सम्पादकिय
ट्रेन्डिङ

सम्पादकिय – बन्द र प्रतिबन्धको मारमा जनता

सरकारले नेत्रबिक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएसंगै आक्रोशित विप्लव समूहको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभरि देखिएको छ। ठाऊँ ठाऊँमा आगजनी, तोडफोडसंगै विभिन्न शंकास्पद बस्तुहरु पनि फेला पर्नेगरेका छन। नेकपाको बन्दलाई मध्यनजर गर्दै सरकारले राजधानीलगायत देशभरका मूख्य शहर र स्थानहरुमा सुरक्षाब्यवस्था कडा पारेको दावी गरेतापनि बन्दको प्रभाव भने देशैभर देखिएको छ। बन्दको सवैभन्दा बढि प्रभाव आम नागरिकलाई नै परेको छ।

सरकारको दम्भ तथा बन्दकर्ता नेकपाको मुढेबलको मारमा आम नागरिक निरन्तर पिल्सिरहन बाध्य हुनु बिडम्वनाको कुरा हो। बन्दले कसैमाथी पनि भलाई गर्दैन भने प्रतिबन्धले समस्याको समाधान हुनैसक्तैन। एकदिनको बन्दले मुलुकले अर्वौंको आर्थिक तथा भौतिकरुपमा क्षति बेहोर्नुपर्दछ भने आम नागरिकको जिविकामा पनि निकै ठूलो प्रभाव पार्दछ।

बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नै यो मुलुकको अर्थतन्त्र धानिरहेको कुरा सवैमा जागजहेर नै छ। यस्तोमा विदेश जानको लागि हातमा टिकट लिएर बसिराखेकाहरुमध्ये कयौंको यस्तै बन्दकै कारणले जहाज छुटेका होलान यसवारेमा सम्बन्धित सवै पक्षले ध्यान पुर्याऊन सकिराखेको देखिएको छैन। चर्को ब्याजदरमा ऋण काढेर या आफ्नो जायज्याथा बेचेर बिदेश उड्न कंस्सिएका देशभरका कति युवायुवतिहरु बन्दकै कारणले जहाज छुटाऊन बाध्य होलान? उनीहरुमा पर्न गएको क्षति बन्दकर्ताले पूर्ति गर्न सक्तछन या सरकारले पूर्ती गर्नसक्तछ? देशको यौटा जिम्मेवारपूर्ण सरकारले यस समस्याप्रति कत्तिको ध्यान पुर्याऊन सकेको छ? जवकि प्रत्येक बर्ष बजेट भाषणमा रेमिट्यान्सबाट प्राप्त आम्दानीलाई प्रमूखताका साथ प्रस्तुत गरिरहने सरकारले रेमिट्यान्सदाताहरुको पिडा समस्या समाधानतर्फ पहलकदमी लिने या नलिने त? अर्कोतर्फ बन्दकर्ता नेकपामा आवद्ध हजारौं परिवारका सदस्यहरुमध्ये कोहि न कोहि जिविकोपार्जनकै लागि बिदेश पलायन अवश्य भएका होलान, बन्दले गर्दा के तिमिहरुमा पनि समस्या नपरेको होला र? यौटा जिम्मेवार सरकार र दलका हैसियतले दुवैपक्षले आम नागरिकका मसिना पक्षमा सोंचिदिने हो भनेपनि बन्दको विकल्प खोजिनेथियो कि?

बन्द कसैको रुचीको बिषय बन्नैसक्तैन। जवर्जस्ती लादिने बन्दको मार अन्तत: आम नागरिकले नै खेप्न बाध्य हुनेहुन। बन्द समस्या समाधानको उपाय पनि होईन भने समय र प्रविधियुक्त जमानामा बन्द प्रवृति औचित्यहिन मुढेबल मात्र हो। शाषकलाई तर्साऊन आम नागरिकलाई सास्ती दिनु कुनैपनि कोणबाट जायज मान्न सकिँदैन। बन्द, तोडफोडजस्ता अराजक कृयाकलाप राष्ट्रलाईमात्र होईन, स्वयं बन्दकर्तालाई पनि घातक बन्नजान्छ। विवेक हुनेहरुले बन्दको विकल्प खोज्दछन, बिरोधका नयाँ नयाँ तरिका अपनाऊँछन, सरकारलाई दवावमा पार्न रचनात्मक एवं सृजनात्मक बिधिको अवलम्वन गरिन्छ। समय, प्रविधि र ब्यवस्थाले जतिसुकै छलाङ्ग मारेता पनि हाम्रो विडम्वना नै भन्नुपर्दछ, हामी जंगली चेतबाट कहिल्ल्यै माथी उठ्न सकेनौं।

बन्दले नेता, नोकरशाह तथा सामन्तीहरुलाई कहिल्ल्यै प्रभाव पारेन र पार्दैन भन्ने जान्दाजान्दै पनि आम नागरिकलाई अनाहकमा दु:ख दइनेगरि गरिने यस्ता बन्द हड्ताल, तोडफोड र आगजनीले मान्छेको अति निम्न चेतनास्तरलाई पनि उजागर पार्दछ। बन्दको सवैभन्दा पहिला र बढि मार कसले खेपेको छ आजसम्म? कृषक, बिमारी, बिद्यार्थी, श्रमिक, मजदुर, साना ब्यपारीलगायतका दिनगन्ती गनेर खानेहरुले बेहोर्नुपरेको छ भनेर जान्दाजान्दै पनि मुढेबलको राजनितिमा जवर्जस्ती थोपरिएर आऊने अभिशापजस्तो बन्दको नागरिकस्तरबाटै बिरोध र अवज्ञा गर्नु नै अन्तिम विकल्प देखिन्छ।

यौटा अलगावादको राजनिति अंगालेको सिके राऊतलाई काखी च्याँपेर मूलधारको राजनिति गर्दै आईरहेको विप्लव समूहको नेकपालाई सरकारले प्रतिवन्ध लगाऊनु कुनैपनि दृष्टिकोणमा जायज मान्न सकिँदैन। नेकपाका शिर्ष नेतामाथी आक्रमणको योजना रहेको भन्नेजस्ता हास्यास्पद र तर्कहिन विषयलाई लिएर अर्को एक राजनैतिक दललाई प्रतिवन्ध लगाऊनु सरकारलाई नै भारी पर्नसक्तछ। निषेधको राजनितिले अन्तत: नोक्सान नै गर्दछ भन्ने जान्दाजान्दै पनि दूईतिहाईको दम्भको भरमा अर्को एक शक्तिमाथि हुकुमी शैलीमा हैकम जनाऊन खोज्नु अन्तत: घातक नै हुनेछ। मुलुकको अफ्ठ्यारा कालखण्डहरुमा विवेकसम्मत निर्णय लिई मुलुकलाई दुर्घटनाबाट जोगाऊन विवेकसम्मत निर्णय लिएका नेतृत्वतहले विप्लवमाथीको प्रतिवन्ध तुरुन्त फुकुवा गरि संवाद र सहकार्यका माध्यम समस्या समाधानमा पहलकदमी लिनु नै यो देश र जनताको भलाईमा हुनेछ भने विप्लव नेतृत्वले पनि अराजक गतिविधि बन्द गर्नैपर्दछ यदि मूलधारको राजनितिमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ भने। द्वन्दले कसैको भलाई गर्दैन, जसको जुनसुकै सनकको भरमा गरिने मुढेबलको राजनितिको घानमा अन्तत: पिल्सिने जनता नै हुन। सरकारको दुईतिहाईको दम्भ नरम हुनु जरुरी छ। विश्व इतिहासमा त्यस्ता दूईतिहाईका सरकार गर्ल्याम्म ढलेका पनि कयौं उदाहरण छन भने विप्लव नेतृत्वको नेकपा माओवादिले पनि आफ्नै विगत कोट्याऊनु जरुरी छ र भविष्यको आँकलन गर्नसक्नुपर्दछ। विभिन्न बाहानामा गरिएका युद्ध, आन्दोलन र हिंस्रक गतिविधिले कहिं पुगिंदोरहेनछ भनेर अहिलेसम्म पनि चेत पलाऊन नसक्नु पतनोन्मुख राजनितिसिवाय अर्थोक केही होईन भने म नैं सत्ता हुँ भन्ने सर्वसत्तावादी अहंकारिय शैली पनि अर्को विनाशको लागी आमन्त्रण हो। बेलैमा चेतना भया। नेपाल बन्द हैन, खुल्ला राखौं।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button