व्यक्ति बिशेष

मिखाइल गोर्बचोबको ‘एन्टी-अल्कोहल क्याम्पेन’

जिवा लामिछाने
असल उद्देश्यले सुरु गरिएको योजना कहिलेकाहीँ पूरै असफल हुने गर्छ ।

सन् १९८५ मा मिखाइल गोर्बचोभ सोभियत कम्युनिस्ट पार्टीको महासचिब भएर आएपछी सोभियत संघमा अल्कोहल नियन्त्रणका लागि उनले सुरु गरेको ‘सुक्खा कानून’ अभियान दुइ बर्ष नपुग्दै पूर्ण असफल भएर टुंगिएको थियो ।

मादकपदार्थको चरम उपभोगले समाजमा महामारीको रुप लिएको निस्कर्ष निकालेर मिखाइल गोर्बचोभले ‘पेरेस्त्रोइका र ग्लासनोस्त’ संगै ‘एन्टी-अल्कोहल क्याम्पेन’ पनि सुरु गरेका थिए । पारिवारिक बिखन्डन, बालबालिका माथि दुराचार, पुरुष मृत्युदर वृद्धि, आत्महत्या, सडक दुर्घटना आदिको जड अत्यधिक मदिरा सेवन हो भन्ने निष्कर्ष निकालेर मदिरा उत्पादन र बिक्रिलाई नियन्त्रण गर्ने शृंखला सुरु गरियो । सहर र गाउँभरि छयास-छ्यास्ती देखिने मदिरा पसलहरुको संख्यामा निक्कै कटौती गरियो । एक क्षेत्रमा एउटा मात्र मदिरा पसल त्यो पनि दिउसो तिन बजे देखि ५ बजेसम्म मात्रै खोल्न पाउने नियम लागु भयो । जर्जिया, माल्डोभिया र अर्मेनिया संघीय गणराज्यमा रहेका अधिकांश ‘वाईन यार्ड्स’ नस्ट गरिए । सोभियत संघका बहुसंख्यक डिस्टिलरी प्लान्टहरु बन्द भए । देश-विदेशमा आयोजना हुने सबैथरिका सरकारी रिसेप्सनहरुमा मदिरा राख्न नपाइने उर्दी जारि गरियो । सरकारी नियमहरुको अवज्ञा गर्नेहरुले दण्ड-सजाय पाउने भए ।

सन् १९८६ मा म सोभियत संघ पुगेको हुँ । त्यतिबेला मदिरा पसलमा दिउसो मानिसहरुको क्यू देखेर हामी चकित हुने गर्थ्यौं । दिउसो तिन बजे मात्र खुल्ने मदिरा पसलमा घन्टौं अघि देखि मानिसहरु लाइन लागि सकेका हुन्थे । सन् १९८५ सम्म सडकमा राखिएका भेंडीग मेसिनबाट २० पैसाको ढक खसाल्दा एक गिलास बियर आउने गर्थ्यो रे । त्यो आनन्द भने हामीले अनुभुती गर्न पाएनौं । पछी त्यस्ता मेशिनमा ढक खसाल्दा एक प्रकारको ग्यास वाटर (Лимонад) आउने गर्थ्यो ।

नयाँ नियम सुरु भएको केहि समय सोभियत जनताले धैर्य गरे । सोभियत नागरिकहरुले हिजो पनि मदिरा पिएकै हुन । आज पनि पिउछन् र भोलि पनि पिउन पाउनु पर्छ भन्दै यो अभियानको सर्बत्र बिरोध हुन थाल्यो । घर-घरमा घरेलु मदिरा (समागोन) उत्पादन हुन थाल्यो । कमसल मदिराको उपभोगले अझ बढी समस्या सिर्जना भयो । सन् १९८५ सम्म सोभियत संघमा सबैभन्दा बढी राजस्व संकलन मदिरा उत्पादन र बिक्रिबाट हुने गर्दथ्यो । सुक्खा कानून सुरु भए पछी मदिरा बिक्रिबाट संकलन हुने राजस्वमा ह्रास आएकोले यसै पनि कमजोर सोभियत अर्थतन्त्र झनै असंतुलित हुन पुग्यो । छताछुल्ल हुनेगरी मदिरा सेवन गर्न नपाएर ‘मिनरल वाटर’ पिउनु परेको झोकमा जनताहरुले मिखाइल गोर्बचोभलाई सिपिएसयुको ‘जेनेरल सेक्रेटरी’ नभनेर ‘मिनरल सेक्रेटरी’ (Минеральный секретарь КПСС) भन्दै सम्बोधन गर्न थाले ।

यति भै सकेपछी ‘सुख्खा कानून’(сухой закон) पूर्णरुपमा असफल भएको महसुस गर्दै सन् १९८७ मा गोर्बचोभले यो अभियान नै बन्द गरे ।

( नियात्राकार लामिछनेको `सरसर्ती संसार ´ नामक पुस्तकमा यस्तै धेरै रोचक अनुभुतिहरु पढ्न सकिन्छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button