कला साहित्य

सितादेवी ढुंगानाको कविता – पिपल पुजा

सितादेवी ढुंगाना

पिपलको रूख
विष्णु भगवानको रूप
जल चढाउँदा ?
पूजा गर्दा ?
धूपबत्ति र दियो ?

बिहानी पख
सूर्योदयभन्दा अगाडि
स्नानकार्य समाप्त
सेतो कपडा धारण
गर्छिन आमा निरन्तर

शनिदोष, साढेसाती
समाप्त अढैया
अशुभबाट टाढा
पिपलमा जल चढाउँदै
गर्छिन परिक्रमा सातौं पटक
हरेक शनिबार
शुभ र फलदायीको आशमा

अनियमितको कहलबाट
सुत्केरी आमाको बोध
घाउ, खटिरा र मानसिक रोगबाट टाढा
भन्छिन आमा ।

गाईको दूध, तिल र चन्दन
मिलाई पानी
चढाई पिपलको रूखमा
चढाई जल फूलप्रसाद
सल्काई धूपबत्ति र दियो
बसेर मन्त्रमूलले १०८ अौ पटक वाचन
फर्कि घर आउँदा
आमाको मीठो मुस्कान

आमाको पूजापाठसँगै
निन्द्रा भङ्ग
रिसाउँदै उठी
किन जल, किन धूपबत्ति र दियो

चाउरी परेको अनुहार
मन्द मुस्कानसहित
हेर्छिन आमा टुलुटुलु
बन्दुकको नालमा
उठ बाबू
प्रसाद लगाउ
दिँदै आर्शिवाद
सधैं शान्त र सुखी भएस्

चैत महिनाको खडेरी
गुराँस फूलको चहलपहल
वनैभरि हरर
हेर्नेको लर्कोसँगै
आमाको ध्यान भङ्ग

दूध चढाउन भूलेकी
चढाउन जल
नियमित पूजा भएन कि
शनि या अढैया गएन कि
गर्छिन परिक्रमा सातौं पटक
बाल्छिन दियो माँझमा

पिपलको बोटमूनि
शिवलिङ्ग राखेर
गर्छिन नियमित पूजाआजा
सबै अशुभ भागोस भनेर
विस्तारै विस्तारै अशुभ समाप्त
शुभ समयको संकेत

पूजापाठ समाप्त
फर्किन आमा घरमा
पानी ल्याई आँगनमा
भुक्लुक्क ढलिन साँझमा

आमा आमा उठन
जल चढाउन, पूजा गर्न
धूपबत्ति र दियो सल्काउन
रोइरहेछ पिपल आमा
पूजा गर्न उठन

थाहा छैन आमा
न त जल, न पूजापाठ, न त धूपबत्ति नै
भोको छ पेट
पिपल आज निदाईरहेछ
न त छाँया दिन्छ न त बतास नै
उजाडियो सबै मौसम
हाँगा लत्रियो, पात ओईलायो
दम बढिरहयो
घाँटी अठ्याईरहयो

हिलोबाट निर्लिप्त कमल झै
समाहित भयौं तिमी आमामा
जब म हराउँछु एकान्तमा
बोध हुन्छ आमा तिम्रो स्पन्दनको
मेरो मन मस्तिष्कमा
हरक्षण, हरपल
पिपलको पूजा
पिपलमा जल
धूपबत्ति र दियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button