विचार ब्लग

पुलवामा प्रभाव

भरत पोख्रेल

जुनवेला इमरान खान क्रिकेट खेलको उत्कर्षमा थिए भारतमा प्रशंसकहरू ऊनलाई वादशाह खान, ग्रीक देउता, संसारको सबैभन्दा सुन्दर पुरुष मात्र नभनेर भारतमा ऊनको शालिक बनाउने कुरा गर्थे । अहिले इमरान खान राजनीतिको उत्कर्षमा छन् भारतमा ऊनका विरोधीहरू ऊनलाई तालिवान खान भनेर आलोचना गरिरहेका छन् । फेब्रुअरी १४, २०१९ मा कश्मिरको जम्मु–श्रीनगर मार्गमा पारा मिलेट्री सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) को २,५०० जवान बोकेको ७८ वटा ट्रकको लस्करमा विष्फोटक साधनले लैस कार जुधाएर ४२ जवानको पुलवामा भन्ने ठाउँमा आत्मघाती आक्रमणमा मृत्यु भएको छ । आत्मघाती आक्रमण गर्ने आदिल अहमद दर स्थानीय युवा गान्धीवाग पुलवामाका थिए । बीस वर्षिय एघार कक्षामा पढने ऊनी जैस–ए–मोहम्मद संगठनसँग आवद्ध रहेको बुझिएको छ । जैस–ए–मोहम्मद पाकिस्तान अवस्थित अजहर मसूदको संगठन हो जो फेब्रुअरी १९९४ मा गिरफ्तार भएर जम्मुको कोतभालवाल जेलमा राखिएका थिए डिसेम्बर २४, १९९९ को काठमाडौंबाट एअर इंडियाको विमान अपहरण गरी अफगानिस्तानको कान्धार पुर्याइयो अनि सौदावाजीमा डिसेम्बर ३१, १९९९ मा ऊनी रिहा गरिए । त्यो वेला भारतमा अटल विहारी वाजपेयी प्रधानमन्त्री, जसवन्त सिंह विदेशमन्त्री र अजित दोभाल गुप्तचर प्रमुख थिए । पुलवामा घटनाले भारत लगाएत विश्वमा तरंग ल्याइदिएको छ । भारत र पाकिस्तानको वाकयुद्ध नै चलेको छ । यो घटना यस्तो वेला घटेको छ जब भारतमा दुई महिनापछि आम चुनाव हुँदै छ र गुरु नानकको ५५० औं जन्म दिवसको उपलक्ष्यमा करतारपुर कोरिडरको बाटो भारत–पाकिस्तान तीर्थमार्ग प्रारम्भको प्रयास भएको छ ।

ऐतिहासिक रूपले कश्मिर घाटी प्रवेश गर्ने सातवटा रुटहरू छन् बानिहाल, हाजीपिर, झेलम, ह्याभेलियन, पिरपञ्जाल, तोसमैदान र ट्रागबालबुरजिल । प्राय यी सबै रुटहरू पहाडीमार्गबाट जान्छन् । भारततर्फ यिनीहरूको अवस्था जीर्ण छ भने पाकिस्तान तर्फ उम्दा रहेको छ । चीन–पाकिस्तान आर्थिक करिडोरले पाकिस्तानलाई ठूलो आर्थिक सहयोग गरेको छ । सन २०१४ मा भारतीय जनता पार्टी सत्तामा आएदेखि कश्मिरमा मूठभेड झन बढेको छ । सन २०१३ मा १७० मूठभेड भएका थिए भने सन २०१८ मा ६१४ मुठभेड भयो । सन २०१३ मा ५३ जना मारिएका थिए भने २०१८ मा ९१ जना मारिए । सन २०१३ मा १६ जना जिहादी संगठनमा आवद्ध भएका थिए भने सन २०१८ मा १९१ जनाले जिहादी संगठनमा आवद्धता जनाए । सन २००१ देखि २०१८ सम्म कश्मिरमा ४७,००० मानिसहरू मारिएको भारतीय सरकारी तथ्याङ्क रहेको छ । एक वर्ष अगाडि भारतीय सेनाले कश्मिरी युवालाई गाडीमा बाँधेर ढालको रूपमा प्रयोग गरेपछि विश्वभरि यसको विरोध भयो ।

पुलवामा घटनाले भारत–पाकिस्तान मात्र होइन दक्षिण एसिया नै प्रभावित हुने भएको छ । भारतमा कश्मिरीहरू माथि आक्रमण शुरु भएको छ । देहरादून, जयपुर, अलिगढ र मोतीहारी लगायत विभिन्न ठाउँहरूमा कश्मिरीहरू माथि सांघातिक हमला भएका छन् । भारतका धेरै कलेजहरूले कश्मिरी विद्यार्थीहरूलाई निलम्बित गरेका छन् । आगोमा घीउ थप्ने काम उच्च ओहदामा बसेका व्यक्तिहरूले गर्दा समस्या झन जटील बन्दै गएको छ । मेघालयका राज्यपाल तथागत रायले कश्मिरी वस्तुको वहिष्कार वक्तव्य दिएर विवादमा आएका छन् । भारतीयहरूलाई कश्मिर भारतको कश्मिरीहरू पाकिस्तानको भन्ने मानसिकतामा पुर्याइएको छ । यो घटनाले सार्क सम्मेलनको अनिश्चितता झन बढेर गएको छ । सार्क सदस्य राष्ट्र अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको शुरुवातसँगै तालीवानीहरू रुसलाई हरायौं, अमेरिका हार्दै छ भन्ने हल्ला गर्न थालेका छन् जसले गर्दा आउने दिनहरूमा पुलवामा जस्ता घटनाहरू झन बढने आशंका गर्न सकिन्छ । समस्या समाधानका लागि नयाँ दिल्ली–इस्लामावादले कश्मिरी जनताहरूलाई साथ लिएर वार्ताको पहल शुरु गर्नुको विकल्प छैन ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button