विचार ब्लग
ट्रेन्डिङ

प्रयागराज कुम्भमेला हुँदै कश्मिर मुद्धासम्म मोदि

बिजय ज्ञवाली

कतिपय कामहरुको सकारात्मक शुरुवात गरिएता पनि राजनैतिक नेतृत्वको हकमा भने भिन्न परिवेश हुंदोरहेछ। अस्ति प्रयागराज कुम्भ मेलामा स्वच्छ भारत अभियानअन्तर्गत मेलामा खटिएका सफाईकर्मीको खुट्टा धुंदैगरेको मोदिको तस्विर र भिडियोहरु यतिवेला चर्चाको शिखरमा छन। उद्देश्य स्वच्छ भारत अभियानअन्तर्गत स्वच्छता कायम राख्न खटिने मजदुर ( सफाईकर्मी ) हरुकै खुट्टा धोएर थालनी गर्ने भएता पनि आसन्न लोकसभा चुनाव २०१९ लक्षित मोदिका यी क्रियाकलाप अहिले खुवै ब्यंगका बिषय बनेका छन।

प्रयागराज कुम्भमेलामा सफाई कर्मचारीका खुट्टा धुंदै नरेन्द्र मोदि

नरेन्द्र मोदिको विगत कोट्याउने हो भने उनको राजनैतिक जिवनमा गुजरात नरसंहार काण्डको धव्वा कहिल्ल्यै नमेटिनेगरि लागेको छ। सन् २००२ फेव्रुअरि २७ मा अयोध्याबाट गुजरातका लागि छुटेको साबरमती एक्सप्रेस रेलमा मुश्लीम अतिवादि समुहहरुले आगो लगाईंदिंदा करिव ५९ हिन्दू अभियन्ताहरु मारिएका थिए। मुश्लीम अतिवादी समुहहरुको यसप्रकारको हर्कतले हिन्दु समुदाय आक्रोशित भयो। त्यतिबेला हिन्दुधर्मका भक्त नरेन्द्र मोदि गुजरातका मुख्यमन्त्री थिए। भनिन्छ, हिन्दु कट्टरपन्थी नेताको उक्साहटमा मुश्लीम समुदायमाथी नियोजितरुपमा आक्रमणको शुरुवात गरिएको थियो। गुजरात दोधरा काण्डले वहुचर्चित उक्त दोहोरो हिंसामा परि ७९० मुसलमान र २५४ हिन्दु मारिएका थिए भने लाखौं मुसलमानहरु गुजरातबाट बिस्थापित हुनपुगेका थिए।

गुजरात नरसंहारको दाग मोदिले गुजरातमा चामत्कारिक बिकाश गरेर मेटाऊन खोजेपनि मोदिमाथी लागेको त्यो दाग कहिल्ल्यै नपखालिनेगरि बसेको छ। बेलाबखत विपक्षीद्वारा गुजरात नरसंहारको प्रसंग उछालिरहंदा भाजपा उद्देलित हुनेगरेको पनि छ। योग, ध्यान, धर्म, ब्यायाम र भोजनमा सात्विक संतुलन मिलाएका मोदिले यसपटक प्रयागराज कुम्भमेलामा चुनावी डंका नै सहि, अलिकति विगत पखाल्ने चेष्टासमेत गरेका छन।

लोकसभा चुनाव नजिकिंदै जांदा मोदिले अर्को लोकप्रिय कुटिल योजना पनि अंघाढि सारेका छन। मोदिको पछिल्लो योजनाअनुसार किसानहरुको ऋण चुक्ता गरिदिने भन्दापनि किसानहरुको समस्या सदैवको लागि हटाईदिन खोजेजस्तो देखिएको छ। जसअन्तर्गत किसानहरुलाई सरकारद्वारा `मिनिमम सपोर्ट प्राईज´ योजना अंघाढि सारिएको छ। यो योजनाअनुरुप करिव ४००० भारतिय रुपिंया प्रतिएकड हर कृषकले प्राप्त गर्नेछन। लगानीअनुरुप खेतिबाट मुनाफा नदेखिए सरकारले त्यसको भरपाईको लागि सिधै डाइरेक्ट इनकम ट्रांसफर गर्नसक्ने ब्यवस्था रहेको छ। भारतमा खडेरी, अनिकाल, गरिबी र रिणले गर्दा बर्सेनि सयौं कृषकले आत्महत्या गर्नेगर्दछन। मोदि सरकारको यस योजनाअन्तर्गत किसानहरुलाई केहि हदसम्म राहत मिल्ने अनुमान गरिएको छ। यो योजनाअन्तर्गत करिव १३ करोड कृषकले सिधै सरकारबाट सहयोग रकम उनिहरुको बैंक खातामा प्राप्त गर्नसक्नेछन। यो योजनाअन्तर्गत बैंक खाता नभएका कृषकहरुलाई निशुल्क रुपमा बैंक खाता खोलिदिने योजना पनि सरकारको छ। यसका अलावा करिव २१ करोड ६० लाख साना तथा सिमान्तकृत किसानहरुको लागि बार्षिक २ किस्ता हुनेगरि १२ हजार रुपियाँ उपलव्ध गराऊने निर्णय पनि गरेको छ।

धार्मिक नेता मोदि कुटिल चाल भएका नेता हुन। हिन्दु धर्म कै आडमा गुजरातदेखि केन्द्रिय राजनितिमा हावी भएका मोदिको पहिलो कार्यकाल सन्तोषजनक नै देखिन्छ। यद्यपि छिमेकीहरुसंग बलियो सम्बन्ध स्थापित गर्न मोदिले अनेकन दौडधूप लगाएता पनि अन्तत: विफल नै भएका छन। छिमेक नितिमा भारतको केन्द्रिय राजनिती नै अलमलमा छ। शुरुवाती चरणमा नेपालबाट खुवै वाहवाही बटुलेका मोदिले नाकावन्दिसंगै नेपालमा मोदि क्रेज जिरोमा झरेको छ। यस्तै खटपटको सम्बन्ध भारतको नेपालसंगमात्र होईन, बंगलादेश, भुटान, श्रीलंका र माल्दिव्ससंग पनि छ। भारत पाकिस्तान सम्बन्धको त कुरै नगरौं, लोकसभा निर्वाचन नजिकिंदै गर्दा भारत प्रशासित कस्मिरको पुलवाडामा भएको आतंकी हमलाले भारत- पाकिस्तान वकयुद्ध नै चलेको छ। लोकसभा चुनावको सानिध्यमा भलै भोट बैंकको लागी नै सहि मोदि सरकारले पाकिस्तानमाथी सफ्ट पावर देखाऊनसक्ने सम्भावना पनि प्रवल छ। यसो गरेको खण्डमा भाजपालाई मूख्यत: दुई तरिकाले भोट बैंक बटुल्न सहज हुनेछ। एक पाकिस्तानबिरोधी राष्ट्रियताका जमात र दोस्रो हिन्दु जमातहरुको सद्भावना भोट बटुल्नकै लागि पनि पाकिस्तानमाथी मोदि सरकारले सफ्ट पावरको प्रयोग नगर्ला भनेर भन्न सकिन्न।

छिमेक नितिअन्तर्गत मोदि सरकार औसत देखिएता पनि अन्तर्राष्ट्रिय मंचमा भने मोदिको लोकप्रियता चुलिंदो छ। सन् २०१८ मा फोर्व्सले सार्वजनिक गरेको विश्वका ७५ शक्तिशाली ब्याक्तिहरुको सूचीमा नरेन्द्र मोदि नवौं स्थानमा परेका थिए।सन् २०१८ मा करिव २५८३४.३६ मिलियन अमेरिकी डलरबरावरको बस्तु निर्यात गरेको भारतले सोही बर्ष ३७८१३.५७ मिलियन डलर बरावरको समान आयात पनि गरेको छ। विश्वको छैंठौं अर्थतन्त्र दावी गर्ने भारतको सन् २०१८ सम्मको कुल ग्राहस्थ उत्पादन २५ खर्ब ९७ अर्ब डलर रहेको छ।

सन् २०३० सम्म विश्वको सवैभन्दा ठूलो अर्थतन्त्र भएको राष्ट्र बन्ने होडमा रहेको भारतका लागि आन्तरिक समस्याहरु भने चुनौतिको रुपमा खडा छन। भारतलाई सवैभन्दा ठूलो खतरा आतंकबादसंग रहेको छ भने घरेलु समस्याअन्तर्गत भ्रष्टाचार, गरिबी, जातिय दंगा तथा बेरोजगारी रहेका छन। आतंकवादसंग जुझ्न भारतले हरसम्भव कोसिस र ठूलोमात्रामा लगानी खन्याईरहेता पनि त्यो सवै बालुवामा पानी खन्याएझैं भएको छ।

भारतले मूख्य सुरक्षा चुनौतीको रुपमा मान्दै आएको पाकिस्तानसंग अहंमता नदेखाईकन सहकार्यको हात अंघाढि बढाऊंदा नै दुवै देशलाई फाईदा हुने देखिन्छ। चर्चित पूर्व क्रीकेट खेलाडी इमरान खान नेतृत्वको सरकार पाकिस्तानले पाएपछि पाकिस्तानमा कयौं सुधारका काम भैसकेका छन। पाकिस्तान अब एक सबल र सक्षम नेतृत्वसहित विश्वमंचमा आफ्नो दमदार उपस्तिथि जनाऊने मार्गमा छ। आन्तरिक भ्रष्टाचारलाई न्यूनिकरण गर्नेमात्र होईन, सरकारले आन्तरिक खर्चमा भारीमात्रामा कटौती पनि गर्दै आईरहेको छ। सरकारी केन्द्रदेखि अड्डासम्म हुनेगरेका बिलाशितालाई पूर्णरुपमा न्यूनिकरण मात्र गरेका छैनन, हरेक सरकारी कर्मचारीलाई बिलाशिता मोह त्याग्न प्रेरणा र चेतावनिसमेत दिएका छन। चीनसंगको बिआरआई सम्झौतासंगै करिव ३२ अर्व अमेरिकी डलरसहित साऊदी अरव ले पाकिस्तानसंग सहकार्य गरिसकेको छ। अमेरिकालगायतका मुलुकहरु बदलिंदो नेतृत्वसंगै बदलिंदो पाकिस्तानसंग सहकार्य गर्न आतुर छन। यस अवस्थामा भारत र पाकिस्तानले आपसी समझदारीमा सहकार्य गर्नसके आतंकवादविरुद्धको लडाईंमा उल्लेख्य सफलता हासिल पनि हुनेथियो भने दक्षिण एशियाको भू-राजनितिमा एकप्रकारको स्थिरता पनि छाऊनेथियो।

स्वच्छ भारत योजनाअन्तर्गत मोदिले सफाई कर्मचारीको खुट्टा धोएर राजनितिरुपी मनको मैलो पखाल्न खोजेपनि मोदिले धार्मिक कट्टरता देखाऊनु अर्को कमजोरी पनि हो। राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय चर्चाको शिखरमा रहेका मोदि कुनै धर्मविशेषको पक्षपाती हुनु राम्रो होईन। हुन त भारतमा जातिय तथा धार्मिक राजनितिको सैलाव खुवै संवेदनशिल पनि छ। राजनिती गर्नेहरुले जातिय र धार्मिक राजनिती गरेरै सत्तामा विराजमान पनि छन। यस अर्थमा धार्मिक सद्भावसहित भोटबैंकको राजनिती नराम्रो पनि होईन, तर मोदिको मुश्लीम समुदायप्रतिको अनुदारता नै आतंकवादको अर्को जड पनि हो।

छिमेकसंग समान तथा सम्मानजनक ब्यवहार गर्नुको विकल्प भारतसंग छैन। सवैभन्दा ठूलो सुरक्षा चुनौतिको रुपमा रहेको पाकिस्तानमा पुरै भारतविरोधी जनमत छ भने पछिल्लो नाकाबन्दिपश्चात नेपालमा पनि भारतबिरोधी जनमत उल्लेख्य रहेको छ। बिदेश नीति आफ्नै हातमा लिएको भुटानमा पनि भारतबिरोधी भावना बेलाबखत समाचारका शीर्षक बन्ने गरेका छन भने बंगलादेशको भूमी उपयोग गरिरहेका कतिपय आतंकबादी तथा अतिवादी शक्तिहरुले पनि भारतलाई नै निशाना बनाईराखेका छन। अरुणान्चल प्रदेशमा सिमा बिबाद चर्किंदा भारत र चीन आमने समने हुने स्थितिमा कतिपटक पुगिसकेका छन। श्रीलंका तथा माल्दिव्समा भारतिय हस्तक्षेपको निन्दा गर्ने तथा भारविरुद्ध आक्रोशित जमात पनि उल्लेख्य रहेको पाईन्छ। तसर्थ भारतले सम्मानित एवं सन्तुलित छिमेक कुटनितिलाई प्राथमिकतामा राखेर स्वच्छ एवं स्वस्थ भारतको अभियानमा होमिंदा नै बेश होला। विश्वमहाशक्ति बन्ने दौडमा रहेको भारतलाई बेलाबखत यस्तै छोटा छोटा अवरोधले ठेस लाग्न सक्तछ, विश्वशक्तिको माहायात्रामा अवरोध उत्पन्न पनि हुनसक्तछ।

[email protected]

बिजय ज्ञवालीद्वारा लिखित थप लेख पढ्न यहाँ क्लिक गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button