राजनीति

भ्रष्टाचारी नै भ्रष्टाचारीको घेरामा प्रधानमन्त्री

झापा – राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको मुख्य दोषी व्यापारी, कर्मचारी र राजनितिक दलका नेता भएको बताएका छन्। उनीहरूकै मिलेमतोमा भ्रष्टाचारले जह्रा गाडेको थाको दाबी छ।

राप्रपा नेपालले आयोजना गरेको मेची महाकाली राष्ट्रिय महाअभियानको दोस्रो दिन झापाको बिर्तामोडमा आयोजित सभामा बोल्दै थापाले चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार रोक्न नसिकिने बताए। उनले सरकारको नेतृत्व गर्ने पार्टीलाई नै चौकीदारको संज्ञा दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीका बेला लिएको राष्ट्रियताको अडानले झन्डै दुई तिहाइ मत प्राप्त गरे पनि आज दबाब र प्रभावमा ओली सरकार लाचार बनेको थापाको आरोप थियो। उनले भने, ‘प्रधानमन्त्रीकै अगाडि–पछाडि बस्नेहरूले नै देश लुटिरहेका छन्, प्रधानमन्त्रीले उनीहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरिरहेका छन्।’

स्थानीय तहको वडादेखि केन्द्रसम्म भ्रष्टचारको जगमा मुलुक फसेको भन्दै अध्यक्ष थापाले वाइडबडी जहाज खरिद प्रकरण, एनसेल करछली र सुनकाण्डको छानबिन के भएर बीचमै तुहियो भन्दै सरकारलाई प्रश्न गरे। माओवादीलाई शान्ति सम्झौतामा ल्याउन कांग्रेसले राजा र धर्मसँग सम्झौता गरे पनि आज माओवादीको नाममा फेरि आगजनी सुरु भएको बताउँदै थापाले भने, ‘सुन्दैछु पहिलाको माओवादी भन्दा यो माओवादी डेन्जर छ रे।’

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री तथा सो पार्टीका एक मात्र सांसद राजेन्द्र लिङदेनले २०४६ सालपछिका राजनीतिक दलका नेताका सम्पत्ति छानविन हुनुपर्ने माग गरे। उनले भने, ‘साना माछा मात्र कारबाही गरेजस्तो गरेर ठूला माछालाई हालिमुहाली गर्न दिँदा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुँदैन।’ जातको आधारमा गरिएको आरक्षणको सुविधा कटौती गरेर सरकारले गरिबीको रेखामुनी रहेका सबै नेपालीले आरक्षण पाउनुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button