विशेष

स्त्रीको धातुस्खलन र रतिसुख ( पूर्वीय यौनशिक्षा – ४ )

डा. मतिप्रसाद ढकाल

‘न स्त्री पुरुषवदेव भावमधिगच्छति’ (कामसूत्र २।१।१२) अर्थात् कामशास्त्री औद्दालिकले पुरुषले जस्तै स्त्रीले सम्भोगसुख प्राप्त गर्दैनन् भन्ने विचार व्यक्त गरेका छन् । वीर्यस्खलनका दृष्टिले पुरुष शीघ्रगामी, मध्यगामी र चिरगामी भएजस्तै स्त्रीको वीर्यपतन नहुने भएकाले त्यस किसिमको अवस्था स्त्रीमा हुँदैन । त्यसो भए स्त्रीहरू कुन कारणले सम्भोगका लागि तयार हुन्छन् त ? भन्ने जिज्ञासा उत्पन्न हुन्छ । ‘सातत्यात् त्वस्याः पुरुषेण कण्डूतिरनुपद्यते’ (पूर्ववत्, २।१।१३) अर्थात् प्राकृतिकरूपमा नै स्त्रीको योनिमा एकप्रकारको विचित्र किसिमको चिलचिलाउने प्रवृत्ति हुन्छ, जुन प्रवृत्ति पुरुषका साथ मैथुन गर्दा बारम्बारको घर्षणका कारण शान्त हुने गर्छ । यो चिलचिलाउने प्रवृत्ति महिनावारी भएपछि प्रारम्भ हुन्छ र त्यो प्रवृत्ति शान्त नभएका खण्डमा महिलालाई भयङ्कर रोगसमेत लाग्न सक्छ । त्यसैले हाम्रा धर्मशास्त्रहरूले रजस्वलाबाट निवृत्त भएपछि अनिवार्यरूपमा स्त्रीसेवन गर्नुपर्छ र त्यस अवस्थामा आफ्नी श्रीमतीलाई बेवास्ता गर्ने श्रीमान् पापको भागी हुनुपर्छ भनेर सचेत गराएका हुन् ।

चिलचिलाउने प्रवृत्तिलाई त अन्य विभिन्न किसिमका साधनको उपयोग गरेर पनि शान्त गर्न सकिन्छ तर स्त्रीलाई वास्तविक आनन्द त पुरुषले गर्ने चुम्बन, आलिङ्गन आदि बाह्य रतिक्रियाका कारण हुन्छ र त्यसरी उत्तेजित भएर उनीहरू सम्भोगका लागि अग्रसर भई चरम आनन्दको अनुभूति गर्दछन् भन्ने कामशास्त्री वात्स्यायनको अभिमत रहेको छ । एकअर्काको संसर्गबाट कत्तिको आनन्द आउँछ भन्ने कुरा स्त्री र पुरुषले मौखिकरूपमा वर्णन गर्नै सक्तैनन् । कामशास्त्री औद्दालिकका अनुसार वीर्यस्खलन भएपछि पुरुष शान्त हुने भएकाले उसलाई तत्काल स्त्रीको आवश्यकता पर्दैन परन्तु पुरुषको वीर्यस्खलन भइसकेपछि पनि स्त्रीलाई भने शान्ति मिल्दैन र उसले पुरुषभन्दा भिन्न अनुभव गर्दछे । यसबाट स्त्री र पुरुषका आनन्दमा पर्याप्त भिन्नता छ भन्ने कुराको पुष्टि हुन्छ ।

‘चिरवेगे नायके स्त्रियोऽनुरज्यन्ते’ (पूर्ववत्, २।१।१५) अर्थात् जुन पुरुषले अति वेगका साथ धेरै समयसम्म मैथुन गरिरहन्छ उससँग सम्भोग गर्ने स्त्रीले उसलाई प्रेम गर्दछे । यसका विपरीत जुन पुरुष स्त्रीका साथ धेरै समयसम्म मैथुन गर्नमा असमर्थ हुन्छ र शीर्घ स्खलित हुन्छ उसलाई कुनैपनि स्त्रीहरूले प्रेम गर्दैनन् । त्यस्ता पुरुषसँग सम्भोग गर्नुमा स्त्रीलाई कुनै किसिमको आनन्द नआउने भएकाले उससँग स्त्रीले द्वेष गर्छन् । जसबाट कामोत्तेजना पूर्ण हुन्छ त्यस्ता पुरुषसँग स्त्रीले प्रेम गर्छन् भने कामोत्तेजना पूर्ण नहुने पुरुषलाई स्त्रीले सदैव तिरस्कार गर्छन् । वास्तवमा धेरै समयसम्म मैथुन गर्नाले स्त्रीको कामेच्छा शान्त हुने हुँदा उनीहरूले पुरुषलाई प्रेम गर्छन् भन्ने विचार उपयुक्त छैन किनकि सम्भोगद्वारा मनको शान्ति मिल्छ र जसद्वारा सच्चा आनन्द प्राप्त हुन्छ स्त्रीका लागि उही पुरुष प्रिय लाग्न थाल्दछ ।

कामशास्त्री औद्दालिकका अनुसार स्त्रीको योनिको चिलचिलाउने प्रवृत्ति पुरुषका साथ मैथुन गरेर अनि चुम्बन, आलिङ्गन आदि सहायक प्रेमक्रीडाद्वारा तत्काल दूर हुने भएकाले त्यसैलाई सच्चा आनन्द भनिन्छ । अर्का कामशास्त्रीका अनुसार नवयौवनाका लागि मैथुन प्रारम्भ हुँदाबित्तिकै आनन्द प्राप्त हुन थाल्दछ भने पुरुषलाई वास्तविक आनन्द वीर्यपात भएपछि प्राप्त हुन्छ । स्त्रीको आनन्दको सीमा बढ्ता हुन्छ परन्तु पुरुषको आनन्दको सीमा कम हुन्छ । ‘न ह्यसत्यां भावप्राप्तौ गर्भसम्भवः’ (पूर्ववत्, २।१।१८) अर्थात् यदि यस किसिमको आनन्द स्त्री र पुरुष दुवैलाई नहुँदो हो त कहिल्यै पनि गर्भ स्थिर रहने थिएन । वास्तवमा स्त्रीलाई आरम्भदेखि अन्तसम्म आनन्द प्राप्त हुन्छ भन्ने कुरा विचारणीय छ । त्यसो हुँदो हो त मैथुनको आरम्भमा पुरुषले दाँत र नङ गाड्दा स्त्रीले अस्वीकार गर्दैनथे तर त्यसो भएको देखिँदैन । मैथुनको वेग बढ्दै गएपछि जब स्त्री बेहोसजस्तै हुन्छे त्यतिबेला दाँत र नङ गाड्दा उसले आनन्दको अनुभूति गर्दछे ।

सुरतान्ते सुखं पुंसां स्त्रीणां तु सततं सुखम् ।
धातुक्षयनिमित्ता च विरामेच्छोपजायते ।।
(पूर्ववत्, २।१।२२)
अर्थात् पुरुषलाई सम्भोगको अन्तमा वीर्यस्खलन हुँदा आनन्द आउँछ भने स्त्रीलाई प्रारम्भदेखि अन्तसम्म समान किसिमको आनन्द प्राप्त हुन्छ । धातु निक्लन बन्द भएपछि मात्र स्त्रीलाई रतिक्रियाबाट विश्राम लिने इच्छा हुन्छ । स्त्री र पुरुषलाई कति बेला आनन्द प्राप्त हुन्छ भन्ने विषयमा कामशास्त्रीहरूका बीचमा पर्याप्त मतभिन्नता रहेको हुँदा कामसूत्रका प्रणेता वात्स्यायन ‘तस्मात् पुरुषवदेव योषितोऽपि रसव्यक्तिद्र्रष्टव्या’ (पूर्ववत्, २।१।२३) अर्थात् सम्भोगका समयमा स्त्री र पुरुष दुवैलाई नै आनन्द प्राप्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हुन् । वास्तवमा एउटै मनुष्य जातका दुई विभिन्न अङ्ग भए तापनि स्त्री–पुरुष दुवैले आआफ्नो मन र भावद्वारा एउटै कार्यमा एउटै रसलाई प्राप्त गर्न अग्रसर हुने भएकाले उनीहरूको आनन्दमा भिन्नता नआउनुपर्ने हो ।

स्थिति र भावका कारण सुखभेद हुनु अस्वाभाविक होइन । तल–माथि आसनमा रहने भएका कारण पुरुष र स्त्रीका क्रियाहरूमा भिन्नता छ जसले भावमा समेत भेद ल्याउन सक्छ । पुरुषलाई आपूm कर्ता भएर मैथुन गरिरहेको छु भन्ने भावना हुन्छ भने स्त्रीलाई आपूm आधार भएर मैथुन गराइरहेकी छु भन्ने भावना हुन्छ । यसरी दुवैको स्थिति र भावमा भिन्नता देखिए तापनि वस्तुतः उनीहरूको रतिक्रियामा कुनै भिन्नता देखिँदैन । प्राकृतिकरूपमा भिन्न–भिन्न अङ्ग र भौतिकरूपमा विभिन्न आसन ग्रहण गरे तापनि दुवैको उद्देश्य आनन्द प्राप्ति नै रहेको अवस्थामा विना कुनै कारण उनीहरूलाई जुन आनन्द प्राप्त हुन्छ त्यसमा कुनै भेद देखिनु हुँदैन ।

जसरी आगो, दाउरा, चामल आदि भिन्न–भिन्न वस्तुको सहयोग लिएर भात पकाइन्छ त्यसरी नै स्त्री र पुरुष दुवैको सहयोगद्वारा एकै किसिमको आनन्द प्राप्त हुन्छ । लिङ्गभेद प्रकृतिको देन हो तर जातिगतरूपमा स्त्री–पुरुष दुवै मान्छे हुन् । ‘तेनोभयोरपि सदृशी सुखप्रतिपत्तिरिति’ (पूर्ववत्, २।१।२८) अर्थात् त्यसैले दुवैलाई एकै किसिमको सुख प्राप्त हुन्छ, दुवैको रतिसुख एउटै हो । ‘जातेरभेदाद् दम्पत्योः सदृशं सुखमिष्यते, तस्मात्तथोपचर्या स्त्री यथाग्रे प्राप्नुयाद्रतिम्’ (पूर्ववत्, २।१।२९) अर्थात् जातिगत भिन्नता नभएका कारण श्रीमान् र श्रीमती दुवैलाई एकै किसिमको रतिसुख प्राप्त हुन्छ । त्यसैले स्त्रीका साथ मैथुन गर्न तयार भएका पुरुषले आलिङ्गन, चुम्बन आदिद्वारा स्त्रीलाई आपूmभन्दा बढ्ता कामोत्तेजित गराएपछि आफ्नो र स्त्रीको इच्छापूर्तिका लागि अत्यधिक वेगका साथ मैथुन गरेर रतिसुखको चरम आनन्द लिन सक्नेछ भने स्त्रीले पनि चरम आनन्दको अनुभूति गर्न सक्नेछन् । यसो हुन सकेका खण्डमा मात्र कुनै श्रीमान् वा श्रीमतीले आपूm आफ्नै श्रीमान् वा श्रीमतीबाट बलात्कृत भएको अव्यक्त मानसिक पीडा भोग्नुपर्ने छैन ।

(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपुर)

र, यो पनि पढ्नुहोस कामशाष्त्रका दृष्टिमा नायक र नायिकाहरु

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button