स्वास्थ्य

पोषणको यो डरलाग्दो रुप

डा. अरुणा उप्रेती
एकातिर पोषणको अभावले बालबालिका अस्वस्थ भएको, गर्भवती बिरामी परेको, रक्तअल्पताका कारण शिशु सानो जन्मेको, कुपोषण भएका कारण बालबालिकालाई पखाला लागेको देखिन्छ भने अर्कोतिर बढी भोजन र पत्रु खानाका कारण मोटाएका मानिसलाई धेरै पैसा खर्चेर उपचार गर्नुपरेको छ।

देशका विभिन्न भागमा जाँदा स्वास्थ्यकर भोजन हुँदाहुँदै पनि बालबालिका, शिशु, गर्भवती आदि कुपोषित भएको देखेरै मैले आफूले थाहा पाएको सजिलो जानकारी जनसमक्ष पुर्‍याएको हुँ। कतिपयले मेरो लेख पढेर आफ्नो भोजनको बानी बदलेको थाहा पाएर पोषणका बारेमा लेख्न झन् प्रेरणा मिल्यो। अनि, विभिन्न ठाउँमा जाँदा कुन जिल्लामा के उमि्रँदो रहेछ? त्यहाँका मानिसले कसरी खाँदा रहेछन् भन्ने चासो पनि जाग्न थाल्यो। त्यही चासो पछि लेखको विषय बन्न थाल्यो। कामको सिलसिलामा विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा पुग्दा देखेँ, स्वास्थ्यकर्मीको भूमिका गर्भवतीलाई आइरन चक्की दिने र बालबालिकालाई भिटामिन ए दिने काममै सीमित हुँदो रहेछ।

पोषणको अभाव झेलिरहेका बालबालिका

ती स्वास्थ्यकर्मीलाई तालिम दिँदा पनि भोजनसम्बन्धी व्यावहारकि ज्ञान, स्थानीय खाना र त्यसमा रहेका पोषक तत्त्वका बारेमा जानकारी दिइँदैन। हामी विद्यार्थी छँदा पनि खासै पोषणसम्बन्धी ज्ञान दिइएन। काम गर्दै जाँदा व्यावहारकि ज्ञान नहुँदा समस्या परेको अनुभव छ। त्यसैले पनि पोषणका बारेमा आफूलाई थाहा भएका जानकारी दिन थालेको हुँ।

स्वास्थ्य मन्त्रालयको पोषणसम्बन्धी कतिपय नीतिले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको देखेपछि मैले सरकारलाई ‘यो नीति ठीक भएन’ भनेर घचघच्याएँ पनि। बालबालिकालाई घरेलु खानेकुरा खुवाएर स्वस्थ गराउनुको सट्टा औषधी दिएर कुपोषण ठीक पार्ने प्रवृत्तिविरुद्ध खबरदारी पनि गरेँ। विभिन्न ठाउँमा भ्रमण गर्दा महँगा पत्रु खानाले गर्दा बालबालिका अति कुपोषित भएर दुई महिना अस्पतालमा बस्नुपरेको र त्यसपछि मात्र आमालाई प्याकेटमा राखेका पत्रु खाना दिन नहुने होस खुलेका घटनाले पनि मलाई बारम्बार पोषणका बारेमा लेख्न घचघच्याइरहन्छ।

त्यसो त लेख्ने क्रममा कतिपय जानकारी दोहोरनिे गरेको भने म स्वीकार गर्छु। तर, कुपोषणका घटना बारम्बार पत्रिकामा छापिन्छन् भने ती समस्यालाई समाधान गर्न पनि बारम्बार लेख्नुपरेन?

(तस्विरहरु : कुपोशित बालिका र पोशण पुनर्स्थापना केन्द्र बिरगन्जमा उपचार गरेपछी , ४ बर्ष अघिको अनुसन्धान गर्दाका हुन।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button