राजनीतिविचार ब्लग

माला राजनितिभित्रको कुरुप तस्विर

बिजय ज्ञवाली

विभिन्न थरिका फूलका थुंगाहरु गाँसेर माला बनाईन्छ। अझ कतिपय फूलका पातहरुलाई समेत समावेश गरेर भिन्न भिन्न आकर्षक डिजाईनका माला बनाईन्छ। यसका अलावा दुवो, भुईंसल्लाको पातको पनि माला बनाएर लगाऊने, चढाऊने प्रचलन छ। यदाकदा तितेपातीको पनि माला बनाएर लगाऊने, चढाऊने गरेको देखिएको छ। हाम्रो धर्म, संस्कार र संस्कृतिभित्र फूल अनि मालाको विशिष्ठ स्थान रहेको छ। हरेक शुभकार्यको शुरुदेखि अन्तिमसम्म फूल अनि मालाको प्रयोग अनिवार्य नै छ। माला हाम्रो सभ्यता हो, धर्म हो, संस्कार हो, पहिचान हो, सम्मान हो। माला सजावट हो, माला सौन्दर्य हो, माला सृङ्गगार पनि हो। तर, त्यहिं माला कसैको गलामा जवर्जस्ती भिडाऊन खोजियो भने मालाको सौन्दर्य विरुप हुँदोरहेछ, मालाको पहिचान हराईदिंदो रहेछ र मालाकै बद्नामी हुँदोरहेछ। माला चरम चाप्लुसीको सिकार बन्दोरहेछ।

१५१ किलोको माला पहिरिंदै शेरवहादूर देउवालगायत

आजभोली नेपाली राजनितिमा सयौं किलोको माला राजनितिले तंछाडमछांड गर्दैछ। मालाको रुप, महत्व र सौन्दर्यता नै नराम्रोसंग बिगारेर अझ भनौं मालको कुरुप पाटोको प्रचलन ह्वात्तै बढेको छ। प्रकृतिमा खेल्दै गरेको फूल जति सौन्दर्य देखिन्छ, त्यो सौन्दर्यता निर्मम निमोठेर उनिएको मालामा देखिंदैन, तरपनि हामीले हाम्रो आवश्यकता र अवलम्वन गर्दैआएको स्वाभाविक मालाको सुन्दर पक्ष भने मनमोहक नै रहन्छ। तर, त्यहिं थुंगा गाँसेर कसैको चरम चाप्लुसी र अहमता प्रदर्शनकै लागि अस्वाभाविकरुपमा मालाको दम्भ देखाईन्छ, त्यस्तो मालाको अन्तिम विकृत रुप भनेको गलाको पासोझैं लाग्दोरहेछ आम नागरिकलाई।

नेपालमा चाप्लुसीकै लागि भएपनि बनाईएको मालाले त अब विश्व रेकर्ड राख्नुपर्ने हो, गिनिज बुकमा नाम लेखाऊनुपर्ने हो। १५१ किलोसम्मको मालाको निर्माण भैसकेको छ। यो होड र दौडको शिलशिला यहिं रोकिनेवाला त छैन, प्रतिस्पर्धा चरमरुपमा छ। हिजो शेरवहादुर देउवाले १५१ किलोको माला लगाए भने भोलि अर्को बहादुर नेताले २०० किलोको माला पो लगाईहाल्ने हो कि? कार्यकर्ताहरु आफ्ना महान नेताको स्वगतको लागि २०० किलोको मालाको निर्माणमा पो जुटेका छन कि? या अझै ठूलो मालाको परिकल्पना गर्दैछन। आखिर नेता भनेका त नेतै हुन नि ! महान नेताको खातिर खातिरदारी गर्नु कार्यकर्ताको पनि त दायित्व हो, नुनको सोझो हो।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओली ९० किलाको मालाका साथ

सायद नेपालका कुनैपनि नेता अजंगको माला मोहबाट मुक्त छैनन होला। पछिल्लो समयसम्म आईपुग्दा शेरबहादुर देउवाले १५१ किलोको माला लगाए। कार्यकर्ताले उक्त माला बोक्दैगर्दाको तस्विर सामाजिक संजालमा भाईरल पनि भयो। झट्ट हेर्दा कुनै लास बोकेझैं देखिएको उक्त तस्विरमा लास नभएर १५१ किलोको माला नै रहेछ। उक्त तस्विर झट्ट हेर्दा म पनि झुक्किएको थिएँ। अंघाडी पछाडी गरेर दुई/दुई जनाले बोकेको देखाईएको उक्त तस्विर यथार्थमा फूलमालाको शवयात्राझैं देखिन्थ्यो झट्ट हेर्दाखेरी।

आखिर किन नेपालमा यतिविघ्न माला राजनिति मौलाएको छ? के छ खास कुरो माला राजनितिमा र आम जनतामा के अर्थ राख्दछ माला राजनितिले? मालालाई कसैको चाकरिवाजको रुपमा प्रस्तुत गरिरहंदा आम जनतामा जाने सन्देश के हो र हरेक नेताले पहिरिने गरेको सयौं किलोको मालाले आम जनतासंग कस्तो सरोकार र अपेक्षा राख्दछ त? बिहान बेलुका हातमुख जोर्न धौ धौ हुने यौटा गरिव नागरिकको सयौं किलोको मालासंग के सरोकार रहन्छ र त्यसरि सयौं किलोको मालाको हकदार बनेका नेताले त्यस्तो कुन चमत्कारिक कार्य गरेका हुन? के अर्थमा सयौं किलोको मालाका हकदार भए नेताहरु? देश र जनताको खातिर के गरे र त्यत्रो अजंगको मालाको हकदार बने त? विश्वरंगमंचमा नेपाललाई कुन स्थान दिलाए या विश्वरंगमंचमा कुन स्तरको हैशियत बनाएका छन र यतिविघ्न चाकरिवाज र मालाको हकदार?

१२१ किलोको मालाका साथ कांग्रेस नेता सशांक कोइराला र सुजाता कोइराला

यौटा कुशल नेताले कहिल्ल्यै पनि चाकरिवाज रुचाऊंदैन। असल र दक्ष नेतालाई कहिल्ल्यै पनि अफ्नो ईर्दगिर्दमा रहनेगरि कार्यकर्ताको झुण्ड मन पर्दैन। राजनितिलाई पेशा नभई सेवा ठान्ने नेताको लागि जनताको आँखामा स्थान रहन्छ, जनताको मनमा बाँस रहन्छ। त्यस्ता नेतालाई कुनै सुरक्षाको आवश्यकता पनि पर्दैन, जनता आफै पहरा दिईराखेका हुन्छन। विलासीता हैन, साधारण जीवन अनि दर्शन र आदर्शमा जीवन व्यतित गरिराखेको हुन्छ। त्यस्तो सादगी नेतालाई सम्मानस्वरुप यौटा फूलको थुंगा हातमा थमाईदिए पनि उसले आफूलाई अहोभाग्य ठान्दछ। मात्र एकधर्सो अविर निधारमा लगाईदिए मात्र उसले आफूलाई जनताको मन जितेको मान्दछ। खासमा नेता त्यो हो, जोसंग दूरदृष्टि छ, सपना छ र उक्त सपना हासिल गरेरैछाड्ने यौटा अठोट पनि छ।

छातीमा हात राखेर भन्ने हो भने वर्तमान नेपालको राजनितिमा आदर्शको रुपमा लिनुपर्ने यौटा पनि नेता छैनन। यौटा स्वतन्त्र नागरिकको हैशियतमा हेर्ने हो भने वर्तमान राजनितिमा आशलाग्दो नेताको खडेरी पनि परेको छ। देशको राजनिति अपराधउन्मुख छ। राजनितिमा लागेका युवापुस्ता अधिकांश अराजकउन्मुख छन भने नेता त्यस्तै अराजक झुण्डको ईर्दगिर्दमा राजनितिको प्रदुषित स्वासको साहारा जीवन झनै विलाशीमय जिऊँदैछन। चरम चाकरीवाज मन पराऊने नेता र चाकरिवाजमैं राजनैतिक भविष्य देख्ने कार्यकर्ताले गर्दा देश वर्वाद छ, जनताको स्थिति झनै दयनिय बन्दैछ। विदेशमा महिनाको २ लाख तलव खानेले २ बर्षमा यौटा घडेरी जोड्न सक्तैन भने नेपालमा राजनितिमा होमिएकाहरु एकैबर्षमा आलिशान घर नै ठड्याएका कयौं दृष्यान्त हामी देख्न सक्तछौं।

नेपालमा राजनिति कमाउधन्दामा परिणत भएको छ। नेतादेखि लिएर तल्लो तहको कार्यकर्तासम्म राजनिति रोजगारसरह भएको छ। जुनसुकै हालतमा पनि राजनिति गर, नेताको भजन गाऊ, चरम चाप्लुसी गर र कुनै एक छिद्रको माध्यम कमाऊधन्दामा लाग। अलिकति आफूभन्दा उपल्लो तह हुँदै नेतासम्मलाई बाँड, बंचेको आफैले मोज गर। नेपालमा मौलाऊंदो राजनैतिक विकृत रुप यो पनि हो। नितिनिर्माण तहदेखि बाटो खुल्ला गरिदिनको लागि नेता छंदैछन। बांकी कार्यकर्ता तह ठेक्कापट्टा, दलाली, चन्दा असुली, तस्करी, फिरौतिलगायत धन्दामा लिप्त छन, नेतृत्वले आँखा चिम्लिदिन्छ। नितिगत रुपमैं भ्रष्टाचार गर्न नेतृत्व आफै खप्पिस छ। आफै कानून बनाऊ, आफै ब्रह्मलूट पार।

नेपालमा माला राजनिति यतिविघ्न कुरुप हुनुको कारण पनि यहिं नै हो। नेताले बाटो बताईदिने, कार्यकर्ता लूट्न दौडिने। अनि त्यसरि लूटेर प्राप्त केहि पैसाले नेताको जयजयकार गर्ने। कसरि हुन्छ आफ्नो नेतालाई रिझाऊने र नयाँ नयाँ लूटका प्वालहरु पहिचान गर्ने अनि कब्जामा लिने। नेपालको राजनितिमा अधिकांश कार्यकर्ता तह अझ भनौं युवापुस्ता यस्तै अवसरको खोजिमा नैं राजनीति गरिराखेको पाईन्छ। तिनिहरुमा चेतना नभएको पनि होईन। तर, बद्नियतरुप मैं जाइलागेपछि चेतनाको स्तर गौण हुँदोरहेछ।

यौटा नेता भ्रष्टाचार गरेर जेलभित्र कोचिंदा पनि माला लगाएरै जयजयकारसहित नै कोचिन्छ, जेलबाट छुट्नेबित्तिकै पनि फूलमाला र अविर अनि खादाले जयजयकारसहित भव्य स्वागत गरिन्छ। त्यस्तै गुण्डा, डन, लगायत राजनितिमा उच्च पहुंच बनाएकाहरु यसैगरि नै जेलभित्र कोचिन्छन र निस्किंदा उस्तै भव्य स्वागत गरिन्छ। यतिमात्र कहाँ हो र? अवैध असूली, फिरौती तथा धम्की, अपहरण, हत्यामा संलग्न यौटा बदमास प्रहरी इन्काऊन्टरमा मारिन्छ, संसद ठप्प हुन्छ, बन्दहड्ताल हुन्छ, तोडफोड हुन्छ र अन्त्यमा `महान सहिद´ घोषणा गर्दै फूलमाला र अविरसहित राष्ट्रिय झण्डा ओढाएर शवयात्रा गरिन्छ। नेपालमा राष्ट्रिय झण्डा र मालाको योभन्दा चरम दुरुपयोग अर्थोक के हुनसक्तछ? र, नेपाली माला राजनितिको योभन्दा कुरुप र घिनलाग्दो तस्विर अर्थोक के हुनसक्तछ? राजनितिमा मौंलाऊंदो अराजकता, दण्डहिनता र छाडातन्त्रको योभन्दा अर्को उदाहरण के हुनसक्तछ? यसवाट के प्रष्ट हुन्छ भने राजनितिको आडमा हरेक नेताले कोहि न कोहि गुण्डा पालेकै छन। चुनावमा जसरी हुन्छ बुथ कब्जा गरि चुनाव जित्नदेखि लिएर ठूलाठूला ठेक्कापट्टा हत्याऊन अनि फिरौती, असूली, तस्करिकै लागि अधिकांश नेतासंग गुण्डा छन, अधिकांश नेताले गुण्डा पालेर राखेका छन र हरेक नेताको स्वागतमा यतिविघ्न तामझाम देखिनुको मूख्य कारण त्यस्तै गुण्डाहरुको सक्रियता पनि हो। प्रायश: नेताका दायाँबाँया बलिया बांङ्गाहरुको उपस्थिति त्यसैको उदाहरण हो।

भ्रष्टाचार, अराजकता, दण्डहिनता दिनानुदिन मौलाईरहेको देशमा विकासनिर्माणका कार्य अलपत्र अवस्थामा छन। देशको मुहार फेर्ने जिम्मेवारि लिएका नेताहरुद्वारा सुशासन, बिधिको शासन, न्यायपूर्ण समाज, सुरक्षा, रोजगारी, सर्वसुलभ शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी नभईराखेको वर्तमान नेपालमा नेताको स्वागतका लागि गरिने तामझाम आम नागरिकमाथीको क्रूर मजाकसिवाय अर्थोक केहि होईन। सयौं किलोको मालाभित्रबाट देखिने नेताको ङिच्च परेको अनुहार बिभिन्न समस्याबाट गुज्रीरहेका आम नागरिकको लागि यौटा राक्षसी अनुहार र अट्टहाससिवाय अर्थोक केही होईन। दिनहुँका बलत्कार, हत्या, अपहरण, फिरौतीसंग त्रसित आम नेपालीले सुरक्षाको प्रत्याभूत गर्न नसकिराखेको अवस्थामा नेताका लागि गरिने सुरक्षा लस्कर र कार्यकर्ताको सांङ्ग्ले घेराई आम नागरिकमाथी गरिएको क्रूर उपहास सिवाय अर्थोक केहि हुनैसक्तैन। यौटि बलत्कृत बालिकाको अपराधी पत्ता लाग्न नसकिराखेको तथा बलत्कृत बालिकाको परिवारले न्याय पाऊन नसकिराखेको अवस्थामा नेताको जयजयकार र सुरक्षा केवल राज्यकोषको ब्रह्मलूट हो, देश र जनतामाथी गरिएको क्रूर उपहास बाहेक अर्थोक केही हुनैसक्तैन।

कालो धनको स्वर्गपुरी यात्रा पढ्न यहाँ क्लिक गर्नुहोस।

[email protected]

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button