कला साहित्य

सितादेवी ढुंगानाको कविता – सेतो पोशाक

सितादेवी ढुंगाना

चमेली फूल झै कञ्चन
मुसुक्क मुस्कुराएर
सेतो पोसाकमा देखिने रहर
सपना या विपना ?

कोपिलामै फक्रन खोज्ने
जोगाएर फूल बनाएँ
हरियालीसँग रमाई रमाई
हुर्केकी मेरी छोरी ।

दुई चुल्ठोमा चमेली सिउरी
कपी, कलम र पुस्तक हातमा लिई
विद्यालयको प्राङ्गणबाट आकाशतिर
घोत्लिएर हेर्दै
सेतो बादल ? कसरी सेतो ?

सेतो पोसाकमा सजिएर हिडेकी
कालो दाग लाग्दा रूने
सफा कपीमा सेतो पोसाकधारी
तस्बिर कोरी
बा आमा म यस्तै ।
बा, आमाको पनि इच्छा यस्तै

फूल जस्तै छोरी
सेती नदि झै कञ्चन
सेता दन्तलहरमा
मुसुक्क मुस्कुराउने
पिपल पाते ओठमा
मुस्कान भरिपूर्ण

सेतो पोसाकमा हेर्ने रहरले
आज छोरीलाई बिदा गराई
रातो अवीर र माला लगाई
सेतो जहाजमा चढाई
विदाईका हात हल्लाई
बा,आमा म सेतो पोसाकमा फर्कनेछु

छोरीको मीठो मुस्कानसहित
गुन्जिएको आवाजको झड्का
म आफ्नै देशमा आउँदै छु
सेतो पोसाकमा सजिएर
निन्द्रा खुल्दा बा, आमाको
आँखाबाट सेता आँसुका धारा

एक्कासि बादल मडारियो
धमिलो भयो आकाश
कालो बादलले ढाक्यो
सल्किएको दियो
हुरहुरी बल्दै निभ्दै,
चराचुरुङ्गी आकाशमा चि,चि गर्दै ,
कुकुर गल्ली गल्लीमा भुक्भुक गर्दै ,
गाई गोठमा ड्वाड्वा गर्दै ,
बिजुलीको चट्याङ चुटुङ
हुरीले मडारिएर ल्यायो धुलाका कणहरू
आँखा बन्द
बिजाएर हेर्न नहुने गरि

तल्ला घरमा हल्ला खल्ला
माथिल्ला घरकी छोरी आई रे
सेतो पोसाकमा
छोरी लिन बा,आमाको दौडाहान
एयरपोर्टमा
रातो बाकसमा सेतो बस्त्रले बेरिएर
बा,आमा म सेतो पोसाकमा हैन
सेतो बस्त्रमा बेरिएर
बाकसमा सुतेर,
थकावट शरीर
मस्त निन्द्रामा
मेरो देशको सेवा गर्न
सेतो पोसाकमा फर्केकी छु ।

आँङ जिरिङ्ग, गोडा लुला
भन्छे छोरी बा,आमा मेरो सेतो कपी, सेतो पोसाक र चुल्ठोमा सिउरिने चमेलीमा कहिले दाग नलागोस्
म सेतो पोसाकमा आउन नसके पनि
सेतो बस्त्रमा त आएकी छु ।
छोरीको रूचि , बा,आमाको इच्छा
त्यसभन्दा पनि भगवानकी प्यारी
बा,आमा म मलाई
भगवानले धेरै मन पराए
अब म सेतो बादल भई आकाशमा उड्ने छु
सेतो पोसाकमा सधैं देखिने छु
हेरिरहनु आकाशतिर
सिङ्गै आकाश ढाकेर
हाँसेर बस्ने छु
सेतो पोसाकमा सजिएर
सेतो पोसाकमा सजिएर।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button