प्रदेश २

पप्पुको अर्को बदमासी

१५ महिनामा बन्नुपर्ने बसपार्क ४९ महिनासम्म पनि बनेन

वीरगन्ज : वीरगन्ज महानगरपालिका–१५ मा १७ करोड ७३ लाखको लागतमा निर्माणाधीन बसपार्क टर्मिनलको निर्माण ४९ महिना बितिसक्दा पनि अधुरै छ ।

२०७१ फागुनमा ठेक्का लगाइएको बसपार्क टर्मिनलको निर्माण १५ महिना भित्र (२०७३ साल बैशाख मसान्त) सकिसक्नु पर्ने थियो । तर ४९ महिना बितसक्दा पनि बसपार्क टर्मिनलको अधुरै छ ।

जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगन्ज महानगरपालिका कार्यालयले निर्माण गरिरहेको सुविधासम्पन्न बसपार्क टर्मिनलको ठेक्का ठेक्का पप्पु कन्स्ट्रक्सन, रोशन कन्स्ट्रक्सन र आशीष निर्माण सेवाले संयुक्तरुपमा सकारेका थिए ।

पाँच बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको बसपार्कको लागत १७ करोड ७३ लाख ५० हजार ६ सय तीन रुपैया रहेको छ । ठेकेदारको लापरवाहीका कारण २४ महिनामा सक्नु पर्ने निर्माण ४९ महिना बिति सक्दा पनि अधुरै रहेको हो ।

बसपार्क टर्मिनल निर्माणमा ठेकेदारले ढिलाइ गरेपछि गत माघ पहिलो साता महानगरका प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरि काम छिटो सक्न ठेकेदारलाई अन्तिम चेतावनी दिएको थियो ।

माघ पहिलो साता स्थलगत अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्मकुमार भुषालले काम छिटो सकाएर नगरपालिकालाई हस्तान्तरण नगरे भुक्तानी नै रोकिदिने चेतावनी दिएका थिए ।

ठेकेदार पक्षले पटक पटक म्याद थप्न आग्रह गरे अनुसार महानगरपालिकाले निर्माणको म्याद थप्दै आएको छ । पछिल्लो पटक ठेकेदार पक्षले गत मंसिर मसान्तसम्म, त्यसपछि पुस मसान्तसम्म र फेरि गत माघ १४ गतेसम्मको म्याद थप मागेको थियो । तर बसपार्क टर्मिनलको काम अझै अधुरो छ ।

पटक पटक म्याद थप्दा पनि ठेकेदारले लापरवाही गरेपछि माघ पहिलो साता प्रमुख प्रशासकीय अधिकृत भुषाल निर्माणस्थलमा पुगेका थिए । त्यसबेला ठेकेदारले माघ १४ सम्मको थप समय मागेको थियो ।

वीरगन्ज महानगरपालिका कार्यालयको योजना शाखाका प्रमुख अकलक अहमद सिद्धिकीका अनुसार अहिलेसम्म ९५ प्रतिशत काम भएको छ । ‘अहिलेसम्म ९५ प्रतिशत मात्र काम सकिएको छ, फिनिसिङको काम मात्र बाँकी छ’, उले भने, ‘काम छिटो सक्न ठेकेदारलाई पटक पटक ताकेता गरिरहेका छौँ ।

ठेकेदारले काम सकाएर हस्तान्तरण गरे फागुन महिना भित्र नै बसपार्कको उद्घाटन गरि सञ्चालनमा ल्याउने महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए ।
‘फागुन भित्र नै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईबाट बसपार्क उद्घाटन तयारी गरिरहेका छौँ’, सरावगीले भने, ‘काम छिट्टै सक्न ठेकेदारलाई हरेक दिन ताकेता गरिरहेका छौँ ।’

बसपार्क टर्मिनल निर्माणको ठेक्का सकारेको निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर शैलेन्द्र चौधरीले एक हप्तामा निर्माणका सबै काम सकिने बताए । ‘डेकुरेटिङ र फिनिसिङको काम मात्र बाँकी रहेकाले ती काम पनि द्रूत गतिमा भइहेको छ’, उनले भने ,‘अबको एक हप्तामा बाँकी काम पनि सक्छौ ।

पप्पु कन्स्ट्रक्सन प्रालिले देशका विभिन्न स्थानमा अन्य निर्माणको ठेक्का लिएका कारण बसपार्क निर्माणमा वास्ता नगरेको हो । ‘पप्पुको जहाँतहीँ ठेक्का चलिरहेको छ, त्यसैले उसको ध्यान अन्तको ठेक्कामा बढी छ, महानगरका एक कर्मचारीले भने, ‘यहाँको काममा उसले वास्तै गरेको छैन । कम मूल्यमा ठेक्का लिएर समयमा काम नसक्ने पप्पु कन्स्ट्रक्सनको पहिचान नै बनेको छ ।’

यसअघि २०६९ सालमै बसपार्क टर्मिनल निर्माणका लागि तत्कालीन उपमहानगरपालिका कार्यालयले ठेक्का लगाउने क्रममा पप्पु कन्स्ट्र«क्सन प्रालिले आफुले ठेक्का नपाउने भएपछि भाँजो हालेको थियो ।

त्यति बेला ठेक्का लगाउने क्रममा प्राविधीक प्रस्तावमा फेल भएपछि पप्पु कन्स्ट्रक्सन प्रालिले नगर विकास कोष ,सार्वजनिक खरिद अनुगमन कार्यालय र ऋण उपलब्ध गराउने जर्मनी बैंक केएफडब्लुमा उजुरी गरेको थियो ।

पप्पु कन्स्ट्रक्सन प्रालिले उजुरी हालेपछि केएफडब्लुले ऋण दिन आनाकानी गर्दा दुई वर्षसम्म बसपार्कको ठेक्का नै रोकिएको थियो । तर २०७१ सालमा पप्पु कन्स्ट्रक्सनले नै ठेक्का लिन सफल भएको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button