समाज

नागरिकता : एक अनुभव

शारदा भुसाल झा

मैले महोत्तरीको बनौली दोनौली बस्दा धेरै नागरिकता बनाइदिन मद्दत गरें । त्यसमा पनि धेरै नागरिकता अंगिकृत र केहि वंशज पनि हुन्थें ।
अंगिकृत नागरिकता विवाहित महिला को मात्रै बनाइदिन मद्दत गर्दथें । बुढी महिलाले समेत नागरिकता बनाएका थिएनन् । नागरिकताको आवश्यकता त्यतिबेला महशुस गरे जतिबेला सामाजिक सुरक्षा भत्ताको कुरा आयो त्यो भन्दा पहिले महिलाको नागरिकता बनाउनुपर्छ भन्ने मनसाय थिएन । छोरीको जन्मदर्ता समेत निकै कमले बनाउने गरेको पाइन्थ्यो । दलित वर्गका छोराछोरीमा पनि छोरीहरू पढ्न भन्दा घरायसी काममा बढी लगाएको पाइन्थ्यो ।
विभिन्न संघ संस्थाले स्कुल ड्रेस र कापीकलम दिलाउने लोभले पनि गरिबका छोरीहरु पढ्न जान्थे ।
त्यतिबेला महिलाले नागरिकता पाए भने सम्पत्ति माग्छन् भन्थे तर पनि दिदीबहिनीहरुको नागरिकता बनाइ छाड्ने भनेर कोशिश जारी रहन्थ्यो । पछिका वर्षहरुमा विधुवा भत्ता र अपांग भत्ताको दिने प्रावधान भयो जसका कारण महिलाहरू नागरिकता बनाउन तिर उत्सुक भए । अपांग को कुनै भेलु थिएन तर पैसाको लोभले पनि नागरिकता बनाइदिन घरपरिवार सहमति जनाउने गरेको पाइएको थियोे । त्यसपछि विधुवा नभै एकल महिला बनाइयो र ६० वर्ष उमेर पुगेका दलित महिलाले समेत भत्ता पाउने भनेपछि नागरिकता बनाउनेतर्फ तिव्रता आयो ।
शुरूवातको दिन भनेको ५१ साल हो जतीबेला दिदिबहिनीका नागरिकता बनाउन मद्दत गर्दथे । ५१ साल देखि सामाजिक कार्यमा हाथ अघि बढाएकी थिएँ । शुरुको फोकस महिला अधिकार महिला हिंसा विरुद्ध थियोे ।
धेरै जसो बिवाहित महिलाको नागरिकता, त्यसमाथि भारतबाट बिहे गरि आएका दिदीबहिनी ।
त्यतिबेला वंशज नागरिकता बनाउन निकै गार्‍हो तर अंगिकृत नागरिकता बनाउन निकै सहज थियोे । सामान्य औपचारिकता कागजी रूपमा निभाउनु पर्दथ्यो ।
तर पछी ०५८,०५९ तिर अलिक गार्‍हो बनाइदिए त्यो पनि लेखापढिको प्रमाणपत्र पाएकोले लेख्ने नियम बनेकोले मैले ०५९ मा लेखन्दासको लाइसेन्स लिएकी थिएं लेखक साक्षीमा प्रमाणपत्र नम्बर जनाउनु पर्दथ्यो जुन सिमित थियोे जसका कारण लेखनदासको कमाउने धन्दामा बढोत्तरी हुन्थ्यो ।
कर्मचारीका आफ्ना-आफ्ना लेखनदास हुन्थे । अनावश्यक निवेदन लेख्न लगाइ पैसा उठाउँथे । जसले मलाई गाह्रो पार्दथ्यो कारण पैसा नि नलिने र जिल्ला प्रसाशन कार्यालय नबसी गाउँ मै सबै कागजात तयार गरि हुलकाहुल दिदिबहिनी लिएर जिल्ला प्रशासन कार्यालय पुग्थे जसले ति कर्मचारी वा लेखनदासको कमाइ चौपट हुने गर्दथ्यो ।
अंगिकृत नागरिकता बनाउँदा
१.पाँच प्रती दुबै कान देखिने सादा फोटो
२. अंगिकृत नागरिकता बनाउने फाराम र गाविस अध्यक्षको सिफारिश
३. परित्याग पत्र
४. गृहमन्त्रालयलाई सम्बोधन गरि अंगिकृत नागरिकता पाउँ भनेर लेखेको पत्र
५. भारतको नागरिकता परित्याग गर्दा हुलाक कार्यालय बाट रजिष्ट्री गरेको रसिद ।
६. विवाह दर्ता
७. पतिको नागरिकताको फोटोकपी
८. पति नभए मृत्यु दर्ताको फोटोकपी र छोराछोरीको नागरिकता त्यो नभएको खण्डमा पतिको दाजुभाइ वा संबंधित व्यक्ति
९. शनाखत गर्ने व्यक्ति जसको नागरिकता पेस गरेको छ वा कुनै कार्यालयको जिम्मेवारी लिने कर्मचारी
१०. सर्जिमिन मुचुल्का
११. जिविस सभापतिको सिफारिस भए अझै सहज
यती ११ कुरा भए पछि सहजै अंगिकृत नागरिकता बन्दथ्यो तर वंशजको हकमा त्यो थिएन । माइती बाट लेखाएर ल्याउनु पर्दथ्यो । विवाहदर्ताले मात्रै पुग्दैनथ्यो । माइती कोही नहुँदा माइती मै सर्जिमिन मुचुल्का उठाउन पर्ने । अनेकौं बाधा झन्झट थिए ।
अंगिकृत नागरिकता बनाउन सबै कागजको काम थियोे त्यो सामान्य थियोे कहिँ जान पर्दैनथ्यो । हर ठाउँमा कागज पेश गरे हुने तर वंशजको नागरिकता बनाउन निकै झन्झटको सामना, व्यक्ति उपस्थित देखि कागजात सम्म सबै कार्य गर्नु पर्दथ्यो । कहिले गाविस सचीव नहुने कहिले अध्यक्ष नहुने कहिले को नहुने अनेकौं समस्या झेलेर मात्रै वंशजको नागरिकता बन्थ्यो ।
पुरुषको अंगिकृत नागरिकताको लागि मैले कहिले चाँसो लिइन त्यसको नियम नि थाहा भएन ।
अन्य गाउँका दिदीबहिनी पनि घरमै पुग्थे उनको पनि कागजात गाउँमै तयार हुन्थे ।
आज नागरिकता बनाउने कार्य कतै सहज कतै असहज त छँदैछ । तर पहिले जसरी त्यागपत्र र गृहमन्त्रालय लाई पत्राचार गर्ने प्रावधान छैन तर वंशजको नाममा कहिँ सहज कहिँ असहज त छ नै ।
नागरिकतामा आमाको नाम राख्ने नितीनियम आउँदा पनि आमाको नामबाट नागरिकता बनाउने भनिएतापनी पिता को उपस्थिति नभए नी नेपालको नागरिक भएको प्रमाण माग्थ्यो नै । कुमारीमा बनेको नागरिकतालाई आधार मानेर भारतमा बिहे भइ सकेकाले समेत आमाको नामबाट जन्मदर्ता बनाइ नेपाल मै पढाउने र नागरिकताको दावी गरेको पाइयो । नेपालमा नपढाए पनि भारत मै रहेको मानिसले आमाको नामको नागरिकताबाट नेपाली नागरिकता लिने गरेका प्रयास धेरै भए तर बाबुको पहिचान खुल्न नसकेका कारण नागरिकता पाउन नसकिने विषयमा मौन हुन पुगेकालाई ०६५ सालको नागरिकता टोली ले मद्दत गर्‍यो । अझ त्यो बेला नाबालक दर्ता हुँदा आमाको नाम बाट दर्ता गराउने प्रयास भए । आदेश अनुसार काम गरेको आरोपमा मलाई पटकपटक पटकपटक विवादमा तान्ने मात्रै होइन हातै उठाइयो ।
०६५ सालको नागरिकता टोलिमा खरिदार सरह सुविधा पाउने गरी एक हप्ताको लागी टोलि संगै खटिएँ । अन्यत्र होइन आफ्नै गाउँमा । मेरो उद्देश्य गाउँका कुनै पनि बालबालिका नागरिकता बाट बन्चित नहुन भन्ने नै थियोे तर त्यसको लागी गाविसको सिफारिस, जन्मदर्ता, माता,पिता दुवैको नागरिकता नम्बर अनिवार्य समावेश र पाँच रुपैयाको टिकट सहित एक फाराम भर्नु पर्दथ्यो ।
आमाको नाम बाट मात्रै नाबालक दर्ता नगरिदिंदा झडप भएको थियोे । कति पटक मेरो बचाउ मा कर्मचारीले कलम बन्द गरेका थिए । पहिलो दिनै हात उठाएपछि सुरक्षा व्यवस्था कडा गरेपनि म गाउँमा सुरक्षीत थिइन । काम सकेर घर जाँदा नाबालक दर्ता गरेर दर्ता नम्बर ल्याउनु भन्दै चिट थमाइन्थ्यो । टोलि ले दोस्रो दिन नै दर्ता किताब आफै राख्न भनेका थे कारण उनीहरु लाई दवाव छ भनी सुनाए ।
रातीमा कसले कती रकम बुझेर नागरिकता बनाए थाहा भएन तर हिंजो सम्म बाबुको नागरिकता नभएर नाबालक दर्ता नहुनेले समेत नागरिकता देखाए पिता को नागरिकता मिति र बच्चाको जन्मदर्ता मिति एकै रह्यो ।
कर्मचारी माथी समेत हातपात भो मिटीङ गरे सबै को काम गरिदिने तर जिल्लामा रद्द गराउने आश्वासन दिए तर बहुमतलाई मान्य भएन त्यसपछि पाँचौ दिनको राती नै नागरिकताको टोलि भाग्यो । म सङ्ग दर्ता किताब थियोे त्यो जलेश्वर जिल्ला प्रशासन कार्यालय सम्म पुराउन मैले अनेकौं नाटक गरेर पुलिसको सहायताले बुझाएँ । कर्मचारीलाई दवाबमा पारेर लेखिएका अक्षर सोहि किताबमा अहिले पनि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा सुरक्षीत छन् । सो विषयमा मैले धेरै पटक निवेदन दिंदा कुनै सुनुवाइ भएन ।
आजको दिनमा नागरिकताको मांग बढी हुँदै गर्दा महत्त्वपनि निकै बढेको छ । आफ्नो नामको मोबाइल सिम कार्ड, पासपोर्ट, कलेजमा नाम लेखाउन,जागीर खान,गाडीको लाइसेन्स लिन, खाता खोल्न, व्यापार व्यवसाय गर्ने देखी हरेक कार्यमा नागरिकता नभई कुनै काम नै हुँदैन त्यसैले यसको महत्त्व बढ्दै गएको हो ।

नागरिकता भनेको हरेक नागरिकको पहिचानपत्र हो । १६ वर्ष उमेर पुगेपछि हरेक नेपाली ले नागरिकता लिनुपर्छ भन्ने सोंचको विकास भइ सकेको छ ।

आजको दिनमा पनि म कहाँ आमाको नामबाट नागरिकता लिन के गर्नु पर्छ भन्ने पनि आउँछन् । नेपाल मै जन्मेर हुर्केर पढेर लेखेका तर आमा बुबा भारतीय भएकापनी सम्पर्कमा आउँछन् भने बाबुको पहिचान नै नभएका पनि आउँछन् । मैले काठमाडौको ७ वर्ष को अन्तरालमा दुई परिवारको नागरिकता बनाउन प्रयास गरे एक जनाको नागरिकता बनाउन २४ वर्ष सम्म जिल्ला प्रशासन कार्यालय धाएको बाबु र आमाको पहिचान भएको डम्बरबहादुर लिम्बुको नागरिकता बअनाइदिएँ । एक केस चितवनको हो जसको छोरा हरुको १४ वर्ष पछि जन्मदर्ता बनाइदिन मद्दत गरे र नागरिकताको लागि अदालत जाने सल्लाह दिएँ । कारण पिता भारतिय हुन ३० वर्ष देखी नेपालमा छन आमा नेपाली हुन उनको नेपाली नागरिकता छ जग्गा र घर छ बच्चाले त्यहीँ स्कुलमा पढ्छन् । एक छोरा नागरिकता पाउने उमेरको छ । पिताको भारतमा घर भनिएतापनी कोहि छैन उनी टुहुरा हुन भनेपनी भारतको नागरिकता परित्याग गरेको प्रमाण जिल्ला प्रशासन कार्यालय चितवनले मांग गरेको हुँदा अदालत जान अनुरोध गरेकी थिए र अर्को ललितपुर कै मानिखेलका दुई अपांगको हो त्यो अहिलेसम्म बनेको छैन । कारण आमाबाबुको पहिचान नहुनु गाउँ को सिफारिस जिल्ला प्रशासनले मान्यता नदिनु नै रहेको छ ।
आमाको नामबाट मात्रै नागरिकता नबनोस तर बाबा नहुने वा पहिचान नखुलेको अवस्थामा सहज र सरल कानुनी व्यवस्था लागु होस् । तर बाबुको पहिचान नखुलेको अवस्था मा नागरिकतामा आमाको नाम लिखित राख्न कुनै विरोध भएन तर प्रमाण आधार त हुनैपर्छ ।

(झा भ्रष्टाचारविरुद्ध तथा सूचनाको हकसम्बन्धि कि अभियन्ता हुन।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button