विशेष
ट्रेन्डिङ

जनज्योती प्रा. वि. गुल्मीको स्वर्णमहोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

ज्ञवाली र भण्डारी परिवारद्वारा ३/३ लाखको अक्षयकोषको स्थापना

जागरणपोस्ट संवाददाता
गुल्मी।

बिक्रमसम्वत २०२५ सालमा स्थापित रुरु गाउपालिका- ५ काऊले गुल्मीस्थित श्री जनज्योती प्रा.वि. को स्वर्ण महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। ४१ बर्षअंघि सोही विधालयमा अध्यापन समेत गराएका हालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको विशेष आथित्य एवं सम्बोधनसंगै उद्धाटन गरिएको उक्त स्कूलको स्वर्णमहोत्सवमा सहयोगार्थस्वरुप करिव २५ लाखजति सहयोग रकम संकलन पनि भएको छ। कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले हरेक नागरिक र जिम्मेवारीमा रहेका सबै पक्षले पैसाको पछाडी मात्रै लागेर नहिँड्न आग्रह समेत गरेका छन। साथै
शिक्षकहरुलाई  पैसा होइन कामप्रति गम्भीर जिम्मेवारी लिन आग्रह गर्दै भने, ‘बाँचुञ्जेल काम गरेर देखाउँ पैसाको पछाडी मात्रै नलागौं, मरेर लानु के छ र ? आखिर कात्रोको खल्ती हुँदैन, मरे पछि कसैले केही लगेर जान पाईदैन ।’ भन्दै सवैमा जिम्मेवारपूर्ण तरिकाले काम गरिदिन अनुरोध पनि गरेका छन।

बिक्रमसम्वत २०३४ साल भदौदेखि डेढ बर्षसम्म त्यसै विद्यालयका शिक्षकको रुपमा रहेका ज्ञवालीले सोही विद्यालयमा शुक्रबार स्वर्ण महोत्सवमा मन्त्रीको हैसियतले उद्घाटन गर्ने अवसर प्राप्त गरेको प्रति आफु गर्वित, हर्षित र विगतको स्मरण गरेर आफु भावुक समेत बनेको उनले बताए। “आज भन्दा ४१ बर्षअघि म यसै विद्यालयमा १४ बर्षको उमेरमा शिक्षक थिएँ । त्यो ताका नै मेरा राजनैतिक गुरु स्वर्गीय  जिवराज आश्रितसँग चिनजान भई मेरो राजनैतिक यात्रा समेत यहिबाट सुरु भएको हो, यस अवसरमा मैले मेरा राजनैतिक गुरु स्वर्गीय नेता जिवराज आश्रित र विद्यालयका संस्थापकसहित प्रधानध्यापक  स्वर्गीय कुलचन्द्र ज्ञवालीलाई पनि स्मरण गर्दै सम्मान व्यक्त गर्दछु।” स्वर्णमहोत्सव समारोहलाई सम्बोधन गर्दैगर्दा अलिकति वाल्यकालको प्रसंग कोट्याऊंदै मन्त्री ज्ञवालीले भने – “हामीले त उतिबेला धुलोमा लेखियो, पाटीमा पढियो र बाँसको कलमले पनि  लेखियो र पढाईयो पनि, अहिले भने म आफुले हातले लेख्दिँन सबै काम कम्युटरबाटै गर्छु, अर्थात म बाँसको कलमदेखि  कम्युटर सम्मको युगमा आईरहेको छु,’ उनले भने– ‘अर्थात म अहिले कम्युटरमा आश्रित भईसकेको छु ।”
 
उनले सरकारी शिक्षकहरुलाई अब  विगतको जस्तो  विद्यालयमा मन लागेको समयमा आउने, मन लागेको समयमा जाने प्रबृद्धि नदेखाउन चेतावनी समेत दिए । विद्यार्थीको भविश्यमाथि खेलवाड नगर्न आग्रह गर्दै उनले सरकार  सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा  प्रदान गर्न लागेको बताए । गतवर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा बालबालिका भर्ना अभियान सुरु गरे गरेर २ लाख ६० वालवालिका भर्ना गरिएको र यस छुटेका ६० हजार बालबालिका पनि भर्ना गरिने उनले बताए।

हिजो मात्र सरकारको एक बर्षे कार्यकाल पुरा भएको र यो कार्यकाल देशको जग निर्माणको बर्ष भएको र अवको कार्यकाल  विकास र समृद्धिको कार्याकाल हुने दावी गरे ।  आफुहरुले सरकार सम्हाल्ने बेलामा देश महिनौ नसोहरेको भकारो जस्तै बनेको उनको भनाई थियो ।   आफुहरुले त्यस्तै भकारो बेल्चा लगाएर सोहर्नु परेको बताउँदै उनले भने –भ्रष्टचारले डङ्गुर बनेको मुलुकलाई अब बेल्चा नै लगाए सफा गर्न सरकार लागेको छ । ’
उनले  प्रति प्रश्न गरे– ‘देख्नु भएन ढुकुटीकै चावी दिएका अख्तियारका प्रमुख नै भ्रष्ट्राचारमा लिप्त भएको पाईयो भने  यो मुलुक कसरी गुज्रिँदै आएको रहेछ ?’ उनले सरकार जसरी गाडीको गियर विस्तारै बढाउँदै गइन्छ, त्यसरी नै  मुलुकको विकास र समृद्धिको गियर पनि बिस्तारै बढाएर यो सरकार प्रति जनताले जे अपेक्षा राखेर भोट दिएका थिए, त्यो अपेक्षा पाँच बर्षभित्र पुरा गरेरै छाड्ने ठोकुवा गरे ।

केही मिडियाले सरकारका राम्रा कामहरुको समेत बङ्गाएर जनतामा नकरात्मक जवाफ फैलाउँदै आएको गुनासो गर्दै दुधलाई दुध र पानीलाई पानी नै भनेर सरकारको नराम्रा कामको  आलोचना र राम्रा कामको प्रशंसा गर्न सुझाव दिए । पूर्व शिक्षक मन्त्री ज्ञवालीलाई सो विद्यालयले सम्मान पनि गरेको छ। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, उपाध्यक्ष लक्ष्मी पन्त लगायको बिशेष आतिथ्यता रहेको थियो । मन्त्री ज्ञवालीद्धारा वरिष्ठ चन्दाताहरुलाई  सम्मान गराइएको थियो ।  स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर रानाको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रमा सदस्य लालबहादुर रानाको स्वागत मन्तव्य र  विष्णुप्रसाद भण्डारीको सञ्चालन रहेको थियो । उक्त स्कूलबाटै प्राथमिक तहको शिक्षा हासिल गरेर देश बिदेशमा विभिन्न कामकर्तव्यको शिलशिलामा रहेका बम्घास्थित पिप्लेखर्क, निमुवाखर्क, खत्रीटोला, सिपाहिटोल, बाँसखर्क, तागवास, काऊले तथा बौंघाका विभिन्न नागरिकहरुको उपस्थिती रहेको उक्त स्वर्णमहोत्सवमा सहयोगदाताहरुलाई विभिन्न झाँकीसहित दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। स्कूलको सहयोगार्थ सवैभन्दा बढि नगद सहयोग गर्नेमा पिप्लेखर्कस्थित स्व. गणेशकुमार ज्ञवालीको परिवार पहिलो र बाँसखर्कस्थित स्व. पुरुषोत्तम भण्डारीको परिवार दोस्रो स्थानमा रहेका छन। ज्ञवाली र भण्डारी परिवारबाट जनही ३ लाख १ सय ११ रुपयाँ स्कूलको सहयोगार्थ उपलव्ध भएको थियो। स्व. गणेशकुमार ज्ञवालीको परिवारबाट प्रतिनिधित्व गर्दै उहाँका जेठा छोरा तिलकराम ज्ञवाली र माईला छोरा चीनालाल ज्ञवाली तथा स्व. पुरुषोत्तम भण्डारीको परिवारबाट प्रतिनिधित्व गर्दै उहाँकि धर्मपत्नी भागिरथी भण्डारी तथा कान्छी बुहारी कमला भण्डारीको उपस्थिती रहेको थियो। साथै सोही कार्यक्रमको अवसर पारेर ज्ञवाली परिवारको तर्फवाट स्व. गणेशकुमार- टोपलादेवी ज्ञवाली अक्षयकोषको स्थापना पनि गरिएको छ भने भण्डारी परिवारको तर्फवाट स्व. पुरुषोत्तम- भागिरथा भण्डारी अक्षयकोषको स्थापना पनि गरिएको छ। स्वर्णमहोत्सवको अवसर पारेर उक्त बिधालयले जनज्योती स्मारिका पनि निकालेको छ। तीनदिनसम्म चलेको उक्त स्वर्णमहोत्सव कार्यक्रमको संचालन दिनेश ज्ञवालीले गरेका थिए।

कार्यक्रम संचालन गर्दै दिनेश ज्ञवाली
Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button