कला साहित्य

ब्यंग्य : धेरै बुझ्नु पनि एकप्रकारको समस्या हो

सन्तोष चिमरिया

धेरै बुझ्नु पनि एक प्रकारको समस्या हो । मनोसमस्या भन्दा नि हुन्छ । धेरै बुझेपछि किड्नीमा अतिरिक्त दबाब परेर टाउको भाउन्न हुन्छ । घाँटी खसखस गर्छ र हात झमझमाउन थाल्छ । अनि धेरै बुझ्नुको परिणामस्वरूप, दुखेको टाउको निको पार्न उ उल्का उल्काका चिन्तन गर्न थाल्छ । गाँटीको खसखस मार्न माईक समातेर चिच्याउन थाल्छ । भाषण गर्छ । अन्तर्वार्ता दिन्छ । अनि झम्झामाएका हात निको पार्न विश्लेषण र आलेख बजाउछ, टुईट्याउछ, पोष्ट्याउछ ।
आफू धेरै बुझिन्न । किड्नी नै नभएको त हैन तर इतिहासले धेरै बुझ्न अनुमति दिदैन । जम्मा कति बुझिन्छ भने, सत्ताको हरियो घाँस देखाई दिएपछि कुनै पनि बुढी बाख्राका छोराले नाई भन्दैन । चाहे त्यो ,पृथकतावादी होस । मधेसवादी होस । पहाडवादी होस । माक्र्सवादी , माओवादी, लेलिनवादी, हिन्दुवादी, राजावादी, बिकासवादी, बिनासवादी लगायत संघीय लोकतान्त्रिक गणतन्त्रका जुनसुकै एकसे एक वादी हुन । ति सबैको अन्तिम उदेश्य घाँस नै हो । सत्ताको बगैंचामा लहलह उम्रेको हरियो घाँस !
हेर्नुस ! संघीय लोकतान्त्रिक गणतन्त्र जुन छ , त्यो बुँदा र बुँदे बिच प्रजनन भएर, बुँदाको शुक्रकीट र बुँदेको डिम्ब बिचको मिलनबाट जन्मिएको हो । त्यसैले, यसलाई हुर्किन र गरिखान पनि धेरै बुँदाहरु चाहिन्छ । किनकी बुँदा यसको नशा नशामा रगत बनेर संचार भएको छ । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रमा बुँदाहरुलाई गम्भीरता लिएर किड्नी तताउनु पर्ने कुनै आवश्यकता छैन । यसलाई दालभात र प्रजनन जतिकै स्वभाविक र आम ठान्नु पर्छ । बाँच्नका लागि यो चाहिन्छ । नभइ हुँदैन । तरपनी यो चर्चा र बहसको बिषय कहिलै हुँदैन । हुनु हुदैन । नाथे दालभातको बिषयमा पनि कस्ले किड्नी तताई तताई बहस गरोस ! लेखोस ! चिन्तन गरोस !
यसो इतिहास तिर फर्कियो भने तपाईंलाई सन्ते ठिकै हो भन्ने लाग्छ । इतिहास बिर्सनु भयो भने बेग्लै कुरा हो । सन्तेले यस्ता बुँदाहरु नाथे कती देख्यो । कति बेहोरो । त्यसको कुनै लेखाजोखा छैन । धेरै खाएपछि गुण तितो हुन्छ । आजकल मलाई बुँदा र बुँदेहरु त्यस्तै तितो लाग्न थालेको छ । १२ बुँदे, ३३ बुँदे, ५२ बुँदे, १०८ बुँदे र अहिले भर्खरैको सिके – सरकार बिचको ११ बुँदे !
यी सबै सबै संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्काउन प्रयोगमा ल्याईने डाईपर हुन । हग्छ है , सुईक्याउछ है ,भन्ने लागेमा लगाई दियो । हगेपछी गुसंगै पोको पारो फ्याकिदियो । जाबो मिल्काउने डाईपरका बिषयमा नेपालका बेरोजगार बिश्लेषको बहस देख्दा मलाई अचम्म लागेर आउँछ ।

फेरि , ए सन्तेले त राष्ट्रिय अखण्डताको बिषयलाई नि गम्भीरतापुर्बक लिएन भन्ने तपाईंलाई लाग्न सक्छ । त्यसो होइन । मैले गणतन्त्रलाई पनि गम्भीरतापुर्बक लिएको थिए । अहिले राजाहरुको ताँती देखेर मात्रै म ब्युझेको हुं । मैले लोकतान्त्रीकरण , संघीयता , समाजवाद , पानीजहाज, रेल , मेलम्ची र समृद्धिलाई कुनैबेला अत्यन्तै गम्भीरतापुर्बक लिन्थे । तर कन्डमलाई प्रयोग पुर्ब मात्रै गम्भीर रुपमा लिनुपर्ने रहेछ । प्रयोगपछि पनि गम्भीरतापुर्बक लिनु अत्यन्तै हानिकारक छ । त्यसैको मैले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यब्यापारलाई उस्तो गम्भीरतापुर्बक लिन्न । भनेको मान्नु हुन्छ भने तपाईं पनि नलिनुस ।
अन्त्यमा ,
नेपाल एउटा आयातले धानिएको मुलुक हो । यहाँ वाईडबडी देखी सियोसम्म आयात हुन्छ । तन्त्र, ब्यावास्था, पद्धति सबै आयत हुन्छन् । ट्रकमा भन्सार तिरेर भित्र्याउदैमा मात्रै आयात हुने होइन । आयातका विधि धेरै छन । ओलि इमानदार होलान । सिकेले शिक्षा लिए होलान । सकारात्मक बनौं । इज्जत बचाउन एक्दुई शब्द तलमाथि गरि दोहोरो अर्थ लाग्ने गरि बुँदा बनाईए होलान । तर भोलि छिमेकले कुनैपनी कुरा यता निर्यात गर्न चाह्यो भने, त्यसलाई ओली र स्वयं सिकेले पनि रोक्न सक्दैनन् । बुँदाहरुले बिखन्डन रोक्छ भनेर जसले खुशी मनाउदै छन, तिनले अब हुर्किनु पर्छ ।
हस्त जय नेपाल ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button