको पनि विस्तृतरुपमा वर्णन छ। भविष्य पुराणमा भविष्यमा आईपर्ने घटनाहरूको बारेमा पनि वर्णन गरिएको छ। यसवाट के पनि जानकारी प्राप्त हुन्छ भने ईसाको शुरुवात हुनुपूर्व र मुश्लिम समुदायको धर्मका प्रणेता मोहम्मदको जन्मपूर्व नै भविष्य पुराणमा महर्षि बेद ब्यासले पुराण ग्रन्थ लेखिसकेको भनेर उल्लेख छ। साथै महर्षी ब्यासले मुस्लिम धर्मको उद्भव र विकास तथा ईसा मसीह तथा उनीद्वारा प्रारम्भ गरिएका ईसाई धर्मका विषयमा पहिल्ल्यै नै लेखिदिएका थिए भनेर भविष्य पुराणवाट थाहा पाउन सकिन्छ।

यो पुराण भारतवर्षको वर्तमान समस्त आधुनिक इतिहासको आधार हो भनेर जानकारहरु भन्दछन्। प्रतिसपर्वका तृतीय तथा चतुर्थ खण्डमा इतिहासको महत्त्वपूर्ण सामाग्री विद्यमान छ। इतिहास लेखकहरूले प्राय गरेर यसैको आधार लिने गर्दछन। यसमा मध्यकालीन हर्षवर्धन आदि हिन्दू राजाहरू र अलाउद्दीन, मुहम्मद तुगलक, तैमूरलंग, बाबर तथा अकबर आदिको प्रामाणिक इतिहास निरूपित छ। यसका मध्यमपर्वमा समस्त कर्मकाण्डको निरूपण गरिएकोछ। यसमा वर्णित व्रत र दानसित सम्बद्ध विषय पनि अत्यन्त महत्त्वपूर्ण छन्। यति विस्तारसित व्रतहरूको वर्णन न कुनै पुराण, धर्मशास्त्रमा पाइन्छ र न कुनै स्वतन्त्र व्रत-संग्रहको पुस्तकमा। हेमाद्रि, व्रतकल्पद्रुम, व्रतरत्नाकर, व्रतराज आदि परवर्ती व्रत-साहित्यमा मुख्यरूपले भविष्यपुराणको नैं आश्रय लिइएको छ।

होलिमा रंगको महत्व

रंगहरुको पर्व होलिमा विभिन्न प्रकारका रंगमिश्रीत रंगहरुलाई प्रयोगमा ल्याईने गरिएको छ। यी रंगहरु केवल मनोरंजन र आकर्षकताको लागि मात्र नभई रंगहरुको धार्मिक एवं आध्यात्मिक महत्व पनि रहिआएको छ। होलिमा प्रयोग गरिने बिभिन्नथरी रंगहरुमध्ये नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि उनले विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए। पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाउने गर्थे भने मान्यता रहिआएको छ। यसवाहेक होलिमा प्रयोग हुने अन्य रंगहरुको पनि आफ्नै धार्मिक एवं आध्यात्मिक महत्व रहिआएको छ।

नेपालमा मनाईने होलि

काठमण्डौको वसन्तपुर क्षेत्रमा विधिपूर्वक रुपमा चिर ठड्याइएसँगै फागु पर्व सुरु भएको मानिन्छ। हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्ईन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ ।

असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याई दहन गर्ने परम्परा रहेको छ। चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजा गरिने चलन छ। त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहदै आएको छ ।

त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याईएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्नमुद्राका गोपीका मूर्तिहरु सजाई अविर छर्केर पूजा गरिदै आएको छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइने गरिन्छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button