प्रदेश ६स्वास्थ्य

भोट बैंकले थला परेको कर्णालीको खाद्य कार्यक्रम

डा. अरुणा उप्रेती
जुन नेता तथा राजनीतिक दलले बढी चामल वितरण गर्न सक्यो, दुर्गम क्षेत्रका जनताको भोट उसैले पाउने अवस्था सिर्जना भयो । भोट पाउनकै लागि नभएको भोकमरीको समस्यालाई नेताले नै भोकमरीमा परिणत गरिदिएका हुन् । कर्णालीमा कहाँ भोकमरीको समस्या छ ? म त्यहाँ धेरैपटक गएकी छु, स्थानीय खाद्यान्नलाई प्रयोग गर्ने हो भने कर्णालीका कुनै पनि ठाउँमा भोकमरी छैन । त्यहाँ आलु, सिमी, कोदो, फापरजस्ता पोषणयुक्त खाद्यान्न उपलब्ध छन् । भोकमरीको समस्या त नेताले कृत्रिम रूपमा बनाएका हुन् । यो नितान्त हल्ला मात्रै हो । चामलसँग भोट साट्ने प्रवृत्ति भएका कारण नेपालमा भोकमरीको हल्ला फिँजाइएको हो ।

म नेपालका विभिन्न दुर्गमक्षेत्रमा विभिन्न अभियान लिएर गइ नै रहेकी हुन्छु । त्यतिवेला म केही समय त्यहाँका स्थानीयसँग कुराकानी गरेर बिताउँछु । कुराकानीका क्रममा त्यहाँका मानिसले भन्ने गर्छन्– भात खाने बानीले गर्दा आजकल हामीलाई कोदो, फापर खान मन लाग्दैन ।

उनीहरूलाई भात खाने बानीले यसरी आक्रान्त पारेको छ कि, उनीहरू कोदो, फापरजस्ता अन्नबाली उब्जाउनै चाहँदैनन् । यता काठमाडौंमा कोदो, फापरजस्ता खाद्यान्न प्रतिकेजी २–३ सय रूपैयाँमा किन्नुपर्ने बाध्यता छ भने उता उनीहरू त्यस्ता खानेकुरा खान चाहँदैनन् । सेतो चामलको भातले उनीहरूको बानी नै बिग्रिएको छ ।
सेतो चामलको भात खान थालेपछि मानिसलाई पर्याप्त मात्रामा पोषकतत्वको अभाव हुन्छ । यसका कारण कुपोषणको समस्या आउँछ । कुपोषणका कारण मानिसले आफ्ना दैनिक गतिविधि राम्रोसँग सञ्चालन गर्न सक्दैन । यसले मानवस्वास्थ्यमा विभिन्नप्रकारका समस्या निम्त्याउँछ ।

नेपाल सरकार, विश्व खाद्य कार्यक्रमलगायतले देशका दुर्गम क्षेत्रका जनतालाई चामल वितरण गर्ने काम गर्छन् । उनीहरूले त्यहाँका जनतालाई कोदो, फापरजस्ता पोषणयुक्त खाद्यान्न वितरण गरेको भए त हुन्थ्यो नि ! पहिलेदेखि नै चलिआएको चामल वितरणको परम्परालाई राजनीतिज्ञले भोट पाउने साधन बनाएका छन् । जुन नेता तथा राजनीतिक दलले बढी चामल वितरण गर्न सक्यो, दुर्गम क्षेत्रका जनताको भोट उसैले पाउने अवस्था सिर्जना भयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button