विचार ब्लग
ट्रेन्डिङ

बाँच्न बरु गाह्रो हुन्न, मर्न त्यति गाह्रो रैछ

बिजय ज्ञवाली

`मर्न बरु गाह्रो हुन्न, बाँच्न धेरै गाह्रो छ.. ´स्व.फत्तेमानले गाएको यो निकै नै कर्णप्रीय गीत आज अनायासै मानसपटलमा झलझल्ती ताजा भएर आयो। विषय या प्रसंगवस गीतले अर्को लय पो लिएर आयो, ` बाँच्न बरु गाह्रो हुन्न, मर्न त्यति गाह्रो रैछ…।´ १७ हजार नेपाली नागरिकको रगतको होली खेलेर सत्तासम्म आईपुगेका कमरेड पुष्पकमल दाहालाई आजभोली `मृत्यु´ शव्दले भयवित बनाऊंदैछ। कुनैबेला आफ्नै सचिवालय सदस्य नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उनलाई मार्ने योजनासहितको माईन्यूट उनीनजिकै आईपुगेको सूचना उनले पाएका छन अरे, माईन्यूट अर्थात `काल´ नैं चाहिँ देखेका छैनन अरे। माईन्यूटको सूचना पाऊँदा त माईनसमा झरेका दाहाल माईन्यूट नै हातमा परे के गर्दाहुन बिचरा? हातमैं बम थमाईदिएको अनुभूतिले बिचरा मुखले राम नाम र एकहातमा मृत्युपत्र, अर्को हातमा रुद्राक्षको माला जप्दै बस्दाहुन बिचरा दाहाल। मृत्युको सूचना पाएर हो कि बरा दाहाल २ दिन भो, मृत्युको पिरलोले हायलकायल भएछन कि के हो, दुब्लाएर आधी घटिसके भन्या ! अझ मृत्युपत्र नै हातमा भैदिएको भए अझै कति दुब्लाऊंदाहुन बिचरा !

मृत्यु शाश्वत सत्य हो। न टारेर टर्छ, न भनेर मान्छ। आऊँछ, टप्प टिपेर लैजान्छ। ईन्द्रै बिन्ती गरे पनि पाऊमा फिटिक्कै मान्दैन उसले। बढो अटेरी छ हेर्नुस मृत्यु। २०५२-६२ सम्ममा दाहालजस्तै अटेरी थियो मृत्यु भने अहिले आएर विप्लवजस्तै अटेरी भाछ मृत्यु। दाहाल र विप्लव सयुंक्तरुपमा मृत्युको छायाँ बनेर १७ हजार निर्दोष नागरिकलाई भटाभट बम र बारुदले भुटिरहंदाजस्तो निर्मम र अटेरी अहिलेको विप्लवरुपी मृत्युको छायाँ भने अलिक छैन। बमका छर्‍राले सत्ताको बिलासी सपनाबाट झसंग ब्यूंतिन भने बाध्य बनाएको छ। अँस्ति भने एकजना बटुवामाथी विप्लवस्वरुप मृत्युको छाँया अलिक उग्रै भएर आएता पनि ऐलेसम्म सत्ता र ऐयासीको सपनामा चुर्लुम्मै डुवेका विगतका मृत्युका छाँयाहरुलाई सपनाबाट झस्यांङ्ग हुन भने बाध्य बनाएको छ। निद्रा हराम गरिदिएकोमात्र छ, पहिलाजस्तो टपक्कै टिपेर लैजानेसम्मको गल्तीचाहिं गरेको छैन र त मान्छे दुब्लाएर आधा घटिसके भने एकदुईजना उठाऊनै थाल्यो भने त बिचराहरुको खाईलाई सुम्ल्याएको ज्यानको के हविगत हुँदोहो हगि?

मृत्यु भन्ने शव्द यतिसम्म भयभित हुन्छ भन्ने हेक्का र चेत दाहालमा सायद २०५२ अंघि नै भएको भए सायद कथित जनयुद्ध नै हुनेथिएन होला, १७ हजार निर्दोष नागरिकको रगतको खोलो बग्नेथिएन होला, हजारौं अंगभंग, बेसाहारा हुनेथिएनन होला, कयौं परिवार विस्थापित हुनेथिएनन होला। जनयुद्धका नाममा बर्वरपूर्ण बम र बारुद बर्साएर जीवन र मरणको दोसाँधमा पुर्याएकाहरु अझैपनि शरिरभरि बमका छर्‍राहरु लिएर बांच्न अभिशप्त हुनेथिएनन होला। कास ! त्योबेला कसैको सत्ताको लिस्नु चढ्ने तिव्र चाहनाका माझ आम निर्दोष नागरिकको बली नचढाएको भए आज यति लघुताभाष हुन्थ्यो होला र मृत्यु शव्दप्रति?

जिऊंदो मान्छे को पो एकपटक मृत्यु हुन्छ र, जिऊंदै मरेतुल्य मान्छेको मृत्यु के मृत्यु? त्यहिंपनि दाहालमा भित्रभित्रै सन्त्रास छ मृत्युदेखि, छटपटि छ, मन बेचैन छ। दाहाल उद्धेलित छन, उत्पातै चिन्तामा छन किनकि उनले उनलाई मार्ने योजना बनाएको माईन्युटको सूचना उनले प्राप्त गरेका छन। सूचना सत्य/ असत्य जे होला, सूचना मात्र सूचना हो। सूचनाको पुष्टि चाहिँ भएको छैन र त दाहालमा यतिविघ्न मानशिक विचलन आईसकेको छ भने माईन्युट नै हातमा परे के हाल होला बिचरा दाहालको? यौटा अपुष्ट सूचनाले उनको जिवन यतिविघ्न हायलकायल पारिदियो कि अब त सार्वजनिकरुपमैं तिनै जनतासंग जिवनरक्षाको आव्हान गर्न अभिशप्त छन दाहाल। हिजो सनकको भरमा सत्ताको लिस्नु चढ्न तिनै जनतालाई ढाल बनाई भटाभट बम र बारुदले भुट्दै यहाँसम्म आईपुगेका दाहाललाई आज कसरि तिनै जनतामाझ जिवनरक्षाको लागि पहल गरिदिन अनुरोध गर्नुपर्ने आवश्यकता आईपर्यो त? यसविषयको गहन छलफल हुनु जरुरी छ।

कसैको क्षणभरको सनकले कसरि मुलुक तहसनहस हुँदोरहेछ भन्ने बुझ्न दाहालले असफल जनयुद्धको निर्मम समीक्षा गर्नैपर्ने हुन्छ। कथित जनयुद्धका नाममा मारिएका ती हजारौं निर्दोष नागरिकका आत्मालाई साक्षी राखेर एकपटक पश्चातापले दाहाल पोलिनैपर्दछ र सहिद परिवार तथा अंगभंग भएका नागरिकका सामुन्ने दाहालले दूईहात जोडेर माफी माग्नैपर्ने हुन्छ। कुनैपनि हालतमा सत्तामा पुग्ने तिव्र लालसाकामाझ वेहोसमा विवेक गुमाऊँदा देश र जनताले भोग्नुपरेको नियतिमाझ दाहालले अझैपनि माफी माग्न सक्तैनन भने तिनलाई अझै पनि नैतिकताको आधारमा राजनिती गर्ने अधिकार हुँदैन। दम्भ र मुढेबलको राजनिति जवर्जस्ती थोपरिएको यो देशमा चरित्रहिन तथा नैतिकताहिन शाषकहरुबाट शाषित हुन हामी अभिशप्त छौं। सत्तामोहका खातिर देश र जनतामाथी गरेको कुकर्म कुनैपनि हलतमा क्षम्य हुनसक्तैन। त्यसमाथी पनि गल्ती गरिएको थियो भन्न्ने आत्मवोधका साथ एकपटक तिनै जनतामाझ माफीसम्म माग्ने नैतिकता देखाऊँछन भने अलिकति भएपनि आम जनताको तर्फबाट यिनिहरुप्रति सहानुभूति प्रकट रहला तर त्यसरि नैतिकता र ईमानलाई मुढेबलको आडमा जवर्जस्ती पेलेर राजनिति गर्दै जानेहुन भने यिनिहरु एकदिन ईतिहासमा खलपात्रको रुपमा मात्र दर्ज हुनेछन। आम नागरिकको नजरमा यिनिहरुले कहिल्ल्यै पनि नेता या राजनेताको स्थान प्राप्त गर्नेछैनन।

१७ हजार निर्दोष नागरिकको रगतसंग होली खेलेर सत्तामा पुगेका दाहाललगायतका विगतका माओवादी नेतामा सुविधाभोगी, नोकरशाह प्रवृति, पूँजिपति, नयाँ नयाँ एलिट बर्गको उदयसंगै भ्रष्टाचारजन्य प्रवृत्ति देखा परेको कारणले नै आज उनीहरुलाई आफ्नै समुहबाट उछिट्टिएर गएको अर्को समुहबाट खतराको घण्टि बज्न शुरु भएको हो। चरम विलासीता मात्र होईन, राजनैतिक ववण्डर, लूट, अस्थिरता, धोकाधडी, अनुचित लाभका लागी वार्गेनिङ्गलगायतका अनेकन कुमर्मले गर्दा नै विगतमा समाजवाद अनि साम्यवाद ल्याऊने भन्दै कलिला बालबाकिकादेखि वृद्ध उमेरसम्मकालाई जनयुद्धमा होमेर कालान्तरमा धोका दिएकै कारण आज यिनिहरुलाई सकस पर्दै गएको हो। आम नागरिकले प्रश्न गरिराखेका छन; जनयुद्धको औचित्य के? औचित्य पुष्टि गर्न नसक्तै जनयुद्धलाई माध्यम बनाएर सत्तामा रजगज चलाएका विगतका कथित जनयुद्धधारी कम्यूनिष्टहरु नयाँ नयाँ एलिट वर्गमा देखापर्नु नै मूल असन्तोषको विषय हो। हजारौंलाई सैन्य तालिमसहित जनयुद्धमा होमाएर सत्ता प्राप्तिपश्चात तिनै सैन्य जवानलाई अयोग्यको विल्ला भिराई अपमानजनक वहिर्गमनको पीडा आज शक्तिमा बदलिएको छ, तिनै झिल्का झिल्का मिलेर बनेको यौटा शक्ति नै आजका सत्तासिनहरुको लागि चुनौती बनेका हुन। अपमान र तिरस्कारले विग्रह ल्याऊँछ, विग्रह जब संगठित हुनथाल्दछ, बिद्रोहको स्वरुपमा निस्किन्छ। हिजो तातो रातो रगतलाई बम र बारुदसंग भिडाएर स्वार्थ प्राप्तिपश्चात् तिनै शक्तिलाई अपमानको बदलाको परिणति हो आज दाहालले जिवनरक्षाको लागि अपिल गर्नुपर्ने अवस्थाको सृजना भएको।

धोखाको बदला मान्छेले जुनसुकै बेला पनि जुनसुकै रुपमा लिनसक्तछ। पुष्पकमल दाहालहरुले जनयुद्धलाई मात्र धोखा दिएका हैनन, जनयुद्धमा होमिएका ती तमाम होनहार युवाहरुलाई पनि नराम्रोसंग धोखा दिएकै हुन। सहिदहरुलाई मात्र होईन, सहिद परिवार र जनयुद्धमा घाईते, अंगभंग तथा विस्थापित परिवारहरुलाई पनि धोखा दिएका हुन, उनीहरुमाथि भद्दा मजाकको राजनिति गरेकै हुन। समग्रमा पुष्पकम दाहालहरुले देशलाई नै धोका दिएका हुन। आज त्यसैको परिणाम धोखा र अपमान सहेका झिल्काहरु एकढिक्का भई नयाँ एलिटवर्गमा रुपान्तरित पुष्पकमल दाहालहरुमाथी भारी बन्न पुगेका हुन।

भनिन्छ, आगोको फिलिङ्गो त हो भनेर त्यसलाई कहिल्ल्यै परालले छोपछाप गर्ने गल्ती नगर्नू। शान्तिप्रक्रियामा आईसकेपछि पुष्पकमल दाहालहरुले जनयुद्धको राप र तापबाट खारिएर आएका झिल्काहरुलाई विभिन्न शिविरमा बन्दिजस्तै बनाई परालले छोपछाप गर्ने महाभूल गरेका हुन। अयोग्यको बिल्ला भिराई अपमानजनक बहिर्गमनमा परेका तिनै झिल्काहरुलाई बेलैमा सम्बोधन र ब्यवस्थापन नगर्दाको परिणति पनि हो आजको विप्लव सामर्थ्य। तिनै झिल्काहरु एकत्रित भई आज यिनिहरुकै सपनाका महल डढाऊन र ढलाऊनसक्ने सामर्थ्यका भैसके तिनै झिल्काहरु। कथित जनयुद्ध हुँदै सत्तासम्म आईपुगेका यी नयाँ एलिटवर्गलाई भने पत्तै भएन झिल्काले कहिले ज्वालामुखीको रुप धारण गर्यो भनेर। सायद यतातर्फ फर्किएर सोंच्ने फुर्दत नै भएन यिनिहरुलाई। त्यसैको परिणती नै हो- आजका दिनमा पुष्पकमल दाहालको जिवनरक्षाको सार्वजनिक याचना पनि !

आखिर मर्न डर त लाग्दोरहेछ नि ! दाहालले बल्ल सोंच्दैहोलान कि किन आफूलाई सुरक्षा थ्रेट भयो भनेर। सायद अझै पनि सोंच्ने फुर्सत पो पाएका छैनन कि? या त्यसतर्फ अझै चेत पुग्न सकेको छैन? मृत्युको अपुष्ट सूचना पो पाएका हुन त, मृत्युपत्र नै थमाएका त हैनन नि ! फेरि दाहालले मृत्युपत्रमा हस्ताक्षर पनि त गरेका छैनन। यौटा अपुष्ट सूचनाले सायद त्यो पनि राजनैतिक अभिष्ट पूरा गर्न पो चलाईएको अफवाह पो हो कि, के थाहा? यौटा अपुष्ट अफवाहले यत्रो त्रास सृजना गर्ने दाहालले ती सत्र हजार नागरिकले मृत्युवरण गर्दा कुन चीत्कार छोडेका होलान, तिनका परिवारजनको क्रन्दन र विजोग के थियो होला? के महसुस गर्दैहोलान त दाहाल? जिन्दगी आखिर सवैलाई प्यारो लाग्दो त रहेछ नि दाहाल ज्यू, मृत्यु शब्द सुन्नेबित्तिकै तपाईंमा जुन भय, अशान्ती, वेचैन र आत्मानुभूति अनुभव भयो र तपाईंले जिवनरक्षाको लागि आमनागरिकसंगै जुन अपिल गर्नुभएको छ, त्यस्तो त्रास यौटा पनि नागरिकले अनाहकमा ज्यान गुमाऊंदा त्यो तपाईंको आत्मामा आईदिएको भए न आज तपाईंलाई यसरि याचना गर्दै हिंड्नुपर्ने थियो, न नै देशले यतिविघ्न वर्वादि भोग्नुपर्ने थियो। आखिर यौटा सत्ता प्राप्तिको लागि तपाईंहरुले जुन कुमर्म गर्नुभयो, त्यो अक्षम्य छ, इतिहासले तपाईंहरुलाई कहिल्ल्यै माफ पनि गर्नेछैन।

आम नागरिकमाझ तपाईंको याचिका सुनेर अन्त्यमा पुनश्च: भन्न करै लाग्दोरहेछ: ” बाँच्न बरु गाह्रो हुन्न, मर्न त्यति गाह्रो रैछ।”

माला राजनितिभित्रको कुरुप तस्विर शिर्षकको लेख पढ्न यहाँ क्लिक गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button